समाचार

भोटेकोशीमा खस्यो बोलेरो, बाढीका कारण उद्धारमा समस्या

By खबरहब

September 13, 2024

काठमाडौं- सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा एउटा बोलेरो गाडी खसेको छ । शुक्रबार दिउँसो बाह्रबिसे, तातोपानी जाने सडकको बोडरल्यान्डस्थित भोटेकोशी नदीमा बोलेरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईका अनुसार सडकमा भोटेकोशीमा खसेको गाडीको केही भाग देखिएको छ ।

‘गाडी खसेको पुष्टि भएको छ । गाडीको टायरसहितको केही भाग पनि देखिँदैछ’, उनले खबरहबलाई भने, ‘तर भोटेकोशीमा ठूलो बाढी आएकाले उद्धारमा चुनौती आइपरेको छ ।’

डीएसपी भट्टराईका अनुसार घटना थाहा भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाडी र त्यसमा सवार यात्रुको खोजी गरिरहेको छ ।

‘प्रहरी र सेनाको टोलीले गोताखोरसहित खोजी गरिरहेको छ । तर बाढी उर्लेको भोटेकोशीमा बोलेरो पूरै डुबेकाले नम्बर पनि पहिचान गर्न मुस्किल भएको छ’, उनले भने, ‘हामीले दुईवटा क्रेनसमेत लगेर गाडी निकाल्ने कोसिस गरिरहेका छौँ । गाडीको थोरै भाग मात्रै देखिएकाले क्रेनले पनि तानेर निकाल्न मुस्किल भएको छ ।’

भट्टराईका अनुसार गाडी नम्बर नखुलेकाले त्यसमा कति यात्रु सवार थिए भन्ने पनि खुल्न सकेको छैन । स्थानीय जलविद्युत्का दुईवटा क्रेनले तान्ने प्रयास गरिए पनि बाढी कारण नसकिएको उनले बताए ।

‘हामीसँग गोताखोरसहितको टोली छ । सेना पनि आएको छ । तर यहाँ ठूलो वर्षा पनि भइरहकेको छ’, उनले भने, ‘गाडी निकाल्न नसकिएकाले थप विवरण पत्ता लगाउन सकिएको छैन, उद्धारको कोसिस भइरहेको छ ।’