कांग्रेसका तीन गुटको किचलोले कोशी सरकार अधुरै, भाग मिलाउन मन्त्रालय फुटाइँदै « Khabarhub

कांग्रेसका तीन गुटको किचलोले कोशी सरकार अधुरै, भाग मिलाउन मन्त्रालय फुटाइँदै



विराटनगर : कोशी प्रदेश सरकारमा साउनभित्रै कांग्रेस सहभागी हुने सम्भावना टरेको छ । कांग्रेसले भदौ लागेपछि मात्रै सरकारमा सहभागी हुने जवाफ एमालेलाई दिएको छ ।

एमाले नेतृत्वमा सहभागी माओवादी केन्द्रले सरकार छाडेको तीन साता बित्दा पनि कांग्रेस कोशी सरकारमा सहभागी हुने टुंगो लाग्न सकेको छैन । 

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सञ्चारकर्मीसँगको अन्तरसंवादमा मुख्यमन्त्री कार्कीले भने, ‘कांग्रेस सरकारमा सहभागी हुने पर्खाइमा छौँ। अबको ५-७ दिनभित्र कांग्रेस सहभागी हुन्छ । सम्भवतः भदौ लाग्छ ।’ 

कांग्रेसले नाम दिएकै दिन कोशीमा सरकार विस्तार हुन्छ। ‘कांग्रेसको आन्तरिक विवादका कारण अहिलेसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । त्यहीकारण सरकारमा सहभागी हुन भदौ लाग्ने जवाफ आएको छ’, मुख्यमन्त्री कार्कीले भने । 

पछि हट्दै मुख्यमन्त्री कार्की

हाल प्रदेशमा कायम ९ मन्त्रालयलाई निरन्तरता दिने मुडमा रहेका कार्की पछिल्लो समय थप्ने मुडमा देखिएका छन्। उनले मन्त्रालय थप्नेबारे मुख खोलेका छन्। यससँगै यसअघि मन्त्रालयको सङ्ख्या ९ भन्दा नबढाउने अडान छाड्ने संकेत उनले गरेका छन् ।

सहयात्री कांग्रेसको आन्तरिक किचलोका कारण सरकारमा सहभागी हुन ढिला भइरहँदा मुख्यमन्त्री कार्की भने मन्त्रालय बढाएर चाँडो भन्दा चाँडो सरकारमा सहभागी गराउने प्रयत्नमा देखिएका छन्

सञ्चारकर्मीसँगको अन्तरसंवादमा कार्कीले अडानबाट पछि हट्दै भनेका छन,‘हामी सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने कुरामा तयार छौँ ।’ त्यसका लागि केही मन्त्रालयको सङ्ख्या बढाउने कुरा पनि रहेको उनले बताए । ‘सकेसम्म हाम्रो प्रयास अहिलेकै सङ्ख्यामा मिलाउने कुरा भएको छ । यसबारे सहयात्री कांग्रेससँगको आवश्यक छलफलबाट टुङ्ग्याउने छौँ ’, उनले भने ।

यद्यपि आफूलाई मन्त्रालय फुटाएर मिलाऊँ भनेर कसैले पनि औपचारिक रूपमा नभनेको उनले बताए ।

कांग्रेसबाट केही राज्यमन्त्री थप्नुपर्ने कुरा उनलाई आएको छ । ‘उद्योग मन्त्रालयमा केही अधिकार थप भएर आएको छ । त्यसको केही काम गर्नुपर्ने भयो भने मन्त्रालय थपिन सक्छ’, उनले फुट्न सक्ने मन्त्रालयको नामबारेभने, ‘उद्योग, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कामको चाप धेरै छ।’

उनले भौतिक मन्त्रालय धेरै ठूलो रहेको बताए । ‘कुल बजेटको ३३ प्रतिशत बजेट त्यहीँ भएकाले मन्त्रालय विभाजन गरेर १० वटा बनाउँदा हुन्छ भन्ने सुझाव आएको छ’, कार्कीले भने ।

यसअघि राजेन्द्रकुमार राई मुख्यमन्त्री हुँदा ७ वटा मन्त्रालयला २०७८ माघ २३ गते फुटाउँदै १३ वटा  पुर्‍याएका थिए । उनले मन्त्रीको सङ्ख्या १४ बनाएका थिए ।

अझै अनिश्चित कांग्रेस

गत असार १७ गतेको सहमतिअनुसार केन्द्रमा कांग्रेस–एमाले गठबन्धन सरकार बनिसकेको छ । त्यही सहमतिमा टेकेर यसअघि नै प्रदेशमा पनि एमाले–कांग्रेस संयुक्त सरकार बनिसक्नु पर्ने थियो। तर धेरै गुट–उपगुट भएको कांग्रेसको आन्तरिक विवाद मिलाउन सकस भएको छ । त्यहीकारण कोशी प्रदेश सरकारमा कांग्रेसको सत्ता सहकार्य अनिश्चित भएको हो ।

एमाले नेतृत्वको सरकारमा मन्त्रालय लिने विषयमा यसअघिनै दुई दलबीच सहमति भइसकेको छ । जसअनुसार मुख्यमन्त्रीसहित चार मन्त्रालय एमालेले लिने र अन्य चार मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ ।

अब कांग्रेसको भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाउनेछ। ती मन्त्रालय अहिले मन्त्रीबिहीन छन् । कोशीमा हाल ९ मन्त्रालय छन् ।

कांग्रेसको सत्ता सहयात्रालाई सहज पार्न कार्कीले माओवादी केन्द्रलाई साउन १२ गते बिदा गरेका थिए । कांग्रेसले मन्त्री पठाउन नसक्नुमा गुटबीचको विवाद नै मुख्य रहेको कांग्रेसकै नेताहरू बताउँछन् ।

प्रदेश सभामा कांग्रेसका २९ जना सांसदमध्ये संस्थापन पक्षमा १२ जना छन् भने नेता डा. शेखर कोइराला समूहमा ८ र सिटौला समूहमा ८ छन् । यस्तै, महामन्त्री विश्वप्रकाश समूहमा १ जना रहेको बताइन्छ ।

अहिले पनि संस्थापन र सिटौला समूह कोइराला समूहलाई कमजोर बनाउन चाहन्छ । कोइराला समूह भने आफ्नो उपस्थिति बलियो बनाउन चाहन्छ । कांग्रेसको आन्तरिक शक्ति सङ्घर्षकै कारण सरकारमा सहभागिता अनिश्चित बनेको हो। 

अहिले एमाले नेतृत्वको सरकारमा कांग्रेसले मन्त्री पठाउन नसक्नुमा संस्थापन, सिटौला समूह र शेखर समूहको आपसी दाउपेच र भागबन्डामै  मुख्य कारण रहेको एक नेता बताउँछन् ।

स्रोतका अनुसार कांग्रेस शेखर समूहका तत्कालीन विद्रोही ८ सांसदलाई मन्त्री बनाउन नहुने लबिङमा सिटौला र संस्थापन समूहका नेता लागेका छन् । शेखर समूहले कांग्रेसले पाउने ४ मध्ये २ मन्त्रालय आफ्नो समूहले पाउनु पर्ने अडान राखेको छ । 

यद्यपि पार्टीको केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै मन्त्रीको नामावलीबारे टुङ्गो लाग्ने कोशी प्रदेशमा कांग्रेस दलका प्रमुख सचेतक गोपाल तामाङ बताउँछन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ०८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको