ललितपुर- फूलबारीमार्ग मंगलफार्म वडा नम्बर २५, नख्खुमा भीमबहादुर तामाङ (६१) भेटिए । प्यारालाइज्डबाट थला परेका उनी लौरोको सहाराले एक–एक पाइला नाप्दै हिँडिरहेका थिए ।
चाडबाडका बेला बाढी प्रभावितको स्थिति बुझ्न खबरहबकर्मी पुग्दा भीमबहादुर सुकुम्बासी बस्तीमा भेटिए । उनी उजाड बनेको बगरमा आफ्नो दुईकोठे टिनको घरको अवशेष नियालिरहेका थिए ।
असोज १२ गतेको बाढीले मंगलफार्मका ५२ घरमध्ये ११ घर बगायो । त्यसमध्ये भीमबहादुरको घर पनि पर्यो ।
खोलाको छेउमा बाढी पस्नु नौलो थिएन । हरेक वर्ष बाढी पसेकै थियो तर बस्ती नै सोहोर्ने गरी बाढी कहिल्यै पनि नदेखेको ६१ वर्षे भीम सुनाउँछन् ।
घरसँगै भीमबहादुरको प्यारालाइज्डको थेरापी मेसिन पनि बग्यो ।
मेसिन किनेको जम्मा ६ महिना मात्रै भएको थियो । तीन लाख दश हजारमा किनेको मेसिन जोगाउन नसक्दा उनी निकै दुखित छन् ।
साढे दुई वर्ष ओछ्यानमा लडेको शरीरलाई लौरो टेकेर पाइला सार्न सक्ने त्यही मेसिनले बनाएको थियो । भीमबहादुर भन्छन्, ‘मलाई त्यो मेसिन एउटा संस्थाले उपलब्ध गराएको थियो । अब कसले दिने होला ? मेसिन भएन भने सन्चो हुँदै गएको मेरो विमार के होला ?’
राहत नपाएको गुनासो
भीमबहादुर र ठूलीमायाका छोरा मीनबहादुर (३२) ले राहतका नाममा एक युट्युबरले एक बोरा चामल दिएको बताए । उनले भने, ‘युट्युबर मात्रै आउने हो कि यो देशमा सरकार पनि छ ? सरकार राहत बोकेर कहिले आउँछ ?
‘वडाले प्रत्येक परिवारलाई २५ हजारका दरले राहत दिने भनेको सुन्नमा आएको छ । तर दिने हो वा होइन र कहिले दिन्छ भन्ने यकिन छैन, उनले भने, अत्यावश्यक कुरा बोकेर त आउनुपर्ने हो । दशैं धनीले मात्रै मनाउने हो कि ? हामीले पीडितले पनि मनाउन पाउँछौं ?
‘छाप्रोमै ओत लागेको भए पनि पर्व हाम्रो पनि हो । टीका लगाउने वातावरण बनाइदिनुपर्ने दायित्व राज्यले लिँदैन ?’ उनले प्रतिप्रश्न गरे ।
यहाँ सबैभन्दा ठूलो समस्या शौचालयको रहेछ । शौचालय नहुँदा पीडितले खुला ठाउँमा शौच गर्नु परिरहेको छ । मीनले भने, ‘वडाले अस्थायी शौचालय दिने भनेर सामान ल्याएको छ तर फिट गरेको छैन ।’
खुला दिसापिसाब गर्दा बस्तीमा झिंगा भन्किन थालेको छ । यसले रोग निम्त्याउने हुँदा सरकारले छिटो भन्दा छिटो शौचालयको बन्दोबस्त गरेर रोग फैलिन नदिने वातावरण तयार गर्दिन उनले आग्रह गरे ।
उनले थपे, ‘यस वस्तीमा ५२ घरपरिवार छन् । करिब दुई सयको हाराहारी जनसंख्या छ । नख्खुका वडा ५, १०, १५ भन्दा यहाँ वठा नम्बर २५ मा सबैभन्दा धेरै क्षति भएको हो । तर, उता राहत पुगेको छ , जहाँ धेरै क्षति भएर प्रभावितहरु बसिरहेका छन्, त्यहाँ राहत आइपुगेन ।’
