मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा | Khabarhub Khabarhub

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी मन्दिरबाट थालिएको सो यात्राका सहभागी चौथो दिन महोत्तरी प्रवेश गरेका हुन् ।

सहभागीलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रवारि नेपाल प्रवेशद्वारमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले स्वागत गरेका थिए ।

गत शुक्रबार ठेराकचुरीबाट श्रीरामको प्रतिमा राखिएको डोला अघि लगाउँदै यात्रा सुरु भएको थियो । सोही दिन जनकपुर पुगेपछि अग्निकुण्ड मठबाट सीताको प्रतिमा राखिएको डोला मिसिएपछि सीताराम सङ्कीर्तन गाउँदै पहिलो दिन परम्पराअनुसार धनुषाको हनुमानगढीमा सहभागी बास बसेका थिए ।

यसैगरी दोस्रो दिन भारतको कल्याणेश्वर र तेस्रो दिन भारतकै गिरिजास्थान बास बसेका सहभागी आज चौथो दिनको विश्रामका लागि मटिहानी आइपुगेका हुन् ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन् ।

डोला आगमनसँगै प्रत्येक विश्रामस्थलमा भजन, कीर्तनसहित धार्मिक मेला आयोजना हुँदै आएको परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आइपर्ने अन्य कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध स्थानीय (रात्रिबासको थलो)ले विभिन्न सङ्घसंस्थाको समन्वयमा गर्दै आएका छन् ।

यसैअनुसार आज मटिहानीमा यात्रीको सुविधाका लागि खानेपानी, प्राथमिक उपचार र बाससहितका प्रबन्ध मिलाइएको मटिहानी नगरप्रमुख मण्डलले बताए । डोला आफ्नो ठाउँ आइपुगेको अवसरमा दर्शन, आराधना र सहभागीको स्वागतका लागि आज मटिहानी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

यात्राको चौथो दिन मटिहानी आइपुगेका सहभागी अब आठौँ दिनसम्म महोत्तरी रहनेछन् । चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् ।

नेपाल र भारतको गरी जम्मा एक सय ३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । यसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् ।

अघि त्रेतायुगमा श्रीराम र सीताले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा १८औँ शताव्दीमा सुुरु भएको बताइएको छ । रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक (अलौकिक) भएको साधुसन्तको भनाइ छ ।

सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गो खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरूले संयोजन, समन्वय गर्दै आएका छन् ।

फागुन औँसीबाट सुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी यो यात्रा सम्पन्न गरिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामस्थलको परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ८ : ११ बजे

दादासाहेब फाल्के चित्रनगरीमा सत्यराजको ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौं– सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र