रेशम-रञ्जिता बेमेलको डढेलो : पार्टी खरानी हुने त्रास, हुलहुज्जतमा उत्रिए कार्यकर्ता  | Khabarhub Khabarhub

रेशम-रञ्जिता बेमेलको डढेलो : पार्टी खरानी हुने त्रास, हुलहुज्जतमा उत्रिए कार्यकर्ता 

फुटको डिलमा नागरिक उन्मुक्ति पार्टी, रेशम समर्थकहरू रन्जिताको निसानामा 



क्षेत्रीय र जातीय नारा दिएर राष्ट्रिय राजनीतिमा उदाएको नागरिक उन्मुक्ति पार्टी पारिवारिक कलहको शिकार बनेको छ । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने प्रचलित मान्यता विपरित पत्नी रञ्जिता श्रेष्ठले पाएको पार्टी अध्यक्ष पद पति रेशम चौधरीकै लागि आत्मघाती सिद्ध भएको छ ।

अध्यक्ष र संरक्षकको बेमेलको बाछिटाले उग्र रूप लिँदा पार्टी विभाजनको डिलमा पुगेको बताइन्छ । संसदीय राजनीतिमा पार्टी अध्यक्षको निर्णय अन्तिम हुने वैधानिक व्यवस्थाका कारण रेशम कानुनी रुपमा निर्धो सावित भएका छन् भने आफ्नो निर्देशन पालना नगर्ने पति पक्षीय नेता, कार्यकर्तालाई छानी छानी प्रतिशोधको शिकार बनाइएको गुनासो अर्काथरिको छ । 

पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीच देखिएको राजनीतिक बेमेलले पार्टी ध्वस्त हुन लागेको अनुभव नेता, कार्यकर्ताले गरेका छन् ।

 पार्टीका एक नेताले खबरहबलाई भने, ‘लोग्ने स्वास्नीको झगडाले पार्टीलाई असर गर्नु भएन । तर हाम्रो  पार्टीमा यस्तै देखिएको छ ।’ 

यता रेशम र रन्जिता लोग्ने स्वास्नीको झगडा नभएर पार्टी विचार र सिद्धान्तको लडाइँ भएको दावी गरिरहेका छन् । 

रेशमले खबरहबलाई भने, ‘साथीहरूले विभिन्न आरोप लगाउनुभएको छ । तर यो व्यक्तिको लडाइँ हैन । विधि र सिद्धान्तको लडाइ हो । एमाले माओवादीको हनुमान हुन किन हामी जानुपर्‍यो र ! अध्यक्षज्यूले बिस्तारै महसुस गर्नुहुने छ ।’ 

यता पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ आफूहरू पारिवारिक रूपमा साथ  साथै रहेको तर नीति र सिद्धान्तले फरक जस्तो देखिएको बताउँछिन् । 

उनी भन्छिन्, ‘हाम्रो पारिवारिक नाता उस्तै छ । पार्टीमा केही विचार विभाजन भएको हो । म अध्यक्ष भएको नाताले कसरी पार्टीको आकार बढाएर लाने भन्ने बारे चिन्तनमा छु । सबै मिलेर जान्छ ।’ 

छानी छानी काखा पाखा
अध्यक्ष रन्जिता र रेशमको झगडाको ठूलो असर सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको छ । सुदूरपश्चिममा ७ जना नाउपाका सांसद छन् । जसमध्ये श्रेष्ठ पक्षका दुई र चौधरी पक्षका पाँच जना छन् । 

आइतबार अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता घनश्याम चौधरीलाई पदबाट हटाएकी थिइन । उनले घनश्यामलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी दिएकी थिइन । यसले रेशम र रन्जिताको दूरी थप बढाएको छ  । 

कैलाश अध्यक्ष श्रेष्ठनिकट नेता हुन् । तर घनश्याम चौधरीनिकट छन् । यति मात्र होइन मंगलबार पत्र पठाएर श्रेष्ठले नाउपा प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त गराएकी छन् । समानुपातिक सांसद गिरीलाई उनको पार्टीले फिर्ता बोलाएको पत्र पठाएपछि सभामुखले पदमुक्त गराएका थिए । उनी पनि रेशम निकट सांसद हुन । त्यसपछि रेशम पार्टी अध्यक्षसँग झनै बढी रुष्ट रहेको देखिन्छ । 

उनले खबरहबसँग भने, ‘हेरौँ के के हुन्छ । यतिकै त पार्टी चल्दैन  होला ।’ 

केन्द्रमा अर्को गठबन्धनमा सहभागी भएपछि अध्यक्ष रन्जिताले सुदूरपश्चिम सरकारमा भने कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागी नहुने भन्दै संसदहरुलाई समर्थन फिर्ता लिएर निस्कन भनेकी थिइन । तर रेशमले आफ्ना पक्षका पाँच सांसदलाई फिर्ता  नआउन भनेको स्रोतको दाबी छ । 

यता रेशम भने केन्द्रको गठबन्धनबाट आफ्नो पार्टीले सुदूरपश्चिम प्रदेशको मन्त्री पाउनुपर्ने अडानमा समेत थिए । यता नाउपाले आफूलाई समर्थन नगर्ने बुझेपछि २२ चैतमा मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएका थिए । 

यसरी भटाभट रेशम  निकटलाई रन्जिताले कारवाही सुरु गर्न थालेपछि रेशमले पनि केही नयाँ तयारी थालेको धेरैले आँकलन गरेका छन् । प्रतिशोध पार्टी विभाजनलाई मद्दत गरेको धेरैको विश्लेषण छ । 

मिल्दाका रेशम र रञ्जिता

कुटाकुटदेखि निश्कासनसम्म
चैत २४ गते पार्टीका संस्थापक केन्द्रीय सदस्यको बैठक चलिरहेको थियो । सो बेला पार्टी अध्यक्ष रञ्जिता र रेशम पक्षका नेताहरू झडपमै उत्रिए । केन्द्रीय सदस्य रामलाल डगौरा थारू र रमेश विश्वकर्मामाथि कुटपिट समेत भएको थियो ।

कुटपिट भएको भन्दै अध्यक्ष श्रेष्ठले रेशम पक्षका नेता  बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङलाई पदमुक्त गर्दै पार्टीबाट निकालेकी थिइन । 

यसपछि रेशम र रन्जिताको झगडा कार्यकर्ता तहसम्म छताछुल्ल भएको थियो । दुईबीच झगडा सुरु भएको त फागुनबाट नै हो । फागुन ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने पक्षमा रेशम थिए । तर रन्जिता भने एमाले– माओवादी सहितको सरकारमा सहभागी नभएपनि विश्वासको मत दिने पक्षमा उभिइन  ।

पति पत्नीबीच यसै विषयमा धेरै पटक वार्ता र छलफल भएको थियो । तर रन्जिताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिन । रन्जिताले रेशमलाई जेलबाट निकाल्न प्रचण्डले लगाएको गुन तिर्न पनि उनी नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने जिकिर गरिन । 

तर एक थान मन्त्रीको लोभमा आफ्नो राजनीतिक मान्यता विपरित नजान नेतृत्वलाई रेशमले सम्झाएको चौधरी निकट नेताहरूको दाबी छ ।

रेशमले त्यो बेला सामाजिक सञ्जालमा लेखेका थिए– ‘मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय । घर झगडा हुँदै होइन, विषय राजनीतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’ 

तर रन्जिताले प्रतिनिधि सभाको रोस्टमबाट ४ जना सांसदले नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने उद्घोष गरिन र दिइन पनि  । यसरी हेर्दा लोग्ने स्वास्नीको झगडाले नाउपा पार्टी विभाजनको बाटोतर्फ गएको सोझै आँकलन गर्न सकिन्छ । संख्यात्मक हिसाबले अध्यक्ष रन्जिताभन्दा रेशम पक्षीय नेता कार्यकर्ताको संख्या अधिक रहेको बताइन्छ । संरक्षकलाई पार्टीसँग सम्बन्धित विषयका छलफलमा सहभागी नगराइएकोमा रेशमको चित्त दुखाई छ । 

रेशमलाई अदालत बाधक
२७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको थियो । 

तर आगोले अदालतबाट हत्या मुद्दामा दोषी ठहर भएका व्यक्ति राजनीतिक दलको सदस्य वा पदाधिकारी रहन नमिल्ने कानुनी व्यवस्था भएका बेला रेशमलाई अध्यक्षको कानुनी मान्यता दिएको थिएन । 

राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुने योग्यता सम्बन्धी व्यवस्था छ । अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका चौधरी राष्ट्रपतिबाट माफी पाएर जेलमुक्त भएका थिए । 

 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ३ : ३८ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले