सभामुखले हरि ढकाललाई बोल्दा बोल्दै रोकेपछि संसद्‍मा तनाव « Khabarhub

सभामुखले हरि ढकाललाई बोल्दा बोल्दै रोकेपछि संसद्‍मा तनाव


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेको निर्णयलाई लिएर प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आकस्मिक समयमा बोल्ने क्रममा सभामुख घिमिरेले रोकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पनि विरोधमा उत्रिएका हुन् ।

सांसद ढकालले बोल्दा बोल्दै सभामुखले रोकेको भन्दै रास्वपा र राप्रपाका सांसदहरू ड्यासबाट उभिएर विरोध जनाएका हुन् ।

रास्वपा सांसद ढकालले देशको हवाई र सडक यातायातबारे बोलिरहेका बेला सभामुख घिमिरेले रोकेका थिए । बैठकको आकस्मिक समयमा सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाबारे बोल्न समय मागेर विद्युत महसुलको विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए ।

ढकालले यातायातबारे बोलिसकेपछि विषयलाई विद्युत् प्राधिकरणको बक्यौतातिर लगेका थिए । त्यही बेला सभामुख घिमिरले विषय अर्थात् यातायातबारे मात्रै केन्द्रित भएर बोल्न समय दिएको भन्दै माइक काटिदिएका थिए ।

माइक काटिदिएपछि रास्वपा र राप्रपाका सांसदहरूले आफ्नो अधिकारमा अंकुश लगाउन खोजेको भन्दै विरोध गरेका हुन् ।

ढकाललाई बोल्न दिएको अवस्थामा बोल्दा बोल्दै रोकेपछि रास्वपा सभापति रवि लामिछानेसहितका सांसदहरू उठेर विरोधमा उत्रिउका हुन् ।

त्यसपछि सभामुख घिमिरेले विषयमा केन्द्रित हुन सुझाए । ‘विषयलाई तोकेर दिएको कुरामात्रै बोलौँ । विषयकेन्द्रित भए राखौँ, नत्र बसौँ’, सभामुखले भने ।

सभामुख घिमिरेले विषयकेन्द्रित कुरामा बोल्न दिएको अवस्थामा विषयान्तर हुनु उचित नहुने बताएका थिए ।

त्यसपछि सभापति लामिछानेले समय लिएर सभामुखको कदमलाई आपत्ति जनाए । ‘हरि ढकालजीले आकस्मिक समयमा समसामयिक विषयमा बोलिरहेका बेला माइक काट्नु गलत थियो । त्यसैले बाँकी समय उहाँलाई नै बोल्न दिऊँ’, उनले भने, ‘बोल्दा बोल्दै लाइन काटिनु गम्भीर आपत्तिको विषय हो । आफ्नो विषय सक्नका लागि भनिदिने कुरा एउटा हो तर माइक काटिनु गलत भयो ।’

यसलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आपत्ति जनाएका छन् । ‘हामीले बोल्न आकस्मिक समय पाउँछौँ । यो पटकबाट हामीले परम्परा बिगारिरहेका छौँ’, उनले भने, ‘पहिले नै यो विषयमा बोल्न पाउँछौँ भन्ने कुरा मान्य हुँदैन । जनताका कुरा राख्दा संविधान र संसद्को नियमावलीविपरीत भए रोक्नु पर्छ । तर, सांसदहरूको विशेषाधिकारलाई नियन्त्रित गर्ने कुरा हामी मान्दैनौँ ।’

सभामुखले आकस्मिक समयको नियमबारे पढेर सुनाए पनि दुवै दलका सांसदहरूले उठेर विरोध जारी राखेका छन् । दलीय आधारमा सांसदहरूलाई दुई घण्टा समय दिएको सभामुखले बताए पनि दुई दलका सांसदले विरोध जारी राखेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ४२ बजे

डब्ल्यूटीएम २०२६ : वेलनेसदेखि दिगो पर्यटनसम्मको प्रवर्द्धन, विश्वका पर्यटकलाई नेपाल भ्रमणको आग्रह

काठमाडौं–  बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला

खेर गयो मिलरको विष्फोटक इनिङ, कर्णालीमाथि सुदूरपश्चिमको सहज जित (तस्बिरहरु)

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध

मनाइयो धनतेरस पर्व 

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको

डेभिड मिलरको शानदार ब्याटिङका बावजुद सुदूरपश्चिमसँग कर्णाली पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध

कर्णालीका डेभिड मिलरको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम