देश/प्रदेश

अझै तीन दिनसम्म वर्षा जारी रहने

By खबरहब

August 11, 2024

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ ।

माहाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिए ।

“यतिबेला मनसुन धेरै सक्रिय नभएकाले भारी वर्षाको सम्भावना छैन, तर बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाबाट भने सतर्कता अपनाउनुपर्छ”, उनले भने ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।