डाक्टरको नबुझिने अक्षरले लिन सक्छ ज्यान  | Khabarhub Khabarhub

डाक्टरको नबुझिने अक्षरले लिन सक्छ ज्यान 


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

कैलालीको टीकापुरकी एक गर्भवती महिला जसको डेलिभरी डेट आउन १ हप्ता मात्रै बाँकी थियो । उनी स्वास्थ्यमा जटिलता देखिएपछि तत्काल टीकापुर अस्पताल गइन् । डाक्टरले रगत जाँच गर्ने सल्लाह दिए ।  दिनभर लाइनमा बसेर ल्याबमा रगत दिइन् । करिब ५ घण्टापछि रिपोर्ट हात लाग्यो । हतार हतार डाक्टरलाई देखाइन् । तर डाक्टरले भनेको नगरेर अर्कै जाँच गरिएको छ भनेर फेरि रगत दिन पठाइयो । एक त गर्भवती महिला त्यसमाथि दिनमा २ पटक रगत निकाल्दा कति समस्या भयो होला सजिलै अनुमान लगाउन सकिन्छ । यो सबै समस्याको कारण थियो डाक्टरको नबुझिने अक्षर ।

त्यस्तै टीकापुरकै सावित्री शर्मा भन्छिन्– मलाई पनि धेरै पटक डाक्टरको अक्षर नबुझेर फरक औषधी परेको छ । आजभोलि औषधी खरिद गरिसकेपछि फेरि डाक्टरकोमा गएर देखाउँछु अनि मात्रै प्रयोग गर्छु । यी त उदाहरण मात्रै हुन् । यदि हामीले खेज्ने हो भने यस्ता धेरै समस्या भेटिन्छन् ।

गुगलका अनुसार डाक्टरका खराब अक्षरका कारण वर्षेनी विश्वमा सात हजार बढी बिरामीको ज्यान जान्छ । झन् हाम्रो जस्तो साक्षरता र शिक्षाको कमी भएको मुलुकमा यो समस्या अझै गम्भीर र संवेदनशील विषय हो । हामीकहाँ त औषधी बेचबिखनमा धेरै हेलचेक्र्याइँ हुन्छ । एउटा निश्चित पढाइ गरेर परीक्षा उत्तीर्ण गरेपछि मात्र औषधी पसल खोल्न पाउने प्रावधान त छ । तर, त्यो पढाइमा डाक्टरका बुझ्न नसकिने अक्षर कसरी डिकोड गर्ने भन्ने तालिम र अभ्यासमा सबै पक्ष मौन छन् ।

अधिकांश पसलमा स्वीकृति पाएका मानिस बस्दैनन् । ऊ आफ्ना अरू काममा लागेर श्रीमान्, श्रीमती, बाबु, आमा, सासू, ससुरा, दाजु, भाइ, साथी वा कर्मचारीको भरमा पसल चलाइरहेका उदाहरण हरेक टोलमा देख्न पाइन्छ । एक त डाक्टरको अक्सर नबुझिने अक्षर, त्यसमाथि तालिम नलिएका मान्छे । त्यति हुँदाहुँदै पनि औषधी ग्राहकले मागेको भरमा बिना प्रेस्क्रिप्सन बेचिन्छ । पसलेले आफै पनि डाक्टरसरह जिज्ञासुलाई औषधी दिइरहेका हुन्छन् । मानिसले लिइरहेका हुन्छन् । यस विषयमा पनि अनुगमन र कडाइ आवश्यक छ ।

के भन्छन् मेडिकल सञ्चालकहरू ? 

काठमाडौं घट्टेकुलोका एक मेडिकल सञ्चालक भन्छन् धेरै डाक्टरहरूको अक्षर चिन्न गाह्रो हुन्छ । तर पहिलो अक्षर क्यापिटलमा लेखिएको छ भने रोग हेरेर औषधी चिनिन्छ, गुगलमा सर्च गरेर पनि हेर्छौँ । त्यति गर्दा पनि बुझिएन भने सम्बन्धित व्यक्तिसँग बुझेर औषधी दिन्छौँ । या नबुझिएको खण्डमा औषधी नदिएरै फिर्ता पठाइदिन्छौँ ।

त्यस्तै मैतिदेवी स्थित एक मेडिकलकी सञ्चालिका भन्छिन्– पहिले त धेरै गाह्रो हुन्थ्यो । अहिलेको जस्तो प्रविधि थिएन बिरामीको अवस्था हेरेर अनुमान लगाएर औषधी दिनुपर्थ्यो । प्रविधिको विकाससँगै पछिल्लो समय अलि सहज भएको छ । अहिले धेरैले कम्प्युटर टाइपिङ बिलहरू पनि ल्याउने गरेका छन् । कतिपयले हातले लेखेको ल्याए पनि नबुझिँदा गुगलमा सर्च गरेर औषधीहरू दिन सकिन्छ ।

मेडिकेयर फार्मेसी बाग्लुङका सञ्चालक दिनेश जिसीको भनाई पनि त्यस्तै छ । दिनमा धेरै बिरामीहरू हेर्नुपर्ने कारणले गर्दा डाक्टरहरूको अक्षर अलि नबुझिने हुन्छ । कहिलेकाहीँ हतारमा औषधीहरूको नाम समेत फरक पर्ने गरेको पाइन्छ । तर हामीले औषधी दिँदा सबै कुराहरू हेरेर मात्रै दिन्छौँ । पुराना डाक्टरहरूको भन्दा नयाँले अलि बुझिने गरी लेख्ने हुँदा सहज भएको उनको भनाई छ ।

टाइप पूर्जी सम्भव छैन ?

विश्वका धेरैजसो मुलुकहरूमा टाइप गरेर पुर्जी दिनुपर्ने व्यवस्था छ नेपालमा पनि ओम अस्पतालमा टाइप गरेर पुर्जी दिनुपर्ने व्यवस्था गरिएको र लागु भइरहेको अस्पतालमा व्यापार प्रवर्द्धन प्रबन्धक विनोद अधिकारी बताउँछन् ।

केही अस्पतालले यो व्यवस्था लागु गरे पनि डाक्टरहरूले नै त्यसमा त्यति चाख नदिएकाले त्यो सिस्टम नै फेल भएको मेडिकल सञ्चालकहरू बताउँछन् । लामो समयदेखि झापा धुलाबारीमा मेडिकल सञ्चालन गरिरहेका खिरोज बराल भन्छन् । डाक्टरहरुका नबुझिने अक्षरले धेरै समस्या निम्त्याउँछ । एउटा अक्षरले मात्रै पनि ठुलो दुर्घटना निम्तिने सम्भावना रहेकाले यसमा नियमन र सुधार गर्न आवश्यक छ ।

पहिले पढाइका क्रममा कम समयमा निकै धेरै नोट टिप्नुपर्ने भएकाले छिटो औंला नचलाई त्यो सम्भव हुँदैन थियो । वर्षौंसम्म अभ्यस्त भइसकेको त्यो गति पछि पनि बानी नै बनिसकेकोले अक्षरहरू नराम्रा हुने चिकित्सकहरू बताउँछन् ।

कहिलेकाहीँ बिरामीको चाप यति धेरै हुन्छ दैनिक करिब १ सय जना बिरामी एउटै डाक्टरले हेर्नुपर्ने बाध्यता रहेकाले धेरै प्रेस्क्रिप्सन लेख्नुपर्छ, सबैमा क्यालिग्राफी देखाउन सम्भव नै नहुने उनीहरूको भनाई छ । तर पछिल्लो समय यो समस्या केही हदसम्म हटेको केएमसी अस्पतालमा कार्यरत डाक्टर सविना दाहालले बताइन् । उनले भनिन् धेरै बिरामीको समस्यालाई मध्यनजर गर्दै हामीले ठुलो अक्षरमा प्रष्ट बुझिने गरी औषधीको नाम लेख्ने गरेका छौं ।

समाधान के त ? 

आफूलाई के भएको हो, चिकित्सकले कुन विधिले उपचार गरिरहेका छन्, कुन–कुन परीक्षणहरू गर्न भनिएको छ र के–के औषधि दिइएको छ ? अहिलेको जमानामा अधिकांश बिरामी वा तिनका आफन्त यसबारे एकदमै प्रस्टताका साथ जान्न उत्सुक हुन्छन् ।

यो उनीहरूको अधिकार पनि हो । त्यस बाहेक उपचारको क्रममा बिरामी पुग्नुपर्ने प्रयोगशाला, फार्मेसी र बिल काउन्टरका स्टाफहरूमा कुनै दुविधा नहोस् भनेर पनि चिकित्सकको अक्षर बुझिने हुनुपर्छ भनेर अपेक्षा राख्नु अनुचित होइन ।

काठमाडौंका केही अस्पतालले लाखौं खर्च गरेर डाक्टरले टाइप गरेर पुर्जी दिनुपर्ने व्यवस्था त गरेका छन् । तर डाक्टरहरूले नै त्यसमा त्यति चाख नदिएकाले त्यो सिस्टम नै फेल भएको छ । वरिष्ठ चिकित्सकहरूले यदि आफ्नो अक्षर बदल्न सक्दैनन् भने लेखन कार्यका निम्ति सहायक राख्न सक्छन्, जसले आफ्नो निर्देशन अनुसार बिरामी पूर्जीमा लेखोस् । पूर्जीमा लेखिएका कुरा प्रस्ट हुनैपर्ने वा कम्तिमा औषधिका नाम क्यापिटल लेटरमै लेख्न पर्ने नियम बनाउने हो भने पनि यो समस्या घट्ने सरोकारवालाहरु बताउँछन् ।

अक्षर भनेको मानिसको वर्षौंको बानी हो । यो रातारात परिवर्तन गर्न सम्भव विषय पनि होइन । तर त्यसो भन्दैमा बुझ्दै नबुझिने अक्षर लेखिएकै कारण बिरामीको स्वास्थ्य वा जीवन नै जोखिममा पर्ने अवस्था यदि आउँछ भने त्यसको जिम्मेवारीबाट चिकित्सक स्वयमले लिनुपर्छ । प्रविधिले यति ठूलो फड्को मारेको युगमा सानातिना डिपार्टमेन्टल स्टोरले त प्रिन्टेड बिल दिन सक्छन् भने डाक्टरले ल्यापटप वा डेस्कटप प्रयोग गर्न नसक्ने भन्ने कुरै छैन । विश्वका धेरै मुलुकमा यो अनिवार्य भइसकेको छ । उनीहरूले यसलाई व्यावहारिक प्रयोगमा ल्याइसकेका छन् ।

हाम्रो जस्तो अल्पविकसित मुलुकको ग्रामीण र दुर्गम क्षेत्रमा यो त्यति सहज नहुन सक्छ । त्यस्तो ठाउँमा कमसे कम औषधीको नाम र सेवन गर्ने तरिका सबै ‘क्यापिटल लेटर’ मा मात्र लेख्ने अभ्यास गर्न सकिन्छ । केही दिन अभ्यास हुने हो भने त्यसरी पनि त्यति नै छिटो अक्षर लेख्न सकिन्छ । त्यति सानो प्रयासले मानिसको जीवनमा नै असर गर्ने कुरामा सुधार हुन सक्छ भने त्यो किन नगर्ने ?

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : २० बजे

उखु अभावले उद्योग बन्द, ‘क्रसिङ’ लक्ष्य हासिल भएन

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा