समाचार

पन्ध्र लाखमा बीपी कोइरालाको सालिक निर्माण

By खबरहब

September 10, 2024

काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बीपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो । 

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा संकलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताए ।  

आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । 

बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बीपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बीपी राजमार्ग निर्माण भएको हो । ।