त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना « Khabarhub

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

चितवन – यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्यायो। बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए ।

उनीहरु विगत तीन दिनदेखि त्रिशूली किनारमा आफन्तहरुको खोजीमा सक्रिय छन् । उनीहरु बिहानदेखि साँझसम्म त्रिशूली किनारमै हुन्छन् । आफन्तलाई जीवितै पाउने आश मार्दै गरेका उनीहरुमा राज्यले सक्ने जति उद्धारमा जुटेन कि ? भन्ने आशङ्का परेको छ ।

उर्लिएको त्रिशूलीको खोचमा आफन्त त परको कुरा दुई वटा बस नै अहिलेसम्म भेटिएका छैनन् । उनीहरुले खोजी कार्य छिटो गरिदिन अनुनय विनय गरिरहेका छन् । तीन दिनको खोजीले उल्लेख्य सफलता नमिलेपछि आज गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल घटनास्थल आइपुगे ।

उनीहरुलाई घटना स्थलमा रहेका बेपत्ता परिवारका सदस्यहरुले आफ्नो परिवारका सदस्यहरुको छिटो खोजी गरिदिन आग्रह गरे ।

मामाको छोरो त्रिशूलीमा बेपत्ता भएपछि खोजीका लागि हेटौँडाबाट आएका नकुबहादुर थापा अहिलेको तरिकाले बेपत्ताहरु भेट्टाउनै मुस्किल हुने भन्दै अरु विधि अपनाउन आग्रह गरे । उनले गृहसचिवको टोलीसँग गुनासो गरे, “उच्च प्रविधिको प्रयोग गरेर बेपत्ताको खोजी गरिदिनुहोस् ।”

रौतहटबाट भाई खोज्न आएका मोहन दास अहिले पनि कतै भेटिन्छ की भन्ने आशमा नै छन् । तीन दिनदेखि आएर नदी तिरै हेरेर मात्रै बस्नुपरेको बताउँदै उनले छिटोभन्दा छिटो बेपत्ताको खोजी गरिदिन अनुरोध गरे ।

यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले दुई वटा बसमा सवार यात्रुहरुको खोजीमा तदारुपता देखाउन आग्रह गरे ।

उनीहरुको गुनासो सुनेपछि गृहसचिव अर्यालले उद्धारका लागि काम भइरहेको बताए । उनले भने, “छिटोभन्दा छिटो उद्धार सामग्रीहरु उपलब्ध गराउने विषयमा काम भइरहेको छ, चीन र भारत सरकारबाट पनि सामग्री उपलब्ध गराउने कुरा भएको ।”

विपद् प्रतिकार्य योजना तयारी गरी काम भइरहेको बताउँदै उनले शवहरु पहिचान र मृतकका परिवारलाई राहत दिने एवं यहाँ उठेका कुरामा गृह मन्त्रालयले नेपाल सरकारलाई जानकारी गराउने बताए । यहाँको वस्तुस्थिति प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराइने उनले बताए ।

टोलीले घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यबारे जानकारी लिएको थियो । हालसम्म घटनास्थलभन्दा तल नारायणी नदी किनारमा पाँच वटा शव फेला परेका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पहिचान खुल्नेमा भारतको बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ का ४० बर्षिय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगपालिका वडा नम्बर १ का २२ बर्षिय विकास परियार, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सितामणी बर्गिनिया जमुहवा बस्ने २८ वर्षीय ऋर्षि पल साह रहेका छन् ।

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं। २९ नारायगढ–मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ गई रहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुबाहक बस र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१– नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् ।

ती दुई बसमा यात्रु चलानीका आधारमा ५१ जना यात्रु सवार भएको पुष्टि भएको थियो । तीमध्ये तीन जना पौडिएर उत्रिएका थिए । उनीहरु अवस्था सामान्य छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटिरहेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : ३९ बजे

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने

कर्णाली नदीमा मिनीबस खस्यो

दैलेख- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने