कामु उपकुलपतिलाई वीपी प्रतिष्ठानमा प्रवेश निषेध | Khabarhub Khabarhub

कामु उपकुलपतिलाई वीपी प्रतिष्ठानमा प्रवेश निषेध



सुनसरी– मुलुककै सबैभन्दा धेरै फ्याकल्टी भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हितमा सरकार गम्भीर नहुँदा एकपछि अर्को समस्याका गुजुल्टा देखिन थालेका छन् । पछिल्लो समय वीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको पदीय हैसियत के हो भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।

गत मंसिरमै ६५ बर्षे उमेर हदका कारण अवकास पाइसकेकाले प्रा.डा. कार्कीको कामु उपकुलपतिको हैसियत कायम रहन्छ कि रहन्न भन्ने प्रश्न उत्पन्न भएको छ ।

कार्कीलाई प्रतिष्ठानको ऐन र नियमावली अनुसार कुलपति प्रधानमन्त्रीले नियुक्त नगरेर सहकुलपति स्वास्थ्यमन्त्रीले कामु पद सिर्जना गरी नियुक्त गरेकाले प्रतिष्ठानको कामु पदमाथि नै प्रश्न उठेको हो ।

वीपी प्रतिष्ठानको ऐन र नियमावलीमा उपकुलपतिले कुनै रिक्त रहेको प्रशासकीय पदमा ज्येष्ठताका आधारमा सोभन्दा मुनिको पदमा काम गर्ने व्यक्तिलाई कायम मुकायम मुकरर गर्न सक्ने व्यवस्था छ प्रतिष्ठानको ऐन अनुसार उपकुलपतिमा नियुक्त भएको अवस्थामा प्रा.डा. कार्कीले उमेर हदका कारण फ्याकल्टीबाट अवकास पाए पनि उपकुलपति पदमाथि प्रश्न गर्ने ठाउँ रहने थिएन । तर, गत मंसिर पहिलो साता उनले अवकास पाइसकेका छन् र त्यसयता उनी कामु उपकुलपति मात्र छन् ।

प्रतिष्ठानको संशोधित नियमावलीले कायम मुकायम पदबारे अर्कै व्याख्या गरेको छ । नियमावलीले कायममुकायम पदबारे भनेको छ, ‘प्रतिष्ठानको कुनै प्रशासकीय पदमा कार्यरत व्यक्ति विदा वा काजमा गएका कारण वा अन्य कुनै कारणबाट कुनै पद खाली भएको पदमा सोभन्दा मुनिको पदमा काम गर्ने व्यक्तिमध्ये ज्येष्ठताका आधारमा उपकुलपतिले सो रिक्त पदको मात्र काम हेर्ने गरि आवश्यक ठानेमा कायम मुकायम मुकरर गर्न सक्ने छ ।’

प्रतिष्ठान ऐनले कामु उपकुलपतिको कल्पना गरेको देखिँदैन । तर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कुन ऐन नियमावलीको आधारमा प्राडा कार्कीलाई कामु उपकुलपति पदमा नियुक्त गरेका हुन् भन्ने प्रश्न उब्जेको छ ।

वीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की

प्राडा कार्की प्रतिष्ठान स्थापनाकाल अर्थात तीन दशकदेखि नै मेडिसिन विभाग हुँदै कार्डियोलोजी विभाग प्रमुखका रुपमा हालसम्म कायम रहेका छन् ।

प्रतिष्ठानका चिकित्सक डा विष्णु पोखरेलले भने, ‘उहा (प्राडा कार्की) फूल भीसी नभएकाले र कामु भीसी पनि नियमावली विपरीत छ । उमेर हदका कारण गत मंसिर पहिलो सातामै स्वतः अवकाश पाइसकेको हुँदा अब बहालवाला फ्याकल्टीका रुपमा रहनुभएको देखिन्न । फूल भीसीका रुपमा नियुक्त हुनुभएको भए अर्को कुरो हुन्थ्यो ।’

पोखरेल अगाडि भन्छन्, ‘अब उहाँले प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाएर बसिरहन आवश्यक छैन ।’

नभएको प्राध्यापक पद आफैं भिरेको आरोपमा डा. ज्ञानेन्द्र गिरी कारवाहीमा परेपछि रिक्त रहेको उपकुलपति पदमा स्वास्थ्यमन्त्री बस्नेतले प्रतिष्ठानको ऐन नियमावली नै नहेरी हतार–हतार प्राडा कार्कीलाई गत असार १९ मा कामु उपकुलपति पदमा नियुक्त गरेका हुन् । तर, लामो समयदेखि उपकुलपतिविहीन प्रतिष्ठान अस्तव्यस्त भएकाले त्यसबेला यसबारेमा कसैले पनि प्रश्न उठाएका थिएनन् ।

जब बुधबार चिकित्सक शिक्षकहरुको पदोन्नतिका विषयमा निर्णय गर्ने भन्दै कार्यकारिणी समिति (कास)को बैठक बोलाएर कार्की बेपत्ता भए, त्यसपछि उनको नियुक्तिसम्बन्धी विवाद सतहमा आयो । यससँगै आफू विदामा बसेको र निमित्त उपकुलपतिको हैसियत दिइएको पत्र शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्माको टेवलमा बिहानै राखेर सुटुक्कै बाहिरिएका कार्कीको कामु पदको हैसियतबारे बहस सुरु भएको छ ।

 

चिकित्सक शिक्षक र कर्मचारीहरुसँग यसअघि गरेको चारबुँदे सहमति अनुसार पदोन्नतिको प्रक्रिया अगाडि बढाउँदा बुढेसकालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्छ कि भनेर राजनीतिक दलका नेताहरुलाई कार्कीले सुनाउने गरेका थिए ।

गत शुक्रबार मात्रै स्वास्थ्यमन्त्री बस्नेत वीपी प्रतिष्ठान धरानमा आएका थिए । उनले सात बर्षदेखि रोकिएको चिकित्सक शिक्षकको र १५ बर्षदेखि रोकिएको कर्मचारीको पदोन्नति प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेका थिए । मन्त्रीले अनुमति दिएपछि बुधबार बस्ने कार्यकारिणी समितिको बैठकले पदोन्नतिबारे निर्णय गर्नुपर्ने थियो । तर, प्राडा कार्की प्रतिष्ठानको सिनेट (सञ्चालक परिषद) ले पदोन्नतिका लागि बनेको नियमावली पास नगरेको अवस्थामा पुरानै नियमावली अनुसार पदोन्नति प्रक्रिया अगाडि बढाउने पक्षमा थिएनन् ।

प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नतिको विषयमा नियमावलीको मस्यौदा तयार भए पनि हालसम्म सिनेट बैठक नबसेकाले पारित भएको छैन । डा. गिरी उपकुलपति भएका बेला लोकसेवा आयोगसँग मौन स्वीकृति लिएर भित्रभित्रै पदोन्नतिको प्रक्रिया चलिरहेकै थियो । गिरी कारवाहीमा परेपछि निमित्त उपकुलपति प्राडा सञ्जीव शर्माले पनि त्यसलाई निरन्तरता दिएका थिए ।

तर, प्राडा कार्की कामु उपकुलपति भएर आएपछि लोकसेवा आयोगसँग परामर्ष लिन पुग्दा नयाँ नियमावली बनेपछि मात्र प्रक्रिया अगाडि बढाउनू भनेर निर्देशन आएपछि पदोन्नति प्रक्रिया बीचैमा रोकिएको थियो ।

कामु उपकुलपति प्राडा कार्की बुधबार कास बैठक छलेर विदामा हिँडेपछि उनको पदीय हैसियतमाथि नै प्रश्न उठाउँदै आन्दोलनरत चिकित्सक, शिक्षक र कर्मचारीहरुले अब फर्केर आउन जरुरी नदेखिएको बताएका छन् ।

कामु उपकुलपति भएपछि पनि प्रतिष्ठानको कार्डियोलोजी विभागको प्रमुख नै रहेकाले आन्दोलनरत चिकित्सक र कर्मचारीहरुले कार्कीको विरोध गर्र्दै विभागको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।कार्कीले अवकाश पाइसकेकाले कार्यकक्षमा प्रवेश निषेध गर्ने गरी तालाबन्दी गरिएको एक चिकित्सकले बताए ।

कार्कीलाई प्रतिष्ठानभित्र छिर्न समेत निषेध गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ६ : १५ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह