नीति तथा कार्यक्रममाथि प्रतिपक्षीको आलोचना, सत्तापक्ष बचाउमा | Khabarhub Khabarhub

नीति तथा कार्यक्रममाथि प्रतिपक्षीको आलोचना, सत्तापक्ष बचाउमा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगको तिक्तताबीच सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत मंगलबार संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

राष्ट्रपति पौडेलले संविधानको धारा ९५ बमोजिम संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि, सामाजिक न्याय, रोजगारी र अर्थतन्त्रको सुधारलाई प्राथमिकतामा राखेर सरकारका नीति तथा कार्यक्रम ल्याउने बताउँदै आएका थिए ।

राष्ट्रपति पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम प्रतिवेदनमा पनि देशलाई समृद्ध बनाउन गर्नुपर्ने र बाँकी सबै काम एकै वर्षभित्र सम्पन्न गर्ने दाबी गरिएको छ । यद्यपि, सरकारले वर्षेनी ल्याउने नीति तथा कार्यक्रममा ‘भएभरका सबै काम गर्ने’ दाबी गरिए पनि काम भने हुन सकेको देखिँदैन ।

सरकारले यसपटक प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ‘खासै महत्व’ दिएर छलफल गर्नुको कुनै तुकसम्म नभएको बताएको छ भने सत्तारुढ दलहरुले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरूका बीउहरु रोपेको दाबी गरेका छन्।

प्रतिपक्षी कांग्रेसका प्रवक्ता समेत रहेका प्रतिनिधिसभा सदस्य डा.प्रकाशशरण महतले सरकारको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै खासै महत्व दिएर छलफल गर्नुको कुनै तुक नभएको प्रतिक्रिया दिए।

उनले बजेटलाई कांग्रेसले अनुशासनमा ल्याउने बाटोमा लैजान खोजेको स्मरण गर्दै पवर्तमान सरकारले वितरणमुखी र कार्यकर्तामुखी बजेट ल्याउन लागेको आरोप लगाए।

‘बजेटलाई अनुशासनमा ल्याउने बाटोमा हामीले लैजान खोजेका थियौं। वितरणमुखी, कार्यकर्तामुखी बजेट ल्याउँदै हुनुहुन्छ। त्यसको पूर्वअभ्यास यो नीति तथा कार्यक्रमले गरेको छ,’ पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद महतले भने, ‘नीति तथा कार्यक्रममा भन्न त केही कुरा छोडेको छैन। तर, हुनेखाने केही पनि हुनेवाला छैन। उहाँहरुको भनाइ र गराइमा आकाश जमिनको अन्तर भएकाले यो नीति तथा कार्यक्रमलाई खासै महत्व दिएर छलफल गर्नुको कुनै तुक छैन।’

सत्ताघटक अर्थविद्‌ प्रतिरक्षामा
तर, सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भने नीति तथा कार्यक्रमले विगतमा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित हुने कुरालाई ‘ब्रेक’ गरेको दाबी गरे ।

उनले नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको बताए । वाग्लेले कांग्रेसतर्फ लक्षित गर्दै विगत ३२ वर्षमा सबैभन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति रहेको टिप्पणी गरे ।

‘बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ । विगत ३२ वर्षमा सबै भन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति हो,’ उनले भने, ‘नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदैछ ।’

प्रतिपक्षी कांग्रेसद्वारा आलोचना
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको नीति तथा कार्यक्रमलाई निरन्तरताको संज्ञादिँदै महत्वपूर्ण विषयहरु छुटेकोबताए ।

‘रसियामा नेपाली युवा सेनाको रुपमा प्रयोग भएको स्थिति छ। उनीहरुको घरफिर्तीको सवाल छ। लासहरु सम्म घर फर्केर नआउन सकेको कुरा छ,’ उनले भने, ‘त्यसका बारेमा नीति तथा कार्यक्रम बोलेको छैन।’

कांग्रेसको टिप्पणी – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

इजरायल र प्यालेस्टाइनका बीचमा भएको युद्धमा बेपत्ता पारिएका कञ्चनपुरका विपीन जोशीको उद्धार गर्नेसम्मको प्रतिवद्धता आउन नसकेका कारण अन्तराष्ट्रिय स्तरमा नेपालको स्वाभिमान अभिवृद्धि गर्ने र कूटनीतिलाई मजबुत बनाउने खालको काम गर्न नसकेको टिप्पणी गरे । राष्ट्रिय रुपमा पनि नीति तथा कार्यक्रमले कुनै नयाँ उत्साह दिन नसकेको लेखकको भनाइ छ ।

उनले अर्थतन्त्रका बारेमा पनि सरकारका तर्फबाट अत्यन्तै कमजोर किसिमका प्रतिवद्धताहरु आएका बताए । ‘रोजगारीका बारेमा त देशभित्रै रोजगारी सिर्जना गर्ने विदेश मानिस नपठाउने प्रतिवद्धता गरेर आएका साथीहरुले विदेश मानिसहरुलाई बढीभन्दा बढी कसरी पठाउने नीति ल्याउनुभएको छ,’ उनले टिप्पणी गरे ।

नीति तथा कार्यक्रमले सहकारीमा बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न नसकेको पनि प्रमुख सचेतक लेखकले बताए । नीति तथा कार्यक्रममा सरकारले सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने, अपचलन गर्ने मान्छेलाई कारबाही गर्छु भन्न नसकेको भन्दै आपत्ति जनाए ।

‘स्पष्ट प्रतिवद्धता आउनुपर्थ्यो। ठगी गर्ने मानिसलाई कारबाही गर्ने, रकम हिनामिना, दुरुपयोग, अपचलन भएको छ त्यो रकम बचतकर्तालाई फिर्ता गर्ने प्रतिवद्धता आउनुपर्थ्यो, आएन,’ उनले भने, ‘सरकार सहकारी पीडितको मर्काप्रति संवेदनशील छैन, गैरजिम्मेवार छ। सहकारी ठगी गर्ने मानिसहरुलाई बचाउने काममै सरकार लागेको छ भनेर हामीले भनेको कुराको पुनर्पुष्टि भएको छ।’

बजेटमार्फत कार्यान्वयन गर्ने अर्थमन्त्रीको प्रतिवद्धता
अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम निकै राम्रा आएको र यसका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने बताए । अहिलकोे कार्यक्रम राम्रो भएकाले यसलाइ समर्थन गर्ने गरी बजेट आउने उनको भनाइ छ ।

अर्थमन्त्री पुनले बजेटमार्फत सरकारको नीति कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि दाबी गरे । यस पटक नीति तथा कार्यक्रम र बजेटको तालमेल नभएको भन्ने गुनासो नआउने उनले भनाइ छ ।

‘बजेटमार्फत नीति तथा कार्यक्रम लागु हुन्छ । विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने बहस तथा छलफल आउँथ्यो । यसपटक त्यस्तो हुँदैन,’ अर्थमन्त्री पुनले भने ।

उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्मा गरेको अवरोधप्रति आपत्ति जनाए । ‘प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरुद्ध गर्ने अशोभनीय काम भयो, राष्ट्रपति देशको प्रमुख व्यक्ति हो, देशको अभिभावक हो, उहाँले संसद्लाई २ घण्टा सम्बोधन गरिसकेपछि सामान्य सम्मान अर्थात राष्ट्रको लागि सम्बोधन गर्नुभयो सामान्य धन्यवाद पनि भन्न नसक्ने अवस्था भयो,’ पुनले भने, ‘त्यत्ति धन्यवाद दिन दिएको भए हुन्थ्यो । जिम्मेवार प्रतिपक्षको भूमिका भएन । देशको पुरानो लोकतान्त्रिक परम्परा बोकेको पार्टीले लोकतान्त्रिक चरित्र देखाएन ।’

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेको केही घण्टापछि सुरु भएको संघीय सांसदअन्तर्गतको प्रतिनिधि सभा बैठकमा कांग्रेसले अवरोध गरेपछि सरकारले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न सकेन ।

बैठक सुरु हुनसाथ कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक जेठ ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुपरेको थियो ।

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

सहकारी प्रकरणमा संलग्न भनिएकागृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु पर्ने माग गर्दै कांग्रेस सदनमा आन्दोलनरत छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ९ : २८ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी