बिसे नगर्ची : पृथ्वीनारायण शाहको युद्ध सपना जोडिदिने सूत्रधार | Khabarhub Khabarhub

इतिहास र अनुभूति

बिसे नगर्ची : पृथ्वीनारायण शाहको युद्ध सपना जोडिदिने सूत्रधार

नारामा स्थापित, कर्ममा विस्थापित



सीमान्तकृतको विषयमा खोज्ने र लेख्ने अठोटका साथ लेखन यात्रालाई परिस्कृत गर्ने प्रयास गरिरहेको बेला काठमाडौँमा सञ्चारकर्मी विनोद पहाडी, सुभाषकुमार दर्नाल र रेम विश्वकर्मासँगको भेटले ममा दलित अधिकारवादी आन्दोलनप्रति चासो बढेर गयो। दलित उत्पीडितको अवस्थालाई गम्भीरतापूर्वक नियाल्न थालेँ।

त्यो बेला म एक राष्ट्रिय दैनिकको संवाददाता थिएँ। समाचार सङ्कलनकै क्रममा पहाडी, दर्नाल र विश्वकर्माजीसँगको निकटता बढेको थियो। त्यही निकटताले दलित अधिकारवादी आन्दोलनको पर्यवेक्षक मात्रै होइन, अन्तरहृदयदेखि आन्दोलनप्रति सहानुभूति राख्ने हुन पुगेको थिएँ।

त्यही मेसोमा वर्षौँदेखि ब्राह्मण र त्यसमा पनि छात्रहरुलाई मात्रै सरकारी सुविधा प्रदान गरिँदै आएको तीनधारा संस्कृत छात्रावासको ऐन विपरित नियमावलीलाई खारेज गरेर छात्रावास सबै जाति र लिङ्गका विद्यार्थीका लागि खुला गराउन मेरो समाचार खोजीले केही भूमिका निर्वाह गरेको यस प्रसङ्गमा सम्झना आउँछ। यसबारे समाचार सम्प्रेषण भएपछि विभेदकारी संस्कृत छात्रावासविरुद्ध मुद्दा प-यो। दलित अधिकारवादीले हालेको मुद्दामा सर्वोच्च अदालतले छात्रावास सबैका लागि खुला गर्न आदेश दियो।

प्रधानमन्त्री  सूर्यबहादुर थापाको बेलाका अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बजेट भाषणमा तीनधारा संस्कृत छात्रावासमा आदिवासी जनजातिका लागि १५ दलितका लागि १० प्रतिशत अनिवार्य भर्नाको व्यवस्था भएको घोषणा गरेका थिए।

राजा ज्ञानेन्द्रको शासन चलिरहेको थियो, प्रधानमन्त्री थिए, सूर्यबहादुर थापा। त्यसबेलाका अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बजेट भाषणमा आदिवासी जनजातिका लागि १५ दलितका लागि १० प्रतिशत अनिवार्य भर्नाको व्यवस्था भएको घोषणा गरेका थिए।

यो व्यवस्था लागू गर्नेबारे त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा.डा. महेन्द्र सिंहसँग जिज्ञासा राख्दा यसबारे आफूलाई केही थाहा नभएको उनले बताएपछि त्यो मेरो लागि समाचारको राम्रो फसल बनेको थियो।

यससम्बन्धी समाचार सम्प्रेषण भएपछि शैक्षिक आरक्षण लागू गर्ने तदारुकता त्रिभुवन विश्वविद्यालयले देखायो। तर दलित विद्यार्थीका लागि लागू भएको शैक्षिक आरक्षणमा गैर दलित विद्यार्थीले आफूलाई नक्कली दलित बनाउँदै एमबीबीएसमा नाम निकालेको थाहा पाएपछि जोडतोडले समाचार सम्प्रेषण गरियो। फलतः वास्तविक दलित विद्यार्थीले आफूलाई आरक्षित स्थानमा भर्ना हुने अवसर पाएको पनि यस प्रसंगमा सम्झना आइरहेको छ।

त्यसैबेला ऐतिहासिक व्यक्तित्त्वहरु बिसे नगर्ची, बाङ्गे सार्की, जसवीर कामी तथा मनिराम गाइनेको इतिहासको चर्चा पनि गर्न थालेका थिए, पहाडी, दर्नाल र विश्वकर्माजीले। सोही क्रममा बिसे नगर्चीको सालिक बनेको तर त्यो राख्ने ठाउँको अभावमा काठमाडौँको कुनै एक घरमा त्यत्तिकै थन्किरहेको पनि थाहा पाइयो।

मेरो अन्तरमनले भन्यो-‘कुनै अँध्यारो कुनामा थन्किरहेको बिसे नगर्चीको सालिकले प्रकाश पाउनै पर्छ।’सालिकबारे सोधी खोजी गर्दा थाहा भयो, त्यो सालिक बनेको केही वर्ष भइसकेको रहेछ।

काठमाडौँको गहनापोखरीमा सिलाई पसल सञ्चालन गरिरहेका एक परियार दाइको भाडाको कोठामा सालिक थन्किएर बसेको रहेछ। तर राजाबाट मनोनित तत्कालीन राष्ट्रिय सभा सदस्य ऋषिबाबु परियारको अनुमति बिना न सालिकको दर्शन गर्न पाइने भइयो, न केही लेख्न। तर शालिन र बौद्धिक माननीय ऋषिबाबु परियारको सौजन्यमा ऐतिहासिक व्यक्तित्त्व बिसे नगर्चीको त्यतिकै थन्किरहेको सालिकको दर्शन गर्ने र यसबारे समाचार सम्प्रेषण गर्ने सुयोग मिल्यो।

बिसे नगर्चीको सालिक अर्धकदको थियो। एक हातमा रुपैयाँको ढ्याक बोकेर कसैलाई दिन खोजिएको देखिन्थ्यो। कुरा दुई दशक अघिको हो। त्यो सालिक कहाँ प्रतिष्ठापित गरियो, थाहा हुन सकेन।

सालिक अर्धकदको थियो। एक हातमा रुपैयाँको ढ्याक बोकेर कसैलाई दिन खोजिएको देखिन्थ्यो। कुरा दुई दशक अघिको हो। त्यो सालिक कहाँ प्रतिष्ठापित गरियो, थाहा हुन सकेन। गोरखामा परियार समाजद्वारा प्रतिष्ठापित बिसे नगर्चीको सालिक चाहिँ मैले गहनापोखरीको एक घरमा दर्शन गरेको सालिक होइन। गहनापोखरीको घरमा थन्किएको सालिकको हालखबरबारे अहिले आफैं बेखबर छु।

साहित्यमा बिसे नगर्चीको चर्चा
साहित्यकार भीमनिधि तिवारी पहिलो पुस्ताका लेखक हुन्, जसले ऐतिहासिक व्यक्तित्त्व बिसे नगर्चीको गाथा गाए। २००८ मा प्रकाशित उनको नाट्यकृति “पाँच एकाङ्की”मा बिसे नगर्चीको बारेमा पनि एउटा नाटक समेटिएको छ। यो नाटक नेपाल टेलिभिजनले पनि टेलिनाटकका रुपमा प्रसारण गरेको बेला मैले पनि हेर्ने अवसर पाएको थिएँ, २०४६ सालतिर।

२००८ मा प्रकाशित भीमनिधि तिवारीको नाट्यकृति “पाँच एकाङ्की”मा बिसे नगर्चीको बारेमा पनि एउटा नाटक समेटिएको छ। यो नाटक नेपाल टेलिभिजनले पनि टेलिनाटकका रुपमा प्रसारण गरेको बेला मैले पनि हेर्ने अवसर पाएको थिएँ, २०४६ सालतिर।

यो नाटकमा रुपैयाँको अभाव हुँदा पृथ्वीनारायण शाहलाई त्यसबेला १२ हजार घरधुरी रहेको गोरखाको हरेक घरबाट एक एक रुपैयाँ उठाउन बिसे नगर्चीले सल्लाह दिएको चर्चा गरिएको छ। यसका लागि बिसे नगर्ची आफैंले एक रुपैयाँ दाम पृथ्वीनारायणलाई चढाएको टेलिनाटकमा हेरेको थिएँ।

बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई गोरखा राज्यका हरेक घरधुरीबाट एक एक रुपैयाँ आर्थिक सहयोग सङ्कलन गर्न सुझाएको ऐतिहासिक प्रमाण चाहिँ आजसम्म मैले फेला पार्न सकेको छैन। बरु त्यसबेला गोरखा दरबारका कपर्दार कालुसिंह खड्का मगरले पृथ्वीनारायण शाहलाई ऋण दिएको र तमसुक देखाएपछि कालुसिंहका सन्तानलाई राजा महेन्द्रले त्यो ऋणको साँवा मात्र तिरेको बताउने कालुसिंहका सन्तान अहिले पनि नुवाकोटको सामरी भञ्ज्याङमा छँदैछन्। यस्तै आफू राजा हुनासाथ बनारस भ्रमणमा गएका पृथ्वीनारायण शाहका लागि उनका मीतबुवा भक्तपुरका राजा रणजित मल्लले आफू साक्षी बसेर व्यापारी कमल बनसँग १२ हजार ऋण काढिदिएका थिए। नाटक लेख्ने बेलामा भीमनिधि तिवारीले ऐतिहासिक स्रोतहरु राम्ररी निफन्न नसकेको महसुस हुन्छ।

भीमनिधि तिवारीको बिसे नगर्चीसम्बन्धी नाटक पढेपछि दलित अगुवाहरुले उनको इतिहास खोजी गर्न थालेका थिए, पञ्चायतकालको अन्तिम समयतिर। संगीतज्ञ रामशरण दर्नालले बिसे नगर्चीको जीवनी उतार्दा त्यसको प्रकाशनको जिम्मा पदम सुन्दासले लिएका थिए। मूलुकी ऐन दिवसको अवसर पारेर २०४६ भदौ १ गते यो पुस्तिका सार्वजनिक गरिएको थियो।

यस पुस्तिका साढे तीन दशकअघि प्रकाशित भएकोले यसको चर्चासम्म पनि हुन छाडिसकेको छ। यसको पुर्नमुद्रण हुन सके बिसे नगर्चीको विस्थापित इतिहासलाई पुनस्र्थापित गर्न सजिलो हुने थियो। यसरी कसैले नाटक र कसैले कवितामा उतारेका बिसे नगर्चीको जीवनी उतारेर उनीबारे इतिहासको खोजीको जग रामशरण दर्नालले बसाएका थिए। उनलाई प्रकाश चित्रकार परियार, पदम सुन्दास तथा प्रकाश दर्नालको सहयोग मिलेको थियो। यस्तै तात्कालीन राष्ट्रिय पञ्चायत सदस्य टीआर विश्वकर्माले पनि यस पुस्तिका प्रकाशनमा प्रेरणादायी भूमिका खेलेका थिए।

भीमनिधि तिवारीको बिसे नगर्चीसम्बन्धी नाटक पढेपछि दलित अगुवाहरुले उनको इतिहास खोजी गर्न थालेका थिए, पञ्चायतकालको अन्तिम समयतिर।

इतिहासका स्रोत पहिल्याउँदा
२०६२/६३ को जनआन्दोलनताका कवि श्रवण मुकारुङले “बिसे नगर्चीको बयान” कविता घन्काउनुसम्म घन्काएपछि नयाँ पुस्तामाझ पनि बिसे नगर्चीबारे चासो र चर्चा चुलियो।

यसरी नाटक र कवितामा मात्रै बिसे नगर्चीलाई सीमित राख्न हुन्न भन्ने लागेर मैले इतिहासका स्रोतहरुतिर बिसे नगर्चीलाई खोज्न थालेँ। नाटक र कवितामा मात्रै ऐतिहासिक व्यक्तित्वलाई सीमित राखिए त्यस्ता व्यक्तित्वहरुलाई पाठकले काल्पनिक पात्र ठानिदिने समस्या आइपर्न सक्छ। त्यसो भयो भने ऐतिहासिक व्यक्तित्वमाथि अन्याय हुन पुग्छ। यस्तै सोचविचारका साथ बिसे नगर्चीलाई इतिहासका स्रोतहरुमार्फत् नियाल्न सुरु गरेँ।

भीमनिधि तिवारीको बिसे नगर्ची नाटक नपढे पनि टेलिभिजनमा प्रसारित टेलिनाटक हेरेकै थिएँ। तर रामशरण दर्नालद्वारा लिखित बिसे नगर्चीको जीवनी भने हालसम्म मैले पढ्ने अवसर पाएको छैन।

इतिहास शिरोमणि बाबुराम आचार्यलाई तत्कालीन युवराज वीरेन्द्रको चासोअनुसार पृथ्वीनारायण शाहको जीवनी लेख्ने परियोजना तत्कालीन राजदरबारले दिएको थियो। सोही परियोजनाअन्तर्गत उनले लेखेको “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी” वि.सं. २०२४ देखि २०२६ सम्ममा दुई वर्ष लगाएर चार भाग प्रकाशित भयो।

शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र सक्रिय भएको बेला यो पुस्तकको चार वटै भाग एकै ठाउँमा गाभेर २०६१ मा दोस्रो संस्करण प्रकाशित भयो। यो पुस्तकमा केवल एक ठाउँमा बिसे नगर्चीको प्रसङ्ग परेको छ।

इतिहास शिरोमणि बाबुराम आचार्यलाई तत्कालीन युवराज वीरेन्द्रको चासोअनुसार पृथ्वीनारायण शाहको जीवनी लेख्ने परियोजना तत्कालीन राजदरबारले दिएको थियो। यो पुस्तकमा केवल एक ठाउँमा बिसे नगर्चीको प्रसङ्ग परेको छ।

यो पुस्तकको पृ. १५० मा नयाँ काजी चयन गर्ने क्रममा पृथ्वीनारायण शाहले गोर्खाका सबै भलादमीको राय लिन उचित सम्झदा भैयाददेखि विस्या दमाईतकको कालू पाँडेका पक्षमा सम्मति पाएको उल्लेख छ। यसबाट पनि तत्कालीन गोरखा राज्यमा बिसे नगर्चीको महत्त्व ठूलै थियो भन्ने विश्वास गर्न सकिन्छ।

सल्लाहकारका रुपमा बिसे नगर्ची
राज्यमा घटेका विभिन्न घटनावलीहरु समेटेर वंशावलीका रुपमा तयार पारिएका लिखतहरुलाई पनि इतिहासकारहरुले इतिहासका स्रोतका रुपमा प्रयोग गरेको पाइन्छ। यस्ता केही वंशावलीमा पनि बिसे नगर्चीबारे उल्लेख छ। वंशावलीमा बिसे नगर्चीले दुईवटा महत्वपूर्ण युद्धमा गोरखाली पक्षधर भएर भाग लिएको उल्लेख छ।

तीमध्ये जनरल केशरशमशेरको सङ्ग्रहमा रहेको “नेपाल देशको इतिहास” नामको वंशावलीमा बिसे नगर्चीको नाम र उनको सक्रियताबारे केही उल्लेख छ। त्यहाँ उल्लेख भएको प्रसङ्गमध्ये एउटामा कालु पाँडेलाई काजी बन्न सल्लाह दिनेमध्ये बिसे पनि एक महत्त्वपूर्ण व्यक्ति रहेको देखा पर्छ। पुरातत्त्व विभागको मुखपत्र “प्राचीन नेपाल”को संख्या २१ (कात्तिक २०२९ : २०)मा उल्लेख भएअनुसार काजी पदमा बहाली लिन पृथ्वीनारायण शाहद्वारा दरबारमा बोलाइएका कालु पाँडे दरबारबाट फर्केपछि उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर “मलाई महाराजबाट मुख्तियार बक्स्यो, खाऊँ कि नखाऊँ” भनी सुझाव लिएका थिए। सबैले “महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस” भन्ने सुझाव दिएका थिए। यसरी सुझाव लिन घर घरमा पुग्दा कालु पाँडे बिसे नगर्चीको घरसम्म पुगेको वंशावली पढ्दा थाहा हुन्छ।

युद्ध मैदानमा बिसे नगर्ची
पहिले युद्ध सुरु गर्नुअघि साइत हेराउने चलन थियो। पृथ्वीनारायण शाहको समयमा कुलानन्द ढकाल राजज्योतिषको रुपमा सक्रिय थिए। थिति, मिति, घडी, पला बिचारेर उनले पृथ्वीनारायण शाहको युद्ध अभियानको साइत निकाल्ने गर्थे। कीर्तिपुरको युद्धका समयमा उनले साइत नजुरेको जाहेर गर्दा कीर्तिपुर हात लिन असाध्यै हतारिएका पृथ्वीनारायण शाह उनीसँग औधी रिसाएको इतिहास पढ्न पाइन्छ।

ज्योतिषले साइत निकालेपछि आवश्यक विधि विधान गरेर दमाईहरु पञ्चै बाजा बजाएर अघि लागेपछि योद्धाको लस्करलाई अघि बढाउने चलन थियो। यस्तै युद्ध सुरु गर्दा शङ्खघोष गर्ने र युद्धमा विजय प्राप्त भएपछि नगरा बजाएर विजयोत्सव मनाउने चलन थियो, त्यसबेला। शङ्खघोष र मन्त्रोच्चारण बाहुन पण्डितबाट हुन्थ्यो भने नगरालगायतका बाजा बजाउने काम नगर्ची दमाईहरुको हुन्थ्यो।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट आक्रमण गर्दा गोरखालीहरु विभिन्न चार मोर्चामा बाँधिएर भिडेका थिए। तीमध्ये तीनधारेको बाटोबाट स्वयम् पृथ्वीनारायण शाह अघि बढेका थिए। उनकै मोर्चामा बानादार दमाई र मनिराम गाइनेका साथ बिसे नगर्ची पनि सहभागी थिए।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट आक्रमण गर्दा गोरखालीहरु विभिन्न चार मोर्चामा बाँधिएर भिडेका थिए। तीमध्ये तीनधारेको बाटोबाट स्वयम् पृथ्वीनारायण शाह अघि बढेका थिए। उनकै मोर्चामा बानादार दमाई र मनिराम गाइनेका साथ बिसे नगर्ची पनि सहभागी थिए।

वि.सं. १८०१ असोज १५ गते गोरखालीले नुवाकोट जितेर विजयोत्सव मनाए। गोरखालीको नुवाकोटको विजयोत्सवबारे “प्राचीन नेपाल”को सङ्ख्या २२ (माघ २०२९:२) मा यस्तो लेखिएको छ- “कुलानन्द ढकालले साइत निकालेपछि दुई भाइहरु दलमर्दन शाह र कीर्तिमहोद्दाम शाहका बाहुली पक्री खुब हर्षपूर्वक ब्राह्मणलाई वेदघोष र जयघोष गर्न लगाउँदै रघुनाथ राई र सरसराई भाटहरुले कविता पढ्दै, नगराप्रभृति सकल वाद्यघोष गर्दै सकल मंगलोत्सव युक्त भई पृथ्वीनारायण शाहले नवकोट दरबार प्रवेश गरे।”

यहाँ उल्लेख भएको “नगराप्रवृत्ति सकल वाद्यघोष” को नेतृत्त्व बिसे नगर्ची र उनको समूहले गरेका थिए। उनीहरुको काम नै विजयोत्सवमा नगरा लगायतका बाजा बजाउने हुन्थ्यो। बिसेसँग बानादार दमाई र मनिराम गाइने वाद्यघोषमा सक्रिय थिए भन्ने सहजै अनुमान गर्न सकिन्छ।

नुवाकोट युद्धको ११ वर्षपछि भएको गोरखाको अर्को युद्धमा पनि बिसे नगर्ची सहभागी भएको अर्को वंशावलीमा उल्लेख छ। लमजुङसँग भएको यो युद्धमा गोरखालीहरु विजयी भएका थिए। यो युद्धमा हार खाएका विपक्षी सेना नायकलगायतलाई बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर त्यहाँबाट छिर्न लगाइएको थियो।

इतिहासकार देवीप्रसाद भण्डारीले इतिहास प्रधान पत्रिका “पूर्णिमा”को पूर्णाङ्क ६ (साउन २०२२:४७)मा उल्लेख गरेअनुसार “भाषा वंशावली” मा उक्त युद्धको प्रकरण यस्तो छ, “…लमजुग्या सर्दार महीधरसमेतलाई विस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरु सबैलाई छिराया। शाके १६७७ (वि.सं. १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो। सिरानाचोक थामी चौविसी हटाया। पश्चिम थेग्लाया।”

युद्धमा पराजितहरुलाई बिसे नगर्चीजस्ता “अछुत” भनी उपेक्षित गरिएकाहरुको धोती टाँगेर त्यसमा छिर्न लगाएर जात पतन र बेइज्जत गर्ने चलन रहेछ भन्ने थाहा हुन्छ। यस्तो चलनले बिसे नगर्चीजस्ता दलित उत्पीडितहरुलाई राज्यले कसरी उपयोग गर्दा रहेछन् भन्ने पनि यो प्रकरणबाट स्पष्ट हुन्छ।

बिसे नगर्चीका पत्नी तथा छोरीबुहारीहरु सिलाईको काम गरेर राज्यको सेवा गर्थे भन्नेबारे धेरै उल्लेख गरिरहनु पर्दैन।

बिसेका सन्तानलाई सरकारी रुक्का
१५ वर्षअघि गोरखा पुग्दा त्यहाँका केही स्थानीयसँग बिसे नगर्चीको घरबारे सामान्य जिज्ञासा राखेको थिएँ। उनीहरुले “उहिले बिसेको घर थियो” भनी चर्चा हुने गरेको यस्तो ठाउँ देखाइदिए, जहाँ सिस्नोघारी मात्रै थियो।

बिसे नगर्चीको जन्म र मृत्यु खुल्ने कुनै ऐतिहासिक प्रमाण भने हालसम्म फेला पर्न सकेको छैन। तर परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परियार बन्धुका तर्फबाट गोरखामा प्रतिष्ठापित उनको सालिकको शिलालेखमा उनको जन्म वि.सं. १७४६ र देहान्त १८२८ उल्लेख छ।

बिसे दमाईभित्रको “नौवाग” थरका हुन्। इतिहास अन्वेषक प्रकाश दर्नालले यो लेखकलाई दिएको जानकारीअनुसार बिसेका छोरा दुब्ले दमाई हुन्। दुब्लेपछिको दुई पुस्ताको नाम फेला परेको छैन।

बिसे दमाईभित्रको “नौवाग” थरका हुन्। इतिहास अन्वेषक प्रकाश दर्नालले यो लेखकलाई दिएको जानकारीअनुसार बिसेका छोरा दुब्ले दमाई हुन्। दुब्लेपछिको दुई पुस्ताको नाम फेला परेको छैन। त्यसपछिको पाँचौ पुस्तादेखि जगमाने, डम्बरे, चखते। गन (गणेश) र मच्छिन्द्रेसम्मको नाम थाहा भएको छ।

बिसे नगर्चीका सन्तान अहिले पनि गोरखा सदरमुकाममा भेटिन्छन्। उनीहरु सिलाइको काम गर्छन्। उनीहरुसँग बिसेको नाम उल्लेख भएको दुई सय ३५ वर्ष पुरानो र बिसेको छोरा दुब्ले दमाई र उनीहरु अरु सन्तानको नाममा राज्यले जारी गरेको रुक्काहरु सुरक्षित छन्।
बिसे नगर्चीको छोरा दुब्ल्या दमाईको नामको वि.सं. १८४६ माघ सुदी १५ मा जारी गरिएको राजा रणबहादुर शाहको समयको रुक्काको ब्यहोरा यस्तो छः
आगे गोरषा–––––––को नगरा दिदा जिव साह काजिले––––––हजुरमा प्रर्जा घांल्दी जम्मा विस्याका नाउमा जान्याको आएछ आज पनी उसका छोरा दुब्ल्यालाई वक्स्यौं जागीर गनमा राज्या हिजो रीति हो सो वस्या…षायेल का षाएल ज्या हो वक्स्यौं टहलमा रुजु रह आफना षातिर्जामासग भाग्य गर.

यो रुक्काबाट गोरखा दरबारमा बिसेले पाएको नगर्चीको जागिर पुस्तौनी रुपमा उनको छोरा दुब्ल्यामा सरेको देखिन्छ। बिसे नगर्चीको सालिक बडो दुःखले ठडिन त गोरखामा ठडियो। २०७५ साउने १८ गते ठडिएको यो सालिक गोरखाको गितारडाँडाभन्दा अग्लो भीरमुनिको पाखोतिर फर्काएर राखिएको छ। पहिले पर्यटकीय दृष्टिकोणले आकर्षक गिताडाँडामा राख्ने गरी सालिक राख्ने ठाउँको शिलान्यास गरिएको थियो। तर सालिक राख्ने बेलामा उक्त ठाउँभन्दा अग्लो भीरमुनिको पाखोतिर फर्काएर राखियो। सालिक उपेक्षित अवस्थामा छ। कतिपय जातीय अहङ्कार बोकेकाहरु यी ऐतिहासिक व्यक्तित्त्वको सालिकमाथि “दमाईको चिहान यहाँ राखिदिए” भन्दै उपेक्षाभावले गुनासो गर्ने गरेको समाचारहरु सञ्चारमाध्यममा पढ्न पर्दा मन कटक्क खान्छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : ५५ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको