तन्नेरी जोशमा पार्टी हाँक्ने तयारी गर्दै ‘जन्तरे बा’ « Khabarhub

तन्नेरी जोशमा पार्टी हाँक्ने तयारी गर्दै ‘जन्तरे बा’



काठमाडौं – चाउरिएर मुजा परेको अनुहार, बुढ्यौलीले थाक्दै गएका हातखुट्टा तर मनमा भने अझै पनि वाम आन्दोलन हाँक्ने जोस । ७४ काटिसकेका झलनाथ खनाल राजनीतिक विश्रामको बाटो छोडेर नेकपा एकीकृत समाजवादी हाँक्ने योजना बुन्दैछन् । एमालेबाट फुटेर बनेको पार्टीमा अहिले सम्मानित नेता रहेका खनाल अब नेतृत्व नै हाँक्ने दाउमा छन्।

‘पार्टीको दसौँ महाधिवेशनमा मेरो नेतृत्वलाई युवाले साथ दिन्छन् । म जसरी पनि नेतृत्वमा पुग्छु । कम्युनिस्ट आन्दोलन एकीकृत गरेर लानुपर्ने जिम्मेवारी मेरो काँधमा छ’, उनले एकै श्वासमा भावी योजना सुनाए ।

समकालीन नेपाली राजनीतिका शीर्ष नेतामध्ये एक खनाल वाम आन्दोलन र समाजवादी यात्राका वकालतकर्ता पनि हुन् । उनी नेपालमा समाजवादी क्रान्तिको विकल्प नभएको बताउँछन् । त्यही कुरा स्थापित गर्न आफूले दसौँ महाधिवेशनबाट पार्टीको नेतृत्व लिने योजना बनाएको उनले सुनाए ।

सधैँ चिटिक्क परेर हिँड्ने उनलाई बौद्धिक नेताका रुपमा चिनिन्छ । तर धेरैजसो नेता कार्यकर्ताले उनलाई विश्राम लिनुपर्ने सुझाव दिएका छन् । तर विश्राम लिन तयार छैनन् । उनले अध्यक्षमा उठ्ने योजनासहित पार्टी विधानबाट ७० वर्षे उमेर हद हटाएर नेतृत्वमा आउन खोजिरहेका छन् ।

पुराना पुस्ताका नेताले ओगटिरहँदा नेपाली राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेप बढ्न नसकेको गुनासो आइरहँदा ७४ वर्षीय खनाल भने अध्यक्ष जित्ने रणनीति निर्माणमा जुटेका छन् ।

‘युवा विचारमा नयाँ भएर मात्रै हुँदैन । क्षमता र योग्यता पनि चाहिन्छ । मेरो उमेर पाको भए पनि मसँग विचार र क्रान्तिकारी राजनीतिको अभ्यास छ । त्यसैले पार्टी चलायमान बनाउन पनि नेतृत्व लिन खोज्दैछु’, खनालले भने ।

उनी ३० वर्षे जोश-जाँगरले भरिएको मनलाई यो महाधिवेशनबाट पार्टीलाई योगदान दिएर अर्को पटकदेखि सक्रिय राजनीतिबाट बिदा हुने उनी बताउँछन् ।

यो पनि पढ्नुहोस् : ७० को वय : नागरिकलाई भत्ता, नेतालाई सत्ता

‘म यस पटक नेतृत्वमा गएर वाम आन्दोलन उचाइमा पुर्याउँछु, अर्को पटक नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गरेर बिदा हुन्छु’, उनले आफ्नो योजना सुनाए । यस पटक आफूलाई युवाले साथ दिइरहेको खनाल बताउँछन् ।

केही वर्ष अघिदेखि पार्किन्सन रोगले ग्रसित खनाल मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि प्रयोग गर्नुपर्ने बाध्यतामा छन् ।

परिवारका १३ सन्तानमध्ये सातौँ अर्थात उनी घरका ‘जन्तरे’ छोरा हुन् । कर्ममा पनि ‘लक्की सेभेन’को उपमा पाएका खनाललाई अहिले युवा नेताको साहारा चाहिएको छ । तर एकीकृत समाजवादीको सचिवालयमा खनाल पक्ष कमजोर भएको उनी निकट नेता नै बताउँछन् ।

विश्राम लिनुपर्ने उमेरमा किन नेतृत्वको लोभ भन्ने खबरहबको प्रश्नमा उनले भने, ‘नेपालका मै हुँ भन्ने कम्युनिस्ट नेताहरू दलाल पुँजीवादको पुच्छर भए, अहिले पनि हुँदै गएका छन् । त्यसकारण उनीहरूको भारी बोकेर हिँड्नुपर्ने आवश्यकता महसुस गरिरहेको छु ।’

बरु दृढ इच्छाशक्ति बढेर २१ भएको १९ मा नझरेको आत्मविश्वास उनी देखाउँछन् । ‘मैले कम्युनिस्ट पार्टीको नेतृत्व गर्नुपर्ने छ । सबैको भारी बोकेर हिँड्नुपर्ने महसुस गरिरहेको छु । पहिलेभन्दा बढी जोश, जिम्मेवारी र होसियारीसाथ अगाडि बढ्नुपर्ने आवश्यकता ठानेको छु’, उनले अगाडि भने ।

खहरे खोलाको भरमा राजनीति नचल्ने भएकाले युवाले नै आफूलाई अगाडि सारेको दाबी उनी गर्छन् ।

एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादी २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको थियो । त्यसबेला सम्मानित नेता खनाल उपचारका लागि दिल्लीमा थिए । त्यसकारण आफू अध्यक्ष हुन नपाएको उनको निष्कर्ष छ ।

यदि एमाले र माओवादीले सघाउन तयार भएको भए सुवासचन्द्र नेम्वाङको निधनपछि खाली इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उनी वाम उम्मेदवार हुने थिए । तर एमालेले सुवास पुत्र सुहाङ नेम्बाङलाई टिकट दिएपछि उनको योजनाले आकार लिन पाएन ।

२०७९ को निर्वाचनमा पराजित भएको चोट बिर्सिन उनले पार्टीका कामलाई निरन्तरता दिएका थिए । उनले त्यसका लागि आफ्नो पक्षमा माहोल बनाएको खनाल निकट नेताहरु बताउँछन् ।

समाजवादीको नेतृत्व लिन कुनै शक्तिले हातखुट्टा बाँध्न नसक्ने उनको तर्क छ । उनी भन्छन्, ‘म थाकेको छैन, परिआए जिम्मेवारी लि तयार छु । लड्नुपरे लड्ने कुरा त छँदै छ ।’

पूरा होला सपना

पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता खनाल नेतृत्वमा पुग्न अहिले अन्तरसंघर्षमा छन् । त्यसकै परिणाम भ्रातृसंगठनमा किचलो सुरु भएको छ ।

युवा संघ नेपालमा उनीहरु निकट दुई गुटले समानान्तर कमिटी घोषणा गरिसकेका छन् । संघमा झालनाथ निकट कृष्ण विके संयोजक थिए । तर संघको महाधिवेशन समयमा नगरेको भन्दै २६ जेठमा माधव नेपाल निकट समूहले समानान्तर कमिटी बनाएको छ ।

त्यसपछि दुई नेताको लडाइँ बाहिरिएको छ । एकीकृत समाजवादीमा कयौँ नेता माधव नेपालले नै एक पटक नेतृत्व गर्नुपर्ने बताइरहेका छन् । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्, ‘देशको परिस्थिति हेर्दा अध्यक्ष नेपालको विकल्प छैन । सम्मानित नेताले अन्तिममा अध्यक्षलाई नै अगाडि सार्नुहुन्छ ।’

उनले अगाडि भने, ‘देशले त माधवको विकल्प खोजेको छैन नि ।’

यता झालनाथ निकट युवा संघका नेता सञ्जीव राई भने यो महाधिवेशनमा खनालले नेतृत्व लिएर वाम आन्दोलनलाई थप सशक्त बनाउने बताउँछन् ।

उनले भने, ‘सम्मानित नेता पार्टीमा आएर हाम्रो पार्टीलाई वैचारिक रूपले अगाडि बढाउनु हुन्छ ।’

असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा दुवै नेताहरूले अध्यक्षका दाबेदारका रूपमा प्रस्तुत गरिरहेका बेला दोस्रो तहका भने विकल्पको खोजीमा लागेका छन् ।

दुई शीर्ष नेताको टकराव बढ्दै जाँदा दोस्रो पुस्ताका नेताले महासचिव घनश्याम भुसाललाई अघि सार्न थालेका छन् । यदि दुई जना सहमतिमा नआएमा दोस्रो पुस्ताले भुसाललाई अध्यक्षमा अघि सार्न अहिलेदेखि नै तयारी भइरहेको छ ।

तर, पार्टीमा कुनै नाटकीय परिवर्तन नभए नेपाल नै अध्यक्षमा दोहोरिने सम्भावना रहेको बताइन्छ । यता झालनाथ र माधव दुवै घनश्याम आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् । उनीहरू दुवै १२ औँ महाधिवेशनमा भुसालले पार्टीको बागडोर सम्हाल्ने बताउँछन् । तर, भुसाल भने नेतृत्वको च्याँखे दाउ थापिरहेका छन् ।

यो पनि…
महाधिवेशनको मुखमा माधव–झलनाथ टकराव, युवा संघमा समानान्तर अभ्यास

माधव र झलनाथ नमिल्दा पर्ला घनश्यामलाई चिठ्ठा !

माधव नेपाल कांग्रेससँग नजिकिँदा झलनाथ रुष्ट, महाधिवेशनको मुखमा बढ्दै किचलो

७४ वर्षे झलनाथ भन्छन्-३० वर्षे जोस छ, परिआउँदा जिम्मेवारी लिन्छु

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : २४ बजे

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा