कम्प्युटर इन्जिनियरको चियापसल : भन्छन्– ‘कुनै पछुतो छैन’ | Khabarhub Khabarhub

कम्प्युटर इन्जिनियरको चियापसल : भन्छन्– ‘कुनै पछुतो छैन’


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् ।

तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ । कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती, पानी र चिनी अड्कल्दै छन् । जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले ।

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन् । सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहनुपरेको छ उनले । ‘आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र ! त्यस्तै रहर मलाई पनि थियो । तर रहरले मात्रै कहाँ हुँदोरहेछ ! त्यसैको उदाहरण हुँ म’, उनले भने । रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि ! प्रयास गरेपछि कसो नहोला ? लामो सुस्केरा हाल्दै राजेशले भने, ‘खै ! नहुँदोरहेछ । मसँग त रहर र सीप दुवै छ । प्रयास पनि कहाँ नगरेको हुँ र… ?’

पछाडिबाट आवाज आयो, ‘दाई चिया ।’ कुरा छाडेर काममा लागे उनी । ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोधे, ‘तपाईँहरूको नि ?’ जवाफमा हामीले पत्रकार भएको बताएपछि एउटा कुर्सी तानेर बस्नै लाग्दा फेरि ग्राहक थपिए ।

‘मेरो त काम नै यस्तै छ । सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु’, पाक्दै गरेको चिया चलाउँदै राजेशले भने, ‘पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ । विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु ।’

यसरी तुहियो सपना
जनकपुरधामस्थित एक निजी विद्यालयबाट विसं २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढे । भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक)सम्मको अध्ययन पूरा गरेका छन् ।

सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरेका थिए । तर जनकपुरस्थित घरमा रहेकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उनले सुनाए ।

‘स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुप¥यो । त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिएँ । एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो । त्यसक्रममा करिब २५–३० लाख रुपैयाँखर्च भयो । त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो’, उनले दुःख पोखे ।

हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन । किनकि घरको काम उनले नै गर्नुपर्ने भयो । यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो ।

‘बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा । त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन । जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो । आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन’, उनले भने ।

नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन् ।

नेपालमा विकल्प नभएपछि उनले विदेशिने निधो गरे । त्यसबेला स्वास्थ्य बाधक बन्यो । राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरे । तर मेडिकल परीक्षण गर्दा रगतमा सङ्क्रमण देखिएपछि त्यहाँ पनि जान पाएनन् । अहिले औषधि सेवन गरिरहेको उनले बताए ।

सामान्य मध्यमवर्गीय परिवारका उनले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढेका हुन् । उनीमात्रै होइन उनका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक) सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गरेका छन् ।

लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उनी पनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको भाइ राजेशले जानकारी दिए ।

आठ हजार तिर्नुपर्ने भएपछि…

आमालाई क्यान्सर भयो । त्यहीबीचमा बाबु बिते । परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना । जागिरका लागि गरिएका प्रयास सफल भएनन् । भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो । ‘सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु । एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो । ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो’, उनले मलिन मुद्रामा भने ।

यो व्यापार पनि एउटा पसलमा आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो । चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई आठ हजार तीन सय तिर्नुपर्ने भयो । अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ ।

उनले भने, त्यही घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ । एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने । त्यसपछि चियापसल सुरु गरेको हुँ ।’

राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिएका छन् । उनी विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यही व्यवसायलाई व्यवस्थित बनाउने योजनामा छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ४६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’