कांग्रेस-एमालेमाथि खनिए प्रचण्ड, भने- मध्यरातको सहमतिले लोकतन्त्र नखोसोस्, प्रतिगमन नआओस् | Khabarhub Khabarhub

कांग्रेस-एमालेमाथि खनिए प्रचण्ड, भने- मध्यरातको सहमतिले लोकतन्त्र नखोसोस्, प्रतिगमन नआओस्


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो तेस्रो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेस र नेकपा एमालेमाथि खनिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुअघि बोल्ने क्रममा उनले मध्यराति व्यापारीको घरमा भएको सहमतिले देशबाट लोकतन्त्र खोसिने र प्रतिगमनति जान सक्ने चिन्ता व्यक्त गरे।

के के भने ?

मलाई विल्कुल चिन्तित छैन। म पहिलो चोटि प्रधानमन्त्री हुँदा नै कति दिन हो, त्यो मलाई त्यति सरोकारको विषय छैन। पूरै अवधि त म पक्कै जान्न भन्ने जानकारी त राजनीतिक अनुमानको आधारमा पनि गर्न सकिन्थ्यो । तर म चिन्तित यस मानेमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट संसद्को पहिलो र दोस्रो ठूलो दललाई विश्वासले जोडेको भए, आदर्शले जोडेको भए, एउटा निश्चित उद्देश्यले जोडेको भए, मेरो लागि त्यो चिन्ताको विषय हुने थिएन । त्यो डरले जोडियो तपाईंहरूलाई जोड्यो, डरले, भयले जोडेको छ । त्यो हो सुशासनको डर । सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले तपाईंहरूलाई जोडेको हुनाले जुन परिस्थितिमा जे कारणले नेपाली कांग्रेस र एमाले जोडिन खोज्नुभएको छ, तपाईंहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेका छन् कि छैनन् मूल्याङ्कन गर्नुभएको छ ? म तपाईंहरूलाई आफैँ मूल्याङ्कन गरिरहनु भएको होला भन्ने धारणा व्यक्त गर्न चाहन्छु ।

मलाई अर्को चिन्ता प्रतिगमन र निरङ्कुशताको छ। सामान्यता लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन्। संसदीय लोकतन्त्र भएका देशहरू अमेरिका, बेलायत, भारतमा प्रमुख प्रतिस्पर्धी दलहरू कहिल्यै मिलेर सरकार बनाएका छैनन् । जसलाई तपाईंहरू अझ विशेष रुपले आदर्श ठान्नुहुन्छ । एउटा विशेष परिस्थितिमा हामीले संविधानको बेला या भूकम्पको बेला मैले यही मञ्चबाट म विपक्षको नेता भएपनि म सरकारको साथमा छु भनेको थिएँ। अहिले त्यस्तै परिस्थिति बाढी-पहिरो आउन लाग्यो भनेर तपाईंहरू मिल्नु भएको त होइन पक्कै पनि । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन् । त्यस किसिको गठबन्धनले जहिले पनि पहिलो र दोस्रो मिल्दा लोकतन्त्रलाई कमजोर बनाएको छ । निरंकुशतालाई र अधिनायकवादलाई नै प्रश्रय दिएको छ ।

त्यसैले ठिक त्यसैकारण विश्वमा यस्तो अभ्यास बिरलै हुन्छ। यहाँ त नेपाली कांग्रेस-एमाले मिलेर सरकार मात्रै बनाउँदै हुनुहुन्न । अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ तपाईंहरूले । लामो संघर्ष र ठूलो बलिदानबाट नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्दै हुनुहुन्छ ।

यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईंहरूको सहमतिको तरिका र सहमतिको तयारीका ठाउँहरू र सहमतिको तयारी कसका घरमा गर्नुभयो, हस्ताक्षर कसका घरमा गर्नुभयो, त्यो समय कुन रोज्नु भयो भन्ने कुरा आमजनताले नजिकबाट हेरिरहेका छन्, बोध गरिरहेका छन् । त्यसको हिसाब नेपाली जनताले राखिरहेका छन् म भन्न चाहान्छु ।

नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिँदैन थियो । झुटमुट र कुतर्क गरेर तपाईंहरूलाई पनि लाज लाग्ला भन्ने मलाई डर छ । हाम्रा नेताहरू कतिसम्म झुट बोल्न सक्नुहुन्छ, कुतर्कको सहारा लिनु हुन्छ । मध्यरात चाहिन्छ र दुइटा दल मिल्नलाई? ठूलठूला दल मिल्न व्यापारीको घर चाहिन्छ र ? मैले त यो पटक नयाँ समीकरण बन्दै गर्दा तपाईंहरूको अभिव्यक्ति सुनेपछि मिल्नुस्। मिल्दा हुन्छ म प्रतिपक्ष जान तयार छु भनेको थिएँ ।

आज त्यही दिन आयो, मेरो लागि अनौठो होइन, मैले केही पनि अप्ठ्यारो मानेको छैन। सभामुख महोदय यस सन्दर्भमा म यस सम्मानित सदनसमक्ष इतिहासका केही उदाहरण प्रस्तुत गर्न चाहन्छु। हामीले लामो र खुला छलफलपछि सामन्ती निरंकुशताविरुद्धको १२ बुँदे समझदारी दिनको उज्यालोमा नै गरेका थियौँ । तत्कालीन सात राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मैले तत्कालीन नेकपा माओवादीका तर्फबाट विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर संसारलाई नै साक्षी राखेर गरेका थियौँ। संविधानसभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्च र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको तथ्य हामी सबैलाई स्मरण नै छ । यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक नेताको हैसियतले म साथीहरूलाई भन्न चाहन्छु सहमति नाघेर, छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्दतिर लैजाने दुस्साहस नगर्नुहोला ।

नेपाली जनताले राम्ररी बुझेको छ। खासमा तपाईंहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो। प्रधानमन्त्रीका रुपमा मैले लोकतन्त्रको सर्भिसिङ सुरु गरेको थिएँ। लोकतन्त्रको गोडमेल सुरु गरेको थिएँ। कसैको प्रोफाइल हेरिन। विधिको शासन सुरु गरे। राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुध्ने हिम्मत गरे ।

कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौँ। त्यो सत्य होइन। तपाईंहरूलाई कसैले मिलाएको हो। किन मिलाएको हो घाम जतिकै छर्लङ्ग छ । सिधै कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर खासगरी एमालेका साथीहरूले झुटमुटमा राष्ट्रिय सहमतिको बर्को ओड्नु भएको छ ।

संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि विशेष गरेर नेकपा एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि मैले विश्वासको मत लिनुपर्ने भयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो कि वा षड्यन्त्र आफै सधैँ कमजोर हुने भएर हो तर्सिरहनु भयो।

आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गरिरहनुभयो । ती साथीहरूलाई म यति भन्न चाहन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन, बनाउन पनि दिँदैन दिने पनि छैन। उत्पीडित वर्ग क्षेत्र लिङ्ग समुदायको दशकौं लामो विद्रोह र त्यसपछिका आन्दोलन पनि नियुक्ति गरेको छैन। तपाईंहरूले कहिले देखाउनु भएको छ यो नैतिकता अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्ता कस्ता रणनैतिक महत्वका निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ कसैले मेटाएर मेटिने छैन ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ४४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले