बागलुङमा १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा | Khabarhub Khabarhub

बागलुङमा १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् ।

बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ । यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र सङ्घीय सरकारका २२ करोड २४ लाखको योजना परेको छ ।

प्रदेशका एक सय चार र सङ्घीय सरकारका २० गरी एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५ दशमलव १५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ ।

जिल्लामा एक लाख ७८ हजार चार सय हेक्टर जमिन रहे पनि हाल ४६ हजार एक सय ४८ हेक्टरमा खेती गरिँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार ३० हजार पाँच सय २३ मध्ये हालसम्म ६ हजार सात सय ९० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार आठ सय १५ हेक्टर रहेको छ ।

प्रमुख पौडेलले बागलुङमा भौगोलिक कठिनाइका कारण सबै ठाउँमा एकै पटक सिँचाइ सुविधा पुर्‍याउन ठूलो बजेट चाहिने बताए । अहिले न्यून बजेटमा पनि धेरै खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने गरी काम गरिरहेको उनको भनाइ छ ।

कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आएको प्रमुख पौडेलले बताए । सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पुर्‍याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उनको भनाइ छ ।

सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । जिल्लाको १० वटै पालिकामा योजना परेको प्रमुख पौडेलले बताए । प्रदेश सरकारले कृषि उत्पादकत्व, लाभान्वित जनसङ्ख्या र जमिन हेरेर योजना बनाउँदै आएको उनको भनाइ छ ।

बागलुङ अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । यहाँका हरेक किसान आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भूभाग भिरालो छ ।

यी क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको निसीखोला बडिगाड गाउँपालिका– ८ का तिलबहादुर घर्ती मगरले बताए ।

ग्रामीण क्षेत्र भिरालो भए पनि गहुँ खेती राम्रो हुने गरेको भन्दै हिउँदमा लामो समय खडेरी परे उत्पादनमा ह्रास आउने उनको भनाइ छ ।

सिँचाइको सुविधा भए वर्षभरि खान पुग्ने बाली बारीमै उत्पादन गर्न सकिने भए पनि सामान्य कुलोसमेत नहुँदा आयातित खाद्यान्नमा भर पर्नुपरेको गुनासो गरे ।

निसीखोला गाउँपालिका–५ का बलिभद्र घर्तीले बालीनालीमा सिँचाइको अभाव हुँदा उत्पादनमा कमी आएको बताए । कारीखोलाबाट करिब एक किलोमिटरको दूरीमा कच्ची कुलोमार्फत पानी लिएर खेतबारीमा लगाउने गरे पनि बर्खामा भत्किँदा लाखौँको क्षति हुने गरेको गुनासो पोखे ।

सरकारले बजेट विनियोजन गरेर पक्की कुलो निर्माण गरिदिए गाउँले आत्मनिर्भर भन्न सक्ने उनको भनाइ छ । सयौँ रोपनी खेत भएको ठाउँमा एउटा मात्रै साँघुरो कुलो रहेको भन्दै पानीका लागि छिमेकीसँग बेलाबेला झगडासमेत पर्ने गरेको घर्तीले बताए ।

बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभर मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात बढी हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष ६ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ५७ बजे

आज २०८१ साल असार ३१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार ३१ गते सोमबार तदनुसार

स्पेन चौथोपटक युरोपेली च्याम्पियन, इङ्ग्ल्यान्ड दोस्रोपटक स्तब्ध

काठमाडौं– इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल

श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु

कोलम्बो – श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका

प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

प्युठान – प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध

बजेटबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

जनकपुर – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन