स्वदेशी मह चखाउन कर्णालीदेखि काठमाडौंसम्म ! | Khabarhub Khabarhub

स्वदेशी मह चखाउन कर्णालीदेखि काठमाडौंसम्म !

कहिले हट्ला बजार नपाउने सास्ती ?


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘आउनुहोस्‌ ! शुद्ध मह चाख्नुहोस र लैजानुहोस्‌, हाम्रो नेपाली मह खाने बानी बसाल्नुहोस्‌ !’ भन्दै ग्राहकलाई आफूतिर बोलाइरहेका थिए सफल बी फर्मका संचालक यामबहादुर अधिकारी ।

काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भएको ‘पाँचौं राष्ट्रिय मह मेला-२०८१’ मा सहभागी हुन चितवनबाट काठमाडौं आएका हुन् अधिकारी । बैशाख २६ बाट संचालन भइरहेको मह मेलामा उनी आफ्नो उत्पादन चखाउने र प्रचारप्रसार गर्ने काम गरेर ग्राहकलाई आकर्षण गर्न आएका हुन् ।

मेलामा धेरै मह बेच्ने र राम्रो प्रचार गर्ने आशले आएका अधिकारीले सोचेजस्तो भने भएको छैन । तर, मेलामा आएका ग्राहकलाई भने स्वदेशी मह किन्न अधिकारीले बोलाइरहेका छन् ।

एक घार मौरीबाटै फस्टायो व्यवसाय
१० वर्षअघि काठमाडौंको गौशालामा टेलरिङ व्यवसाय संचालन गरेका अधिकारी एकाएक मौरीपालनमा लागे । साथीले मौरीबारे कुरा गरेको सुनेपछि त्यसैतर्फ रुचि जाग्यो । त्यसपछि उनले व्यवसायिक मौरीपालनबारे बुझ्न शुरू गरे । शुरूमा एक घार मौरी पाले ।

‘व्यवसायिक ढंगले मौरीपालनबारे बुझेपछि मैले मित्रहरूबाटै ८ हजार रुपैयाँमा एक घार मौरी किनेर पाल्न शुरू गरेँ’, अधिकारीले भने । उनले पालेका मौरीहरू उडेर पशुपतिको जंगलतिर जाने आउने गर्थे । उनलाई मौरी पाल्न रमाइलो पनि लाग्दै गयो ।

मौरीको घारबाट उनले वर्षमा एकपटक मात्र मह काढ्न पाए । उनलाई मौरीपालनमा रुचि बढ्दै गयो । घार बढाउँदै गए । १२ घारसम्म त उनले जसोतसो व्यवस्थापन गरे । तर, घार बढ्दै गएपछि काठमाडौंमा मौरीको व्यावसायिक उत्पादन हुँदैन भन्ने उनलाई लाग्यो ।

‘मौरीपालन राम्रै लाग्यो, तर घार थप्दै जाँदा काठमाडौंमा ठूलो रूपमा व्यावसायिक फार्म चलाउन सकिँदैन भन्ने लाग्यो । अन्यत्र मौरीपालनका लागि राम्रो ठाउँ खोज्न थालेँ’, उनले भने ।

अधिकारी ठाउँ खोज्दै चितवन पुगे । अनि शुरू भयो उनको व्यवसायिक माहुरीपालन यात्रा । चितवनको भण्डारा भन्ने ठाउँ माहुरीपालनका लागि राम्रो हुने देखेपछि उनले त्यही ठाउँलाई छनोट गरे ।

मौरी चराउन पहाडी जिल्लासम्म लैजानुपर्ने भएकाले त्यो स्थान उपयुक्त लाग्यो । त्यहाँबाट नजिकै रहेको जिल्ला मकवानपुरमा चिउरीको ठूलो बगान छँदैछ । चिउरीको फूलबाट निस्किएको मह सबैभन्दा राम्रो मान्ने गरिन्छ । त्यसैले उनले मौरी फार्म चितवन नै सारे ।

अधिकारीले पहिलोचोटी मौरी चराउन मकवानपुर पुर्‍याए । तोरी फूल्ने सिजनमा तराईमा लैजान थाले । तोरी सकिएसँगै लिची फुल्ने याम शुरू हुन्छ, रुधिलो हुन्छ ।

यो मौरीले मह बनाउने समय हो । उनलाई यसरी मौरी लिएर तराई-पहाड गर्न निकै रमाइलो लाग्छ । मौरीपालनमा यस्तै सुखदुःख र रमाइलो भोग्दै अधिकारी अघि बढिरहेका छन्‌ ।

परिवारको साथ
मौरीपालनमा अधिकारीलाई श्रीमतीले भरपूर साथ दिएकी छिन् । श्रीमानको मौरीपालन योजना सफल पार्न छँदाखाँदाको टेलरिङ व्यवसाय छाड्न उनी पनि सहमत भएकी थिइन्‌ ।

अधिकारी दम्पत्तिले मौरीपालनमा लगाव र परिश्रम बढाउँदै लगे । घारसँगै व्यवसायको आकार बढिरह्यो । उत्पादित मह स्थानीय बजारमा पठाउन थाले । आफन्तहरू पनि मह खरिदकर्ता थिए । महले भाउ पाउँदै गयो । उनीहरू अझै उत्साहित हुँदै मौरीका घार थप्दै गए ।

अहिले उनीहरूको फार्ममा १०० घार मौरी छन् । मौरी बढ्दै जाँदा बजारको खोजी गर्नतर्फ लागे । स्वदेशी महको प्रचारप्रसार गर्न विभिन्न संघसंस्थामा आबद्ध भए । विस्तारै उनीहरूले उत्पादन गरेको सबै मह बिक्री हुन थाल्यो ।

मौरीपालन फस्टाएपछि उनीहरू अत्यन्तै सन्तुष्ट देखिन्छन् । ‘हामीलाई यो व्यवसाय गरेर कुनै पश्चाताप छैन, धेरै खुसी छौँ। यही व्यवसायबाट आज धेरै व्यक्तिहरूले चिन्नुहुन्छ, खुशी लाग्छ,’ अधिकारी भन्छन् ।

काम गर्दा जतिसुकै गाह्रो भएपनि मह निकाल्ने बेला निकै सन्तुष्टि मिल्ने अधिकारी बताउँछन्‌ । किनकी फूल खेल्ने, मौरीले पुष्परस संकलन गर्ने र घारबाट मह निकाल्ने निश्चित चक्र हुन्छ । बेमौसम (अफसिजन)मा त मौरीलाई नै विशेष ध्यान दिनुपर्ने हुन्छ । फूल नफुल्ने मौसममा मौरीलाई बजारबाट फिर्ता गएको मह र चिनीको चास्नी बनाएर खुवाउनुपर्छ ।

अनलाइनमा बिक्री गर्ने योजना
मौरीपालन व्यवसायबाट सबै खर्च कटाएर अधिकारीले वर्षको २ देखि ३ लाख रुपैयाँ बचत गर्ने गरेका छन् । अब केही मौरीको घार बढाएर अनलाइन बजारमा पनि मह बिक्री थाल्ने अधिकारी दम्पत्तिको लक्ष्य छ ।

अहिले चाहिँ उनीहरू बजार विस्तार गर्न फुर्सदका बेला आफैँले मह बोकेर पनि विभिन्न जिल्लाहरू पुग्ने गरेका छन् । ‘मलाइ त आफ्नो व्यापार अरूलाई देखाउन पाउँदा एकदमै खुसी लाग्छ । फुर्सद भएको समयमा हामी मह लिएर आफैँ पनि बेच्दै हिँड्छौं । यस्तो बेला कति कठिनाइहरू पनि आउँछन्, तर त्यो क्षणिक मात्र हुन्छ । २ केजी मह बेच्न सक्यौँ भने हामी सबै दुःख बिर्सन्छौं,’ उनी भन्छन् ।

अहिले उनीहरूलाई छोराछोरीले पनि साथ दिएका छन् । जेठो छोराले गौशालामा र छोरीले ललितपुरको लगनखेलमा मह बेच्छन्‌ । गोरखा, मकवानपुर, तनहुँ र धादिङ लगायत जिल्लाबाट पनि महको माग हुने गरेको छ ।

८ हजार रुपैयाँबाट शुरू गरेको व्यवसायको आकार अहिले लाखौं रुपैयाँ बराबर पुगेको छ । अझै केही वर्ष आफैँ सञ्‍चालन गर्ने र स्वदेशी मह राम्रो हुन्छ भनी चिनाउने यामबहादुरको सोच छ ।

महमा पनि आयातितकै दबदबा !
प्राकृतिक बरदानस्वरुप जैविक विविधतामा सम्पन्न नेपाल फूल फुल्ने वनस्पतिहरूको संख्यामा पनि सम्पन्न छ । वनस्पति विभागका अनुसार नेपालमा फूल फुल्ने ५ हजार ३०९ प्रजातिका वनस्पति पाइन्छन्‌ । तीमध्ये ३१२ प्रजाति त नेपालमा मात्रै भेटिएको छ ।

मौरीपालनका लागि फूल नै निर्विकल्प स्रोत हो । यही पर्याप्त स्रोत भएको मुलुकमा मौरीपालक किसान छन्‌ । मह पनि उत्पादन हुन्छ । तर पछिल्ला वर्षमा प्राकृतिक र कृत्रिम गरी झण्डै ४० करोड रुपैयाँभन्दा बढीको मह विदेशबाट आयात हुने गरेको छ । भन्सार समेत छलेर ल्याइने गरिएका विदेशी अस्वस्थकर र सस्तो महले नेपाली उत्पादनको बजार बिथोलिदिएको छ ।

मह मेलामै आएका चितवन कालिका नगरपालिकाबासी मौरीपालक राजेन्द्र पौडेललाई नियाल्दा यही थाहा हुन्छ । उनी नेपाली उत्पादन प्राङ्गारिक (अर्गानिक) रहेको भन्दै चाखेरै लैजान ग्राहकलाई अनुनय-विनय गरिरहेका थिए ।

‘मह मेलामा धेरै राम्रो व्यापार हुन्छ होला भन्ने सोचेका थियौँ, तर यो बेमौसम भएर होला सोचेजस्तो केही छैन,’ उनी गुनासो गर्छन् । नेपाली उत्पादनमा ग्राहकहरू पनि रमाउन नसकेको उनको गुनासो छ ।

‘हामीले यो व्यवसाय अंगालेको लगभग २५ वर्ष भयो, तर स्वदेशी मह खाने बानी कमैमा मात्र छ, आकर्षक प्याकेजिङ गरिएका अस्वस्थकर विदेशी महले बजार कब्जा गरेको छ,’ पौडेलले भने, ‘मान्छेहरू मह त खान्छन्, तर ठूलाठूला सुपरमार्केटमा किनेको विदेशी मह राम्रो हो भन्ने भ्रम छ, मार्केटहरूले हाम्रो स्वदेशी उत्पादनहरू राख्दैनन् ।’

यस्तो थितिले गर्दा नेपाली किसानले उत्पादन गरेको मह बिक्री नभएको पौडेलजस्ता मौरीपालक किसान र व्यवसायीहरू बताउँछन्‌ ।

मह चखाउन कर्णालीबाट आएकी यी आमै
काठमाडौंमा जारी मह मेलामै भेटिइन्‌ कर्णाली प्रदेशकी ६० वर्षीया रत्ना केसी । उनी कर्णालीमा उत्पादित महको स्वाद काठमाडौंमा रहेका देशभरका नागरिकलाई  चखाउन यहाँ आइपुगेकी हुन्‌ ।

‘नानी ! आउनु न मह चाख्नु, शुद्ध मह छ, बुुढाबुढीदेखि बच्चासम्म सबैले खान मिल्छ । लैजानु न बा !’ उनी विनम्रतापूर्वक आग्रह गरिरहन्छिन्‌, ‘म तपाईंकी आमाजस्तै हुँ । झुटो बोल्दिनँ । मह शुद्ध छ, लैजानु न ! म बुढी टाढाबाट एक्लै आएकी छुु सहयोग गर्नु न !’

उनले यसो भनिरहँदा ग्राहकहरूलाई लाग्छ : सबै मह उठाएर आफैँ बेच्न लगिदिऊँ !

रत्ना यो मेलामा कर्णालीको राजधानी सुर्खेतबाट एक्लै आएकी हुन्‌ । उनलाई यहाँ मेला लाग्छ भनेर नेपाल मौरीपालक महासंघले जानकारी दिएको थियो । त्यसैले कर्णालीमा उत्पादन हुने महबारे प्रचारप्रसार गर्न सकिन्छ कि भनेर काठमाडौंको बाटो सोझ्याइन्‌ ।

उनी भन्छिन्‌, ‘आफ्नै ठाँउको मह खाने बानी पार्न आग्रह गर्न म काठमाडौंसम्म आएकी हुँ । नेपालीहरूले आफ्नै देशका किसानले उत्पादन गरेको मह उपभोग गरिदिने हो भने सबैलाई फाइदा हुन्छ ।’

रत्नाले पहिले च्याउ खेती गर्थिन्‌ । त्यसैमा रमाइरहेकी उनलाई छिमेकीले गरेको मौरीपालनले आकर्षित गर्‍यो । अनि ११ वर्ष पहिले एकैचोटी २५ घार किनेर मौरीपालन थालिन्‌ ।

च्याउखेतीबाट कमाएको एक लाख ५० हजार रुपैयाँ मौरीपालनमा खर्च गर्दा उनलाई मनमा डर पनि लागेको थियो । आम्दानी हुने कि डुब्ने हो भन्ने भय थियो।

तर उनी हिम्मतसाथ अघि बढिन्‌ । उनको यो हिम्मतमा परिवारले पनि साथ दिए । व्यवसाय फस्टाउँदै गयो । उनले मौरी पालनसँगै च्याउखेतीलाई निरन्तरता दिइरहेकी छिन् ।

यसैबाट भएको आम्दानीले छोराछोरीलाई पढाइन्‌ । कसैलाई इञ्जिनियर बनाएकी छिन् भने कसैलाई कानून पढाएकी छिन् । उनी यसैमा सन्तुुष्ट छिन् । तर आफूले उत्पादन गरेको मह समयमै नबिक्दा उनलाई चिन्ता लागिरहेको छ ।

रत्नाले केही अघिसम्म काठमाडौंका केही व्यापारीहरूकहाँ बिक्रीका लागि मह पठाउँथिन् । केही वर्षबाट त्यो पनि बन्द भएको छ । अहिले गाउँ र पहाडी केही जिल्लामा मह पठाउने गरेकी छिन् ।

सकस भोग्दै किसान र व्यवसायी
मौरी पालेर जति मह उत्पादन हुन्छ – त्यसको आधा पनि बिक्री गर्न गाह्रो भएको व्यवसायीहरू बताउँछन्‌ ।

व्यवसायीहरूलाई राज्यले बेवास्ता गरेको बताउँछन् पौडेल बी फर्मका संचालक राजेन्द्र पौडेल । भारतीय महले बजार पाइरहँदा नेपाली मह भने उत्पादककहाँ नै तन्किएको उनी बताउँछन्‌ ।

नेपालमा प्रविधि समस्याले गर्दा उत्पादन लागत नै महँगो हुने भनाइ छ । त्यसकारण पनि पनि ग्राहकहरू भारतीय महप्रति आकर्षित भएको उनको भनाइ छ ।

राज्यले विदेशी मह आयात बन्द गरेर स्वदेशी महलाई नै नेपाली बजारमा ल्याउनुपर्ने उनी बताउँछन् । ‘नेपालीहरू मह खान्छन्‌ । तर सपिङ मलमा विदेशी मह नै पाइने हुनाले त्यही गुणस्तरीय हो भन्ने सोच छ । काठमाडौंमा जति मह खपत हुुन्छ – त्यो सबै नेपाली मह नै प्रयोग गर्ने हो भने सबै नेपाली मह खपत हुन्छ । क्वीटलका क्वीटल मह फाल्नुपर्ने थिएन,’ पौडेलले भने ।

हामीले नेपाली मह बजारमा चिनाउन नै सकिरहेका छैनौँ : महासंघ
स्वास्थ्यमा महको फाइदाबारे उपभोक्ताहरूलाई बुुझाउनै गाह्रो भएको नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरे बताउँछन्‌ ।

नेपालीहरूमा मह किन्दा राम्रो भन्दा पनि सस्तो खोज्ने बानीले गर्दा किसानले उत्पादन गरेको मह बिक्री गर्न समस्या भएको उनको भनाइ छ । हालसम्म उपभोक्तामाझ महको उपयोगिता बुझाउन नसकेको उनको भनाइ छ ।

राज्यले पनि जनताको स्वास्थ्यप्रति खासै ध्यान नदिएको र नियमनमा वास्ता नगरेको उनको भनाइ छ । खाद्य विभागले पनि नेपाली महको गुुणस्तर नै जाँच नगरी विदेशी ल्याबमा परीक्षण भएका आयातित महलाई नै मान्यता दिएकोप्रति उनको गुनासो छ ।

घिमिरेका अनुसार २०६४ सालमा आयोजित मह मेलामै महासंघले गुणस्तरीय लोगो जारी गरेको थियो । तर महासंघ नै आर्थिक घाटामा रहेका कारण निरन्तरता दिन नसकेको उनले जानकारी दिए ।

जारी मेलामा स्टल राख्न किसानहरूलाई महासंघले नै सहयोग गरेको छ । मौरीपालक किसानले लिएका स्टलको ६० प्रतिशत भाडा महास‌ंघले नै ब्यहोरेको घिमिरेले बताए ।

किसानले नेपालमै उत्पादन गरेको महलाई पनि विभागले जाँच गरेर गुणस्तर प्रदान गर्ने र विदेशी मह आयातमा कडाइ गर्ने हो भने मह व्यवसायीहरूलाई सहज हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ३५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार