मस्तिष्क मृत्युपछि अङ्गदान : कसैलाई बचाउने कि माटो र खरानी बन्ने ? | Khabarhub Khabarhub

स्वास्थ्य

मस्तिष्क मृत्युपछि अङ्गदान : कसैलाई बचाउने कि माटो र खरानी बन्ने ?

मिर्गौलापीडित डाइलासिसकै भरमा, वेटिङ लिस्टमा छन्‌ सयौँ बिरामी


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानपान र जीवनशैलीका कारण नेपालमा पछिल्लो समय मिर्गौलाका बिरामीको सङ्ख्या बढ्दो छ ।

अधिकांश बिरामी डायलाइसिसकै भरमा छन् । नेपालमा बर्सेनी करिब ३०० जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले सबैभन्दा धेरै अर्थात् वर्षेनी २०० जनाको मिर्गौला प्रत्यारोपण गर्छ ।

यति धेरै बिरामीमा मिर्गौला प्रत्यारोपण हुँदा अहिले पनि झण्डै ७०० बिरामी मिर्गौला प्रत्यारोपणका लागि पालो कुरेर बसेका छन् । तीमध्ये दाता लगायत सबै प्रक्रियाहरू पुगिसकेका र तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्थामा करिब ७० जना छन् ।

बाँकी बिरामीहरू दुई प्रकारका छन् । कतिपयले मिर्गौला दान दिने दाता भेटेका छैनन् भने कतिपयले ‘ब्रेनडेथ’ (मस्तिष्क मृत्यु) हुनेको अङ्गदान अपेक्षा गरेर बसेका छन् ।

नेपालको कानुनअनुसार परिवारका सदस्यहरू पतिपत्नी, छोराछोरी, बाबुआमा, धर्मपुत्र/धर्मपुत्री, दाजुभाइ, दिदीबहिनी, बाजेबज्यै, नातिनातिनी, सासुससुरा तथा नजिकका ५१ देखि ५३ जना नातेदारले मात्रै अङ्गदान र ग्रहण गर्न मिल्छ ।

यो कानुनी व्यवस्थाले मिर्गौलाका बिरामीलाई केही राहत त भएको छ । तर, नाता पर्छ भन्दैमा सबैले अङ्ग दिन मान्दैनन् । यो उनीहरूको अधिकारको कुरा भएको शहीद धर्मभक्त राष्ट्रि अङ्ग प्रत्यारोपण केन्द्रका कन्सल्ट्यान्ट युरोलोजिस्ट एवम् मिर्गौला प्रत्यारोपण सर्जन डा. दीपेश श्रेष्ठ बताउँछन् ।

यो पनि –

मिर्गौला गुमाएका स्वास्थ्यकर्मी जयरामको अनुभव – ‘रोगभन्दा कानुनी जटिलता पीडादायी’

डा. श्रेष्ठ भन्छन्, ‘दाता भेटेकाहरूले अङ प्रत्यारोपण गर्न पाउँछन् । आफन्तहरू कसैबाट अङ्गदान मिलेन भने ऊसँग दुईवटा विकल्प हुन्छ । एउटा – बाँचुञ्जेल डाइलासिस गरेर बस्ने, अर्को – ब्रेनडेथबाट आएको मिर्गौला प्रत्यारोपण गर्ने । ब्रेनडेथले पनि कानुनी मान्यता त पाएको छ, तर यसको सदुपयोग जति गर्न सकिने हो – त्यति मात्रामा भएको छैन ।’

के हो ब्रेनडेथ ?

सामान्य भाषामा ‘ब्रेनडेथ’ भनेको मृत्यु नै हो । डा. श्रेष्ठका अनुसार; ब्रेनडेथमा मानिसको मस्तिष्क कहिल्यै काम गर्न नसक्ने गरी निस्क्रिय भइसकेको हुन्छ ।

ब्रेनडेथ भइसकेकाको मुटु चलिरहेको हुन्छ, तर श्वासप्रस्वास बन्द भइसकेको हुन्छ । मस्तिष्क मृत्यु भएको मानिस भेन्टिलेटरमा राखुञ्जेलमात्र जीवित रहन्छ । किनकी सास फेराउने काम भेण्टिलेटरले गरिरहेको हुन्छ । सास चलेको छ भने अन्य अङ्गहरूले पनि काम गरिरहेको हुन्छ ।

डा. श्रेष्ठका अनुसार ब्रेनडेथ भएको मानिस बाँचेको रेकर्ड अहिलेसम्म छैन । तर, ब्रेनडेथ भएको मानिसका केही अङ्गहरू दान गर्न मिल्छ । मृतकको मिर्गौला, कलेजो, पाठेघर, सानो आन्द्रा, प्याङ्क्रियाज, आँखा, छाला र मुटु गरी आठवटा अङ्ग काम लाग्छ ।

सांकेतिक तस्बिर

भेन्टिलेटरबाट निकाल्नासाथ मृतकका यी अङ्गहरूले पनि काम गर्न छोड्छ र बिरामीको मृत्यु हुन्छ । भेन्टिलेटरमै भएको अवस्थामा यी अङ्गहरू निकालेर जीवित बिरामीमा प्रत्यारोपण गर्दा धेरैले नयाँ जीवन पाउँछन् ।

भेन्टिलेटरमै भएको अवस्थामा ब्रेनडेथ भइसक्यो भन्ने कुरा चिकित्सकलाई थाहा हुन्छ । त्यही अवस्थामा बिरामीका आफन्त अर्थात नातेदारहरूले ‘हामी अङ्गदान गर्न चाहन्छौं’ भन्छन् भने अङ्गदान गर्न सकिने डा. श्रेष्ठले बताए ।

‘ब्रेन’ भनेको हाम्रो मस्तिष्क हो । मस्तिष्क टाउकोमा हुन्छ । ब्रेनडेथ हुनका लागि टाउकोमा चोट लाग्नुपर्छ । धेरैजसो सडक दुर्घटनामा परेका व्यक्तिहरूको ब्रेनडेथ हुने गर्छ । त्यस्तै, रुख या भीरबाट लडेका व्यक्तिहरूको ब्रेनडेथ हुने सम्भावना धेरै हुन्छ ।

कसैमा मस्तिष्कघात, ब्रेन एनयूरिज्म लगायत रोग लागेको छ भने त्यस्तो अवस्थामा ब्रेनडेथ हुने सम्भावना रहने डा. श्रेष्ठ बताउँछन् ।

कसरी प्रमाणित हुन्छ ब्रेनडेथ ?

डा. श्रेष्ठका अनुसार अनुभवी चिकित्सक टोलीले मात्रै ब्रेनडेथ प्रमाणित गर्छन् । जुन टिममा एकजना फिजिशियन, एकजना न्यूरो सर्जन अथवा आइसीयूमा भएका बिरामीहरूलाई हेर्ने चिकित्सक हुन्छन् । यी सबै चिकित्सकहरूसँग पाँच वर्षभन्दा बढीको अनुभव र नेपाल मेडिकल काउन्सिल (एमएमसी) नम्बर हुनुपर्छ ।

चिकित्सकको सो टीमले एकपटक बिरामीको अवस्था हेरिसकेको ६ घण्टापछि फेरि हेर्छ । त्यसबेला पनि बिरामीको शरीर प्रतिक्रियाहीन देखियो भने मात्रै ब्रेनडेथ भएको प्रमाणित गर्छ ।

ब्रेनडेथ भएका बिरामीहरू प्रायः आइसीयू (सघन उपचार कक्ष)मा राखिन्छन् । आइसीयू सुविधा भएका सबै अस्पतालमा ब्रेनडेथ प्रमाणित गर्न सकिन्छ । केही गरी उपचाररत अस्पतालमा प्रमाणित भएन भने अन्य अस्पताबाट यससँग सम्बन्धित अनुभवी चिकित्सकको टिमलाई बोलाएर पनि प्रमाणित गरिन्छ । तर, त्यो टीममा अङ्ग प्रत्यारोपण गर्ने टीमका चिकित्सकहरू सहभागी हुन पाउँदैनन् ।

नेपालमा बर्सेनी दुई हजारको ब्रेनडेथ, तर आठ वर्षमा पाँच दान

ब्रेनडेथ भइसकेपछि अङ्गदान गर्ने कानुन नेपालमा पनि छ । यो ऐन वि.सं. २०५५ मा पास भएर २०७३ सालदेखि लागू भइसकेको छ ।

तर दुर्भाग्य ! कानुन लागु भएको आठ वर्षमा जम्मा पाँचजना ब्रेनडेथ भएका बिरामीको मात्रै अङ्गदान भएको छ । मिर्गौला फेल भएका १० जनाले सोही अङ्ग दान पाएका छन् । तीन जनाले कलेजो दान पाएका डा. श्रेष्ठले जानकारी दिए ।

जब कि नेपालमा विभिन्न कारणले बर्सेनी करिब दुई हजारभन्दा बढी मानिसको ब्रेनडेथ हुने गरेको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजारभन्दा बढी ब्रेनडेथ हुने गरेको चिकित्सकहरू बताउँछन् ।

ब्रेनडेथ भएका सबैको अङ्गदान गर्ने हो भने उपत्यकामा मात्रै बर्सेनी दुई हजारभन्दा बढी मानिसले मिर्गौला दान पाउने डा. श्रेष्ठको भनाइ छ । एक हजार जना बिरामीलाई बचाउन कलेजो प्रत्यारोपण समेत गर्न सकिन्छ ।

नेपालमा अन्य अङ्ग प्रत्यारोपण व्यवस्था नभएकाले चिकित्सकहरूले कानुनअनुसार अङ्गदानबापत यी दुई अङ्गमात्रै निकाल्ने र प्रत्यारोपण गर्ने गर्छन् ।

जनचेतना मुख्य चुनौती

सरकारले कानुनमै समेटेको ‘ब्रेनडेथ अङ्गदान’ प्रभावकारी नहुनुमा जनचेतना नै मुख्य चुनौती रहेको डा. श्रेष्ठ बताउँछन् ।

‘मृतकको अङ्ग झिक्दा अर्को जन्ममा पूर्ण अङ्गसँगै नजन्मिने, दाहसंस्कार गर्दा शरीर नराम्रो देखिने लगायत धार्मिक तथा सांस्कृतिक अन्धविश्वासका कारण ब्रेनडेथ पछि पनि परिवारले अङ्गदान गर्न मान्दैनन्,’ उनले भने ।

कतिपय अस्पतालहरूले नै मृतकका आफन्तलाई बुझाउन झन्झट मान्ने र मृतकका आफन्तहरूबाट अनेक आरोपहरू खेप्नुपर्ने हुनाले पनि अङ्गदान त्यति सहज नभएको उनले बताए । जसकारण कानुन पारित भएको लामो समयसम्म पनि जम्मा ब्रेनडेथका पाँच मृतकको मात्रै अङ्ग जीवित मानिस जोगाउन काम लागेको उनी बताउँछन् ।

डा. श्रेष्ठले भने, ‘हामीले मृतकका आफन्तहरूसँग तपाईंको मानिसको ब्रेनडेथ भइसकेको छ, भेन्टिलेटरका कारणले सास मात्रै चलेको हो, यस्तो अवस्थामा शरीरका यी अङ्गहरू झिक्दा अन्य मान्छेले नयाँ जीवन पाउँछन् भनेर सम्झाउँछौं । तर, धेरै आफन्तहरूले अङ्गदान गराउन मान्दैनन् । आफन्तले नै दिन नमानेपछि अङ्गहरू त्यत्तिकै जलेर खेर जान्छन् । यता हजारौँ मिर्गौलाका बिरामीहरू मिर्गौला नपाएर डाइलासिसको भरमा बाँचिरहेका छन् ।’

डा. दीपेश श्रेष्ठ ।

‘ब्रेनडेथ अङ्गदानबारे कडा कानुन बनाउनुपर्छ’

सरकारले अङ्गदान गर्ने मृतकका परिवारलाई एक लाख रुपैयाँ र जहाँ मृत्यु भएको हो – त्यो अस्पताललाई ५० हजार रुपैयाँ उपलब्ध गराउने गर्छ । अहिले सोही रकमलाई बढाएर मृतकका परिवारलाई दुई लाख र अस्पताललाई ७५ हजार रुपैयाँ दिने निर्णय भएको छ, तर कार्यान्वयनमा आइसकेको छैन ।

‘यत्तिले मात्रै पनि अङ्गदान गर्नेको सङ्ख्या बढ्छ भन्ने मलाई लाग्दैन । यसको लागि कि त सरकरले नै जनचेतना जगाउनुपर्छ, या त कडा कानुन नै ल्याउनुपर्छ,’ डा. श्रेष्ठले भने ।

अन्य कतिपय देशमा कुनै पनि व्यक्तिले ‘ब्रेनडेथ भइहाले पनि अङ्गदान गर्दिनँ’ भनेर घोषणा नगरेको अवस्थामा बाहेक अङ्गदान अनिवार्य छ । मृतकको शरीरका काम लाग्ने अङ्गहरू सरकारको स्वामित्वमा आउँछ । सरकारले प्राथमिकताका आधारमा आवश्यक परेका व्यक्तिहरूलाई वितरण गर्छ ।

श्रेष्ठले भने, ‘नेपालमा पनि यस्तै कडा कानुन नबनाएसम्म यो सहज होलाजस्तो लाग्दैन । किनकी कानुन लागु गरेको झण्डै १० वर्षसम्म पनि जम्मा पाँच जना ब्रेनडेथ भएका बिरामीको मात्रै अङ्गदान भएको छ । हामी विभिन्न अस्पतालहरूमा गएर परामर्श गर्छौं, तर प्रभावकारी भएको छैन ।’

प्राप्त अङ्ग कस्ता व्यक्तिलाई ?

डा. श्रेष्ठका अनुसार ब्रेनडेथबाट प्राप्त अङ्ग प्राप्त गर्ने व्यक्तिबारे निर्धारित मापदण्ड छ । सरकारले कानुनमै सोबारे प्रष्ट लेखेको छ ।

कानुन अनुसार ब्रेनडेथ भएका व्यक्तिको अङ्ग आफ्नो शरीरको विशेषतासँग मेल खाएमा, आफू त्यो अङ्ग लिन तयार रहेको भनी बिरामीले आफू उपचाररत अस्पतालमा मञ्जुरीनामा दिनुपर्छ ।

यसरी मञ्जुरीनामा दिएको बिरामी डाइलासिस गराइरहेको या अङ्ग फेल भएर सबै प्रक्रिया पूरा गरी लामो समयदेखि अङ्ग प्रत्यारोपण पर्खाइमा बसेको हुनुपर्छ ।

‘वेटिङ लिस्ट’ अर्थात अङ्ग प्रत्यारोपण पर्खाइमा बसेका बिरामी र ब्रेनडेथ भएको व्यक्तिबचि कतिपय शारीरिक विशेषता मिल्नुपर्छ । जस्तै – रक्तसमूह एउटै हुनुपर्छ, अङ्ग दिने र लिने व्यक्ति बीचको उमेर १० वर्ष वा सो भन्दा कम हुनुपर्छ । यी सबै कुरा मिलेपछि अन्तिममा ‘क्रसम्याच’ गरिन्छ । त्यसको स्कोरिङको आधारमा जसले बढी स्कोर पायो – उसले अङ्ग पाउने व्यवस्था छ ।

७०० मिर्गौलापीडित प्रत्यारोपणको सूचीमा

अङ्गदान निम्ति सरकारले नै एउटा समन्वय इकाइ (कोर्डिनेशन यूनिट) भने खडा गरेको छ । त्यो यूनिट अहिले शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र (एचओटीसी)मा छ ।

अङ्गदान अपेक्षा गरेका सबैले सोही इकाइमा नाम टिपाउने गरेका छन् । अन्य अस्पतालमा नाम टिपाउनेहरूलाई यही यूनिटमा सूचीकृत गर्ने गरिएको छ ।

त्यो सूची अनुसार अहिले ७०० जना बिरामी अङ्गको पर्खाइमा छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  २ : ३४ बजे

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक

गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र

काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार

एकैदिन सडक निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

काठमाडौं– राजावादीहरू उत्साहित भइरहेका बेला नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी