राजनीति

धनराजले संसद्‍मा भने- पूर्वश्रीमतीले गरेको सहकारी ठगीमा मलाई नजोडिदिनू

By खबरहब

September 10, 2024

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूर्वश्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन पनि माग गरेका छन् ।

उनले आफू र ज्योतिबीच २०७६ फागुनमै डिभोर्स भइसकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत हुने तर्क गरेका हुन् ।

सांसद गुरुङले पूर्वश्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको बताए। उनले त्यसलाई नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले आफूमाथि यसअघि लागेको आरोपमा पनि छानबिनपछि सफाइ पाएको बताउदै आफ्नोबारे छानबिन गरेर आरोपलाई गलत सावित गरिदिन सभामुख देवराज घिमिरे र सरकारसँग माग गरेका छन् ।

पूर्वकानुनमन्त्री रहेका गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।