दशैँ नेपालीको, टीका लगाउने चामल भारतको ! | Khabarhub Khabarhub

दशैँ नेपालीको, टीका लगाउने चामल भारतको !

६ लाख मेट्रिकटन उत्पादन बढाए आत्मनिर्भर



काठमाडौं – नेपालको राष्ट्रिय, सामाजिक र पारिवारिक वातावरण यतिखेर सालको दशैँमय छ । हिन्दू धर्मालम्बीहरूको मुख्य पर्व दशैँ भारतमा भन्दा नेपालमा भव्य एवम् राष्ट्रिय चाडकै रूपमा मनाइन्छ ।

भूगोल र समुदायअनुसार केही फरक–फरक विशेषता देखिएपनि दशैँमा टिका र जमराकै प्रमुख महत्व हुन्छ । घटस्थापनादेखि शुरू भई कोजाग्रत पूर्णिमासम्म दिनैपिच्छे विभिन्न देवी–देवताको पूजाआजा गरिने दशैँमा विजयादशमीको दिन टिका र जमरासहित ठूलाबडाबाट आशीर्वाद लिएर मनाइन्छ ।

विजयादशमीमा आर्यहरूले चामलमा अबिर मिसाएर बनाइएको रातो टिका लगाउने गर्छन् भने केही जनजाति समुदायका मानिसहरूले रङ प्रयोग नगरी सादा टिका लगाउँछन् ।

कुल जनसङख्याको ८१.१९ प्रतिशत हिन्दु जनसङख्या रहेको नेपालमा आधिकारिक तथ्याङ्क नभए पनि निधारमा पटकपटक लगाइने टिकामै पनि ठूलो मात्रामा चाल प्रयोग हुने गर्छ ।

नेपाल सनातन धर्म, संस्कृति र मौलिक परम्परामा धनी भए पनि तिनै धर्म, संस्कृति र परम्परामा प्रयोग हुने विभिन्न वस्तुहरूमा भने झण्डै पूर्ण रूपमा परनिर्भर छ । रंगहरू प्रयोग हुने पर्व फागुपूर्णिमादेखि दीपावली, जनै र टिकाजमरा प्रयोग हुने सबै चाडपर्वमा आवश्यक सामग्रीमा हामी परनिर्भर बन्दै गएका हौँ ।

हाम्रो मौलिक पर्व दशैँमा रमाइलो मनाइरहँदा अधिकांश नेपालीको निधारमा भने भारतीय चामलको टिका हुने गर्छ । हाम्रो आफ्नै मौलिक चाडपर्व मनाउने वस्तुहरूमध्ये अनिवार्य प्रयोग हुने चामलमै हामी परनिर्भर छौँ ।

चामलमा नेपाल आत्मनिर्भर हुन कति सम्भव ?

तथ्याङ्कअनुसार नेपालमा औपचारिक माध्यमबाट नै वर्षेनी ठूलो मात्रामा धानचामल आयात हुने गर्छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार सन् २००९ मा नेपालमा औपचारिक माध्यमबाट १ अर्ब ६५ करोड रुपैयाँ बराबरको चामल आयात भएकोमा सन् २०२२ सम्म चामल आयात बढेर ४७ अर्ब ५७ करोड रुपैयाँ बराबर पुग्यो ।

गत आर्थिक वर्ष ०८०/८१ मा नेपालमा २१ अर्ब ३४ करोड बराबरको धान चामल आयात भएको थियो । तथ्याङ्कले नेपाल १५ वर्ष अघिको तुलनामा हाल चामलमा ठूलो मात्रामा परनिर्भर भएको देखाउँछ ।

सन् १९६१ मा नेपालले त्यतिखेरको मूल्य चार करोड ३० लाख अमेरिकी डलर बराबरको २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको सरकारी तथ्याङ्क छ । तर, सन् १९८५ मा आइपुग्दा नेपालको चामल निर्यात ह्वात्तै घट्यो । सो वर्ष एक करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिकटन चामल निर्यात भएको थियो ।

९० को दशकको सुरुवातसँगै नेपालको धानचामल व्यापारको प्रवृत्ति नै उल्टियो । अब हामी चामल निर्यातकबाट खुद आयातकर्ता बन्न पुग्यौँ । यसो हुनुमा उपभोग प्रवृत्ति र रैथाने बाली उत्पादनमा गिरावट लगायत कारण थिए ।

८० को दशकअघि धानचामल निर्यात हुनुको कारण र त्यसपछिका वर्षमा आयात बढ्नुको कारणबारे राजनीतिक तहमै पक्ष-विपक्षमा तर्क-वितर्क हुने गरेकाले त्यतातिर थप प्रवेश नगरौँ । कारण जे जस्तो भए पनि सन्‌ १९८० को दशकपछि नेपालले निरन्तर धानचामल आयात गर्दै आएको छ । आयात परिमाण वर्षेनी बढ्दो छ ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको तथ्याङ्कअनुसार वि.सं. २०१८ मा नेपालमा एक हेक्टर जमिनमा १.९ मेट्रिक टन धान उत्पादन हुने गर्दथ्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा नेपालमा धान उत्पादन प्रतिहेक्टर ३.९८ मेट्रिक टन पुगेको छ ।

तथ्याङ्कले पछिल्लो ६० वर्षमा नेपालमा धानको उत्पादन प्रति हेक्टर भूमिमा दोब्बर भएको देखिए पनि त्यसको अनुपातमा बढेको जनसङख्यालाई भने सम्बोधन गर्न सकेको छैन । जसकारण नेपालले चामलमा आत्मनिर्भर बन्नका लागि धान उत्पादनसम्बन्धी कार्यक्रम नयाँ शिराबाट अघि बढाउन आवश्यक देखिन्छ ।

‘धानचामलमा आत्मनिर्भर हुन सम्भव छ’

कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले नेपाल धानचामलमा अधिक परनिर्भर नभएको भन्दै केही प्रयास गरेमा आत्मनिर्भर हुन सम्भव भएको बताए ।

खबरहबसँग कुराकानी गर्दै डा. घिमिरेले नेपालीले प्रयोग गर्ने औषत चामलको मात्रा र उत्पादन अवस्था हेर्दा केही लाख मेट्रिक टनमात्रै धान उत्पादन बढाए नेपाल धानचामलमा आत्मनिर्भर हुने बताए ।

‘सन्तुलित भोजन गरेको अवस्थामा एकजना मानिसलाई १८० केजी चामल चाहिन्छ, यसरी हेर्दा नेपालको जनसङ्ख्याको अनुपातमा हामीलाई आत्मनिर्भर चाहिने धान ६२ लाख ८८ हजार ६६० मेट्रिकटन हो’, उनले भने, ‘अहिले धानखेती १४ लाख ३४ हजार ७९७ हेक्टरमा भएको छ, प्रतिहेक्टर ३.९८ मेट्रिक टनको हिसाबले ५७ लाख ७ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको छ, त्यसैले हालको अवस्था हेर्दा ५ लाख ८१ हजार ५०५ मेट्रिक टन धानको कमी देखिन्छ ।’

उनले नेपालमा मोटा धानको उत्पादन धेरै हुने, तर उपभोक्ताहरूलाई जिरा मसिनो चामल मनपर्ने हुँदा पनि सो प्रकृतिको चामल आयातको अवस्था भएको बताए । अहिले बर्खेधान उत्पादन भइरहेकोमध्ये कम्तिमा ३३ प्रतिशत क्षेत्रफलको ५० प्रतिशत भागमा जिरामसिनो प्रकृतिको धान र ३० प्रतिशत क्षेत्रमा हाइब्रिड धान रोप्दा नेपालले धानचामल आयात गर्ने स्थिति बन्द हुने डा. घिमिरेले बताए ।

किसानलाई समयमै मल उपलब्ध गराउने, यान्त्रिकीकरण विकास गर्ने, गुणस्तरीय बिउबिजन उपलब्ध गराउने, जलवायुमैत्री प्रविधि प्रवर्द्धन गर्ने र तिनै तहका सरकारबीच समन्वय मिलाएर काम गर्न सके अहिलेको प्रतिहेक्टर ३.९८ उत्पादकत्व क्षमतालाई बढाएर ५.५ पुर्‍याउन सकिने उनको भनाइ छ ।

गत वर्ष धानचामल आयातमा ४० प्रतिशतले गिरावट

भन्सार विभागको वार्षिक तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा नेपालमा धान चामलको आयात मूल्यका आधारमा ४० प्रतिशतले घटेको देखिएको छ ।

धान चामल आयात ४०% ले घट्यो, भन्सार छली कि उपभोग कटौती ?

विभागले तयार गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ०८०/८१ मा नेपालमा २१ अर्ब ३४ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको छ । जुन धानको बिउ र कनिका बाहेकको मूल्य हो ।

जब कि अघिल्लो आर्थिक वर्ष ०७९/८० मा नेपालमा ३५ अर्ब ६२ करोड ११ लाख ६८ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको थियो ।

गत आर्थिक वर्षभित्र अघिल्लो अवधिको तुलनामा समग्र वस्तु आयात १.१६ प्रतिशतले घट्दा अन्नजन्य वस्तुको आयात १९ प्रतिशतले घटेर ४५ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ ।

सोही समूहमा पर्ने धान तथा चामलको आयात पनि ४० प्रतिशतले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १० : १२ बजे

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु– दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि

काभा पुरुष भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं– २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि

दशैँमा फेरि देखिन थाले चर्खे पिङ

बागलुङ– बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँ चर्खेपिङ