अमेरिकामा भारत र पाकिस्तान भिडन्त : ३५ वर्ष अघि र पछि | Khabarhub Khabarhub

अमेरिकामा भारत र पाकिस्तान भिडन्त : ३५ वर्ष अघि र पछि


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

न्युयोर्कको डाउनिङ रङ्गशाला, जहाँ एथलेटिक्स जगतका इतिहास बोकेका जोसे ओवेन्सले प्रशिक्षण गर्थे र यो त्यही रङ्गशाला हो, जहाँ पेलेले न्यु योर्क कसमसको डेब्यु गरेका थिए।

संसारका थुप्रै स्टारले खेल्ने गरेको सोही रङ्गशालामा भारत र पाकिस्तानको बिचमा पहिलो पटक अमेरिकी भूमिमा क्रिकेट खेल भएको हो। रोबीन सिंहको ४७ रनको योगदानमा भारतले प्राप्त गरेको विजय, रमिज राजाको सनसनीपूर्ण प्रदर्शन र इमरान खानको ९१ रनको पारी अमेरिकी प्रायद्वीपमा भएका एसियालीको यादगार प्रदर्शन हुन्। यसैमा फेरि एकपटक उभिए भारत र पाकिस्तानको टोली।

न्युयोर्कको त्यो बलर अनुकूल पिचमा  क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान मैदानमा उत्रिए।

भारतले पहिले ब्याटिङ गर्दै बनाएको ११९ रनको जवाफमा मैदानमा उत्रिएको पाकिस्तान सिम बलरका बादशाह जसप्रित बुमराहको अघि निरीह साबित हुँदै ११३ रनमा सीमित भयो। पहिलो खेलमा अमेरिकासँग पराजित भएको पाकिस्तानको टी-२० विश्वकपको यात्रा पहिलो चरणमा नै सकिने सम्भावना प्रबल बनेको छ।

यो खेलमा भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ तथा अक्षर पटेलले २० रन जोडे। पाकिस्तानका मोहम्मद रिजवानले ३१ रनको योगदान गरे।

सन् १९८९ को कुनै एउटा रात ऐतिहासिक समयमा पनि त्यही मैदानमा खेल भएको थियो। सो खेल हुँदा अहिलेका भारतीय टोलीका धेरै खेलाडी जन्मिएका पनि थिएनन्। त्यो मैदानको ऐतिहासिक महत्त्व अझ धेरै छ। नामी कलाकार एरेना फ्रान्कलीन, जिमी हेन्डरिक, रे चाल्र्सले सो मैदानमा धेरै कन्सर्ट गरेका थिए।

त्यस समयमा ४० ओभरको दिवा रात्रि खेल भएको थियो। संसारमा नाम चलेका केही स्टार मैदानमा थिए। इमरान खानको नेतृत्वमा रहेको पाकिस्तानी टोलीमा केही स्टार थिए। सोही टोलीमा रहेका खानसहित जाभेद मियादाद, सलिम मलिक र मुस्ताक अहदमले सन् १९९२ को विश्वकप जितेका थिए।

दिलीप बेंगसकरले नेतृत्व गरेको भारतीय टोलीमा मोहम्मद अजरुद्धिन, कपिल देव र सञ्जय मञ्जेरकर थिए। भारतीय अलराउण्डर रवि शास्त्रीले त्यो खेलका लागि वातावरण तयार पारेका थिए।

१५ हजार दर्शकका सामु खेल भएको थियो। त्यो खेलको सम्झना रमिज राजालाई अझै छ। उनी भन्छन्, ‘मैत्रीपूर्ण खेल भए पनि हामी त्यस खेल जसरी भए पनि जित्न चाहन्थ्यौ, स्कोरबोर्ड थिएन। स्कोरर एमच्योर थिए। धेरै गल्तीहरू भएका थिए। सो खेल लाइभको व्यवस्था थिएन। दर्शक ड्रम बजाएर मैदानमा हुटिङ गर्न भने त्यस समयमा पनि व्यस्त थिए।

सलिमको ५३ रनको सहयोगले पाकिस्तानले १६२ रन जोडेको थियो। खेल भारतले जितेको थियो। रोबीन सिंहले ४७ रन प्रहर गरेका त्यसै खेलमा बैंगरकले विजयी छक्कासहित भारतलाई तीन बल बाँकी रहँदा जीतको बाटो दिलाए।

इमरानको अविजित ९१ रनको सहयोगमा पाकिस्तानले टोरन्टोमा भएको खेल जितेको थियो। लस एन्जलसमा राजाको ४७ रनको योगदानमा खेल जितेपछि पाकिस्तानले पहिलो पटक उत्तर अमेरिकी ट्रफी जितेको थियो।

विश्व बजारमा क्रिकेटको प्रभाव अहिलेको जस्तो थिएन। भारतीय खेलाडीले दुई हजार अमेरिकी डलरको दरले खर्च पाएका थिए। उनीहरू धेरै जना अमेरिकामा रहेका आफन्तको घरमा पनि बसेका थिए। वेस्ट इन्डिजमा भएको चार खेलको टेस्ट शृङ्खला ३-० ले हारेको भारत त्यहीँ प्रतिद्वन्द्वीसँग ५ खेलको एक दिवसीय शृङ्खलामा ५-० ले पराजित भएको थियो।

यो शृङ्खला बीसीसीआईको सक्रियतामा भएको थिएन। खेलाडी बिदा मिलाएर अमेरिका घुम्न गएका थिए। यसै कारण बीसीसीआईले बैंगेरकर, देव शास्त्री, किरण मोरे र अरुण लाललाई एक वर्षका लागि प्रतिबन्ध लगाएको थियो। टोलीका अन्य खेलाडीलाई जरिवाना गरिएको थियो। त्यस मुद्दा अदालतमा तीन महिना चलेको थियो।

जारी टी-२० विश्वकपमा अमेरिका र पाकिस्तानको भेट भएको समयमा धेरैलाई सो घटनाको याद आएको थियो।

भारत र पाकिस्तान बिचको क्रिकेटका हरेक खेलका आफ्नो महत्त्व छन्। पछिल्लो समय टी-२० क्रिकेटको ग्ल्यामर बढ्दै गएपछि यसको महत्त्व अझ धेरै बढ्न थालेको छ। १४ सेप्टेम्बर २००७ मा यी दुई देशको खेल बराबरीमा सकिएको थियो।

अहिलेसम्म यी दुई देश बिचको यादगार खेल भने २४ सेप्टेम्बर २००७ मा जोहन्सबर्गमा भएको पहिलो टी-२० विश्वकपको फाइनल खेल नै हो। सो फाइनल खेल महेन्द्र सिंह धोनीको सनसनीपूर्ण युगको सुरुवात गराउने खेल थियो।

एक दिवसीय क्रिकेटमा दबदबा राखेको अस्ट्रेलियालाई हराएर भारत फाइनलमा प्रवेश गरेको थियो। टस जितेर ब्याटिङ राजेको भारत गौतम गम्भीरले ५४ बलमा प्रहार गरेको ७५ रनको सहयोगमा १५७ रनको योगफल तयार गर्न सफल भएको थियो। नवौँ ओभर सकिँदा पाकिस्तानले ६५ रन जोडेर ४ विकेट गुमाइसकेको थियो। सोही समयमा मिसवाह उलहक मैदानमा प्रवेश गरेका थिए। १६ ओभरको समाप्तिमा पाकिस्तानले १०४ रन जोडेर ७ विकेट गुमाएको थियो।
१७ औं ओभरमा मिसवाहले हरभजन सिंहलाई ३ छक्का प्रहार गरेका थिए भने त्यसपछिको ओभरमा श्रीसान्थको बलमा सोहेल तनवीरले दुई छक्का प्रहार गरेका थिए।

भारतका जसप्रित बुमराहले पाकिस्तानका मोहम्मद रिजवानको विकेट लिएपछिको खुशी । पाकिस्तान हाबी बन्दै गएको खेलमा यो विकेट नै भारतको जितका लागि महत्त्वपूर्ण बनेको थियो । तस्बिरः क्रिकइन्फो

अन्तिम ओभरमा जोगीन्धर शर्मालाई बल थमाइएको थियो। जितका लागि पाकिस्तानलाई १५ रन आवश्यक थियो। मिसबाह उलहकको स्कुप फाइन लेगमा श्रसान्थको हातमा पुगेपछि भारत ५ रनले विजयी हुँदै धोनीको नाममा सनसनी युगको सुरुवात गर्न सफल भएको थियो ।

भारत र पाकिस्तानका पहिलो पाँच पटकको टी-२० भेट एक पक्षीय थियो। ती सबै भारत विजयी भएको थियो। सन् २०२१ मा यी दुई बिच छैटौँ पटक टी-२० विश्वकप दौरान भेट भएको थियो। २४ अक्टोबरको दिन भएको सो खेलमा भने पाकिस्तानले सानदार जित हात पारेको थियो।

भारतलाई १५१ रनमा सीमित गरेको पाकिस्तानले मोहम्मद रिजवान र बाबर आजम जमेपछि १० विकेटको जित हात पार्न सफल भएको हो। २३ अक्टोबर २०२३ मा फेरि भारतसँग पाकिस्तान पराजित भएको थियो। पराजयको त्यो शृङ्खला यो विश्वकपमा पनि कायम छ।

अमेरिकी भूमिमा जारी त्यो लो स्कोरिङ खेलको शृङ्खला विश्वकपको चर्चाको विषय बनेको छ। टी-२० विश्वकपको रोमाञ्च नै घटेको भन्ने आरोपका बिच भारत र पाकिस्तान बिचको खेल पनि लो-स्कोरिङ बन्यो। यो प्रतिस्पर्धा कम रोमाञ्चक भने भएन। ३५ वर्ष अघि भारतीय खेलाडीको त्यो अमेरिकी भ्रमण भन्दा अहिलेको भ्रमण अझ विशेष बनेको छ। स्रोतः क्रिकइन्फो, आईसिसी, बिबिसी, गुजरात टाइटान

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : २४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि