लेतेको सौन्दर्यमा रमाउँदै पर्यटक « Khabarhub

लेतेको सौन्दर्यमा रमाउँदै पर्यटक


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो ।

परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई घण्टा बितायो । ‘मुस्ताङ भित्रनेबित्तिकै पुगिने लेतेको सौन्दर्यमा रमाइलो नगरी अघि बढ्नै मन लागेन’, उनले भने, ‘जता फर्किए पनि देखिने हिमाल, शान्त वातावरणले लेतेमा समय बितेको पत्तै भएन ।’

लेतेमा अन्नपूर्ण, धवलागिरि, निलगिरी र टुकुचे हिमालको काखमा बसेको महसुस गरेको घलेले अनुभव सुनाइन् । म्याग्दीको सिमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ ।

सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुम्छन् । बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गरेका लेते कालोपानीको सियु लजका सञ्चालक अमित तुलाचनले बताए ।

‘धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको लेते–कालोपानीको बस्तीको बीचमा बेनी–जोमसोम–कोरला सडक कालोपत्र भएपछि सुन्दर देखिएको छ‘, उनले भने, ‘लेतेबाहेक मुस्ताङको अन्य ठाउँबाट अन्नपूर्ण प्रथम हिमाल नदेखिने भएकाले पनि यहाँ विदेशी पर्यटक आउँछन् ।’

कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुद्री सतहबाट दुई हजार पाँच सय ३० मिटरको उचाइमा छ । बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ ।

बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छ । पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ । कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहलपहल बढ्न थालेको संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेका सचिव प्रमिश गौचनले बताए ।

‘हिमालसँगै जैविक, वातावरणीय विविधता र थकाली संस्कृति लेतेको आकर्षण हो’, उनले भने, ‘लेतेको सौन्दर्यले मुस्ताङ आएका पर्यटकलाई भुलाएको छ ।’ लेतेमा करिब २० वटा सुविधासम्पन्न होटल र लज छन् । व्यवसायीहरूका अनुसार यहाँ एक रातमा एक हजार जनासम्म बास बस्न सक्छन् ।

वसन्त र शरदयाममा भरिभराउ हुने लेतेका होटल बेसिजनमा पनि खाली हुँदैनन् । लेते आसपासका क्षेत्रमा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको स्थानीयवासीसमेत रहेका प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचनले बताए ।

लेतेबाट करिब ६ घण्टा यात्रा गरेपछि धवलागिरि आइसफलकालीबराह पुगिन्छ । पन्ध्र मिनेट उकालो हिँडेर पुगिने ‘भ्यू प्वाइन्ट’बाट लेतेगाउँको सबै दृश्य हेर्न सकिन्छ ।

लेतेबाट एक घण्टाको पैदलयात्रा गरेपछि पुगिने सेकुङ, भुछत्रोटिटीतालमा पूर्वाधार निर्माण गरिएको तुलचानले बताए ।

चौँरी, भेडागोठ पनि यहाँको आकर्षण हो । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिनै उत्पादन हुने आलुको स्वादिष्ट परिकार चाख्न पाइन्छ । पर्यटकलाई लक्षित गरेर लेतेको जनजागरण आमा समूहले थकाली सङ्ग्रहालय पनि सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ५८ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी