काठमाडौं– सहकारी पीडित बचतकर्ताहरू यतिखेर तेस्रो चरणको आन्दोलनमा छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरिएको भन्दै पीडितहरूले तेस्रो चरणको आन्दोलन गरिरहेका हुन् ।
देशभरका संकटग्रस्त सहकारी पीडित बचतकर्ता संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलनको नेतृत्व गरेको छ । सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वयन नभएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरूको भनाइ छ ।
सरकारले सञ्चालकलाई कारबाही गरी बचतकर्ताको रकम फिर्ता हुनुपर्ने माग राख्दै उनीहरू रिले अनशनमा छन् । गरीब जनतालाई समृद्धिको सपना बाँड्दै चुनाव जितेकाहरू सरकारमा रहेका, तर धर्ना बसेकाहरूलाई आजका दिनसम्म सहानुभूतिसमेत नदिएको उनीहरूको गुनासो छ ।
५०औं दिन (शुक्रबार) अधिकांश धर्नामा बसेका पीडितहरू बिरामी भेटिए । अधिकांशको साथमा डिप्रेसनको औषधि थियो । केही पीडितहरू एन्जाइटीबाट ग्रसित थिए । जीवनभरको कमाइ सहकारीमा डुबेपछि भोक–निन्द्रा हराएकाले औषधि खानुपर्ने स्थितिमा पुगेको उनीहरू बताउँदै थिए ।
सहकारी पीडितहरूले आफ्ना समस्या सरकारले गुनासो गरिरहेका छन् ।
‘भारी बोकेर जम्मा गरेको पैसा खाइदिए’
महालक्ष्मी मैनाली (७०) काभ्रे, हाल लोकन्थलीमा बस्छिन् । लेखापढी नभएकी मैनाली एकल हुन् र उनका सन्तान छैनन् । भारी बोकेर कमाएको पैसा सहकारीमा जम्मा गरेको कुरा सुनाउँदै गर्दा उनी निकै भक्कानिइन् ।
सरकारले पैसा उठाइदिन्छ कि भनेर उनी सबै पीडितसँगै सडक आन्दोलनमा छिन् । उनी हाल शान्तिवाटिकामा २४ घण्टे रिले अनशनमा छिन् ।
‘प्रस्परस सहकारीमा दुई लाख ५० हजार रुपैयाँ फिक्स डिपोजिटमा जम्मा गरेकी थिएँ । बुढेसकालमा नखाएर जोगाएको पैसा खाएर भागे,’ मैनालीले भनिन्, ‘गत साल एक वर्ष पुग्यो, अब त पैसा निकाल्ने समय भयो भनेर निकै खुसी भएँ । ब्याजसहित एकमुष्ट पैसा आउने आश गरेकी मलाई ठगेर एक रुपैयाँ फिर्ता नदिइ सञ्चालकहरू फरार भए ।’
बुढेसकालमा झनै पैसाको आवश्यक पर्ने र दुःख बिमार हुँदा चाहिने सोचेर आफूले सहकारीमा बचत जम्मा गरेको मैनालीले बताइन् । उनलाई अरू साथीहरूले ‘गृहमन्त्री रवि लामिछानेले फिर्ता गर्दिन्छन्’ भन्ने आशा देखाएका थिए ।
सहकारीका कुख्यात ठग जीबी राईसँग जोडिएका लामिछानेप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘आफैँ सहकारी ठग रहेछ, उसैले न्याय दिन्छु भन्दा के पत्याउनु !’
‘छोराछोरी पढाउन भनी गाँस काटेर जम्मा गरेकी थिएँ’
खोटाङकी रीता भट्टराई बस्नेत (४२) ले पनि प्रस्परस सहकारीमा ५ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । श्रीमान्, दुई छोराछोरी र एक वृद्ध ससुरासहित उनी काठमाडौंमा बस्दै आएकी छिन् ।
‘सरकारले स्वीकृति दिएको संस्था हो’ भन्दै स–साना भाइबहिनी ‘पैसा जम्मा गर्नू’ भन्न आउँथे । बैंकको भन्दा बढी ब्याज दिने प्रलोभन देखाए । तीन वर्षे खाता थियो ।
रीताले एक निजी कार्यालयमा रिसेप्सनको जागिर गरेर केही रकम जम्मा गरेकी थिइन् । त्यो रकमले सानो फेन्सी पसल खोलिन् । पसलबाट दिनमा केही सय रुपैयाँ सो सहकारीमा जम्मा गर्थिन् ।
अहिले उनका छोराछोरी तल्लो कक्षामा पढिरहेका थिए । कक्षा बढ्दै गएपछि फिस पनि बढ्दै जाने उनले बुझेकी थिइन् । छोराछारीको पढाइको लागि नै उनले बचत जम्मा गरेकी थिइन् ।
‘अचेल पढाइ सकेपछि विदेश जान्छु भन्छन्, जहाजको टिकट काट्नुपर्छ भनेर जम्मा गरेको रकम नै खाइदिए,’ रीताले भनिन्, ‘हामी निम्न वर्गका मानिसहरू अवसरको खोजीमा शहर छिरेका छौं । दुर्गम खोटाङमा जन्मिएका कारण पढ्न पाइएन, तर बच्चाहरूले पढुन् भनेर आएको हो । गाँस काटेर जम्मा गरेको पैसा हो । चिया खाँदा पनि डर लाग्थ्यो, यो पैसा जम्मा गर्नुपर्थ्यो जस्तो लाग्थ्यो ।’
बचत झिक्ने समय पुग्न लागेको थियो । त्यहीबेला उनी पायल्सबाट पीडित भइन् । उपचारका लागि पैसा चाहिएपछि उनले बोनस र ब्याज नदिएपनि हुन्छ, तर जम्मा गरेको पैसा दिनुस् भनिन् । सञ्चालकहरूले ‘कार्यविधिसँग मर्ज भएका छौँ, केही दिन पैसा दिन मिल्दैन’ भने ।
सञ्चालकहरूले त मर्ज भन्दै झुलाएर भाग्ने योजना बनाइरहेका रहेछन् । मन्दीका बेला बैंकहरू समेत मर्ज भएका थिए । रीतालाई पनि होला भन्ने विश्वास लाग्यो । हिसाब जोड्न भनेर पासबुक लगेका थिए, त्यो समेत फिर्ता दिएनन् । फोटो खिचेर राखेको भएर, त्यसलाई प्रमाणको रूपमा लिएर हिँडेकी छिन् ।
अध्यक्ष सागर महर्जन र उपाध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्पर्कविहीन छन् । उनी ठगिएपछि दुई जना सहकारी मन्त्री भैसके । तर, उनीहरूले आश्वासन बाहेक केही दिएनन् ।
‘सञ्चालकलाई माध्यम बनाएर सरकारले नै हाम्रो पैसा हिनामिना गरेको छ । अहिले पसलमा बस्नुपर्ने मान्छे सडक आन्दोलनमा छु । कमाएर खाने पसल भाडासम्म तिर्न नसकेर बेच्न पर्ने अवस्थामा छु,’ रीताले आक्रोश पोखिन् । रीताका अनुसार अहिले सहकारीबाट पीडित भएका सबैले डिप्रेसनको औषधि खाइरेहका छन् ।
उनले भनिन्, ‘यो औषधि खानुपर्ने अवस्थासम्म पुग्दिनँ भनेर मैले आफूलाई कन्ट्रोल गरिरहेको छु । तर मान्छेको दिमाग न हो, कतिबेला तनावमा पर्छु थाहा हुन्न । पैसा फिर्ता नआए, सडकमै मर्छु । पैसा फिर्ता आउँछ भन्ने आशले मात्रै यो सास धानिएको छ ।’
‘छोरा पढाउन नसक्ने अवस्थामा पुगेँ’
तहाचलका अविन श्रेष्ठ (५३) को ३ वटा सहकारीमा ५० लाख रुपैयाँ डुबेको छ । श्रीमति, नौ वर्षका छोरा र ७६ वर्षकी बुढी आमा छिन् । श्रीमती विद्यालयमा स्टार्फ नर्स हुन् ।
निन्द्रा नपुगेर उनको आखाँ वरपर बाक्लो डार्क सर्कल देखिन्थ्यो । ६६/६७ सालदेखि नै उनले सहकारीमा पैसा जम्मा गर्न थालेको बताए ।
‘पहिले सहकारी राम्रो थियो । हामीसँग थोरै पैसा हुन्छ, त्यो कहाँ लगानी गर्ने ? सहकारीमा जम्मा गर्दै गएपछि बढ्दै जान्छ । बैंकले भन्दा राम्रो ब्याज दिन्थ्यो । त्यसकै प्रलोभनमा परियो,’ अविन भन्छन् ।
उनमा सबैभन्दा ठूलो चिन्ता छोरालाई राम्रो स्कूल पढाउन सकिँदैन कि भन्ने छ । अविनले थपे, ‘बिहे पनि ढिला गरेँ, बच्चा सानै छ । पाँचवटा ट्याक्सी भाडामा लगाएको थिएँ, आर्थिक मन्दीले त्यो व्यापार पनि खस्किँदै गएको छ । दिमागमा जतिबेला पनि नकारात्मक कुरा आइरहेको छ । यसले बच्चालाई असर गर्छ भनेर डराइरहेको छु ।’
छोरालाई ‘मैले उठाउन सकिनँ भने तैले उठाउनू’ भनेर सिकाएका उनले बताए । ‘कुन कुन सहकारीमा पैसा छ- उसलाई सबै थाहा छ । २० वर्ष क्यासिनोमा काम गरेर जम्मा गरेको पैसा थियो,’ उनले भने ।
आफूले हाल एन्जाइटीको औषधि खाइरहेको र बचत फिर्ता नभए अप्रिय निर्णय लिनुपर्ने स्थितिमा पुग्दै गरेको उनले बताए । नगरिकलाई अपराधी नबनाउन सविन अनुरोध गर्दै थिए ।
‘सरकारले बचतकर्ताको रकम फिर्ता ग्यारेन्टी गर्नुपर्छ’
कुशलभ केसी, अध्यक्ष- सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान
‘बचतकर्ताको रकम सुनिश्चित रहेको र सो रकम फिर्ता हुन ग्यारेन्टी सरकारले लिनुपर्यो भन्ने हाम्रो माग हो । १४ महिनादेखि निरन्तर सडक आन्दोलनमा छौँ । यो तेस्रो चरणको आन्दोलन हो ।
पहिलो चरणको आन्दोलन ६३ दिन चल्यो । तत्कालीन सहकारी मन्त्री रञ्जिता श्रेष्ठले २०८० चैत मसान्तभित्र बचतकर्ताको रकम फिर्ता हुन्छ भनेर प्रतिवेदनसमेत बनाएर डा. जयकान्त राउतको संयोजकत्वमा प्रधानमन्त्री पुष्पकमल दाहालललाई बुझाइएको हो । प्रधानमन्त्रीले प्रतिवेदन बुझाएको एक हप्तामै माग कार्यान्वयन गर्ने भन्नुभएको थियो । अब उहाँ नै आफ्नै पद जोगाउन सक्नुभएन ।
२०८० फागुन ६ गतेबाट सहकारी विभागमा दोस्रो चरणको आन्दोलन शुरू गर्यौं । चैत १ गते आमरण अनशन बसेँ । हाम्रो जनशक्ति खाना खान गएको समय पारेर प्रहरीले सात बजेको अँध्यारोमा केही पीडितलाई लाठी प्रहार गर्यो ।
कोषाध्यक्ष देव श्रेष्ठसहित मलाई हिरासतमा लियो । प्रहरीले नै फर्जी मुद्दा बनाएर जेल हाल्ने योजनामा रहेछ । हिराहसतमा पानी पनि नखाएर ४८ घण्टा अनशनमै रहँदा बेहोस भएँ । बाहिर साथीहरूले नारा लगाइरहेका थिए । त्यसकारण प्रहरी थुनामुक्त गर्न बाध्य भयो ।
वीर अस्पताल ल्याएको २७ घण्टापछि होसमा आउँदा मेरो दुवै बुढी औंलामा ल्याप्चे लगाएको डाम थियो । त्यो कुन प्रयोगमा प्रहरीले बेहोस व्यक्तिको ल्याप्चे लियो, त्यसको जानकारीसम्म दिएन । फौजदारी अभियोग नलागेको मान्छेलाई त्यस्तो व्यवहार गर्यो ।
दोस्रोपटक तत्कालीन सहकारी मन्त्री बलराम अधिकारीले अस्पतालमा आएर भेट्नुभयो । मन्त्रालयका सह-सचिव सहितको टोली आएर माग कार्यान्वयन गर्ने आश्वासन दिनुभयो । ९ बूँदे सम्झौता गरिएको थियो । जसमा पहिलो बूँदा अधिकार सम्पन्न समिति बनाउने भन्ने थियो । अविलम्ब भन्ने, तर ३ महिना हुँदा पनि सिन्को नभाँचिएपछि तेस्रो चणको आन्दोलन सुरु गरिएको हो ।
त्यो पनि आज (शुक्रबार) ५० दिन पुग्यो । वृद्ध आमाबुवा यसरी झरीमा अनशनमा बसिरहेका छन् । रिले अनशनमा महालक्ष्मी मैनाली बस्नुभएको छ । बाँकी अरू ६/६ घण्टामा पालैपालो गरेर बसिरहेका छौं । अन्य धर्ना बसिरहेका छन् । दैनिक २०० जना हाराहारीमा अनशनमा छौँ ।
प्रतिक्रिया