बहिरालाई पढाउन लागेका सीताराम | Khabarhub Khabarhub

बहिरालाई पढाउन लागेका सीताराम



काठमाडौं – भोजपुरका सीताराम ओझा जन्मिदा कान सुन्न सक्ने थिए। आठ वर्षको हुदाँ उनी अचानक बिरामी भए। बिरामी भएपछि उनको श्रवण शक्ति गुम्यो। २०५१ कार्तिक २६ गते जन्मिएका उनी दुई छोरा र एक छोरीमध्ये कान्छा छोरा हुन्।

अचानक सुन्न नसक्ने भए पनि ओझाको जीवनमा धेरै अप्ठ्यारो परिस्थिति आयो। सुरु-सुरुमा आमाबुवासँग सञ्चार गर्न नसकेर भाइबहिनी र छिमेकीको सहारा लिए। सांकेतिक रूपमा बुझाउन नसकेका कुरा लेखेर बोले। ओझाको लागि घरमा दाइले सांकेतिक भाषा सिकेका थिए।

वैदेशिक रोजगारमा दाइ कोरिया गएपछि समस्या बढ्दै गयो। सुन्न नसकेपछि बहिरा विद्यालयमा फेरि कक्षा एकदेखि पढाइ सुरु गरे। सांकेतिक भाषा सिक्नुपर्ने भएकाले कक्षा एकदेखि नै पढाइ गर्नु परेको थियो। नयाँ नयाँ शब्दको संकेत नहुँदा उनीहरुलाई गाह्रो बनाउथ्यो।

अहिले सांकेतिक शब्द सात हजार पाँच सयको हाराहारीमा छन्। राष्ट्रिय बहिरा महासंघ नेपालको महासचिव तथा कोशी प्रदेशको संयोजकसमेत रहेका ओझा अहिले नयाँ शब्दको विकास गर्ने प्रयासमा जुटिरहेका छन्। यो काम नेपाल सरकारले गर्नुपर्ने भए पनि हाल विभिन्न परियोजनाले काम गरिरहेका छन्।

सांकेतिक भाषा विकास गर्न अनुसन्धान गर्नको लागि केन्द्र स्थापना गर्ने भनेर नीति तथा कार्यक्रममा समेटिएको छ। तर त्यसको लागि बजेट छुट्याएको छैन। अक्षरमा आयो अंकमा छैन। हाम्रो देशमा अन्य देशको तुलनामा निकै कम सांकेतिक शब्द छन्।

अंग्रेजी तथा अन्य भाषा बोल्नुपर्ने ठाउँमा अन्तर्राष्ट्रिय सांकेतिक भाषा सिक्नुपर्छ। तर दूतावासमा जाँदा दोभाषे लान पाइन्छ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा सिकेर विदेश पढ्न जान सकिन्छ। जुन देशमा जाने हो त्यो देशको सांकेतिक भाषा सिक्नुपर्छ।

अन्तर्राष्ट्रिय सांकेतिक अनलाइन र युट्युबमा पनि सिक्न सकिन्छ। अरूको तुलनामा बहिरालाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा सिकेर पढ्न जान धेरै समस्या छ। अहिलेसम्म नेपालबाट जना अमेरिका पढ्न गएका छन्। धेरैले अवसर भएर पनि भाषा सिक्न नसकेर जान सकेका छैनन्।

विदेशमा पनि सीमित कलेज छन्। बहिरा-बहिराको अन्तर्राष्ट्रिय सांकेतिक भाषामै कुरा हुन्छ। छलफलको लागि भने दोभाषे राखिन्छ।

बहिराको प्रकार
सरकारको परिभाषा अनुसार यो समस्या सुनाइसम्बन्धी अपाङगतामा पर्छ। यस भित्र दुई प्रकारका अपाङ्गता हुन्छन्। एक बहिरा र अर्को सुस्त श्रवण। सुस्त श्रवण भएकाले हेयरिङ एअर लगाएर सुन्न सक्छन्। ओझाले एअर लगाएर पनि सुन्न सक्दैनन्। पूर्ण बहिरालाई त्यसले काम गर्दैन।

माया, प्रेम र घृणाको भाव
अरू सामान्य व्यक्तिमा जस्तै हुन्छ। हरेक मानिसमा माया र प्रेमको भाव हुन्छ। आवेश, रिस, घृणा पनि हुन्छ। बहिराको पनि आवाज आउछ , चिच्याएर भाव व्यक्त गर्छन्।

नजिकै बसेर हेर्दै कुरा गर्यो भने हाम्रो अथवा मेरो कुरा काट्यो वा केही भन्यो कि भन्ने लाग्छ। बहिरो भन्ने देखेर थाहा हुँदैन। बाटोमा हिँड्दै गर्दा मानिसले बाटो सोध्छन्। आफैलाई नै सोध्या हो कि अरूलाई भनेर यताउता हेर्छन्।
सोध्नेहरू अचम्ममा पर्छन्। उनी आफू सांकेतिक भाषामा सुन्न नसक्ने बताइदिन्छन्।

शिक्षा
शिक्षा संकायतर्फ नेपाली विषयबाट उनले स्नातक सकेका छन्। उनले १२ सम्म सांकेतिक भाषामै पढे। स्नातक धनकुटा पढे, त्यसमा अरू सामान्य विद्यार्थीसँग बसेर पढेका हुन्।

शिक्षकले लेखेको कुरा, साथीहरूको नोट लिएर पढे तर त्यतिले चित्त नबुझेपछि आफै स्वअध्ययन गरेर पास गरेका हुन्। स्नाकोत्तर प्रारम्भ गरे पनि भोजपुरमा रहेको बहिरा आवासीय विद्यालयमा धेरै समय दिनुपरेकाले पढाइलाई निरन्तर दिन सकिरहेका छैनन्।
विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन्। अहिले काठमाडौंतिरै भएकाले यतै पढ्ने विचार बनाइरहेका छन्। २०७५ सालमा उक्त विद्यालय स्थापना गरिएको हो। उनी अन्य सामाजिक कार्यमा संलग्न छन्। बहिराको हक अधिकारको लागि उनी काम गर्दै आएका छन्।

सरकारको तथ्यांक- एक लाख बहिरा नेपालमै छन्
सरकारको तथ्याङ अनुसार देशभर करिब एक लाख दुई हजारको हाराहारीमा बहिराको संख्या छ। त्यसमा पूर्ण बहिरा ५१ हजार ३०७ र सुस्त श्रवण भएका ५१ हजार ५२० जना छन्।
तर महासंघको तथ्याङ अनुसार करिब ३ लाखको हाराहारीमा बहिराको संख्या छ। सांकेतिक भाषामा सञ्चार गर्ने भनेर जम्मा तीन हजारको तथ्याङ छ। तर उक्त संख्या लाखौमा रहेको छ।

बहिराका लागि १२ कक्षासम्म शिक्षा निःशुल्क छ। आवासीय सुविधा दिने भनेको छ। स्नातकको पढाइ पनि निःशुल्क छ, तर सेवा लिन सकिएको अवस्था छैन।

राज्यले दिने सेवा सुविधा
बहिराले निलो ‘ख’ वर्गको परिचयपत्र पाएका छन्। त्यसको मासिक भत्ता दुई हजार ११८ रुपैयाँ छ। यो रकम सामान्य खर्चमै सकिन्छ। रातो ‘क’ वर्गकालाई चार हजार रुपैयाँ भत्ता सरकारले उपलब्ध गराएको छ। तर दुई वर्षदेखि भत्ता बढेको छैन।

सरकारको कुनै पनि निर्णय छ महिना टिक्दैन। यो राजनीतिक स्थिरताले सबै काम ध्वस्त छन्। केही काम सुरु भयो मन्त्री परिवर्तन हुने, सचिव परिवर्तन हुने गर्दा ठोस योजनालाई कार्यान्वयन गर्न नसकिएको उनको अनुभव छ।

‘विचराको भावले राज्यले व्यवहार गरेको छ। दुःखी भाव देखाएर पनि बजेट तेलको थोपा जति छुट्टयाएको हुन्छ’, उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै भने।

अपाङ्गता भित्र पनि विविधता छ। सबैलाई एकै ठाउँमा राखेर सेवा सुविधा दिँदा त्यसले अन्याय हुन्छ। विशेष गरि बहिराका लागि सांकेतिक भाषाको शब्द संकेत निर्माण, विकास, विस्तार तथा अनुसन्धान साथै तालिम केन्द्र स्थापना गर्नु आवश्यक देखिन्छ ।

उनीहरूका लागि थप गुणस्तरिय शिक्षाको आवश्यकता छ। रोजगारीमा जागिनुपर्ने बाध्यतासमेत देखिन्छ। ‘प्लस टु र स्नातक गरेका धेरै साथी बेरोजगार छन्। निजी क्षेत्रले अत्यन्त कम श्रमिकको रूपमा राखेको छ। सरकारी क्षेत्रले अलि धेरै पहल गर्नुपर्छ। कम बोल्नुपर्ने क्षेत्रमा काम गरिरहेका छन्’, उनले भने।

अहिले अधिकांश बहिराहरु होटल र फ्याक्ट्रीमा छन्। हालसम्म निजामति क्षेत्रमा एक जना मात्रै कार्यरत छन्। शिक्षक सेवामा ५ जना छन्। तर बहिराले सबै क्षेत्रमा काम गर्न सक्छन्। कोटा अत्यन्त कम छ। लोक सेवाले लागि दोभाषे लान दिँदैन। त्यहाँ दृष्टिबिहीन र शारीरिक अपाङगताले जागिर खाइरहेका छन्।

‘बहिरो भनेर हेप्ने धेरै हुन्छन्। यसले सुन्दैन जे भने पनि हुन्छ भन्ने मानसिकता छ। त्यो हामीले हाउभाउबाट बुझ्छौँ’, उनले थप भने। नीति निमार्ण तहमा भएकालाई सांकेतिक भाषा थाहा हुँदैन। जसले गर्दा पीडित समस्या लिएर जाँदा कुरै बुझ्दैनन्। यसले हरेक काममा अवरोध हुने गरेको उनको बुझाइ छ।

‘कोशी प्रदेशमा हामीले एक जिल्लामा एक दोभाषे राख्ने माग राख्यौं। बहिराको पनि भाषा हुन्छ, उनीहरू पनि कुरा गर्छन् भन्ने जनचेतना जगाउने का गर्यौ। यो भाषा नर्मललाई बुझाउन सकिएको छैन’, उनले भने।

सरकारी सूचनाबाट बञ्चित भएको उनको गुनासो छ। सार्वजनिक सूचनाको पहुँचमा पुर्याउने भन्ने नीति छ। तर कार्यान्वयन छैन। हरेक टिभीले प्रत्येक दिन आधा घण्टाको समाचारमा दोभाषे राख्ने भन्ने छ। तर लागू छैन। स्थानीय सरकारको सहकार्यमा महासंघले निरन्तर पैरवी गरिरहेको छ। तर बजेट अभावले धेरै काम नभएको उनको अनुभव छ।

उपचारमा सबैभन्दा ठुलो समस्या

बहिराका लागि सबैभन्दा धेरै समस्या अस्पतालमा हुन्छ। डाक्टरसँगको सञ्चार गलत हुदाँ गतल उपचार र गतल औषधी खाएर ज्यानै जानसक्ने अवस्था हुन्छ। कतिपय गर्भवतीका बच्चा खेर गएका छन्। ‘सामान्य कुरा भन्न सकिन्छ, डाक्टरले पनि बुझ्छन्। तर कतिपय अवस्थामा पूर्ण सञ्चार हुन सक्दैन। यसले जटिल अवस्था सिर्जना गर्छ’, उनले भने।

यसै समस्यालाई मध्येनजर गरेर भिडियोकलबाट दोभाषेसँग कुरा गर्न सकिन्छ। तर धेरैलाई यो सुविधाबारे थाहा छैन। ‘भिडियो रिले सर्भिस सिस्टम छ, हामीले नेपालमा गर्न खोजिरहेका छौं। अन्तर्राष्ट्रिय स्तरमा यसको प्रयोग हुँदै आएको छ’, उनले भने।

प्रविधिको विकाससँगै कल सेन्टरमा दोभाषे कार्यरत हुन्छन्। बहिरा व्यक्तिले त्यहाँ फोन गरेर सेवा लिन सक्छन्। उनीहरुका लागि सामसुङ सेटमा सजिलो हुन्छ। सुन्नेले भ्वाइस कल गर्छन्, उनीहरूले भिडियो कल गर्छन्। यसको लागि नेट आवश्यक हुँदैन।

यो सुविधा नेपाल टेलिकमले थ्रीजी हुदाँ पहिले निःशुल्क दिएको थियो। अहिले फोरजी भएपछि मिनेटको ६४ पैसा शुल्क लिएको छ। प्रति एसएमसको २५ पैसा लाग्छ। यसको छुट्टै डेडिकेटेड नम्बर हुन्छ।

कति छन् दोभाषे ?

नेपालमा तालिम लिएका दोभाषे ५० को हाराहारीमा छन्। उनी जस्तै फुलटाइम काम गर्ने १२ जना मात्रै छन्। सरकारले दोभाषेको संख्या बढाउनुपर्ने उनको माग छ। उनीहरूलाई तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । स्नातकको लागि एक मात्र कलेज केन्द्रीय बहिरा विकास छ। त्यहाँ शिक्षा संकायको मात्र पढाइ उपलब्ध छ।

महिला मन्त्रालयको अनुदानमा कार्यक्रम गर्दै आएको १५ वर्ष भयो। सबैभन्दा कम बजेट भएको मन्त्रालय भएकाले पनि बजेट निकास हुन समस्या पर्छ। सुरुदेखि नै बहिराका लागि विद्यालय स्थापना गर्ने इच्छा भए पनि त्यसका लागि ठुलो संघर्ष गर्नु परेको छ।

‘विद्यालय स्थापनाको पहलको लागि सम्बन्धित निकायमा गयो। कर्मचारी लिखित सञ्चार गर्न मन नपराउने। हाम्रो कुरा सुन्न छोडेर अर्को सेवाग्राहीसँग बोलेर बस्ने। दर्ता गर्दादेखि लिएर धेरै समस्या आयो। सबैका साथ र सहयोग बिना विद्यालय स्थापना गर्नु सम्भव थिएन’, उनले थपे।

बहिरा आवासीय विद्यालय स्थापना र संघर्ष

भोजपुर बहिरा आवासीय आधारभूत विद्यालय स्थापना गर्न निकै धैर्य गनुपर्यो। अब शिक्षकको समस्या भएको उनको भनाइ छ। अहिले पालिकाले शिक्षकको दरबन्दी दिएको छ। तर उक्त शिक्षकले सांकेतिक भाषा जानेको हुँदैनन्। बहिरा विद्यार्थीले कसरी पढ्ने ? बहिरालाई पढाउने शिक्षकलाई सांकेतिक भाषाको तालिम आवश्यक भएको उनले बताए। लेखेर मात्रै भर्खरको विद्यार्थीले सिक्न नसक्ने उनको भनाइ छ।

‘‘अहिले भएको विद्यालयको जग्गा बाल संगठनको हो। त्यसकारण विभिन्न समस्या आइरहेको छ। आफ्नै जग्गा भए, सहज हुन्छ। भोजपुर, खोटाङ, सुनसरी लगायत जिल्लाका विद्यार्थी पढिरहेका छन्’, उनले थपे भने।

विद्यालयमा २३ जना विद्यार्थी छन्। होस्टल अभावका कारण विद्यार्थी थप्न पाइदैन। एकदेखि पाँच कक्षा सञ्चालनमा छ। स्रोत र साधनको अभावले एक वर्षमा कक्षा खप्ट्याएर पठाउनु परेको उनको भनाइ छ। विद्यालयमा शिक्षक चार जना मात्र छन्।

‘दुई जना स्थायी, एक जना नगरपालिकाको स्रोतबाट र अर्को स्वयम्सेवक शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ’, उनले थपे, ‘विद्यालय स्थापना हुनुभन्दा अगाडि बहिराले अरू नर्मल विद्यार्थीसँग बसेर पढ्नुपर्ने बाध्यता थियो। यसरी पढ्दा सात कक्षासम्म पढेका विद्यार्थीले केही नजान्ने अवस्था थियो।’

बहिरालाई नर्मल विद्यालयमा भर्ना नलिने अवस्था छ। उसले गर्दा अन्य विद्यार्थीको पढाइ बिग्रने बहाना बनाउने उनको गुनासो छ। सुन्दैन, यसले के सिक्छ भनेर कतिपय अभिभावकले विद्यालय पठाउनसमेत मान्दैनन्।

गलत सोच र संस्कारको प्रभाव अझै उस्तै

गाउँतिर बच्चा नबोलेपछि धामी झाक्री, देवी देउता लाग्यो भनेर पूजा लगाउने गर्छन्। पहिचानको समस्या छ। चार पाँच वर्षसम्म पनि बोल्ला भनेर घरमै राख्छन्।

पार्टीका घोषणापत्रमा अपाङगताप्रति कुनै विषय नै समावेश नभए पनि परिवारले भनेकै आधारमा मत दिने गरेको उनको बुझाइ छ। ‘‘महासंघको प्राथमिकता भनेको १२ पढ्न पाउनुपर्यो। सिटीभिटीसँग लिंक गरेर सीप सिकाउने र कुन क्षेत्रमा रुची छ, त्यो पहिचान गरेर काम दिनुपर्छ भन्ने छ’, उनले भने।

दोभाषेका कुरा
नुवाकोटका दिनेश श्रेष्ठ (३५) ले १८ वर्षदेखि दोभाषेको काम गरिरहेका छन्। उनले दोभाषेको तालिम काठमाडौंको गैरिधारामा लिएका हुन्। ताहाचल महिन्द्र रत्नमा पढिरहदाँ त्यहाँ बहिरा साथी थिए। पहिले उनीहरूको लागि छुट्टै कलेज थिएन।

त्यहा भेटिएकामध्ये एक जनाले सांकेतिक भाषा पढ्न उत्पेरित गरेपछि उनी त्यता लागेका हुन्। उनले सिक्दा चार हजार सात सय शब्द मात्रै थियो। दुई वर्षमा थप शब्द आएका छन्। तालिम लिएपछि उनले देउराली जनता फर्मास्युटिकलमा २० बहिरासँग पाँच वर्ष काम गरे। त्यसपछि पहिलो संविधान सभाका बहिरा सांसद राघव विर जोशीसँग उनले पाँच वर्ष काम गरे।

सांसद् जोशीको कुरा दिनेशले संसदमा बोले। अहिले महासंघमा पनि पाँच वर्ष हुन लाग्यो। उनी आफ्नो काम सन्तुष्ट छन्। पैसा मात्रै सन्तुष्ट हुने आधार नभएर सेवा गर्दा खुशी मिल्ने उनले बताए। बहिराको सेवा गर्दै देशविदेश डुल्नु र घुम्नुलाई उनले आफ्नो कमाइ मानेका छन्।

संसद्को अनुभव सुनाउदै उनले भने, ‘नियमावली अनुसार गैर सांसद्को आवाज रेकर्ड हुँदैन। ६ महिनासम्म बोल्न पाउने कुरै भएन। धेरै लबिङ गरेपछि तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले कार्यविधि परिवर्तन गरेर दोभाषे राख्न दिने निर्णय गराएका थिए।

‘हामी दुई जना दोभाषे थियौं, पालैपालो संसदमा बोल्यौं’, उनले भने। उनले बहिराका लागि ड्राइभिङ लाइसेन्सको लागि पहल गरेका छन्। हक अधिकार र शिक्षाको लागि जोड दिए। समितिको छलफलमा सांकेतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ भन्ने कुरा उठाएका कारण संविधानमा त्यो व्यवस्था गरिएको छ।

बहिरामा कामप्रति लगाव राखेर गर्ने स्वभाव हुन्छ। काममा लागिरहन्छन् तर उनीहरू छिटो रिसाउने हुन्छन्। संकेत राम्रोसँग बुझेन भने, आफ्नो भावनाको मतलब नगरेको जस्तो हुने रहेछ। त्यहि भएर रिसाउने गरेको उनको बुझाइ छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ३९ बजे

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार

चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

झापा – मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि

माछापुच्छ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गण्डकी – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

द हेग – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन