डाक्टरको नबुझिने अक्षरले लिन सक्छ ज्यान  | Khabarhub Khabarhub

डाक्टरको नबुझिने अक्षरले लिन सक्छ ज्यान 


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कैलालीको टीकापुरकी एक गर्भवती महिला जसको डेलिभरी डेट आउन १ हप्ता मात्रै बाँकी थियो । उनी स्वास्थ्यमा जटिलता देखिएपछि तत्काल टीकापुर अस्पताल गइन् । डाक्टरले रगत जाँच गर्ने सल्लाह दिए ।  दिनभर लाइनमा बसेर ल्याबमा रगत दिइन् । करिब ५ घण्टापछि रिपोर्ट हात लाग्यो । हतार हतार डाक्टरलाई देखाइन् । तर डाक्टरले भनेको नगरेर अर्कै जाँच गरिएको छ भनेर फेरि रगत दिन पठाइयो । एक त गर्भवती महिला त्यसमाथि दिनमा २ पटक रगत निकाल्दा कति समस्या भयो होला सजिलै अनुमान लगाउन सकिन्छ । यो सबै समस्याको कारण थियो डाक्टरको नबुझिने अक्षर ।

त्यस्तै टीकापुरकै सावित्री शर्मा भन्छिन्– मलाई पनि धेरै पटक डाक्टरको अक्षर नबुझेर फरक औषधी परेको छ । आजभोलि औषधी खरिद गरिसकेपछि फेरि डाक्टरकोमा गएर देखाउँछु अनि मात्रै प्रयोग गर्छु । यी त उदाहरण मात्रै हुन् । यदि हामीले खेज्ने हो भने यस्ता धेरै समस्या भेटिन्छन् ।

गुगलका अनुसार डाक्टरका खराब अक्षरका कारण वर्षेनी विश्वमा सात हजार बढी बिरामीको ज्यान जान्छ । झन् हाम्रो जस्तो साक्षरता र शिक्षाको कमी भएको मुलुकमा यो समस्या अझै गम्भीर र संवेदनशील विषय हो । हामीकहाँ त औषधी बेचबिखनमा धेरै हेलचेक्र्याइँ हुन्छ । एउटा निश्चित पढाइ गरेर परीक्षा उत्तीर्ण गरेपछि मात्र औषधी पसल खोल्न पाउने प्रावधान त छ । तर, त्यो पढाइमा डाक्टरका बुझ्न नसकिने अक्षर कसरी डिकोड गर्ने भन्ने तालिम र अभ्यासमा सबै पक्ष मौन छन् ।

अधिकांश पसलमा स्वीकृति पाएका मानिस बस्दैनन् । ऊ आफ्ना अरू काममा लागेर श्रीमान्, श्रीमती, बाबु, आमा, सासू, ससुरा, दाजु, भाइ, साथी वा कर्मचारीको भरमा पसल चलाइरहेका उदाहरण हरेक टोलमा देख्न पाइन्छ । एक त डाक्टरको अक्सर नबुझिने अक्षर, त्यसमाथि तालिम नलिएका मान्छे । त्यति हुँदाहुँदै पनि औषधी ग्राहकले मागेको भरमा बिना प्रेस्क्रिप्सन बेचिन्छ । पसलेले आफै पनि डाक्टरसरह जिज्ञासुलाई औषधी दिइरहेका हुन्छन् । मानिसले लिइरहेका हुन्छन् । यस विषयमा पनि अनुगमन र कडाइ आवश्यक छ ।

के भन्छन् मेडिकल सञ्चालकहरू ? 

काठमाडौं घट्टेकुलोका एक मेडिकल सञ्चालक भन्छन् धेरै डाक्टरहरूको अक्षर चिन्न गाह्रो हुन्छ । तर पहिलो अक्षर क्यापिटलमा लेखिएको छ भने रोग हेरेर औषधी चिनिन्छ, गुगलमा सर्च गरेर पनि हेर्छौँ । त्यति गर्दा पनि बुझिएन भने सम्बन्धित व्यक्तिसँग बुझेर औषधी दिन्छौँ । या नबुझिएको खण्डमा औषधी नदिएरै फिर्ता पठाइदिन्छौँ ।

त्यस्तै मैतिदेवी स्थित एक मेडिकलकी सञ्चालिका भन्छिन्– पहिले त धेरै गाह्रो हुन्थ्यो । अहिलेको जस्तो प्रविधि थिएन बिरामीको अवस्था हेरेर अनुमान लगाएर औषधी दिनुपर्थ्यो । प्रविधिको विकाससँगै पछिल्लो समय अलि सहज भएको छ । अहिले धेरैले कम्प्युटर टाइपिङ बिलहरू पनि ल्याउने गरेका छन् । कतिपयले हातले लेखेको ल्याए पनि नबुझिँदा गुगलमा सर्च गरेर औषधीहरू दिन सकिन्छ ।

मेडिकेयर फार्मेसी बाग्लुङका सञ्चालक दिनेश जिसीको भनाई पनि त्यस्तै छ । दिनमा धेरै बिरामीहरू हेर्नुपर्ने कारणले गर्दा डाक्टरहरूको अक्षर अलि नबुझिने हुन्छ । कहिलेकाहीँ हतारमा औषधीहरूको नाम समेत फरक पर्ने गरेको पाइन्छ । तर हामीले औषधी दिँदा सबै कुराहरू हेरेर मात्रै दिन्छौँ । पुराना डाक्टरहरूको भन्दा नयाँले अलि बुझिने गरी लेख्ने हुँदा सहज भएको उनको भनाई छ ।

टाइप पूर्जी सम्भव छैन ?

विश्वका धेरैजसो मुलुकहरूमा टाइप गरेर पुर्जी दिनुपर्ने व्यवस्था छ नेपालमा पनि ओम अस्पतालमा टाइप गरेर पुर्जी दिनुपर्ने व्यवस्था गरिएको र लागु भइरहेको अस्पतालमा व्यापार प्रवर्द्धन प्रबन्धक विनोद अधिकारी बताउँछन् ।

केही अस्पतालले यो व्यवस्था लागु गरे पनि डाक्टरहरूले नै त्यसमा त्यति चाख नदिएकाले त्यो सिस्टम नै फेल भएको मेडिकल सञ्चालकहरू बताउँछन् । लामो समयदेखि झापा धुलाबारीमा मेडिकल सञ्चालन गरिरहेका खिरोज बराल भन्छन् । डाक्टरहरुका नबुझिने अक्षरले धेरै समस्या निम्त्याउँछ । एउटा अक्षरले मात्रै पनि ठुलो दुर्घटना निम्तिने सम्भावना रहेकाले यसमा नियमन र सुधार गर्न आवश्यक छ ।

पहिले पढाइका क्रममा कम समयमा निकै धेरै नोट टिप्नुपर्ने भएकाले छिटो औंला नचलाई त्यो सम्भव हुँदैन थियो । वर्षौंसम्म अभ्यस्त भइसकेको त्यो गति पछि पनि बानी नै बनिसकेकोले अक्षरहरू नराम्रा हुने चिकित्सकहरू बताउँछन् ।

कहिलेकाहीँ बिरामीको चाप यति धेरै हुन्छ दैनिक करिब १ सय जना बिरामी एउटै डाक्टरले हेर्नुपर्ने बाध्यता रहेकाले धेरै प्रेस्क्रिप्सन लेख्नुपर्छ, सबैमा क्यालिग्राफी देखाउन सम्भव नै नहुने उनीहरूको भनाई छ । तर पछिल्लो समय यो समस्या केही हदसम्म हटेको केएमसी अस्पतालमा कार्यरत डाक्टर सविना दाहालले बताइन् । उनले भनिन् धेरै बिरामीको समस्यालाई मध्यनजर गर्दै हामीले ठुलो अक्षरमा प्रष्ट बुझिने गरी औषधीको नाम लेख्ने गरेका छौं ।

समाधान के त ? 

आफूलाई के भएको हो, चिकित्सकले कुन विधिले उपचार गरिरहेका छन्, कुन–कुन परीक्षणहरू गर्न भनिएको छ र के–के औषधि दिइएको छ ? अहिलेको जमानामा अधिकांश बिरामी वा तिनका आफन्त यसबारे एकदमै प्रस्टताका साथ जान्न उत्सुक हुन्छन् ।

यो उनीहरूको अधिकार पनि हो । त्यस बाहेक उपचारको क्रममा बिरामी पुग्नुपर्ने प्रयोगशाला, फार्मेसी र बिल काउन्टरका स्टाफहरूमा कुनै दुविधा नहोस् भनेर पनि चिकित्सकको अक्षर बुझिने हुनुपर्छ भनेर अपेक्षा राख्नु अनुचित होइन ।

काठमाडौंका केही अस्पतालले लाखौं खर्च गरेर डाक्टरले टाइप गरेर पुर्जी दिनुपर्ने व्यवस्था त गरेका छन् । तर डाक्टरहरूले नै त्यसमा त्यति चाख नदिएकाले त्यो सिस्टम नै फेल भएको छ । वरिष्ठ चिकित्सकहरूले यदि आफ्नो अक्षर बदल्न सक्दैनन् भने लेखन कार्यका निम्ति सहायक राख्न सक्छन्, जसले आफ्नो निर्देशन अनुसार बिरामी पूर्जीमा लेखोस् । पूर्जीमा लेखिएका कुरा प्रस्ट हुनैपर्ने वा कम्तिमा औषधिका नाम क्यापिटल लेटरमै लेख्न पर्ने नियम बनाउने हो भने पनि यो समस्या घट्ने सरोकारवालाहरु बताउँछन् ।

अक्षर भनेको मानिसको वर्षौंको बानी हो । यो रातारात परिवर्तन गर्न सम्भव विषय पनि होइन । तर त्यसो भन्दैमा बुझ्दै नबुझिने अक्षर लेखिएकै कारण बिरामीको स्वास्थ्य वा जीवन नै जोखिममा पर्ने अवस्था यदि आउँछ भने त्यसको जिम्मेवारीबाट चिकित्सक स्वयमले लिनुपर्छ । प्रविधिले यति ठूलो फड्को मारेको युगमा सानातिना डिपार्टमेन्टल स्टोरले त प्रिन्टेड बिल दिन सक्छन् भने डाक्टरले ल्यापटप वा डेस्कटप प्रयोग गर्न नसक्ने भन्ने कुरै छैन । विश्वका धेरै मुलुकमा यो अनिवार्य भइसकेको छ । उनीहरूले यसलाई व्यावहारिक प्रयोगमा ल्याइसकेका छन् ।

हाम्रो जस्तो अल्पविकसित मुलुकको ग्रामीण र दुर्गम क्षेत्रमा यो त्यति सहज नहुन सक्छ । त्यस्तो ठाउँमा कमसे कम औषधीको नाम र सेवन गर्ने तरिका सबै ‘क्यापिटल लेटर’ मा मात्र लेख्ने अभ्यास गर्न सकिन्छ । केही दिन अभ्यास हुने हो भने त्यसरी पनि त्यति नै छिटो अक्षर लेख्न सकिन्छ । त्यति सानो प्रयासले मानिसको जीवनमा नै असर गर्ने कुरामा सुधार हुन सक्छ भने त्यो किन नगर्ने ?

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : २० बजे

आठौं आरबिबि–एनभिए भलिबल चैतमा हुने

काठमाडाैं – आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप, २०८०

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु

बुजुम्बुरा – पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको

राष्ट्रपति पौडेल र अमेरिकी इन्डो–प्यासिफिक कमान्डरबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत

अध्यक्ष ओलीद्वारा गायक आचार्यको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्छौं :उपप्रधानमन्त्री खड्का

कर्णाली– नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा