काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा न्युक्यासललाई ३–२ गोलले हराउँदै सिटी विजयी भएको हो ।
सिटीका लागि बर्नार्डो सिल्भा, केभिन डी ब्रुयना र ओस्कार बबले एक–एकगोल गरेका थिए । घरेलु टोली न्युक्यासलका एलेसान्डर इशाक र एन्टोनी गोर्डोनले एक–एक गोल फर्काएका थिए ।
सिटीका सिल्भाले खेलको २६औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३५औँ मिनेटमा इशाकले गोल फर्काउँदै न्यूकासललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस्तै, ३७औँ मिनेटमा गोर्डोनले गोल गर्दै न्युक्यासललाई २–१ गोलले अगाडि बढाए । खेलको ७४औँ मिनेटमा सिटीका डिब्रुयनले गोल गर्दै टोलीलाई २–२ गोलको बराबरीमा त्याए । त्यसपछि ९०औँ मिनेटमा बबले गरेको गोलसँगै म्यानचेस्टर सिटी विजयी बन्यो ।
यो जितसँगै २० खेलबाट ४३ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछि छ । पराजित भएको न्युक्यासल २१ खेलबाट २९ अंकसहित १०औँ स्थानमा छ ।
प्रतिक्रिया