आर्थिक सम्बन्धले परिवारसत्तामा फेरबदल बुझाउने पुस्तक | Khabarhub Khabarhub

पुस्तक समीक्षा

आर्थिक सम्बन्धले परिवारसत्तामा फेरबदल बुझाउने पुस्तक


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुन्ड युनिभर्सिटी स्वीडेनबाट इकोनोमिक हिस्ट्रीमा एमएस्सी गरेका कृष्ण पौडेललिखित पहिलो पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ विश्वको आर्थिक इतिहास सरलतापूर्वक बुझाउने पुस्तकमध्ये एक हो ।

२८२ पृष्ठको पुस्तकलाई लेखकले सात भागमा विन्यास गरेका छन् । पुस्तकमा लेखकले विश्वको आर्थिक इतिहासलाई नै बढी महत्व दिएका छन् । पहिलो भागमा विश्वको आर्थिक परिणामका केही झलक लेखेका छन् । जसमा आर्थिक उन्नतिसँगै मानिसको औसत आयु कसरी बढ्दै गएको छ भनी उल्लेख छ ।

पुस्तकको दोस्रो भागमा ‘प्राचीन कालमा आर्थिक क्रान्ति’का वृतान्त छ । लेखकले मातृसत्ताबाट पितृसत्तामा विश्व कसरी आयो भनी व्याख्या गरेका छन् । लेखकले ‘शिकार युगबाट कृषितिर’ शीर्षक दिँदै मानिसले ढुङ्गेयुगमा कसरी शिकार गर्ने गरेका थिए भन्ने कुराको बारेमा चर्चा गरेका छन् ।

यो अध्यायमा एउटा रोचक कुरा छ । विश्वमा धेरै लामो सयमदेखि नै पितृसत्तात्मक रहेको छ । तर हजारांै वर्ष पहिले पितृसत्ता नभएर मातृसत्ता रहेको सन्दर्भ लेखकले समेटेका छन् । शिकारी युग अर्थात् ‘हन्टिङ एण्ड ग्यादरिङ एज’ मा मानिसहरू शिकार खेल्न जाने, हप्तौँसम्मलाई पुग्ने आहार एकैपटकमा ल्याउने र त्यही शिकार आहार उपयोग गरी जीवननिर्वाह गर्थे ।

त्यस्तो जीवनशैलीमा शिकार गर्ने दिनबाहेक मानिससँगै धेरै फुर्सद हुने भएकाले उनीहरू निकै सिर्जनात्मक कामहरू पनि गर्ने गर्थे । त्यो समयमा भाषा, कला, संस्कृति लगायत आधुनिक सभ्यता प्रारम्भतर्फ नै धेरै मानिसहरूको समय बित्ने गरेको पुस्तकमा उल्लेख छ ।

कृषि युग सुरु हुनुअघि मानिस सामूहिक रूपमा बस्ने, खाने र शिकार गर्ने गर्थे । त्यसबेला परिवार पनि सामूहिक भएकाले बुढापाकाले समूहमा नै साना बच्चाहरूलाई हेर्ने गरेका थिए । महिलाले पनि चुनौतीपूर्ण भनिएका कामहरू पुरुषसरह नै गर्ने गर्थे । सो समयमा कुनै पनि भेदभाव नभएको लेखक पौडेलले पुस्तकमा उल्लेख गरेका छन् ।

पौडेलले लेखेका छन्, ‘पुरुषलाई बाउको पहिचान थिएन । को कसको बाउ हो थाहा र मतलब हुँदैनथ्यो, सबै सबैका साझा थिए । आमा चिनिने भएकाले समाज मातृसत्तात्मक थियो ।’ त्यस्तो मातृसत्तात्मक परिवार र समाज कसरी पितृसत्तात्मक भयो भन्ने बुझ्न चाहिँ पुस्तक नै अध्ययन गर्नुपर्ने हुन्छ ।

लेखकले भारत र चीनमा भएको आर्थिक विकासको विषयमा पनि व्याख्या गरेका छन् । भारतमा सामुद्रिक जहाज आउने गरेको विषयमा पनि व्याख्या गरेका छन् । विश्वमा तातो बाफबाट चल्ने मेसिन (स्टीम इञ्जिन) पहिले आविष्कार भएको र त्यो कोइला खानीमा हुने पानी निकाल्न प्रयोग हुन्थ्यो । त्यतिबेलाका यन्त्र उपकरण ठूलो हुने र एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन निकै कठिन पर्ने भएकाले फलामको पातामा राखेर तानिन्थ्यो । सोही चर्याबाट पछि रेल निकको आविष्कार भएको कुरा पुस्तकमा उल्लेख छ ।

लेखकले पुस्तकमा हाल विकसित भएका देशहरू कसरी विकसित भए भन्ने पनि उल्लेख गरेका छन् । आदिमकालदेखि आधुनिककालसम्म मानव बेचबिखनबारे पनि लेखेका छन् । भारतीयहरूले हिन्दू धर्म मान्ने भएकाले दास बनाउनु धर्मको खिलाप हुने भन्दै दास दिन छाडेपछि पश्चिमा पूँजीपतिले भारतीय व्यापारीलाई गिज्याउने गरेको पुस्तकमा उल्लेख छ ।

सिलिकन भ्यालीको विकासमा प्रविधिले ठूलो काम गरेको र त्यसले विश्वलाई नै फाइदा पुगेको लेखकले पुस्तकमा उल्लेख गरेका छन् । १९ औँ शताब्दीमा रेडियो, टेलिग्राम र टेलिफोन आविष्कार भए पनि अहिलेजति सूचनाको पहुँच नभएको लेखकले जनाएका छन् । पछि सूचना–प्रविधि क्षेत्रमा भएको क्रान्तिले सूचनामा पहुँच प्राप्त गर्न छिटो भएको सो पुस्तकमा लेखिएको छ ।

सन् १९८० को दशकमा नयाँ डिजिटल प्रविधिको हबका रूपमा चर्चित हुँदा एप्पल, फेस्बुक, ट्वीवटर, नासा र अमेरिकी सुरक्षा एजेन्सीका कार्यालयहरू पनि राखिएकाले सिलिकन भ्यालीको कुल गार्हस्थ उत्पादन (जीडीपी) २७५ मिलियनसम्म पुगेको लेखकले बताएका छन् । सन् फ्रान्सिस्को खाडी क्षेत्र पनि भनिने सिलिकन भ्यालीका जीडीपी हाल ८४० बिलियन अमेरिकी डलर पुगिसकेको छ ।

पुस्तकमा विश्वका धेरै कुरा समेटिए पनि नेपालबारे केही उल्लेख छैन । पौराणिक काल (माइथोलोजिक पिरियड)देखि नै वैदिक उपसभ्यता विकास भएको तथा प्राचीन, मध्य र आधुनिक कालसम्मको अर्थ–सामाजिक इतिहासबारे विश्वका इतिहासविद् र अर्थशास्त्रीहरूले चासो राख्ने गरेको आफ्नै मातृभूमिबारे लेखक पुस्तकमा मौन छन् । नेपालको अर्थतन्त्र विकासबारे पनि लेखकले उल्लेख गरेको भए नेपाली पाठकका लागि पुस्तक थप रोचक बन्न सक्थ्यो ।

लेखकले पुस्तकमा धेरै अङ्ग्रेजी शब्दावलीहरू प्रयोग गरेकाले कुनै–कुनै कुरा बुझ्न अलिक कठिन पर्छ । पाठकले पुस्तक पढ्दा कतिपय ठाउँमा दोहोर्‍याउनुपर्ने पनि हुन सक्छ ।

विश्वका धेरै ठाउँबारे जानकारी नराखेका पाठकलाई पनि पुस्तक अध्ययनमा केही कठिनाइ हुनसक्छ । लेखकले विषयबस्तु सुरु गर्नुभन्दा पहिले ती ठाउँबारे जानकारी दिएको भए पुस्तक थप बोध्य हुन सक्थ्यो ।

केही पक्षमा लेखकले कमजोरी गरे पनि समग्रमा भने पुस्तक रोचक र पठनीय छ । विश्व अर्थतन्त्र जान्न पुस्तकले निकै मद्दत गर्नेछ । पुस्तकको सबैभन्दा रोचक पक्ष इतिहासकालमा आर्थिक प्रगति कसरी भएको थियो भन्ने हो ।

इतिहास धेरै तरिकाले लेखिने गरे पनि आर्थिक पक्षबाट भने निकै कम लेख्ने गरिन्छ । आर्थिक इतिहासका पक्ष समेटेर लेखिएकाले यो पुस्तक अध्ययन गर्दा ज्ञानको दायरा थप विस्तार हुनेछ ।

पुस्तकको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ११ : ०१ बजे

द क्लिफलाई उत्कृष्ट करदाताको सम्मान

कुश्मा– बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबका रुपमा विकास गर्न लागिरहेको पर्यटकीय

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष

प्रसाईंको रिटमा सर्वोच्चले सरकारसँग सोध्यो थुन्नुको कारण

काठमाडौं- दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले

मुख्यमन्त्री कार्की भन्छन्- अनावश्यक संरचना कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्छ

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर

एमालेले बुझेन महानगरको पत्र , फर्कियो भ्यानसहित पुगेको नगर प्रहरी टोली

काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको