बैंकको नाफा बढ्दा र सरकार टिक्दा शेयरबजारमा उत्साह « Khabarhub

बैंकको नाफा बढ्दा र सरकार टिक्दा शेयरबजारमा उत्साह

‘गिरोहले फेरि घटाउन सक्छन्‌’


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको कार्तिक महिनाको बैंकिङ क्षेत्रको वित्तीय विवरण सार्वजनिक गरेको थियो  सार्वजनिक विवरण अनुसार बैंकको नाफा असोजको भन्दा कार्तिकमा २८.०२ प्रतिशतले बढ्यो ।

चालु आर्थिक वर्षको असोजमा बैंकिङ क्षेत्रले १८ अर्ब १० करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा कात्तिकमा सो नाफा वृद्धि भएर २४ अर्ब ९९ करोड १० लाख रुपैयाँ पुग्यो ।

सो रिपोर्ट सार्वजनिक भएको भोलिपल्ट मङ्गलबार शेयर बजारमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स समूहमा गिरावट आयो । चारवटा समूह बढ्दा वित्तीय क्षेत्रका तीनवटा समूहमा भने गिरावट आयो ।

रिपोर्टमा उल्लेखित बैंकहरूको नाफा बढेको समाचार सार्वजनिक हुन थालेपछि बुधबार भने तीनवटै क्षेत्रमा उत्साह देखियो । केन्द्रीय बैंकले सार्वजनिक गरेको कार्तिक महिनाको वित्तीय विवरण अनुसार वाणिज्य बैंकको नाफा २२ अर्ब २९ करोड ९० लाख रुपैयाँ छ ।

जुन नाफा असोजको तुलनामा ३७.७४ प्रतिशतले धेरै हो । मङ्गलबार शेयर बजारमा भने बैंकिंङ समूहको परिसूचक घटेपनि बुधबार भने बैंकिङ क्षेत्रमा उछाल नै आयो । बुधबार एकै दिन वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेर एक हजार ४५२.८२ बिन्दुमा पुग्यो ।

विकास बैंकहरूले कार्तिक महिनामा दुई अर्ब तीन करोड ७० लाख रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक भयो । जुन असोजको तुलनामा ३९.३० प्रतिशतले धेरै हो । उक्त समूह मङ्गलबार घटेको भएपनि बुधबार भने १.६३ प्रतिशतले बढेर पाँच हजार ७७९.४३ बिन्दुमा पुग्यो ।

फाइनान्सको अवस्था पनि त्यस्तै छ । फाइनान्स कम्पनीको ६५ करोड ६० लाख रुपैयाँ कमायो । जुन अघिल्लो महिनाको तुलनामा ४३.९९ प्रतिशतले धेरै हो । मङ्गलबार घटेको फाइनान्स समूह बुधबार भने १.८३ अंकले बढेर तीन हजार ३४७.९३ बिन्दुमा पुग्यो ।

लगानीकर्ता भन्छन् – ‘राजनीतिक कारण’

वित्तीय क्षेत्रको वित्तीय विवरण सकारात्मक आउँदा पनि शेयर बजार मङ्गलबार घट्नु र बुधबार बढ्नुमा राजनीतिक कारण भएको बजारका जानकारहरू बताउँछन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गरेर आएपछि सत्ता सहकार्य गरिरहेको दल कांग्रेसभित्र पनि मदभेद हुन थालेको, तर बुधबार त्यो साम्यजस्तो देखिएकाले मङ्गलबार बजार घटे पनि बुधबार भने बजार बढेको जानकार बताउँछन् ।

मङ्गलबारको हकमा लगानीकर्ताहरू यो सरकार रहन्छ कि रहँदैन, अर्थमन्त्री रहन्छन्‌ या रहँदैनन् भन्ने खालका चर्चामा लागेकाले वित्तीय संस्थाको वित्तीय विवरण राम्रो आउँदा पनि बजार बढ्न नसकेको बजारका जानकार मुक्ति अर्याल बताउँछन् ।

आफूले हेर्दा पनि बैंकहरूको वित्तीय विवरण राम्रै लागेको, तर नेपालको पुँजीबजार म्यानुपुलेट हुने गरेकाले सकारात्मक असर देखिन गाह्रो भएको उनको भनाइ छ । ‘फण्डामेन्टल भन्दा स्टकलाई चलाउने/बढाउने घटाउने कुरामा लगेकाले गर्दा त्यस्तो भएको हो’, अर्यालले भने, ‘सरकार रहने नरहने हल्लाहरू बढी भएकाले यस्तो देखियो ।’

शेयर बजारमा यस्तो हुनु राम्रो कुरा नभएको अर्याल बताउँछन् । ‘लगानीकर्ता सबै त्यस्तै भएपछि केही गर्न सकिँदैन’, अर्यालले भने, ‘नियामक निकायले काम गरेको खण्डमा त्यस्ता प्रवृत्ति हट्न सक्छ, नभए यस्तै भइरहन्छ ।’

तर, बुधबार वाणिज्य बैंक समूह नै बढेकाले गर्दा वित्तीय विवरणको असार पनि राम्रो देखिएको अर्यालको भनाइ छ । ‘मङ्गलबार बजार घटे पनि बुधबार बढ्यो । एक हिसाबले त्यो वित्तीय विवरणकै प्रभाव भन्न पनि सकियो,’ अर्यालले भने ।

पछिल्लो समय सरकार र अर्थमन्त्री परिवर्तनको हल्ला बढेकाले लगानीकर्ता अलमलमा परेको इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्‌ । पुँजीबजार वित्तीय अवस्थालाई भन्दा राजनीतिक अवस्थालाई हेरेर प्रभावित हुने गरेको ढकालको भनाइ छ ।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भने बजारका केही खेलाडीले बजारलाई आफ्नो अनुकूलतामा चलाउन खोजेको, तर सफल नभएको बताउँछन् ।

‘एक खालका मान्छेहरू बजार दुई/चार सय अङ्कले घटोस् भन्ने चाहन्छन्’, पाण्डेले भने, ‘विषेशगरी सरकार ढल्ने हल्ला फैलाएर बजार घटाउन चाहिरहेका थिए ।’

बजारले सबै करेक्सन चक्र पूरा गरेको र टेक्निकली पनि राम्रो देखिएकाले बुधबारबाट बजार बढेको पाण्डेको भनाइ छ । ‘बजारले राजनीतिको लय समातेको जस्तो देखिएको छ’, पाण्डेले भने, ‘अर्कातर्फ एक खालको गिरोहले सकारात्मक समाचार आए  पनि नकारात्मक व्याख्या गरेर हल्ला फैलाउँदै बजार घटाउन खोजेको देखिएको छ ।’

बजार घटाउने गिरोहले केही पत्रपत्रिकाको पनि सहारा लिने गरेको पाण्डेको भनाइ छ । अब त्यस्ता गिरोह जति लागे पनि बजारलाई केही गर्ने नसक्ने अवस्था रहेको ढकालको भनाइ छ ।

नेपाल शेयरधनी संघका उपाध्यक्ष कमल अधिकारी बैंकिङ क्षेत्र बढ्दा सबै क्षेत्र बढ्ने भएकाले गर्दा आज बजारमा राम्रो उत्साह आएको बताउँछन् ।

मङ्गलबारसम्म बीआरआई र सरकार ढल्ने हल्ला कुराले पनि बजारलाई प्रभाव पारेको, तर अब सबै कुरा लयमा आएकाले गर्दा बजारमा हरियाली छाएको अधिकारीको भनाइ छ ।

‘मैले पनि बैंककै २० देखि २५ हजार कित्ता शेयर उठाए’, अधिकारीले भने, ‘अन्य समय भए १० हजार कित्तामात्र उठाउने सोचमा थिएँ, तर परिस्थिति सबै राम्रो र बैंकको वित्तीय अवस्था पनि राम्रो भएकाले बढी किनेँ ।’

अब बजारमा बुल शुरू भएकोले ३२०० बिन्दुलाई पनि पार गर्ने उपाध्यक्ष अधिकारीले अनुमान सुनाए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ५ : ५३ बजे

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ प्रक्रिया सुरु हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई