कब्जियतले पीडित हुनुहुन्छ ? रेसायुक्त खानपान बढाउनुस्  | Khabarhub Khabarhub

कब्जियतले पीडित हुनुहुन्छ ? रेसायुक्त खानपान बढाउनुस् 


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

कब्जियत धेरै जनामा हुने आम समस्या हो । बालबालिका बृद्धबृद्धा तथा गर्भवती महिलाहरूमा कब्जियत देखिने गरेको छ । हामीले खाएको खाना अपच भई दिसा जम्मा भएर शरीरमा फोहोर भेला भयो र लामो समयसम्म दिसा भएन भने कब्जियत भएको मानिन्छ ।

यो समस्या कुनै रोग नभई हाम्रो खानपान र जीवनशैलीसँग जोडिएको विषय भएकाले फाइबरयुक्त रेसादार खाना खाने र नियमित शारीरिक व्यायाम गर्ने लगायत स्वस्थ जीवनशैली अपनाउन चिकित्सकको सुझाव छ । कब्जियत कस्तो समस्या हो ? के कारणले हुन्छ ? यसबाट बच्न के गर्ने ? यिनै विषयमा कन्सल्टेन्ट फिजिसियन डा. सञ्जयकुमार सिंहसँग गरिएको कुराकानी ।

कब्जियतको समस्यालाई हामीले कसरी बुझ्ने ? 
कब्जियत भनेको कुनै रोग नभएर यौटा लक्षण मात्रै हो । कुनै पनि व्यक्ति वा बिरामीलाई हप्तामा तीन पटकभन्दा कम दिसा हुन्छ भने त्यस्तो अवस्थालाई कब्जियत भएको मानिन्छ । यसले दिसा कडा हुने भएकाले आन्द्रामा असर गर्छ । त्यस्तै मलद्वारमा असर गर्छ भने लामो समयसम्म दिसा नभएपछि तनावका कारण यसले मानसिक स्वास्थ्यलाई समेत प्रभावित पार्छ ।

कब्जियत हुनुको मुख्य कारण के हो ? 
कब्जियत हुनुको मुख्य कारण भनेको खानपान नै हो । रेसादार र फाइबरयुक्त खाना साग, गेडागुडी, सलाद नखाने मान्छेहरूमा धेरै हुन्छ । जस्तै यस्तो खाना बच्चाहरूले पनि मन पराउँदैनन् । प्राय ठूला मान्छेले खान मन नगर्ने भएकाले कब्जियतको समस्या हुन्छ । त्यस्तै चिल्लो खाना धेरै खाने, धूमपान गर्ने, लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने, मोटो मानिसहरूमा पनि कब्जियतको समस्या अधिक देखिने गर्दछ ।

कस्तो खानालाई फाईबरयुक्त खाना मान्ने हो ? 
हामीले सजिलै पाउने फाइबरयुक्त खाना भनेको साग, गेडागुडी, मुला, गाँजर, काँक्रा, प्याजलगायत सलादहरू हो । जसमा हुने रेसाहरू जुन हामीलाई पचाउन कठिन हुन्छ र दिसासँगै बाहिर निस्किन्छ । यसले दिसालाई नरम बनाउँछ र पेट पनि सफा हुन्छ ।

कब्जियत हुन नदिन पानी कति आवश्यक छ ? 
पानी एकदमै आवश्यक छ । किनकि दिसा कडा हुने पानीकै कमीले हो । पानी खाइराखेकै छ भने त कब्जियतको समस्या आउँदैन । दिसा नरम भइरहेकै हुन्छ । पानी कति खाने त्यो ठाउँ र मौसम अनुसार फरक पर्छ । आफूलाई तिर्खा लागेको समयमा जति पानीले तिर्खा मेटिन्छ, त्यति नै मात्रामा खानु पर्छ । मोटामोटी भन्नुपर्दा दिनमा कम्तीमा पनि २ देखि ३ लिटर पानी खानु पर्छ । जसले कब्जियत हुनबाट बचाउन सहयोग गर्छ ।

पानी धेरै मात्रामा खाँदा पनि स्वास्थ्यमा असर गर्ने हो ? 
आवश्यक मात्राभन्दा धेरै खाँदा पानीले पनि असर गर्छ । किनकि कुनै पनि झोल पदार्थ या पानी खाँदा यसलाई फिल्टर गर्ने त मिर्गौलाले हो । त्यो मिर्गौलाको पनि क्षमता हुन्छ । जस्तै इनारबाट पानी तान्दा इनारको पानी कति छ त्यो क्षमता बराबरको मोटर जोडिएको हुन्छ । त्यस्तै हाम्रो मिर्गौलाको क्षमता पनि सबैको फरक हुन्छ । मिर्गौलाको क्षमताभन्दा धेरै पानी खायो भने फिल्टर पनि धेरै गर्नुपर्छ । त्यसैले चाहिनेभन्दा कम वा धेरै पानी खानु पनि स्वास्थ्यका लागि फाइदाजनक मानिँदैन ।

कब्जियतबाट बच्न शारीरिक व्यायाम कति आवश्यक छ ? 
हामीले खाएको खाना दिसा घर, पिसाब घरसम्म पुग्न र दिसा पिसाब बन्ने प्रक्रियामा धेरै समय लाग्छ । त्यो समयमा हाम्रो आन्द्रा चलेको हुनुपर्छ । यदि कसैले व्यायाम गर्दैन भने त्यो मान्छेको आन्द्रा पनि राम्रोसँग नचल्ने भएकोले दिसा धेरै बेरसम्म रोकिरहन्छ ।

लामो समयसम्म कब्जियत भइरह्यो भने यसले अन्य रोग निम्त्याउने या यसलाई कुनै रोगको लक्षण पनि मान्न सकिने हो ? 
कब्जियतको समस्या लिएर धेरै बिरामीहरू हामी कहाँ आउँछन् । कतिपय त १०– १२ दिनसम्म पनि दिसा नभएको समस्या लिएर आउँछन् । हामीले जाँच गरेर हेर्दा दिसा धेरै सुख्खा भइसकेको हुनाले सामान्य उपचारबाट कहिलेकाहीँ ननिस्किने हुन्छ र शल्यक्रिया नै गर्नुपर्ने अवस्था पनि आउँछ ।

कसैको आन्द्रा नै पुरै बटारिसकेको हुन्छ । त्यस्तै थाइराइडको समस्या छ भने पनि कसैलाई कब्जियत हुन्छ भने कलेजोको समस्या, लामो समयदेखि औषधी खाइरहेका दीर्घ रोगीहरूलाई कब्जियतको समस्या हुने सम्भावना धेरै हुन्छ ।

गर्भवती महिलामा पनि कब्जियतको समस्या धेरै हुन्छ भनिन्छ । यो के कारणले हुने हो ? 
गर्भावस्थाको सुरुवाती अवस्थामा कब्जियतको समस्या प्राय हुँदैन । तर जब पेट बढ्दै जान्छ, त्यसपछि पेटले या बच्चाले दिसा बस्ने घरलाई थिच्दै जान्छ । जसले पाचनप्रणालीलाई कमजोर बनाउँछ र कब्जियतको समस्या हुन्छ । त्यस्तो अवस्थामा थोरै थोरै र समय समयमा खाने गर्नु पर्दछ ।

फाइबरयुक्त खानेकुराहरू खाने, प्रशस्त मात्रामा पानी पिउने, शारीरिक व्यायामहरू गर्ने लगायतका कुरामा ध्यान दियो भने यो समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : ०८ बजे

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक

गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र

काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार

एकैदिन सडक निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

काठमाडौं– राजावादीहरू उत्साहित भइरहेका बेला नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी