काठमाडौं– नेपाली कांग्रेसले संसद्मा गरेको अवरोधलाई तत्काल नरोक्ने निर्णय गरेको छ । तर राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका सन्दर्भमा भने आइतबार या सोमबार संसदीय दलको बैठक बसेर निर्णय गर्ने बताएको छ ।
आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको कांग्रेस सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेले बताए ।
कांगेसले यसबारे थप निर्णय लिन सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ ।
उनले खबरहबलाई भने, ‘हामी छानबिन समिति नबनेसम्म ब्याक हुँदैनौँ भन्ने आजको बैठकको निष्कर्ष छ । तर संसदीय दलको बैठक भोलि या पर्सि बसेर थप छलफल गर्ने छ ।’
उनले अगाडि भने, ‘यो चानचुने कुरा होइन । कसरी ब्याक हुनु र ? गृहमन्त्री सहकारी प्रकरणमा मुछिएको कुरालाई सरकारले लुकाइरहेको छ । यसरी त हामी कहाँ चल्न दिन्छौँ । सरकार गैर जिम्मेवार भएर हुन्छ र ?’
शुक्रबार संसद् बैठक सकिएपछि सभामुख र सत्ता पक्षका नेताहरूले अवरोध हटाउन कुनै छलफल नगरेको पाण्डेको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सांसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरिरहेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ ।
प्रतिक्रिया