यस वस्तीमा मानवीय क्षति नभए पनि भौतिक क्षति निकै ठूलो भएको मीनको भनाइ छ । ‘त्यता घरभित्र पानी पसेको हो । सामान बगाएर लगेको छैन । यहाँ त अधिकांशको घरै बगायो । घर हुनेको पनि सामान सबै बगाएर लग्यो, उनले थपे, ‘बाँसको घर सबै बगायो, फलामको घर पुरिए पनि बगाएन । यहाँका मानिससँग पकाएर खाने भाँडा र ओढ्ने ओछ्याउने समेत छैन ।’
पुरिएको घर सफा गर्न संघीय सांसद तोसिमा कार्कीले डोजरको व्यवस्था गरिदिएकी छन् । तर, आफैंले डिजेल हाल्नुपर्ने भएपछि डोजर प्रयोग गर्न नसकेको पीडितले सुनाए ।
घरभित्रका सामान ग्यास चुल्हो, ओढ्ने ओछ्याउने र पकाउने–खाने भाँडा अत्यावश्यक भएको बताउँदै मीनले भने, ‘मैले लगाएको लुगा अरुले दिएको हो । आफ्नो एक जोर लुगा पनि छैन ।’
बस्तीमा चोरीको पनि बिगबिगी बढेको पीडितहरु सुनाउँछन् । मीन भन्छन्, ‘यस्तो ठाउँमा समेत चोरी बढेको छ । पुराना थोत्रा सामान पनि चोरी भए । मोबाइल, बाइक, स्कुटी, साइकल र पैसा चोरी भएको छ ।’
अब बिरामी अवस्थाका बाढीपीडित भीमबहादुरकै शब्दमा सुनौं सुकुम्बासी परिवारको बेदना–
बाढी आउँदा उभिएको उभियै
हामी यस मंगलफार्ममा बस्न थालेको नौ वर्ष भयो । नख्खुमा बाढी त अघिल्ला वर्षहरुमा आइरहन्थ्यो । पहिले जस्तै होला भनेर ढुक्कै भएर बस्यौं । तर, पानी कम्मर–कम्मर पुगेपछि भने आत्तिन थाल्यौं ।
मेरो शरीर चल्दैन । सँगै सुगर र प्रेसर पनि छ । बाढीले होस हवासै हरायो । कागजपत्र, तीन तोला सुन र औषधी बगायो । अरु जोगाउन नसके पनि औषधी र थेरापी मेसिन जोगाउनु थियो भन्ने थकथक लागिरहेको छ ।
बुढी मभन्दा नौ वर्ष जेठी । मजस्तो बिरामीलाई लिएर भाग्न उनलाई कम चर्को भएन । एकछिन त बुढेलकालमा बाढीले बगाएर पो मर्न लेखेको जस्तो पनि लाग्यो । कम्मर–कम्मर डुबाएपछि हिँड्न नसकेर बुढाबुढी उभिएको उभियै भयौं ।
कम्मर–कम्मर पानी आयो । हामी बुढाबुढी दुवै जना भाग्न सकेनौं । अरुले उद्धार गरेर ल्याए । लौरीको भर पाइला चाल्ने मान्छे भाग्ने कसरी ? पहिले पहिले पनि पानी पथ्र्यो । घरभित्र बाढी छिर्ने हो । तर घुँडाघुँडासम्म भन्दा माथि आएको थिएन ।
खोलाको छेउमा बसेपछि घरभित्र बाढी नपस्ने कुरा भएन । बाढी हरेक वर्ष पस्ने हो । सामान माथि–माथि राख्ने र बाढी घटेपछि घर सरसफाई गर्ने हो । यो वर्ष पनि हामीले त्यही नै सोच्यांै । अलिकता बाढी पस्छ भन्ने थियो । मान्छे डुबाउने पानी पस्यो । के गर्ने र कसो गर्ने भयो । नसोचेको बाढी आयो ।
ललितपुरमा ०३८ सालमा पनि निकै ठूलो बाढी आएको थियो । त्यसबेला म जाउलाखेलस्थित सुकुम्बासीमा १९ जना साथीसँग बस्थें ।
मेरो देब्रे हातखुट्टा चल्दैनथ्यो । त्यही थेरापी मेसिनले लौरो टेकेर हिँड्न सक्ने बनायो । धेरै हिँड्न सक्दिनँ । शौचालय र घर वरपर लौरोको सहारामा हिँड्छु । प्यारालाइज्डले मुख बाँङगो भएको थियो, बोल्न मिल्दैनथ्यो । साढे दुई वर्षमा बल्ल–बल्ल बोली आयो । त्यही पनि अझै लर्बरिएको छ । अहिले बोली आएपछि बोली राख्न मन लाग्छ । मैले बोलेको अरुले सुनिदिँदा आनन्द लाग्छ ।
पेटभर खान शहर पसियो
मैले काठमाडौंमा ३० वर्ष गाडी चलाएँ । मेरो ६ जनाको परिवार छ । तीन छोरी र एक छोरा । ठूली छोरीको बिहे भयो । अरुको बाँकी छ ।
मेरी श्रीमती फूपुकी छोरी हुन् । आफूभन्दा वर्षले जेठी भए पनि आमाले ठूलीमायासँग बिहे गरिनस् भने घर आउन पर्दैन भनेकाले बिहे गरें । हाम्रो जातिमा फूपुको छोरीमाथि हक लाग्छ ।
काभ्रेपलाञ्चोक लेकाली टोलमा मेरो घर हो । चार दाजुभाइमध्ये पहाडमा साइँला भाइ मात्रै छन् । पहाडमा बारी छ, अरु केही छैन । पहाडमा खान पनि नपुग्ने भएर काठमाडौं झरेको हो । शहरमा लेबर गरेर भए पनि पेटभर खान पाइन्छ भन्ने थियो । त्यो बारी अहिले बाँझै छ ।
ठूलीमाया भने ललितपुर भकुण्डेमै जन्मिएकी हुन् । मामाको छोरासँगै बिहे गर्ने चलनले उनलाई ललितपुरबाट काभ्रेपलाञ्चोक पुग्नुप¥यो । जति नै पहाड र दुर्गम भए पनि मामाकै छोरासँग बिहे गरेर जानुपर्ने नियम थियो ।
ठूलीआमा र सानीआमा आएपछि मेरी आमाले पनि काठमाडौं जाने भनेर कर गरिन् । हामी ०३२ सालमा काठमाडौं हिँडेर आएको हो । त्यतिबेला लेबर काम गरेको, भारी बोकेको छ रुपैयाँ पाइन्थ्यो ।
अब चाउचाउ खाँदै दशैं मनाउने होला …..
सरकार बाढी पीडितलाई राहत लिएर आउँछ भनेको सुनेको हो तर अहिलेसम्म आएको छैन । हामीले राहतको बाटो हेरिरहेका छांै । एक युटुबरले राहत ल्याएका थिए । अर्को आफन्तले दुई बोरा चामल ल्याइदिए । त्यही खाएर बसेका छौं ।
छोरा र श्रीमतीतिर हेर्दै वृद्धावस्थाका भीमले भने, ‘दशैं आयो, राहत आएन । अब चाउचाउ खाँदै दशैं मनाउने होला …..
भूइँचालो आएको थाहै भएन !
रोग नलाग्दासम्म मैले निकै रक्सी खाएँ । एक जर्किन रक्सी र तीन किलो सुँगुरको मासु अरुलाई भाग लगाउन पर्दैनथ्यो ।
०७२ सालको भूकम्प आउँदा म टन्न रक्सी र मासु खाएर बसेको थिएँ । शनिबारको दिन थियो । मैले भूकम्प गएकोसम्म थाहा पाइनँ । जमिन र आफू बराबर हल्लिएपछि भूकम्प पनि थाहा नहुने रहेछ !
अब त रोग लागेपछि रक्सी छुन पनि हुँदैन । बोइलर कुखुराको कमलो मासु खान पनि गाह्रो छ । खाने भन्ने पनि उमेर छँदा र रोग नलाग्दासम्म मात्र रहेछ ।
प्रतिक्रिया