गण्डकीमा सिद्धार्थको सेवा विस्तार, दमौलीमा तीनतारे सुविधासहितको होटल | Khabarhub Khabarhub

गण्डकीमा सिद्धार्थको सेवा विस्तार, दमौलीमा तीनतारे सुविधासहितको होटल


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ- मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ ।

होटलको बिहीबार औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रुपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए ।

‘दमौलीलाई पर्यटकीय नगरीका रुपमा विकास भइरहेको, पछिल्लो समय व्यास–देवघाट करिडोर निर्माणदेखि १०८ वटा मूर्ति निर्माण पनि भइरहेका छन्’, उनले भने, ‘म लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्दछु ।’

उनले दमौलीमा पहिलो पटक तीनतारेस्तरको सुविधासम्पन्न होटल निर्माण भएको उल्लेख गर्दै विगतमा कुनै पनि कार्यक्रम गर्नका लागि बन्दीपुर, पोखरालगायत स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

पछिल्लो समय दमौली विकासको चरणमा रहेकाले होटललगायतका पूर्वाधार अझै आवश्यक भएको उल्लेख गर्दै उनले यहाँ लगानीका कैयौँ सम्भावना रहेको बताए ।

एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो ।

एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गरेको दमौलीमा आवश्यकताका आधारमा होटल निर्माण गरिएको बताए ।

‘प्रारम्भमा व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरु गरिए पनि अन्ततः यहाँ सुविधा सम्पन्न होटल र दुई वटा सिनेमा हाल सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘होटल निर्माणपछि यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलगायत लाभान्वित हुने अपेक्षा गरेको छु ।’

उनले दमौली भएर पोखरा, काठमाडौँ र चितवन जस्ता पर्यटकीय गन्तव्यमा पुग्ने यात्रु तथा स्थानीयस्तरमा आयोजना हुने सभा, सम्मेलनका साथै विवाह, व्रतबन्धलगायमा पार्टीका लागि सहज भएको बताए ।

होटलमा डिलक्स र जुनियर स्वीट गरी ३४ कोठा छन् । करिब एक सय ५० जना क्षमताको ठूलो हल तथा ४० जना अट्ने दुई हल छन् । होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफेको पनि सुविधा छ ।

पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौँबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । पर्याप्त सवारी साधन अट्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ ।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘पछिल्लो समय यहाँका पर्यटकीय गन्तव्यहरु महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवी भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका स्थानमा पर्यटकको संख्या बढिरहेको छ । उनीहरुका लागि लक्षित गरी होटल निर्माण गरिएको हो’, अध्यक्ष तिमल्सिनाले भने ।

उनले नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको बताए ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले होटल सञ्चालनले यहाँको पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मुलुकको पर्यटन क्षेत्रको विकास विना आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्दै उनले विकासको पहिलो सर्त पर्यटन क्षेत्र भएको बताए ।

‘मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४.४ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउन सकिन्छ, यसका लागि होटललगायतका पूर्वाधारमा लगानी बढाउनु जरुरी छ’, सीइओ न्यौपानेले भने, ‘पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने हो ।’

उनले हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका आउटलेटमा नेपालमै उत्पादित कफी खपत भइरहेको जानकारी दिए । “हाम्रो नेटवर्कभित्रका होटल, रेष्टुरेन्ट तथा क्याफेमा प्रयोग हुने कफी सिद्धार्थ ग्रुपअन्तर्गतको कृषि कम्पनी बायोटिका र नेपाली किसानले उत्पादन गरेको हो, आगामी दिनमा होटलमा स्वदेशमा उत्पादित खाद्यान्न हुनेमा हाम्रो जोड रहनेछ”, उनले भने ।

एपेक्स हस्पिटालिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील न्यौपानेले आफूहरुले नयाँ व्यवसाय सुरुआत गरेको र सिद्धार्थ हस्पिटालिटीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भवन निर्माण सुरु गरेको लामो समयपछि सुविधासम्पन्न होटल तथा क्यूएफएक्स ब्राण्डमा दुई वटा सिनेमा हल सञ्चालनमा ल्याइएको जानकारी दिए ।

त्यसअवसरमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले होटलको सेवा ग्राहकमुखी हुनुपर्ने बताए । उनले दमौलीमा अहिलेसम्मकै ठूलो लगानीमा होटल सञ्चालन आएको र यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा गलेश्वर धामका पीठाधीश स्वामी आत्मानन्द गिरीले होटलको व्यावसायिक सफलताको शुभकामना दिँदै मेहनतका साथै आत्धात्मिक चिन्तन र ध्यानले मात्रै सफलता प्राप्त हुने भएकाले मेहनतसँगै अध्यात्ममा केन्द्रित हुन सुझाव दिए ।

व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले दमौलीमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको सञ्चालनमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

होटल संघ गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गाविलास भट्टराईले यस होटल सञ्चालनले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य संघ दमौलीका अध्यक्ष बैकण्ठनाथ मिश्रले दमौलीमा आवश्यकताअनुसारको स्तरीय होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको व्यावसायिक सफलताका लागि आफूहरुले साथ र सहयोग रहने उल्लेख गरे ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ३५ बजे

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पेशावर– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा

निकुञ्ज आउने पर्यटक घटे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको

धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द

महेन्द्रनगर– बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि

विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती

सुन्दरबजार– सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक