दमक भ्यू टावर सिंहदरबारबाटै हेरिने, स्थानीय तह ‘बाईपास’ | Khabarhub Khabarhub

दमक भ्यू टावर सिंहदरबारबाटै हेरिने, स्थानीय तह ‘बाईपास’

टावरको समर्थन र विरोधमा सामाजिक सञ्जाल तात्यो


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको दमकमा बनेको भ्यू टावर (बिजनेस टावर) सञ्चालनको जिम्मेवारी सिंहदरबारस्थित शहरी विकास मन्त्रालयका सचिवले सम्हाल्ने भएका छन् । स्थानीय तहका प्रमुखलाई भने बैठकमा ‘पर्यवेक्षक’ मात्र बनाइने भएको छ।

दमक भ्यू टावरभन्दा १६ मिटर होचो काठमाडौंको धरहरा सञ्चालनको मोडेल पनि ठ्याक्कै यही नै हो । धरहराको सञ्चालनको नेतृत्व शहरी विकास मन्त्रालयका सचिवले गर्नेछन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह सिंहदरबारमा हुने बैठकमा उपस्थितसम्म हुन पाउने छन् ।

दमक भ्यू टावर सञ्चालनका लागि बन्ने समितिको अध्यक्षमा सहरी विकास मन्त्रालयका सचिव रहने छन् । त्यस्तै गरी सदस्यहरुमा अर्थ, गृह र पर्यटन मन्त्रालयका सहसचिवहरु रहनेछन् ।

त्यसैगरी आवास भवन तथा योजना महाशाखाका सहसचिव पनि सदस्य रहनेछन् । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पनि दमक भ्यू टावर सञ्चालन गर्ने समितिको सदस्य रहनेछन् ।

समितिमा उद्योग वाणिज्य महासंघ र होटल संघका प्रतिनिधिलाई समेत समितिमा राख्ने गरी ओली सरकारले गत मंसिर ३ गते राजपत्रमा ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश(२०८१)’ प्रकाशित गरेको छ ।

रोचक त के छ भने होटल व्यवसायी र उद्योगी व्यवसायीजस्ता निजी क्षेत्रलाई समेत सरकारी समितिमा समेटेको ओली सरकारले दमक भ्यू टावरजस्तो विशिष्ट संरचनाको सञ्चालनमा स्थानीय तहको प्रमुखलाई भने सदस्यमा समेट्न कञ्जुस्याइँ गरेको छ । सम्बन्धित स्थानीय तहको प्रमुखले बैठकमा आउनसम्म पाउने आदेशमा उल्लेख छ ।

शासन सिंहदरबारको, बजेट स्थानीय तहको

ओली सरकारले जारी गरेको आदेशअनुसार दमक भ्यू टावर सञ्चालनसम्बन्धी समितिमा अब दमक नगरपालिकाका प्रमुख सदस्य सम्म रहन पाउने छैनन्, यसमा समग्र सिंहदरबारको, त्यसमा पनि कर्मचारीहरुको मात्र हालीमुहाली रहनेछ । त्यसलाई कसरी चलाउने, कसलाई ठेक्का दिने इतयादि सबै काममा जनप्रतिनिधिहरुको कुनै भूमिका रहने छैन ।

काठमाडौंको धरहरा, नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गोदावरीको सनराइज सभाहल, बुटवलको अन्तर्राष्ट्रिय सभा हल र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा समेत दमक भ्यू टावरमा जस्तै स्थानीय तहलाई ‘बाईपास’ गरेर सिंहदरबार केन्द्रित नीति बनाइएको छ   

काठमाडौंको धरहरा, नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गोदावरीको सनराइज सभाहल, बुटवलको अन्तर्राष्ट्रिय सभा हल र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा समेत दमक भ्यू टावरमा जस्तै स्थानीय तहलाई ‘बाईपास’ गरेर सिंहदरबार केन्द्रित नीति बनाइएको छ ।

सरकारले ल्याएको आदेशमा स्थानीय तहको प्रमुखलाई सदस्इसम्म बनाइए पनि भ्यू टावर सञ्चालनका लागि स्थानीय तह र प्रदेश सरकारले समेत बजेट दिने भनिएको छ । त्यसमा संघ सरकारले पनि बजेट खन्याउने र अर्थ मन्त्रालयको स्वीकृति लिएर विदेशी सहयोग पनि लिन सकिने भनिएको छ ।

सामाजिक सञ्जालमा प्रश्न

प्रधानमन्त्री ओलीले आइतबार दमक टावरको उद्घाटन गरेपछि यो टावरलाई लिएर फेरि एकचोटि सामाजिक सञ्जालमा बहस चर्किएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले यसअघि यो टावरलाई ‘ब्रुज खलिफा’ को संज्ञा दिँदै यस्तो टावर बनाउनुभन्दा अस्पताल बनाएको भए बेस हुने बताएका थिए । अहिले अधिकांश मानिसहरुको प्रतिक्रिया पनि त्यस्तै सुनिन्छ । यो टावरको सञ्चालन कसरी होला र लागतको पूर्ति होला, नहोला भन्ने प्रश्नहरु पनि उठेका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उनकै निर्वाचन क्षेत्रमा १८ तलाको टावर उदघाटन गरेका थिए । एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको टावर चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । यो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गरिने ओलीको दाबी छ ।

उदघाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी भइरहँदा दमकमा उनीविरुद्ध नाराबाजी र कालोझण्डा प्रदर्शनी समेत भएको थियो र त्यक्रममा केहीलाई पक्राउसमेत गरिएको थियो ।

इटहरीमा कार्यरत पत्रकार हिमाल दाहाल टावर निर्माणलाई सकारात्मक बताउँदै सामाजिक सञ्जालमा लेख्छन्, ‘दमकमा टावर बन्यो, ताप्लेजुङमा केवलकार बन्दैछ । पुर्वमा प्याराग्लाइडिङ र र्याफ्टिङ राम्रो चलिरहेको छ । जेट बोट पनि छ । सगरमाथादेखि सप्तकोशी, अर्नादेखि सुनाखरी सबै पाइन्छन् । हाम्रो पूर्व कुनै कुरामा अब कम छैन ।’

पत्रकार दाहाल भन्छन्, ‘मानिसले भन्लान्, त्यो टावर बनाउनुको साटो अस्पताल बनाएको भए राम्रो हुन्थ्यो । तर एउटा होइन, १० वटा अस्पताल बनाउने आम्दानी त्यो टावरले दिन सक्छ । पर्यटन र विकास तात्कालीन हुँदैन, दीर्घकालीन र योजनाबद्ध हुन्छ । त्यसलाई बुझ्न सक्नुपर्छ ।’

टावरबारे एमाले निकटका गुरु भट्टराई लेख्छन्, ‘केपी ओलीले निर्माण गरेको १८ तलाको बहुउद्देशीय व्यापारिक टावरको विरोध गर्नेहरुले मुखमा आफैंले ताला लगाए । ओलीले बनाएको टावर भ्यु टावर हैन, व्यापारिक कम्प्लेक्स हो । माओवादीले रोल्पामा बनाएको जनयुद्ध स्मृति टावर चै नौटंकी हो । त्यहाँ बाँदर पनि जाँदैनन् ।’

जेल बनाउनुपर्छ : दुर्गा प्रसाईं

दमक टावरको विरोध गर्र्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले यसलाई ‘बुर्ज खलिफा’ संज्ञा दिएका छन् । प्रसाईंले यो टावर सरकारको नीतिगत भ्रष्टाचारको नमुना भएको आरोप लगाएका थिए । उनले सार्वजनिक कार्यक्रमहरुमा भन्ने गरेका छन् ‘यस टावरलाई देशका तस्कर र भ्रष्टहरुलाई थुन्ने जेल बनाउनुपर्छ । विश्वकै सबैभन्दा अग्लो जेल भनेर रकर्ड हुन्छ । पाँच, छ हजार कैदी यहाँ राखे पनि विश्व रेकर्ड तोडिन्छ । त्यसपछि बल्ल यहाँको बजार विस्तार हुन्छ । त्यत्रा कैदी भेट्न दिनमा कम्तिमा २० हजार मानिस आउँछन् ।’

प्रसाईको भनाइ छ, ‘यो टावर बनाएर राज्यको सम्पत्ति दुरुपयोग भयो । मान्छेहरु लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् । यो बनाउने पैसाले गरिबको ऋण तिर्दिएको भए हुन्थ्यो । सिमेन्ट, बालुवा र ईंटा बोक्नेले काम पाए भन्छन् । अब एमालेका साथीहरुले चढेर हेर्न बनाएको हो ? २२ तलाबाट हेर्ने चाहिँ के हो ?’

जग्गा प्लटिङ गर्नका लागि टावर बनाइएको आरोप लगाउँदै प्रसाईले भनेका छन्, ‘नीतिगत भ्रष्टाचारको नमुना हो यो । दुबईको बुर्ज खलिफा चढेँ, पेरिसको आइफल टावर चढेँ । ती टावरहरु कस्तो ठाउँमा बनेका छन् ? मावाखोलाको किनारमा यो टावरको के औचित्य ? बिल्डिङको आयु पचास वर्ष हुन्छ । प्रयोगविहीन भएपछि खण्डहर भएन ? सरकारले यस्ता चिजमा लगानी गर्ने, हामीले मेडिकल क्षेत्रमा लगानी गर्छु भन्दा चलाउन नदिने । यो ठाउँमा अस्पताल भए विरामीले उपचार पाउथे । आज नेपालीजति सबै विदेश लागे, कसलाई बनाएको हो ? अबको १० वर्षमा टावर भत्किन थाल्छ । दुई अर्ब भनेको महिनाको तीन करोड ब्याज हो । यसको खर्च कसरी उठ्छ ? पोखराको एयरपोर्टको ताल भयो ।’

दमक टावरबारे कवि अर्जुन पराजुली लेख्छन् –

आहा !
झापाको भ्युटावरको बार्दलीबाट
चिया पिउँदै दुरविनले हेर्दा
तुइनबाट कर्णालीमा खस्दै गरेको मान्छे पनि
हाँस्दै गरेको देखिँदोरहेछ ।
झापाको भ्यु टावरबाट
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाही लेख्छन् –
दुरविन लगाएर ..
कर्णालीको तुईन हेर्दै
तर्दै गरेको ब्यक्ति खसेर मर्दै ..
क्या गज्जब रहेछ तिम्रो शासन
क्या गज्जब रहेछ तिम्रो भाषण ..
वा..वा .. वा ..अझै भन बा..बा..बा…

 

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १० : ५१ बजे

दोलखाका साढे ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

दोलखा – दोलखा जिल्लाका ६ हजार पाँच सय ३० जना

खानेपानी अभावमा काकाकुल छन् नौ सय बढी घर परिवार

सर्लाही – यहाँको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

लस एन्जलस – स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर – विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