पाँच दशक लामो निरङ्कुश र बर्बरतापूर्ण शासनको अन्त्य १५ दिन भन्दा कम समयको अपरेसनबाट सम्भव भएको छ। सन् २०११ देखि सुरु भएको गृह युद्धलाई निकास दिने क्रममा हायात ताहिर अल साम (एचटिएस)ले २६ नोभेम्बरदेखि सिरियाली सत्ता विरुद्धको आक्रमणलाई तीव्र बनाउने निर्णय गरेको हो।
यो आक्रमण सुरु भएको चौथो दिन ३० डिसेम्बरमा एलेप्पो सहर कब्जा गरेको एचटिएसले हामा हुँदै हाम्स र त्यसपछि राजधानी दमासकस कब्जा गरेको हो।
आइतबार एचटिएस राजधानी छिरेको दुई घण्टा पनि नबित्दै राष्ट्रपति बसार अल असाद देश छाडेर भागी सकेका थिए। एचटिएसका नेता अबु मोहम्मद अल जुलानी राजधानी दमासकस प्रवेश गरी सकेका थिए। उनको प्रवेशको केही घण्टामा नै सम्बोधन पनि गरे। हजारौँको सङ्ख्यामा निर्वासित भएका देश भित्रिए। नरककै प्रतिबिम्ब मानिएको साडनाया जेलमा रहेका राजबन्दीलाई त्यहाँबाट बाहिर निकालियो। पाँच दशक लामो असाद शासनको अन्त्यको खुसीयाली मनाइरहेको सिरियाको सो घटनाको पृष्ठभूमि भने १३ वर्ष अघि नै तयार भएको थियो।
१३ वर्षको युद्धको अन्त्य १३ दिन भन्दा कम समयमा
सन् २०११ मा अरब अप स्प्रिङको नाममा एउटा विद्रोही मुभमेन्टको शृङ्खला चलेको थियो। ट्युनेसिया र इजिप्टमा भर्खरै तानाशाही सत्ता ढलेको मात्र होइन लिबिया र यमनमा लामो समय कब्जा जमाइसकेको भेट्रान शासक लरखराएका थिए। सोही समयमा सिरियामा पनि एक किसिमको प्रयास भएको थियो।
सन् २००० मा हफिज अल आसादले छोरा बसार अल आसादलाई हस्तान्तरण गरेको सत्ता सोही समयमा नै भ्रष्ट र बदनाम थियो। हफिजले तयार गरेको सत्ता तानाशाही मात्र थिएन, बलियो पनि थियो। क्रूर थियो र जर्जर थियो। हफिजले राज्यका सुरक्षा निकायलाई पूर्ण नियन्त्रणमा लिएर छोरालाई सत्ता हस्तान्तरण गरेका थिए। सो सत्तामा कुनै कुराको समस्या या चुनौती देखिँदैन थियो।
सन् २०११ देखिको समयलाई हेर्ने हो भने बसरको जीवन र सत्ता शैली बाबु हफिजकै पुनरावृत्ति थियो। सडकमा सिरियाली सत्ता विरुद्धमा नारा लगाइ रहँदा असादमा शक्तिको उन्माद थियो। उनी झनै क्रूर बनिरहेका थिए। सन् २००६ मा लेबनान युद्ध हुँदा बसारले इजरायलको विरुद्धमा हिजबुल्लाह र प्यालेस्टाइनको पक्षमा आवाज राखेका थिए।
बाबुको मृत्युपछि बसार केही सुधारवादी नभएका होइनन्। यसै कारण केही सिरियाली उनीप्रति आशावादी थिए। सन् २०११ मै विद्रोह सुरु भएपछि भएको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने आदेश दिएसँगै उनी माथिको सम्पूर्णको आशा सेलाएको थियो। धेरैले त उनको शासनलाई हिट फिल्म ‘गड फादर’ को माफियाको झैँ भएको बताउन थालेको थियो। संसार भरी नै सिरियाली सत्ता प्रत्येक दिन बदनाम हुँदै थियो।
राज्यको प्रमुख तथा बसारको नजिकको सैन्य अधिकारीले भनेको अलिकति मात्र आनाकानी गर्ने लक्षण देखिएमा उनका सामु केही निश्चित विकल्प मात्र बाँकी रहन्थे। फाँसी, गोली प्रहार, आजीवन कारावास तथा तथा कुनै अन्डरग्राउन्ड सेलमा यातनाको सिकार हुनु नियति नै थियो।
अन्तर्राष्ट्रिय समीक्षकका अनुसार बसार शासन कमजोर पक्कै थियो। खासमा रुस र इरान अन्यत्र कतै अल्झिएकाले बसार कमजोर भएका हुन्। तर अरब र मध्यपूर्वमा उनीहरूको शक्ति तत्काल ढल्ने कुनै सम्भावना नै थिएन।
इदबिबबाट विद्रोह बाहिर फैलनु एक दिन अघिसम्म अमेरिका, इजरायल र संयुक्त अरब इमिरेट्सको चाहना सिरिया र इरानको सम्बन्धमा खाडल पैदा होस् भन्ने मात्र थियो। यसै कारण इजरायलले सिरिया आक्रमण गरेको थियो। यसको उद्देश्य इरान र हिजबुल्लाहको शक्तिसँग सिरिया पनि जोडिएको भन्ने नै हो।
यो समयमा अमेरिका र युएईले असाद र तेहरानबीचको दूरी बढाउनका लागि पहल भएको धेरै रिपोर्ट प्रकाशित भएको थियो। अन्तर्राष्ट्रिय क्षेत्रमा आसादलाई फेरि स्थापित गराउने प्रयास पनि हुन थालिसकेको धेरै सङ्केत मिलेको थियो।
अहिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असाद शासन ढल्नुको जस आफूले लिइरहेको बताएका छन्। यो घटनाले इरानको हतियारको सप्लाई चेनलाई ध्वस्त बनाएको छ। सिरियाको नयाँ सत्ताका लागि हतियार लिनका लागि इरान भन्दा बाहेक अन्य देश नै उपयुक्त हुन सक्छ।
तस्बिर : गेट्टी ईमेज
अब के हुन्छ ?
अहिले संसारमै भू–राजनीतिमा चासो राख्नेहरूको मनमा उठेको एउटै प्रश्न अब के हुन्छ’ भन्ने हो। सन् २०२३ को ७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरे पछि अरबको शक्ति सन्तुलनमा नै भुइँचालो ल्याउने एउटा घटना यही हो। यो घटना सबैले अनुमान गरे भन्दा फरक थियो।
अहिले इरानलाई सबै भन्दा धेरै धक्का लागेको छ। हिजबुल्लाह ध्वस्त भएको छ। सिरियामा इरानकै संरक्षणमा रहेको असाद सत्ता पनि ढली सकेको छ। अहिले इरानका बारे अहिले दुई अनुमान गर्न थालिएका छन्। २० जनवरीमा दिन डोनाल्ड ट्रम्पले सत्ता लिएपछि लाचार भएर उनीसँग वार्ता अघि बढाउने इरानको एउटा बाटो हुनसक्छ। युरेनियम शक्ति भएको इरानले त्यसलाई आणविक शक्तिको रूपमा प्रयोग गरेर संसारलाई दबाब दिने अर्को विकल्प पनि हुनसक्छ।
सन् २०११ मा एचटिएसको छवि अतिवादी जातीय सङ्गठनको झैँ थियो। यस कारण नरम पक्षधर आसादको पक्षमा रहेर युद्ध गर्ने अवस्था थियो। यसबाट एचटिएस नेतृत्वले आफूलाई बाहिर राख्दै जातीय सङ्गठन नभई राजनीतिक सङ्गठनको रूपमा पुष्टि गरिसकेको छ।
अबु मोहम्मद अल जलाउनीले आफू सबै सिरियालीको नेता हुन चाहेको बताइसको छन्। परन्तु उनको नेतृत्वमा रहेका केही सैन्य सङ्गठन भने उनको हरेक बिचारमा सहमत नहुन पनि सक्छन्। यस युद्धलाई टुङ्गोमा लैजाने क्रममा उनले सन् २०११ देखि विभिन्न सङ्गठनहरूसँग मोर्चा बन्दी गर्दै आएका थिए।
सन् २००३ मा अमेरिकाले इराकी सैन्य फोर्स विघटन गर्ने निर्णय गरेको थियो। त्यहाँ हुसेन नेतृत्व बाथ पार्टीका सम्पूर्ण कार्यकर्ता तथा उनलाई सम्मान गर्ने सेनालाई गरेको व्यवहारका कारण त्यसको असर अझै छ।
यसको असर धेरै लामो समयसम्म रहेको थियो। अहिले अमेरिका र इजरायल पूर्वी क्षेत्रमा इस्लामिक जातीय सङ्गठनको प्रभावका कारण चिन्ता पनि छन्। अमेरिकालाई आफ्नो साखमा लाग्ने धक्काको चासो छ भने इजरायललाई देशको सीमा सुरक्षा नै पनि चिन्ताको विषय हो। यस परिपेक्षमा दुवै देशले सिरियन अरब आर्मीलाई मूलधारमा ल्याउँदै सहकार्य गर्ने सम्भावना प्रबल मानिएको छ।
सन् २०११ मा लिबियामा अमेरिकाको नेतृत्वमा नाटो सेनाले बमबारी नै गरेको थियो। यसको असर अझै त्यहाँ छ।
टर्कीका राष्ट्रपति रकेप टायेब एडोगार्नका लागि भने विकसित घटनाक्रम सुसिकै विषय हो। अहिले पनि गाजा युद्धकै कारण इजरायल र टर्कीको सम्बन्ध अझ खराब बनेको थियो। त्यो सम्बन्ध पनि सुधारोन्मुख हुने सम्भावना कायम नै छ। विगतमा दुई तानाशाह कणेल गद्याफी र सद्धाम हुसनेको सत्ता ढलेको इतिहास धेरैका सामु साक्षी छ। यी दुई तानाशाहको शासन ढल्दा कोही उत्तराधिकारी तयार थिएनन्। यस कारण नेतृत्वमा रहेको रिक्त अवस्थाको फाइदा उठाउँदै लुटपाट र आतङ्क नै मच्चिएको थियो।
अहिले सिरियाली आफ्नै विद्रोहमा तानाशाह सत्ता ढाल्न सफल भएका छन्। यस कारण सिरियामा भने त्यही अवस्था नआउन पनि सक्छ। जलाउनीले विगतको पूर्वाग्रह बिर्सेर सबैले एकले अर्कोलाई आदर गर्ने समय आवश्यक रहेको बताइसकेका छन्। एउटा निर्मम तानाशाही सत्ता ढलेपछि सिरियाकाको अबको बाटो शान्त र विकास उन्मुख पनि हुनसक्छ।
स्रोतः सीएनएन र बीबीसी
प्रतिक्रिया