बर्बरिकले फुकाएको त्यो महाभारतको गाँठो | Khabarhub Khabarhub

बर्बरिकले फुकाएको त्यो महाभारतको गाँठो



कुनै विषयलाई लिएर कसैसँग झगडा भयो भने महाभारत नै भयो भन्ने भनाइ छ । यो महाभारत भनेको के हो ? तपाईँलाई थाहा छ ? हो धेरैलाई थाहा छ । कतिलाई पढेर त कतिलाई टेलिभिजन त कतिलाई युटुब हेरेर युद्धका बारे भलिभाँती जानकारी छ । महाभारत सिरियल हस्तिनापुर राज्यलाई लिएर कौरव र पाण्डबबीच कुरुक्षेत्रको पटाङ्गिनीमा ज्यादै ठूलो युद्ध भयो ।

कौरव पक्ष ११ अक्षोणी र पाण्डव पक्ष ७ अक्षोणी गरी १८ अक्षोणी सेनाले १८ दिनसम्म अहोरात्र युद्ध गरे । अन्त्यमा पाँच पाण्डव, केही चिरञ्जीवीहरू र युद्धमा प्रत्यक्ष भाग नलिएका कृष्णबाहेक कोही पनि जीवित रहेनन् । यो युद्धमा सत्यका पक्षमा रहेका पाण्डवको जीत भएको देख्न पाइन्छ । तर सत्य अर्कै छ । युद्ध जित्ने पाण्डव नभएर अर्कै तेस्रो शक्ति छ भन्ने धेरैलाई थाहा छैन ।

विजयको उन्मादमा पाँच पाण्डवहरूमा आआफ्नो बल र भूमिकाका विषयमा युद्धको अन्त्यपछि मनोमालिन्य पैदा हुन्छ । यसले गर्दा पाँच पाण्डवमा फूटको संकेत पाएर श्रीकृष्णले वास्तविकताको रहस्य खोलिदिए । शायद यसैको छनक पाएर युद्ध अघि नै श्रीकृष्णले एउटा टाउकोलाई युद्धभूमि भन्दा केही पर रुखमा झुण्ड्याएर राखिदिए । त्यही साक्षीको बयानबाट नै पाँच पाण्डवहरूमा फूटको स्थिति आउन पाएन ।
अठार पुराणहरूमा मात्र नभएर सम्पूर्ण धार्मिक ग्रन्थहरूमा नै महाभारत पुराण सर्वाधिक ठूलो ग्रन्थ हो । एक लाख श्लोक भएको यसभित्र विभिन्न १८ पर्व, ज्यादै मार्मिक र सारगर्भित श्रीमद्गीता समेत समेटिएको छ । महर्षि वेदब्यासद्वारा रचित यो विशाल ग्रन्थमा विशेष गरी हस्तिनापुर राज्य र यहाँका कुरुवंशीहरु सम्बन्धमा विस्तारपूर्वक वर्णन गरिएको छ ।

भारत वर्षमा राज्य गर्ने भरतवंशी तथा कुरुवंशीहरुमा त्यस समय ज्यादै प्रतापी राजाहरू थिए । राज्य परम्पराअनुसार राजाको जेठो छोरा नै  राज्यको उत्तराधिकारी हुन्थ्यो । पाण्डु राजाको निधनपश्चात् उनका छोराहरू साना भएकाले भाइ धृतराष्ट्रले राज्य सम्हाल्छन् । तर कालान्तरमा उनीभित्र बढेको पुत्रमोह र सत्तालाई सत्तालाई नासोका रूपमा लिएको सत्य बिर्सिएर पाण्डु  पुत्रहरूलाई दुर्व्यवहार गर्छन् । दिएको सानो गाउँ पनि अनेक जालझेल र तिकडम गरी कपटी पासाको आडमा जुवा हराएर वनवास पठाएको, पाँच पाण्डव पत्नी द्रौपदीको बेइज्जत गरेको , लाहाको घरमा एक चिहान बनाएन खोजेको तर पनि जीवित पाण्डव र कौरवबीच युद्धको घोषणा भयो ।

भारत वर्षमा बङ्ग नामको देशमा एक जना ज्यादै प्रतापी राजा थिए । बर्बरिक नाम गरेको त्यो राजा आफ्नो बल र बुद्धिमा घमन्ड गर्थ्यो । उसको बल, बुद्धि र सेवाको श्रीकृष्ण समर्थक थिए । त्यसैले जसरी भए पनि उसलाई पाण्डव पक्षमा लिने उनको नीति थियो । पाँच पाण्डवलाई लिएर श्रीकृष्ण सहयोगका लागि आग्रह गर्न बर्बरिक कहाँ पुगे । आफूहरूले राज्य पाउनुपर्नेमा कौरवहरूले राज्य हड्पेकाले युद्धको अवस्था आएको र धर्मको पक्षमा सहायता गर्न युधिष्ठिरले आग्रह गरे ।

बलवान बर्बरिक सजिलै सहायताको पक्षमा थिएन । उसलाई आफ्नो बलको घमन्ड थियो । त्यसैले सहायताका लागि उसले कडा सर्त राख्यो । युद्धमा भाग लिन आफू अति उत्सुक भएको तर जसले युद्ध हार्छ उसैको पक्षमा लाग्ने र जिताएरै छोड्ने बर्बरिकको उद्घोषपछि पाण्डवहरू मुखामुख गर्न थाले । आफूहरूले युद्ध जित्नै पर्ने पाण्डवहरूको अडान र पाण्डवहरूलाई जिताउन लागेका श्रीकृष्णलाई बर्बरिकको संकल्पले अप्ठ्यारोमा पार्‍यो । युद्ध हार्नेलाई जिताउने र जितेकालाई हराउन चानचुने सर्त थिएन ।

बर्बरिकको बल जाँच्ने मनसायले श्रीकृष्णले सोधे– ‘तिमीसँग हारेको पक्षलाई जिताउन सक्ने आधार के छ ?’ श्रीकृष्णले होच्याएको ठानेपछि उसले आफ्नो बलको आत्मप्रशंसा गर्दै भन्यो– ‘युद्धका लागि जम्मा भएका १८ अक्षोणी सेना, रथी, महारथी, योद्धाहरुमा पाँच पाण्डव, भीष्म, द्रोणाचार्य, कृपाचार्य, अश्वत्थामा, कर्ण र कृष्णबाहेक अरु सबैलाई एउटै बाणले खतम पार्ने र त्यो वाण पनि खर्च नभई फर्किएर उसकै ठोक्रोमा आउने अद्भुत शक्तिको चमत्कार आफूभित्र छ ।’

एउटै बाणले त्यत्रो विशाल सेनालाई खतम पार्ने उसको उद्घोषले सबै आश्चर्य चकित भए । यसको प्रमाण पेश गर्न सबैले आग्रह गरे । बर्बरिकले एउटा बाणको टुप्पोमा सिन्दुर लगाएर ताँदो चढाउँदै भन्यो– ‘मैले उल्लेख गरेका व्यक्ति बाहेक अरु सबैका छातीमा यो बाणको टुप्पोमा लगाएको सिन्दुरको चिन्ह लगाएर बाण आफ्नो ठोक्रोमा पस्नेछ ।’ कृष्णले बाण छोड्ने आदेश दिए । ताँदोबाट बाण छुट्यो । युद्धका लागि तयार हुन लागेका १८ अक्षोणी फौजमा ११ जनालाई छोडेर अरु सबैको छातीमा निशानी लगाएर बाण पुन : फर्किएर उसकै ठोक्रोमा आयो । बर्बरिकको चामत्कारिक शक्तिबाट पाण्डव मात्र नभएर कृष्ण पनि भयग्रस्त भए ।

पाण्डव पक्षलाई युद्ध जिताउनुपर्ने कृष्णको इच्छामा बर्बरिक बाधक बन्यो । एउटा पनि बाण खर्च नगरी सबै सेना सखाप पार्नेले पाँच पाण्डवलाई युद्धमा के बाँकी राख्ला ? कृपाचार्य, अश्वत्थामा त चिरञ्जीवी छँदै छन् । आफूले युद्धमा भाग नलिने बचन दिएकै छ । त्यस कारण जसरी भए पनि यसलाई अवरोध मार्गबाट हटाउनुपर्छ भनी श्रीकृष्णले निश्चय गरे ।

कृष्णले भने– ‘बर्बरिक, तिमी ज्यादै बलवान रहेछौ । मैले तिम्रो तागतलाई माने । म तिम्रो प्रशंसा गर्छु । युद्धमा सहायता नगर ठिक छ । तर म तिमीसँग एक थोक माग्छु । तिमीले मान्नुपर्छ ।’ बल, बुद्धि र धनले परिपूर्ण बर्बरिकले आफू कहाँ आएका पाहुनालाई त्यसै फर्काउन पनि उचित ठानेनन् । र हुन्छ भनी प्रतिज्ञा गरे । कृष्णले आफूमाथि यस्तो छल गर्लान् भन्ने बर्बरिकको कुनै चित्तमा थिएन । कृष्णले उसमाथि मायावी जाल बिछ्याइसकेका थिए ।

‘तिम्रो टाउको मलाई देऊ’ कृष्णले अनपेक्षित यस्तो माग राखेपछि बर्बरिक झस्किए । हुन्न भनौँ भने बचनमा हारिसकेको अवस्था छ । ‘मलाई तिमीले छल गर्‍यौ । पाण्डव जिताउन तिमी लागेका रहेछौ । ठिक छ, प्रतिज्ञाबद्ध भएपछि दिनै पर्‍यो ।’ भन्दै बर्बरिकले आफ्नो लाचारी प्रकट गरे । अन्त्यमा उसले आफ्नो सानो इच्छा रहेको बतायो । कृष्णले उसको इच्छा पूरा गरिदिने बचन दिए । बर्बरिकले महाभारतको युद्ध हेर्ने अभिलाषा भएको बतायो । बर्बरिकले आफैंले तरबारले आफ्नो टाउको छिनाएर श्रीकृष्णको माग पूरा गरिदिए । कृष्णले पनि बर्बरिकको टाउकोलाई दिव्य दृष्टि प्रदान गरेर युद्ध भूमिभन्दा केही परको अग्लो रुखमा झुण्ड्याइदिए । बर्बरिकको त्यही टाउको युद्धको साक्षी बनेको थियो ।

युद्धमा जित हात पारेपछि पाण्डवहरूमा केही मनमुटाब देखियो । युधिष्ठिर आफूले युद्धको घोषणा गरेको र सबैले आफूलाई सहायता गरेको, आफू धर्मको पक्षमा भएकाले पुरै हस्तिनापुरको उत्तराधिकारी आफू भएको, भाइहरू त आफ्नो सहयोगी मात्र भएको विचार व्यक्त गर्दै थिए । उता भीम आफूसँग १० हजार हात्तीको भन्दा बढी बल भएको, कौरव सेनामा सबैभन्दा बढी सेना, दुर्योधन, दुःशासन लगायत सय भाइ आफूले मारेकोमा सबैभन्दा ठूलो भूमिका आफ्नो भएको धारणा राख्दै थिए ।

आफू सर्वश्रेष्ठ धनुर्धर भएको भीष्म, कर्णजस्ता वीर योद्धाहरुलगायत ठूलो संख्याका महारथीहरुलाई मारेको अर्जुनमा बेग्लै घमन्ड चढेको थियो । नकुल र सहदेव पनि बेमातृ भएर पनि युद्धमा त्यत्रो भूमिका खेलेर युघिष्ठिरका लागि लडेकोमा आफ्नो त्याग पनि कम ठान्दैनथे । पाँच पाण्डवहरूमा राज्य विभाजन गर्ने विचार समेत भित्री रूपमा भाइहरूले उठाएकाले युधिष्ठिर चिन्तित बनेका थिए ।

‘यसको लागि तिमीहरूले चिन्ता गर्नै पर्दैन । मैले साक्षी राखेको छु । लौ जाओ साक्षीहरूलाई सोध ।’ भनी श्रीकृष्णले भनेपछि सबै खुसी भए । साक्षीले आआफ्नो भूमिकाको प्रशंसा गर्दै आफूलाई नै सबैभन्दा वीर भनिदेला भन्ने सबै भाइमा विचार जन्मिएको थियो । साक्षीले भनेपछि त जान्नै मान्नै पर्ने बाध्यता थियो । त्यसपछि कसले आफूलाई हेप्ने भन्ने सबै भाइमा भित्री इच्छा थियो । त्यसैले सबै जना कृष्णको पछि पछि लागे । बर्बरिकको टाउको नजिक पुगेपछि श्रीकृष्णले सोध्यो– ‘बर्बरिक तिमीले महाभारतको युद्ध कस्तो लाग्यो ? कुन कुन महारथीले कस्तो कस्तो वीरता देखाए ? युद्धको वर्णन गर ।

श्रीकृष्णको प्रश्न सुनेर बर्बरिकको टाउको खित्का छोडेर हाँस्यो । ‘किन हाँस्यौ ?’ प्रश्नपछि बर्बरिकको टाउको बोल्यो– ‘श्रीकृष्णको सुदर्शन चक्र घुमी घुमी सबैको टाउको काट्थ्यो । द्रौपदी काली भेषमा रगत पिउँदै हिँड्थिन । मैले देखेको सत्य यही हो । अरु त युद्ध नभएर केटाकेटीको खेल जस्तै दृश्य थियो । ’

बर्बरिकको टाउकोको बयान सुनेर पाँच पाण्डव नतमस्तक भए । श्रीकृष्णले दिएको पहिलाको दिव्यरुप दर्शनलाई अर्जुन, युधिष्ठिरले सम्झिए । गीतामा भनेको कुराको बोध अर्जुनलाई भयो । भीमको घमन्ड पनि चकनाचुर भयो । नकल र सहदेव पनि निरीह भए । आफूले गरेका घमण्डप्रति सबै नतमस्तक भएर श्रीकृष्णसंग क्षमायाचना गरे ।

ग्रन्थहरूमा कृष्णलाई विष्णुको साक्षात् अवतार मानिन्छ । कृष्णको सहायताका लागि द्रौपदीको भेषमा कालीको अवतार भएको प्रकट भएको रहेछ भन्ने भेद अब पाण्डवहरूमा छिपेन । त्यसैले सबै गर्ने गराउने श्रीकृष्ण नै रहेछन् भनी सबै नतमस्तक भए । पाण्डवहरुलाई वास्तविकताको बोध भएकोमा कृष्ण पनि प्रफुल्ल देखिए ।

पाण्डवहरूमा राज्य विभाजनको मतभेद रहेन । यही वास्तविकताको बोधपछि पाण्डवहरू अभिमन्यूका छोरा परिक्षितलाई राज्य छाडेर महापथतिर हिँडेका थिए । महापथ यात्रामा युधिष्ठिरबाहेक अरु कोही सफल भएनन् । महाभारत युद्धको यो वास्तविकता सिरियलमा कतै खोलिएको छैन । सबै ग्रन्थहरुबाट निकालिएको यो सार कल्याण पुराणमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ४१ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि