होस्टेलबाट अभिभावकलाई चिठी « Khabarhub

ब्लग

होस्टेलबाट अभिभावकलाई चिठी


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

मिति- आमाबुबाको यादले सताएको दिन । स्थान- बाल बन्दीगृह (सुन्दर भविष्य निर्माण बिद्यालय)

आदरणीय अभिभावकहरु, दर्जाअनुसारको सेवाढोग ।

आराम छु । भविष्यमा आफ्ना सन्तानहरुलाई राम्रो, चलाख, असल, संस्कारी र भविष्यको सहारा बनाउने कल्पना र सपना बोकेर सन्तानका लागि पैसाले शिक्षा किन्न सकिन्छ भनेर सुन्दर भविष्य निर्माण बिद्यालयको होस्टेल नामको बालबन्दीगृहमा सन्तानलाई छोडी सन्तानकै लागि मस्त, ब्यस्त र अस्तव्यस्त रुपमा अहोरात्र खटिरहनुहुने तपाईंलगायत सम्पूर्ण अभिभावकहरुलाई आरामै होस् भनी भगवानसँग प्रार्थना गर्दछु।

आज म, मलगायत मजस्ता हजारौं बालबालिकाको बालमनोविज्ञान, अभिभावकको व्यवहार, यसले बाल मनोविज्ञानमा पर्ने असर र बालबालिकाले अभिभावकसँग राख्ने अपेक्षालाई समेटेर यो पत्र लेख्दैछु । आशा छ, तपाईंहरुसँग समय नभए पनि अलिकति फुर्सदको समय निकालेर पढिदिनु हुनेछ।

अभिभावकज्युहरु, हामी यहाँ साथीहरुबीच घरपरिवारको कुरा गर्दा रहर, बाध्यता, देखासेखी प्रभाव, पारिवारिक विचलन आदि विभिन्न अवस्थाबाट आएको पाएँ । यी सबै परिस्थितिको दवाब, प्रभाव र अभावमा आफ्ना सन्तानलाई राख्दै संबैधानिक बाल अधिकारसमेत हनन गर्दै तपाईहरु आ-आफ्नो अधिकार लिने र अरुको अधिकार दिलाउने कार्यमा सक्रिय भूमिकामा हुनुहुन्छ।

मसँगै बस्ने मेरो साथी निशाकी आमाले उहाँका साथीसँग भन्नुहुन्छ रे, ‘मलाई फुर्सद छैन, सबै जिम्मा स्कुललाई दिएकी छु। सबै कुरा स्कुलमा सिकाइदिनुपर्‍यो भनेकी छु । हामीले जान्ने भए किन स्कुल पठाउथ्यौं ? यसो गर्दा मलाई फुर्सद पनि हुन्छ र मन लागेको ठाउँमा घुम्न जान पनि पाइन्छ !’

आशाकी आमा बालबालिकासम्बन्धी अन्तराष्ट्रिय संस्थामा काम गर्ने र बाबा सरकारी कर्मचारी भएकाले उहाँहरुले समय दिन नसकेर होस्टलमा राख्नु भएको रहेछ ।

सुनिताका बाबाआमाले आफन्तको बिद्यालय भएकाले उनीलाई विद्यालयको जिम्मा लगाएर अमेरिका गएको ३ बर्ष भएको रहेछ ।

सोयुजका बाबा र आमाको डिभोर्स भएकाले उनको बाबाले यहाँ राख्नु भएको रहेछ भने रुपेशका बाबाले संगतले बिग्रियो भनेर राखिदिनु भएको रहेछ ।

यी माथिका विभिन्न अवस्थाका अभिभावकलाई म आज यो पत्रमार्फत अनुरोध गर्दछु कि छोराछोरीले पहिलो संस्कार अभिभावकबाटै सिकेका हुन्छन्। त्यसैले समय निकालेर तपाईंले जानेकै व्यवहारिक सीप हामीलाई सिकाइदिनुहुन अनुरोध गर्दैछु।

अभिभावकको असल र सकारात्मक व्यवहारले बालबालिकाको भविष्यको दिशा निर्देश गर्दछ । किनभने बिद्यालयबाट आएको नकारात्मक पत्रको आमाले दिएको सकारात्मक उत्तर र व्यवहारले अल्बर्ट आस्टाइन विश्वका सफल बैज्ञानिक बनेका हुन् ।

त्यसैले अभिभावकले उचित खानपान, योग, ध्यान र अनुशासन छोराछोरीलाई सिकाउनु जरूरी छ। उनीहरूको लवाइ, खुवाइ, बोल्ने भाषा, चालचलन र अनुशासन घरको व्यवहारले प्रभाव पर्ने हुँदा घरबाट यी कुरा ख्याल गरिनुपर्दछ।

सकारात्मक सोच, शारीरिक व्यायाम, योग, ध्यान र सन्तुलित भोजनले मन प्रफुल्ल हुन्छ, शान्त हुन्छ र शान्त मनले पढाइलाई सहयोग गर्दछ। नानीहरू तपाईंसँग बसेर भलाकुसारी गरी तपाईंकै अगाडि हाँस्न, खेल्न, रमाउन चाहन्छन्। यी सबै कुरा प्राप्त गर्न तपाईहरुको काख र साथ आवश्यक पर्छ ।

छोराछोरीको भविष्य राम्रो गर्नुमा तपाईंहरूको नै ठूलो हात रहेको हुन्छ। । छोराछोरीको अहिले नै विचार पुर्‍याउनु भएन भने तपाईंले वर्षौं वर्ष लगाएर कमाएको धन सम्पत्ति एकै घन्टामा नष्ट गर्ने खालको पनि बन्न सक्छ भन्ने तपाईहरुसामु उदाहरण धेरै छन्।

त्यसकारण तपाईंहरुले आफ्ना छोराछोरीको हरेक पाइला पाइलामा पैसा खर्चनु भन्दा समय बढी खर्च गर्दै अभिभावक र सन्तान बीच सकारात्मक वातावरण सिर्जना गरी तपाईंको परिवार, समाज अनि देशको विकास गर्ने भावना भएका इमान्दार छोराछोरी बनाउने वातावरण सिर्जना गर्नुपर्छ। तपाईहरुले हामीलाई जे लगानी गर्नु भयो पछि त्यही कुरा फिर्ता पाउनु हुन्छ ।

तपाईहरुले दिएको महँगो उपहार भन्दा हामीलाई तपाईहरुको उपस्थिति महत्वपूर्ण हुन्छ। त्यसैले तपाईहरुको रहर, बाध्यता, विवशता जे भए पनि आफ्ना सन्तानलाई नैतिकवान, इमान्दार र आत्मअनुशासितसहितको असल बनाउन चाहनु हुन्छ भने यो पत्र पढेर व्यवहार परिवर्तन गर्नु हुने छ भन्ने आशाका साथ आजलाई बिदा चाहन्छु।

आजलाई यत्ति नै । धन्यवाद !

उही, तपाईकी मुटुको टुक्रा

अभागी सन्तान

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १ : ०१ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको