विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आज पुस २९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी १४, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जापान भूकम्प अपडेट : आइतबारसम्म २२० जनाको मृत्यु, २० बेपत्ता

जापानको इशिकावा प्रान्तमा गएको ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ ।

भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा आइतबार ७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ ।

सोमबारदेखि मङ्गलबारसम्म होकुरिकु क्षेत्र र निगाता प्रिफेक्चरमा चिसो हावा चल्ने अनुमान गरिएको छ । चीसोले गर्दा जापानी समुद्रको तटीय क्षेत्रमा भारी हिमपात हुनेछ ।

यसैबीच, जनवरी १ मा गएको शक्तिशाली भूकम्पपछि देशको सात तहको प्रणालीमा एक वा सोभन्दा बढी को तीव्रताका भूकम्पका झट्का शनिबार अपराह्न ४ बजेसम्ममा एक हजार ३६८ पटक मापन गरिएको जेएमएले जनाएको छ ।

मौसम विज्ञान अनुन्धान निकायका अनुसार मानिसहरुले अझै एक महिनासम्म ५.० म्याग्च्यिुड वा सोभन्दा माथिको शक्तिशाली भूकम्पको सामना गर्न सक्नेछन् ।

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्‍यो : दक्षिण कोरियाली सेना

तनावग्रस्त सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’ को अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

“उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेको छ । दक्षिण कोरियाली सेनाले क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लागेको बताए पनि यसबारे थप विवरण भने दिएको छैन ।

जापानको तटरक्षक बलले उत्तर कोरियाको रक्षा मन्त्रालय र चेतावनीवाहक जहाजहरूको जानकारीलाई उद्धृत गर्दै ‘सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्र’ उत्तर कोरियाबाट प्रक्षेपण गरिएको बताएको छ ।

उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।

केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियासँगको सामुद्रिक सीमा नजिक दुर्लभ ‘प्रत्यक्ष आक्रमणको अभ्यास’ गरेको थियो, जसका कारण केही दक्षिण कोरियाली सीमावर्ती टापुमा सावधानीका लागि निर्देशन जारी गरिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उनले यसै साताको सुरुमा सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ को संज्ञा दिँदै दक्षिण कोरियालाई ध्वस्त पार्न नहिचकिचाउने चेतावनी दिएका छन् ।

“ऐतिहासिक समय अन्ततः आएको छ, अब हामीले दक्षिण कोरियालाई ‘प्रमुख शत्रुराष्ट्र’ को रूपमा परिभाषित गर्नुपर्छ,” किमले बुधबार कोरियाली केन्द्रीय समाचार निकाय केसीएनएलाई उद्धृत गर्दै भनेका छन् ।

विश्लेषकहरूले त्यतिबेला यो परिवर्तन महत्वपूर्ण रहेको बताएका छन् । उनीहरूले उत्तरको दक्षिण कोरियाप्रतिको दृष्टिकोणमा आएको परिवर्तनलाई ‘अति–उग्र मोड’ मा परिवर्तनको सङ्केत गरेको थियो ।

किमले आणविक शक्तिको रूपमा देशको स्थायी हैसियतलाई संविधानमा समावेश गरेपछि र धेरै उन्नत अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

अमेरिकी जलवायु दूत केरी राजीनामा दिने तयारीमा

अमेरिकी जलवायु दूत जोन केरीले राजीनामा दिने तयारी गरेका छन् । बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको केरीनिकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका ८० वर्षीय केरीले तीन वटा अन्तर्राष्ट्रिय जलवायु शिखर सम्मेलनमा अमेरिकी वार्ताको नेतृत्व गरेका थिए । एक्जिओसले केरीले राजीनामा दिने तयारी गरेको र राष्ट्रपति बाइडेनको अभियानमा सामेल हुन चाहेको सबैभन्दा पहिले जानकारी गराएको थियो । बाइडेन प्रशासनमा सामेल हुनुअघि केरीले जलवायुसम्बन्धी विषयमा लामो समयदेखि काम गरेका थिए । सन् २०१५ मा करिब २ सय राष्ट्रले स्वीकार गरेको जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको पेरिस सम्झौताको वार्तामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ मा केरीले जलवायु सङ्कटसँग जुध्न विश्वका नेता र सेलिब्रेटीहरूको द्विपक्षीय पहलको लागि विशेष भूमिका खेलेका थिए । यस पहललाई जलवायु सङ्कटसँग जुध्नका लागि भएको ‘वल्र्ड वार जिरो’ भनिन्छ । केरीले दशकौंसम्म सिनेटमा जो बाइडेनसँगै काम गरेका थिए ।

उनी सन् १९८४ मा म्यासाचुसेट्सको प्रतिनिधित्व गर्न सिनेटमा पहिलो पटक निर्वाचित भएका थिए । साथै उनले गभर्नर माइकल डुकाकिसको नेतृत्वमा राज्यको लेफ्टिनेन्ट गभर्नरको रूपमा पनि सेवा गरेका थिए । सन् २००४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुससँग पराजित हुनुअघि केरीले डेमाक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि उम्मेदवारी मनोनयन गराएका थिए ।

सन् २००९ मा बाइडेन उपराष्ट्रपति भएपछि केरीले बाइडेनले सम्हाल्दै आएको सिनेटको विदेश सम्बन्ध समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनलाई सन् २०१२ मा बाराक ओबामाले विदेशमन्त्रीमा नियुक्त गरेका थिए । केरीले भियतनामको नौसेनामा मेकोङ डेल्टामा गनबोट अफिसरको रूपमा पनि सेवा गरेको र प्रसिद्ध अमेरिकी पुरस्कार सिल्भर स्टार, ब्रोन्ज स्टार र थ्री पर्पल हार्ट्सबाट सम्मानित भएका छन् ।

पाकिस्तानको बलुचिस्तानमा भएको झडपमा परी ५ सैनिकसहित ८ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकुसँग भएको झडपमा परी ५ सैनिकको मृत्यु भएको त्यहाँको सेनाले आइतबार जनाएको छ ।

घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँगसँग लडिरहेको छ ।

“आतङ्ककारीहरूले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए भने त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“झडपका क्रममा सैनिकले वीरतापूर्वक लडेको र पाँच सैनिक अधिकारीले शहादत प्राप्त गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

झडपमा तीन जना लडाकु पनि मारिएको बताइएको छ ।

२४ करोडभन्दा बढी जनसंख्या भएको र सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटसँग जुधिरहेको पाकिस्तानमा फेब्रुअरी ८ मा आम निर्वाचन हुने मिति तय भएको छ ।

शनिबारको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । जातीय बलोच पृथकतावादीहरूले वर्षौंदेखि यस इस्लामवादी र साम्प्रदायिक हिंसाले पनि प्रभावित यस क्षेत्रमा विद्रोह गरिरहेका छन् ।

बेइजिङबाट सहयोग प्राप्त अर्बौं डलरको पूर्वाधार अभियान चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) का लागि बलुचिस्तान पनि एक प्रमुख क्षेत्र हो ।

बलोच पृथकतावादीहरूले यसअघि पनि सीपीईसी परियोजनाहरूमा आक्रमणको दाबी गर्दै आएका थिए र हिंसाको सामना गर्न यस क्षेत्रमा हजारौं पाकिस्तानी सुरक्षाकर्मीहरू तैनाथ छन् ।

अफगानिस्तानमा सयभन्दा धेरै विकासका परियोजना सुरु

अफगानिस्तानमा सयभन्दा धेरै विकासका परियोजना सुरु भएको छ । अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म ११० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरु गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताए ।

हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचारअनुसार विगत १० महिनामा दुई अर्ब अफगानी (एक अमेरिकी डलर बराबर ७० अफगानी रूपैयाँ) मूल्यका ९० भन्दा बढी मर्मत सम्भार परियोजना सम्पन्न भएका छन् ।

हकशेनासका अनुसार सुरु गरिएका परियोजनामा देशका विभिन्न भागमा करिब एक हजार किलोमिटर सडक, ३० वटा पुलका खम्बा, जलाशययुक्त बाँध र सुरक्षात्मक पर्खाल निर्माण भएका छन् ।

काबुल–कान्दाहार राजमार्ग, अफगान रिङ रोड निर्माण र अफगानिस्तानको राष्ट्रिय राजधानी काबुललाई नौ वटा उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङको पुनर्निर्माण सार्वजनिक कार्यका लागि मन्त्रालयको उपलब्धिमध्ये एक हो ।

यसैबीच, उपअर्थमन्त्री अब्दुल लतिफ नजरीले प्रशासनले आर्थिक चुनौतीहरू पार गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्ने प्रयासमा रेलवे, राजमार्ग, ऊर्जा विकास र खानी र पारदर्शी निकासीजस्ता पूर्वाधार परियोजनाहरू सुरू गर्ने बताए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ११ बजे

देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा

काठमाडौं – बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण

रसियन टोलीसँगको दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा

सर्वोच्चमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

काठमाडौं – सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पार्टी मुख्यालयमा छापा

इस्लामाबाद – सैन्य समर्थित सरकारले राजनीतिक आन्दोलनमा प्रतिबन्ध लगाउने वाचा

पोलियो भाइरस भेटिएपछि काठमाडौंमा विशेष खोप अभियान सुरू हुँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका