‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल | Khabarhub Khabarhub

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 10 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज थापा, नातिकाजी, शिशंकर, उस्ताद भैरवबहादुर थापा, उस्ताद गोविन्दलाल आदिको प्रवेश भयो। ०१७, ०१८ सालपछि शिखर भएर देखा परे बच्चु कैलाश, पुष्प नेपाली, प्रेमध्वज, माणिकरत्न, तारादेवी, बटुकृष्ण ज्वाला, कृष्णमान आदि। बीसको दशकपछि नारायणगोपाल, गोपाल योञ्जन, नगेन्द्र थापा त्रिवेणी भएर झन् बग्दै आए।

जनकवि धर्मराज थापा रेडियो नेपालको लोकलहरी सञ्चालक भई गायनतिर विश्राम लिने तर्खरमा थिए भने कुमार बस्नेत र गंगा राणाको तामाङसेलो जोडी चर्चित हुँदै थियो। नेपाल बाहिरका कर्म योञ्जन, अरुणा लामा, शरण प्रधान, कुमार सुब्बा, शान्ति ठटाल, दिलमाया, जितेन्द्र बर्देवा, हीरादेवी वाइवा, अशोक राई कंचनजंघा भएर उभिएका थिए भने अम्बर गुरुङ र रञ्जित गजमेहर नौ लाख तारा उदाएको आकाशलाई त्यागेर नेपाल प्रवेश गर्ने जमर्को गर्दै थिए। यस्तै सांगीतिक वातावरणबीच नेपाली संगीतमा नयाँ मूल्य मान्यता र प्रयोग लिएर सामूहिक गायन परम्परामा राल्फासँगै लेकाली देखा प-यो।

मलाई अहिले सम्झना हुन्छ पारिजात दिदीको त्यो पुतलीसडकको डेरा र केही अनुहार जहाँ मञ्जुल, रायन, अरीम, विमल, निरन, निनु, सुकन्या दिदी, दयासिंह दिदी, सरु दिदी र पारिजात दिदीहरुमाझ संगीत र काव्यका दोभानमय रमाइला साँझहरु बिते। मञ्जुल त्यतिबेला राष्ट्र बैंकमा काम गर्दथे भने डेरा थियो ठँहिटीमा जहाँ अक्सर बेलुकी सुत्नेहरुको लस्करमा शैलेन्द्र साकार, रमेश श्रेष्ठ, दिव्य भुर्तेल, मञ्जुल, रामेश, गणेश योञ्जन, ईश्वर श्रेष्ठ र मलगायत कहिलेकाहीँ परशु प्रधान दाइ साथै ज्ञान उदास पनि मिसिन आइपुग्द थिए।

‘राल्फा’संग मन फाट्यो
पारिजात दिदीको ‘शिरीषको फूल’ उपन्याससँगै शंकर लामिछानको भूमिका लेखाइले नगरा बजाएको त्यस समयका चर्चित साहित्यिक पत्रिकामा भानु, रचना, मुकुट, रत्नश्री, अमलेख, सिम्रिक, सिंहनादमध्ये रुपरेखाले साहित्यको अलावा बेला बेला रुपरेखा संगीतको आयोजना गरेर नेपाली संगीतको श्रीवृद्धिमा ठूलो सघाउ पु-याएको थियो भन्ने मलाई लाग्दछ।

यसै परिप्रेक्ष्यमा बालमुकुन्द पाण्डे, उत्तम कुँवर दाइले रुपरेखा संगीत गोपाल योञ्जन, नारायणगोपाल, प्रेमध्वज प्रधान, माणिकरत्न, ध्रुव केसी, तारादेवी, रुवी जोशी, समा राणा, उदयशमशेरलगायत मञ्जुल, रामेश, अरिम र म पनि गोपाल योञ्जन दाइको गीतसंगीत गाउन राष्ट्रिय नाचघरको रंगमञ्चमा उभिन पुग्यौं। अरुको संगीतमा गाउने बानी नपरेको हाम्रो लागि गोपाल दाइको संगीत गाउन त्यति सहज भएन, निकै अभ्यास गर्नुप-यो।

एकदिन रामभक्त श्रेष्ठ आउनुभयो काभ्रेबाट निम्तो दिएर जानुभयो। खडपु-पनौतीमा आयोजना गरिएको उक्त कार्यक्रममा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, माधव घिमिरे, धर्मरत्न यमी, जनकप्रसाद हुमागाईं, कृष्णप्रसाद पराजुलीलगायत थुप्रै साहित्यकारहरुको उपस्थिति थियो। हामीले पनि गीत गायौं। कार्यक्रम बडो राम्रो भयो। तर त्यस समूहकै सदस्य साथीले मञ्चमा गरेको कटु व्यवहारले मन भाँचियो। उनको अरुबेला पनि मप्रतिको व्यवहार सम्झें। तब मैले आफूलाई त्यस समूहभित्र अटाएर बस्न सक्ने स्थिति देखिन। त्यसपछि मैले रामेश र मञ्जुलसँग सल्लाह गरेँ र अरुको दबाबमा बस्न नसक्ने, नचाहिँदो विवादमा पर्न नचाहने मेरो व्यक्तिगत स्वभावले पनि मलाई आफ्नो छुट्टै बाटो रोज्न कर लाग्यो र म रत्नराज्य स्कुल बानेश्वरको कार्यक्रमपछि पूरै राल्फाबाट छुट्टिएँ।

मेरो डेरा ठमेलमा थियो। रुम पार्टनर थिए संखुवासभाका साथी केदारनाथ राई। वामपन्थी विचारमा आस्था राख्ने र गीत पनि गाउन मन पराउने केदारजी सरस्वती कलेजका विद्यार्थी थिए भने म कृषि शाखा पाटनको जागिरे, चाख भने संगीत र लेखनतिर। मसँग कुनै बाजा थिएन अथवा यसो भनौं किन्न सक्ने मेरो औकात थिएन।

तेजबहादुर मुखियाको डेरा थियो किलागलमा। शान्ति दिदी पनि त्यही घरमा बस्नुभएको थियो अर्को कोठा लिएर। तर, भान्सा भने मुखियासँगै थियो। त्यस वर्षको तिहारमा शान्ति दिदीले मलाई र मुखियालाई भाइटीका लगाइदिनुभयो। र, सम्झनाका लागि न्यूरोड फोटो कन्सर्नमा गएर फोटो खिचायौं, जुन फोटो रमाइलो अतीतको रुपमा टाँसिएको छ मेरो पुरानो एल्बममा।

घरपतिको छोरा दामोदरसँग मुखियाको गहिरो मित्रता थियो। त्यही मित्रताले दामोदरको हार्मोनियम मागेर कोठामा ल्यायो मुखियाले। म फुर्सदको समय हार्मोनियम बजाएर गुजार्दथें। तालका बाजाहरु थिएनन, मुखिया टीनको बाकस बजाएर ताल दिने, म गीत गाउने, अनि कहिलेकाहीँ दुवैले स्वर मिलाएर गाउने यस्तै गर्दै समय बित्दै थियो।

एकदिन दामोदरसँग के निहुँमा झगडा प-यो मुखियाको। हामी कोठाभित्र थियौं, दामोदर कोठा बाहिर। जोशैजोशमा दामोदर कराउँदै कोठाभित्र पस्यो। मलाई लाग्यो अब पर्ने भयो मुखिया र दामोदरको लडाइँ। के गर्ने, के नगर्ने मुखिया पनि सतर्क भयो। दामोदर कोठाभित्र पसेर मुखियातिर नबढी छेउमा भएको हार्मोनियम थपक्क बोकेर बाहिर निस्कियो। हिँड्दा हिँड्दै उसले अश्लील गाली बर्सायो। यो व्यवहारले मेरो पनि कन्सिरी तात्यो।

तीर्थ शेरचनको डेरा त्यौडमा थियो। म प्राय : उहाँको डेरामा गइरहन्थें। त्यौडको गल्लीभित्र उर्मिला दिदीको घरमा भोजपुरेजीको डेरा। भोजपुरेजी र म एउटै ठाउँका थियौं तर पनि भोजपुरमा परिचय हुने अवसर परेको थिएन। म गाउँबाट हाइस्कुल पढ्न भोजपुर आउनुअघि नै भोजपुरको देउराली छोडिसक्नुभएका भोजपुरेजीसँग काठमाडौंमा परिचय भएर रेडियो नेपालमा झल्याक झुलुक भेट्दाभेट्दै घनिष्टता बढ्यो। यसरी मित्रता गाँसिनुमा जिल्लाबासीको भावनात्मक नाताले पनि कडीको काम गरेको हुँदो हो भने हाम्रो सांगीतिक सहयात्राले पनि हामीलाई आवद्ध पारेको हुनसक्छ।

भोजपुरेजीलाई भेट्ने सन्दर्भमा उर्मिला दिदीको आमाबाबु र बज्यैबाट अपनत्व व्यवहार पाएँ। निर्मला, नीरा, रुवन, जीवन, मधुवन, नवीन, सफला, सृजनाजस्ता उर्मिला दिदीका भाइबहिनीहरुबाट घरपरिवारको जस्तै अपनत्व पाएँ। अनि अर्कोपट्टिको घरमा भोजपुरेजीसँग बस्नु हुने भोजपुरेजीको चमा र चक्रबहादुर दाइ, द्रोण दाइ, दक्ष, बहिनी सरस्वती, खेसर, नन्दिका केशर, वेद र विजया दिदीलाई भेट्दा घरबाट आफू टाढा भएकोले लाग्यो मैले आफ्नो घर परिवार भाइबहिनी साथीसंगी पाएँ।

रेडियो नेपालमा गीत सिधै प्रसारण हुने चलन थियो। आजभोलि जस्तो डिजिटल थिएन। बढी डिक्स रेकर्ड र केही स्पूल टेप बजाउने गरिन्थ्यो। एउटा गीत गाएको दश रुपियाँ पारिश्रमिक पाउने त्यो समयमा उर्मिला दिदी, भोजपुरेजी कहिले कहिले निर्मलासंग मसहित भोजपुरेजीको खोंडे गिटार बोकेर रेडियो नेपालको स्टुडियोमा विहान सात बज्न अगाडि नै पुग्थ्यौं। जाडोमा प्राय हुस्सु फाटेको हुँदैनथ्यो। रेडियोको क्यान्टिनमा जाडो मेटाउन दश पैसा कपको चिया पिउनुको आनन्द पनि अहिले सम्झँदा रमाइलो लाग्छ।

उर्मिला दिदीको त्यौडको त्यो पुरानो पुख्र्यौली घरमा पुग्न मूल सडकबाट सानो गल्ली र इनार हुँदै दुईवटा चोक पार गर्नुपर्छ। दिउँसै बत्ती बाल्नुपर्ने अँध्यारो छिँडीबाट, बिनाबी भन्दै माथि उक्लिनुपर्ने भ-याङ। होचो तलामा बुट्टेदार आँखीझ्यालयुक्त हाम्रो गीतको अभ्यास गर्ने कोठा। कोठामा घरजस्तै पुरानो तर राम्रो आवाज भएको सानो हार्मोनियममा उर्मिला दिदी र निर्मलालाई कहिलेकाहीँ गीत सिकाउन आउनुहुन्थ्यो दाइ हुतराज शर्मा।

राजधानीकै निवासी भएको नाताले शुद्ध बाहुनको छोरा भएर पनि नेवारी भाषाको पितृ बुझाउने शर्मालाई प्रेमध्वज, सुशीला कंसाकार, निर्मला श्रेष्ठ र योगेश वैद्यजस्ता प्रतिभालाई रेडियो नेपालमा पु-याएर प्रसिद्धिको शिखरमा पु-याउने श्रेय छ। आर्थिक अवस्थाले विपन्न तर संगीत र उपकारी भावनाले सम्पन्न हुतराजको मृत्युपश्चात आजभोलि कहिँ कतै उहाँको नाम सुनिदैन।

लेकाली परिवारको न्वारान
हाम्रो गीत अभ्यासको सिलसिलामा एकदिन उर्मिला दिदी, भोजपुरेजी, तीर्थ शेरचन र मबीच एउटा सांगीतिक समूह गठन गर्ने छलफल भयो। समूहको नाम ‘टेम्के परिवार’ राख्नुपर्छ भन्ने भोजपुरेजीको प्रस्तावलाई मैले तत्काल समर्थन गरें। किनभने टेम्के डाँडाप्रति हामी दुवैको भावनात्मक लगाव थियो। र, समूहको नाममार्फत जन्मथलोलाई राजधानी समेत स्थापित गर्नुपर्छ कि भन्ने हाम्रो सोच थियो। तर तीर्थ शेरचनले भने हाम्रो भावनालाई नराम्ररी पछारिदिए र भने- टेम्के होइन, बरु दमाइले बजाउने टाम्कुलो राखौं न। संगीतसँग पनि सम्बन्धित छ। टाम्कुलो परिवार। अहा ! क्या राम्रो नाम।

उर्मिला दिदीलाई अब झन् के चाहियो। झन् टाम्कुली परिवार भन्दै प्रस्तावक समर्थक दुवैलाई पखेटा लगाएर हावामा उडाइ दिनुभयो। यसरी उपहासको पात्र भएकोमा दुवै मुर्मुरियौं। जे होस, अन्त्यमा हामी सबै एउटा निर्णयमा पुग्यौं त्यो दिन थियो- २०२४ साल श्रीपञ्चमीको शुभमुहूर्तको दिन। हाम्रो समूहको नाम ‘लेकाली परिवार’ न्वारन भएको दिन। राल्फा समूहको समानान्तर रुपमा लेकाली जन्मेको दिन। ऐले म औंला भाँचेर लेकाली जन्मेको वर्ष गन्छु।

यसरी जन्मेको लेकालीका संस्थापकहरुमा उर्मिला दिदी श्री ५ को सरकारको शाखा अधिकृत, भोजपुरेजी विश्वविद्यालयको विद्यार्थी, तीर्थ शेरचन एभीएमका संगीत शिक्षक, निर्मला एसएलसी दिने तरखरमा, त्यौडका न्हुच्छेबहादुर डंगोल स्वतन्त्र वाद्यवादक। मेरो भने पाटन कृषि शाखाबाट बागवानी केन्द, कीर्तिपुर सरुवा भइसकेको थियो। केही गर्नुपर्छ भन्ने जाँगर, जोश, हौसला भएका केही प्रतिभा र क्षमतावान पनि तर विना गुरुका चेला झैं भूइँफुट्टा मानौं कि एकलव्य जस्ता थियौं हाम्रो लेकाली त्यसबेला। यसरी लेकाली परिवारमार्फत राजधानीमा किलो गाडियो मेरो।

२०२५ साल शहीद दिवसको उपलक्ष्यमा तत्कालीन नगर पंचायतले प्रतियोगितात्मक कवि सम्मेलन आयोजना ग-यो। त्यसमा म प्रथम भएँ। र स्वर्णपदकसहित तीन हजार पाएँ। बल्ल मेरो हार्मोनियम किन्ने रकमको जोहो भयो। खुल्लामञ्चमा पुरस्कार पाएँ। कार्यक्रम सकिएपछि हतारिँदै हार्मोनियम माइलाको पसलमा गएर एक सय पचहत्तरमा एउटा हार्मोनियम किनेर डेरामा लगें। मेरो लागि त्यो निकै खुशी र सन्तोषको क्षण थियो। बल्लबल्ल मैले एउटा वाद्ययन्त्र किन्ने इच्छा पूरा गरेको थिएँ। अझै पनि त्यो हार्मोनियम मसंग छ, अर्को नयाँ हार्मोनियम किन्न सक्ने अवस्था भएर पनि यो हेला होला भन्ने लागेर अर्को किन्न मन लाग्दैन।

श्रीमती बारम्बार भन्थिन- ‘कति धेरै गीतहरु बनाउनुभयो, यो हार्मोनियमको स्वरबाट। अब यसलाई पूजा कोठामा सुरक्षितसंग पुज्दै राख्नुहोस्। बरु एउटा राम्रो नयाँ हार्मोनियम किनेर ल्याउनुहोस्।’

लेकालीले आफ्नो प्रस्तुत गर्ने तयारी गर्दै गरेको अवस्थामा तीर्थ शेरचन आफ्नो व्यवहारिक कारणले भनौं हामीबाट छुटिएर जानुभयो। नविनकिशोर राई धनकुटाबाट भर्खरै काठमाडौ आएका थिए कलेज पढन। भोजपुरदेखि नै हाम्रो राम्रो परिचय र उनको ससुराली पनि मेरो गाउँ भएकाले पनि हामी सँगै बस्थ्यौं। नविनकिशोर नाताले भिनाजु परे पनि कलाकारमा मभन्दा सिनियर मात्र थिएनन, एउटा राम्रो चित्रकार, नृत्यकार र वाद्यवादक पनि थिए। धरानमा बस्दा लोक नृत्यशाला जस्तो संस्था सञ्चालन गरेको अनुभव पनि थियो उनीसँग। यही नाताले लेकालीमा नविनकिशोरलाई मिसाउन पु-याएँ। अब नविनकिशोर, उर्मिला दिदीकी साइँली बहिनी नीरा र शशि भण्डारीसहित जम्मा आठजनामा लेकाली परिवार संगठित हुन पुग्यौं।

प्रसिद्धिका ती क्षण
अब हामी लेकालीका सामु एउटै धोका थियो, जसरी हुन्छ छिटोभन्दा छिटो आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै लेकाली परिवारलाई सार्वजनिक गर्ने। त्यसबेला भोजपुरेजीको चर्चित राष्ट्रिय गीत ‘लहरा पहरा छहरा’को देश भन्ने गीतलाई आधार मानेर कार्यक्रमको न्वारान गरियो ‘छहराको गीत’। तर कार्यक्रम सफल पार्न लागि हाम्रो सामु चुनौती भएर उभिएको थियो, टिकट बेच्ने र दर्शकहरुको मन जित्ने काम। किनभने सांगीतिक क्षेत्रमा हाम्रो नाम स्थापित थिएन। अझ भनौं बेलाबेलामा कलाकुञ्ज, नासा खल, प्रधान नाट्य मण्डल, भैरव नृत्यदल, रुपरेखा संगीत र संस्कृति विभागले फागुन ७ मा गर्ने कार्यक्रमबाहेक विरलै कार्यक्रम हुने गर्दथ्यो। कार्यक्रम आयोजनाका लागि उर्मिला दिदीमार्फत श्री महाँकाल नमूना प्राइमरी स्कुल र राष्ट्रिय प्रौढ हाइस्कुल महाबौद्धसँग मितेरी गाँस्न पुग्यौं। अब टिकट बेच्ने जिम्मेवारी स्कुलको भयो भने कार्यक्रम रोचक बनाउने जिम्मेवारी हाम्रो काँधमा आयो।

भर्खरै भारतबाट एमम्यूज गरेर आउनु भएकी गायिका सोफिया शर्मालाई अतिथिका रुपमा गाइदिन गुहार्न पुग्यौं। तत्कालीन आईजीपी रोमबहादुर थापा र भ्याली प्रहरी प्रमुख डीबी लामासँग हाम्रो राम्रो परिचय भएको नाताले प्रहरी क्लबमै कार्यक्रम गर्ने र क्लबको तर्फबाट सहयोगस्वरुप केही नाच र प्रहसन कार्यक्रममा समावेश गर्ने चाँजो पनि मिलायौं।

 

२०२५ सालको चैत १५ र १६ गते प्रहरी क्लबको रंगमञ्चमा पहिलो प्रस्तुति घन्कियो छहराको गीत। लहरा पहरा, टेम्के डाँडा, ए है है, काफल पाक्यो जस्ता १२ वटा गीत समावेश गरिएको त्यसबेलाको चर्चित हाँस्य जोडी राजपाल थापा, ध्रुव हाडा, बसुन्धरा भुसाल, नाराण रायमाझीको ‘टुरिष्ट गाइड‘ र ‘ज्यूँदो मुर्दा’ प्रहसन तथा चेतनारायण भुसाल, तुल शेरचन, रेणु, सिम, प्रेमजंग सिजापति, धन जमुनाको आकर्षक नृत्यहरु, नेपथ्य गायनमा कमला श्रेष्ठ, मदन पाण्डे र नृत्य निर्देशकमा सिंहबहादुर मोक्तानको सक्रिय सहयोगले छहराको गीत कार्यक्रममा चार चाँद लाग्यो। कार्यक्रम सोचेभन्दा बढी सफल भयो।

अब रेडियो नेपालबाट ए है है, काफल पाक्यो, लहरा पहरा, टेम्के डाँडा, खोलाको तीर नाचेर हिँड्छ आदि गीतहरु घन्किन थाले। बाटोमा हिँड्दा पनि मानिसहरु हामीलाई ए, भेडा बाख्रा भनेर जिस्काउन समेत पछि परेनन। जुन जिस्काइ सुन्दा आफ्नो अल्लारे बुद्धि रिसले कन्चट तातेरे आउँथ्यो। अहिले भए त्यो जिस्काइलाई स्वाभाविक रुपमा लिन्थें। हाँसेर टारिदिन्थें।

शब्द, संगीत र स्वरमा मौलिकता, लेकाली परिवारको सर्त
आधुनिक गीतका नाममा भारतीय फिल्मको फोटोकपी उतार्ने प्रवृत्ति हावी भएको नेपाली संगीतमा जेजति नयाँ पुस्ताहरु आउँछन्, तिनीहरु पनि अधिकतम पुरानै नक्कल बमोजिम नक्कलै डुप्लीकेट कलाकारहरुमाझ लेकालीले नेपाली संगीतलाई एउटा नयाँ मोड दियो। नेपाली लोकभाखा, लोकथेगो, उखानटुक्का र लोकवाणीहरुलाई आफ्नो आधुनिक गीतहरुमा संयोजन गरी लेकालीले नयाँ क्षितिज दियो, जसलाई दर्शक र श्रोताहरुले रुचाए। अथवा यसो भनौं जनमानसको रुचिले परिवर्तन चाहेको थियो। तर मनोविज्ञानलाई लेकालीले समात्यो र नेपाली संगीतमा स्थापित हुनपुग्यो लेकाली।

म बागवानी केन्द्र कीर्तिपुरबाट कृषि सूचना शाखा हरिहरभवन सरुवा भएँ, तर काजमा। मेरी दरबन्दी भने डोल्पा कृषि शाखामा। यसरी मलाई कृषि सूचना शाखामा ल्याउन मीनभवन कृषि स्कूलमा पढाउनुहुने सर चन्द्रकुमार भट्टराईको मुख्य हात थियो। साहित्य लेखनमा अभिरुचि राख्नुहुने भट्टराई सर रेडियो नेपालबाट प्रसार हुने कृषि कार्यक्रमका हर्ताकर्ता। शाखाका प्रमुख थिए किरणमणि दीक्षित, जेटीए र बुढीआमैका आमै पात्र लक्ष्मी परियार, सम्बाद लेखक जया पाण्डे र बालप्रसाद दाइलाई अहिले पनि सम्झन्छु। तर कहिले राम्रो गर्छु भन्दा पनि नराम्रो हुन्छ। भट्टराई सरले गर्नुभएको सरुवा शाखालाई राम्रो भयो होला तर मेरो लागि ठूलो आपत विपत आइलाग्यो। महिना मर्नासाथ अन्य कर्मचारीहरु तलब बुझ्दै घर र डेरा जान्छन्, आफू भने जिल्लाबाट तलब नआएकोले चिल्लै।

यसरी एक दुई महिना त जसोतसो धानें, तर पाँच महिनासम्म मैले तलब नपाउँदा राजधानीमा के हालत भयो होला मेरो। झन् डेरामा जागिर नभएका र घरबाट खर्च पनि नआएका नवीनकिशोर दाइ पनि सँगै थिए। जोगीको घरमा सन्यासी पाहुना जस्तै।

नयाँसडक घुम्दै उर्मिला दिदीको घर त्यौड पुग्दा भोक र थकाइले नौनाडी गलेको अनुभव गर्थें। त्यहाँ पुग्न पाएको केही क्षणमा नै म मुखै फोरेर भन्थें- ‘चिया खाउँ न दिदी, साह्रै भोक र थकाई लाग्यो।’ मेरो अवस्था के छ, त्यो बारेमा मैले भोजपुरेजी र उर्मिला दिदीसँग कहिल्यै जिकिर गरिन। ख्वै केको अहम्ले मलाई रोकिराख्यो। उर्मिला दिदी भन्नुहुन्थ्यो- ‘जहिले पनि भोक मात्रै लाग्छ भन्नुहुन्छ रसिकजी, खानै खानुहुन्न कि कसो ?’ खाना खाए पनि अब खाजा खाने समय भयो नि दिदी भन्दै म सत्यलाई छलेर खाजा खान जिउछाडा हुन्थें। यसरी राजधानीमा मेरो संघर्षमय जीवन गुज्रिंदै थियो।

२०२७ साल असोज ८ र ९ गतेको साँझ राष्ट्रिय नाचघरको रंगमञ्चमा हाम्रो दोस्रो सांगीतिक प्रस्तुति घन्कियो- ‘उपत्यका’। यसपटक लेकालीलाई आयोजक खोज्ने झन्झट पनि पनि परेन। म स्वयं राष्ट्रिय नाचघरमा काम गर्थें। त्यहीँ काम गर्नुहुने नारायणकृष्ण, रवि शाह, मदन लामा, श्याम प्रजापति, कोकिल गुरु, यमबहादुर भैरवबहादुर थापा र राममान प्रधानलगायत थुप्रै दाइ एवं मित्रहरुको सक्रिय सहयोग हामीलाई प्राप्त थियो। ६ वटा लोक, ६ वटा आधुनिक गीतका साथमा त्यो बेलाका हाँस्य जोडी राजपाल र ध्रुव हाडाको ‘कवि र संगीतकार’ तथा ‘कल्पना’ नामका दुई प्रहसन पनि समावेश गरियो।

मलाई लाग्छ लेकालीले प्रस्तुत गरेको तीन कार्यक्रममध्ये अत्यन्तै सफल र उत्कृष्ट रह्यो- उपत्यका। प्रयोग, शब्द चयन, लय, ताल, संवेदना, कलात्मकता र गायनको सफल समन्वयले गर्दा लेकालीलाई उपत्यकाले राष्ट्रिय स्तरमा पु-यायो। राल्फा प्रगतिशील फाँटबाट गाउँ गाउँमा घुम्दै थियो। अनि, रेडियो नेपालमा आधुनिक एकल गायनका गायक गायिकाको एकाधिकार थियो। लेकाली यी दुवै धारको बीचमा तेस्रो धार भएर चुनौतीको रुपमा उभिन आइपुगेको थियो।

छहराको गीतदेखि उपत्यकासम्म आइपुगेको डेढ वर्षको यात्रामा नविनकिशोर राई र नीरा श्रेष्ठ लेकालीबाट छुट्टिए भने इन्द्रनारायणजीको प्रवेशसँगै व्यवस्थापनको कार्यभार सम्हाल्नुहुने शशि भण्डारीजी पनि गायकको रुपमा थपिएर मञ्चमा उभिन आइपुग्नुभयो। उपत्यकाले त्यस वर्षको उत्कृष्ट सांगीतिक साँझको रुपमा नेपाली पत्रपत्रिकामा प्राथमिकता पायो। अब लेकालीको शुभचिन्तकको क्षेत्र धेरै फराकिलो भइसकेको थियो। लेकालीले श्रीरत्न रेकर्डिङ संस्थानमा पहिलोपल्ट आठवटा गीतको डिक्स रेकर्ड गर्ने सुअवसर प्राप्त ग-यौं।

आईजीपी रोमबहादुर थापाले श्री ५ महेन्द्र सरकारका जुनाफमा नजर गराउने सांस्कृतिक कार्यक्रममा हामी लेकाली (भोजपुरेजी, उर्मिला दिदी र म) लाई समावेश गरेर नारायणहिटी राजदरबार लानुभयो। र दरबारभित्रको पुरानो नाचघरमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रममा लेकालीले लहरा पहरा छहराको देश भन्ने राष्ट्रिय गीत गायौं। पहिलोपल्ट हृदयाघातपछि केही स्वास्थ्यलाभ गरिबक्सेको श्री ५ महेन्द्र सरकार केही दुब्लो र अनौपचारिक साधारण पोसाकमा होइबक्सन्थ्यो। वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र सरकारलाई पनि मैले पहिलोपल्ट त्यही कार्यक्रममा दर्शन पाएको हुँ।

…अनि सेलायो लेकाली
२०२८ सालको पिँजडापछि लेकाली आफ्नै छुट्टै कार्यक्रम प्रस्तुत गर्न सकेन। बेलाबेलामा अरुले गरेको कार्यक्रमा उभिएर दुई चार गीत गाउनुबाहेक अरु स्मरणीय उल्लेखनीय गतिविधि पनि सञ्चालन गर्न सकिएन। लेकालीभन्दा हामी आआफ्नो नाम लिएर बाँच्नप्रति तल्लीन र क्रियाशील रह्यौं।

लेकाली र गीतको प्रसंग चल्दा केही वर्षअघि मेरी छोरीले भनेको कुरा सम्झदैछु म- ‘डेडी तपाईंलाई त मेरो साथी श्वेताको ममीले पनि चिन्नुहुँदो रहेछ।’

मैले सोधें- ‘ए हो र तिमीले कसरी थाहा पायौ ?’ मैले मेरो नाम निरजा रसिक भनें। उहाँले सोध्नुभयो, ए गणेश रसिकको छोरी हो ? मैले भने हो। तब श्वेताले आमालाई सोधिन– ममीले पनि निरजाको डेडीलाई चिन्नुहुन्छ र ?

अहो किन नचिन्नु त ? गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला, निर्मलाको लेकाली समूह। हामी उनीहरुको फ्यान। श्वेताले आमाको कुरा सुनेर भनिन, खै निरजा तिमीले त तिम्रो डेडी गीत गाउनुहुन्छ भनेर कहिल्यै भनिनौ। कसरी भन्ने त मेरो डेडी गीत गाउनुहुन्छ भनेर। अहिले यो सन्दर्भमा म मेरी छोरी, छोरीकी साथी श्वेता र उनकी आमाले गरेको वार्तालाप सम्झन्छु। कताकता हुतराज शर्मा, उस्ताद गोविन्दलाल, जनार्दन सम, रामलाल जोशी, भीमबहादुर गुरुङ, गंगा राणा, प्रीतिमान, सूर्यराज शर्मा, मनश्याम बटुकृष्ण ज्वाला, कोकिल गुरुङ, वीरबहादुर, यमबहादुर खड्का, राजभाइ, गोपीनाथ अर्यालका अनुहार झल्याक झुलुक देखा पर्छन्।

आआफ्नो समयमा महत्त्वपूर्ण योगदान गरेर इतिहासको गर्भमा हराएका यी कलाकारको लामामा अरु पनि सयौं कलाकारलाई सम्झेर म आफूलाई पनि असहाय र निरीह सम्झन्छु। हुन त हामीलाई कसैले सम्झिदियोस भन्ने आशाले यो लेखन र संगीत क्षेत्रमा लागेका पनि थिएनौं। तर, कसैलाई भने चाहिँदोभन्दा बढी सम्झिने, कसैलाई चटक्कै बिर्सिने गरिदिँदा मात्र चित्त कटक्क काटिँदो रहेछ।
(लेकालीको संगीत यात्रा पुस्तकबाट साभार)

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १० : ४२ बजे

पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोज्दै छौँ : प्रवक्ता महर

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल

केनेडी स्पेस सेन्ट- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार

सञ्चारमन्त्रीले सुनाए उपलब्धि- वर्तमान सरकारले मुलुकलाई असफल हुनबाट जोगायो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल

मुलुकलाई असफल राष्ट्रबाट हुनबाट सरकारले जोगाएको छ : सञ्चारमन्त्री 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल

कांग्रेस सचेतक घिमिरेको प्रस्ताव- यौन व्यवसायलाई व्यवसायीकरण गरेर पर्यटक भित्र्याऔँ, देशको विकास हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण