लागूऔषधको ‘ट्रान्जिट’ काठमाडौं : ठमेलबाट ६ किलो कोकिनसहित मलेसियन महिला पक्राउ « Khabarhub

लागूऔषधको ‘ट्रान्जिट’ काठमाडौं : ठमेलबाट ६ किलो कोकिनसहित मलेसियन महिला पक्राउ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले झन्डै ६ किलो कोकिनजस्तो देखिने पदार्थसहित एकजना मलेसियन नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले आइतबार ठमेलस्थित काठमाडौं सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।

प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागूऔषधसहित महिलालाई सार्वजनिक गरेको हो ।

ती महिलाले ६ वटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । बरामद लागूऔषधको मूल्य करिब २० करोड ३७ लाख रुपैयाँ हुने प्रहरीले जनाएको छ ।

उक्त होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको साथबाट यही जुलाई १९ मा मलेसिया फर्किने हवाई टिकट पनि फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौं लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ ।

‘ती महिला पाँच/छ पटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भने, ‘काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारे अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेकी महिला मलेसियन भाषा मात्रै बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उनको भनाइ छ ।

ती महिलाले कोकिन काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।

अहिले ठूलो परिणामको लागूऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटक पटक नेपाल आउँदा लागूपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  २ : ३३ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा