समाचार

सरकारले भेट्टाउन सकेन विदेशमा लुकेका सहकारी सञ्चालक, समितिले गृहमन्त्रीसँग सोध्ने

By खबरहब

September 13, 2024

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले विदेशमा लुकेका सहकारी सञ्चालकहरूबारे सरकारसँग फेरि सोध्ने भएको छ ।

सहकारी ठगीमा संलग्न भएर विदेश भागेर उतै लुकेका १८ जनालाई नेपाल ल्याउन गत साउन १३ गतेको बैठकबाट दिइएको निर्देशन कार्यान्वयनको अवस्थाबारे समितिले गृहमन्त्री रमेश लेखकसहितसँग छलफल गर्न लागेको हो ।

देशबाहिर रहेका १८ जनाको नाम समितिले डेढ महिनाअघि नै गृहमन्त्री लेखकलाई उपलब्ध गराएको थियो । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको निर्देशन कार्यान्वयनको अवस्थाबारेमा सरकारी अधिकारीसँग छलफल गर्न लागिएको समिति संयोजक सूर्य थापाले बताए ।

‘आजै अपरान्ह गृहमन्त्री रमेश लेखक, गृह सचिव र प्रहरी प्रमुखसहितलाई समितिमा आमन्त्रित गरिएको छ’, उनले भने, ‘विदेशमा फरार व्यक्तिहरूलाई ल्याउन साउन १३ गतेको बैठकको निर्देशन कार्यान्वयनबारे उहाहरूसँग छलफल हुनेछ ।’

अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका साझेदा उनी मलेसियामा लुकेर बसेको बताइन्छ । नेपाल प्रहरीको टोली दुई पटक जाँदासमेत उनलाई पक्राउ गर्न सकेको छैन ।

यसअघि साउन १३ मा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको थियो ।

सभापति थापाले समितिको ६० औँ बैठक शुक्रबार दिउँसो बसेको बताउँदै प्रतिवेदन लेखनलाई पनि अन्तिम चरणमा लगिएको उल्लेख गरेका छन् । ‘समितिको आजको बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिएको छ’, उनले भनेका छन् ।

को कुन देशमा छन् ?

१) जीबी राई (स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.) – मलेसिया २) भरत महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत ३) राजमाया महर्जन श्रीमती (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत ४) सचिन महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत ५) छोरा, सरला महर्जन छोरी (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत ६) ज्ञानबहादुर बम्जन (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अमेरिका ७) थानबहादुर बुढामगर (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात ८) भूपेन्द्र राई (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात ९) तेजबहादुर बम्जन तामाङ (शिवदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) -भारत/युरोप १०) देवकुमार नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत ११) छेदा नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत १२) तस्बिरन खातुन (सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात १३) असरफ अली (सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात १४) सुभास केसी (सहारा बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात १५) दीपक पौडेल (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत १६) लीलानाथ गौतम (शिवशिखर बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात १७) महाशंकर रेग्मी (मेघा ड्रिम बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात १८) प्रेमध्वज लामा (कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि.) – अज्ञात

सहकारी ठगीमा मुछिएका सूर्यदर्शन बचत तथा सहकारी संस्था लिमिटेड पोखराका सञ्चालक ज्ञानबहादुर बम्जन अमेरिका भासिएकाले फिर्ता ल्याएर बयान गराउनु आवश्यक रहेको संसदीय छानबिन समितिले सरकारलाई यसअघि नै भनिसकेको छ ।

सुमेरू बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भरत महर्जन, श्रीमती राजमाया महर्जन, छोरा सचिन र छोरी सरलासहित स-परिवार बेलायतमा लुकेका छन् । तर अहिलेसम्म सरकारले यी कुनै पनि व्यक्तिलाई नेपाल फिर्ता ल्याउने गम्भीर पहल गरेको छैन।