सहकारी ठगी : १० जनालाई जेलबाट झिकाएर सिंहदरबारमा बयान | Khabarhub Khabarhub

संसदीय छानबिन

सहकारी ठगी : १० जनालाई जेलबाट झिकाएर सिंहदरबारमा बयान

जेलबाट रिहा गरे वचत फिर्ता गर्ने दाबी, जीबी राईसहित ठूला मान्छे पक्रिन माग



काठमाडौं – सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले देशका विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका १० जना सहकारी सञ्चालकलाई सिंहदरबारमै झिकाएर बयान लिएको छ ।

सहकारीको बचत रकम दुरुपयोगमा मुछिएका अध्यक्ष, पदाधिकारी र सञ्चालकहरूसँग २६ साउनदेखि समितिले बयान लिइरहेको छ । यसक्रममा जेल बाहिर रहेका र जेल परेकाहरुको समेत बयान लिइएको हो ।

गृह प्रशासनको सहयोगमा बन्दीहरुलाई काराकारबाट सुरक्षाका साथ झिकेर सिंहदरबार ल्याई बयान गराएर पुनः कारागारमै पठाइएको समितिका सदस्यले बताए । यसरी बयानमा झिकाइएकाहरुमा काठमाडौं बाहिरको कारागारमा रहेका समेत छन् ।

समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार साउन २६ देखि समितिले बयान लिन सुरु गरेको हो ।

समितिले छानविन समितिको कार्यविधिअनुसार पहिलो बयान तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग लिएको छ । उनलाई नख्खु जेलबाट सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाएर सोधपुछ गरिएको थापाले जानकारी दिए ।

कारागारबाट झिकाइएका बयानकर्ताहरुले एकै स्वरमा कोरोनाकालमा सहकारी डुबेको तर्क गरेका छन् । तर, सहकारीमा रहेको वचतकर्ताको रकम अन्तै लगानी गरेर अपचलन गर्ने ‘ट्रेन्ड’ नै पाइएको छ ।

यो पनि…

सहकारी छानबिन समितिले आरोपितहरूको बयान लिन थाल्ने

समितिले बुधबार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी पूर्वअध्यक्ष कल्पनाकुमारीसँग सोधपुछ गरेको छ । बुधबार नै बलिदानी बचत तथा ऋण सहकारीका अजय श्रेष्ठ, प्राइम बचत तथा ऋण सहकारीका शंकर कार्की र मित्र मिलन सहकारीका रमण पौडेलसँग बयान लिने कार्यसूची छ ।

बयानको प्रक्रिया

समितिले सहकारी सञ्चालक र सरोकारवालासँग तीन तहबाट बयान लिइरहेको छ । पहिलो चरणमा कानूनविदका रुपमा समितिमा उपस्थित राधा जीसीले प्रश्न सोध्ने गरेकी छन् । उनले कानूनी प्रश्नमा सहकारीबारे प्रश्न सोध्छिन् ।

जीसीले अलग्गै कोठामा सोधपुछ गरेपछि त्यसलाई कम्प्युटरमा टाइप गरिन्छ । त्यसपछि बयानकर्तासहित समितिमा लगेर रुजु गराइन्छ । त्यसपछि सामुहिक रुपमा बयान लिइन्छ ।

सामुहिक प्रश्नमा सहकारी सञ्चालकका परिवारका सदस्य, जग्गा जमिन र अन्य विषयसमेत सोधिन्छ ।

बयानसम्बन्धी प्रक्रियाबारे जानकारी दिँदै समितिका एक सदस्यले खबरहबसँग भने, ‘अन्तिममा बयान दिनेले टाइप गरेको कुरा हाम्रो हातमा आएपछि रुजु गरिन्छ।’

जेलबाट सिंहदरबारमा झिकाइएका सहकारी सञ्चालकले के–के भने ? यसको चर्चा गरौं–

जेलबाट निकालियोस् ५० हजारलाई रोजगारी दिन्छु : केदारनाथ शर्मा, तुलसी सहकारी

सहकारी ठगीसम्बन्धी अनुसन्धानका क्रममा ललितपुरको नख्खु कारागारमा रहेका शर्माले प्रहरीको सुरक्षासहित सिंहदरबार प्रवेश गर्ने मौका पाए । समितिमा बयान दिन आएका शर्माले अहिले पनि साना गफ गरेनन् ।

आफूले जेलबाट निस्किएपछि सबैको रकम आफ्नो जायजेथा बेचेर भए पनि तिर्ने उनले बयान दिए । यसका लागि पहिले आफूलाई जेलमुक्त गर्नुपर्ने उनको शर्त छ ।

कारागारमा रहेका शर्मा तुलसी सहकारीमा मात्र नभएर शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा पनि जोडिएको देखिन्छ । उनका नाममा अरु पनि धेरै कम्पनीहरु खुलेको पाइएको छ ।

बयानमा उपस्थित एक सदस्यका अनुसार शर्माले आफू जेलबाट निस्किए जसरी पनि ऋण तिर्ने बताउँदै उनले बयानमा भने, ‘मैले यो हालत होला भनेर सोचेको थिइनँ । मिलाएर कारोबार अगाडि बढाउँला भन्ने थियो । कोरोना आएपछि व्यवहार बिग्रिएछ ।’

शर्माको बयान उधृत गर्दै स्रोतले भन्यो, ‘म मिलाएर लान खोज्दै थिएँ, एकैपटक बचतकर्ताहरु रकम फिर्ता माग्न आएपछि मसँग पैसा भएन । व्यवहार मिलाउँदै थिएँ, जेल परिहालें । सबैको रकम तिर्छु तर मलाई जेलबाट निकाल्दिनू ।’

शर्माले आफूलाई जेलबाट निकालिए अहिले पनि ५० हजार मान्छेलाई रोजगार दिन सक्ने दाबीसमेत गर्न भ्याए ।

छानविन समितिमा एकजना सदस्यका अनुसार शर्माले रकम फिर्ता गर्न नसकेको दोष कोरोनालाई देखाए पनि वचतकर्ताबाट उठाएको रकम विभिन्न ठाउँमा जग्गा खरीद र अन्य कारोबारमा लगानी गरेको देखिएको छ ।

शर्माको संलग्नता लालीगुराँसलाई पेलेर तेल निकाल्नेदेखि यार्सागुम्बाको चकलेट बनाउने र मोक्ष ध्यान लगायतका धेरै ठाउँमा देखिएको छ । उनले दुईवटा सहकारीको रकम यिनै कम्पनीहरुमा खन्याएको समितिले तथ्य फेला परेको छ ।

केदारनाथ शर्मा

श्रीमतीलाई पनि जेलबाटै झिकाइयो

संसदीय छानविन समितिले केदारनाथ शर्माकी श्रीमती गीता शर्मालाई पनि कारागारबाटै सिंहदरबारमा झिकाएर बयान लिएको छ । शर्माकी श्रीमती गीता शर्मालाई केन्द्रीय कारागार, जगन्नाथ देवलबाट सिंहदरबारमा ल्याएर सोधपुछ गरिएको हो ।

बयानका क्रममा गीताले समितिमा भनिन्, ‘सहकारी संस्थाबाट हिनामिना भएको बचतकर्ताको रकम हामीहरू तिर्न तयार छौँ । तर जेलबाट निकालेर समय दिनुहोस् । सरकारले दिएको समयअनुसार नै तिर्न तयार छौँ ।’

गीताले बयानमा यो पनि भनिन्, ‘मलाई यस्तो कारोबार थाहा थिएन । श्रीमान् केदार शर्माले बढी कारोबार गर्नुहुन्थो ।’

जेलमुक्त गरियोस् : नुनम सुब्बा, नागरिक सहकारी

छानबिन समितिले २६ साउनमै नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बासँग बयान लिएको थियो । उनलाई नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको हो ।

नुनम सुब्बा

सुब्बाले पनि केदार शर्माले जस्तै कोभिडका कारण आफ्नो सहकारी डुबेको बयान दिए । आफू बचतकर्ताको सबै रकम फिर्ता गर्न तयार रहेको तर त्यसका लागि जेलबाट निकालिनुपर्ने उनले संसदीय समितिसँग माग गरे ।

नुनमले पनि सरकारीमा वचतकर्ताको रकम अन्यत्र नै लगानी गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा राखेको हो ।

कोरोनाले गर्दा सकिनँ : सीबी लामा

संसदीय छानविन समितिले शनिबार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग बयान लियो । उनलाई केन्द्रीय कारागार, जगन्नाथ देवलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको हो ।

लामाको पनि तर्क उनी थियो, कोरोनाले गर्दा वचतकर्ताको रकम फिर्ता गर्न सकिनँ । जेलबाट निस्कें भने फिर्ता गर्छु । तर, लामाले यसो भनिरहँदा उनले पनि वचतकर्ताको रकम सहकारीको नियमविपरीत अन्य क्षेत्रमा लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

समितिको बयानमा लामाले भनेका छन्, ‘कोरोनाकालले गर्दा रकम खेलबाड गर्न र बचतकर्ताको रकम फिर्ता गर्न सकिएन । जेलबाट छुटेपछि व्यवहार मिलाउँदै जेथा बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु ।’

समितिले २८ साउनमै कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीसँग पनि बयान लिएको छ । उनलाई डिल्लीबजार कारागारबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको हो ।

मल्लले आफ्नो बयानमा कोरोनापछि बचतकर्ताहरु एकैपटक रकम माग्न आएको, र जेल चलान भएकाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको तर्क गरेका छन् ।

तर, मल्लमाथि पनि सहकारीको रकम आफ्नो निजी सम्पत्ति जोड्न प्रयोग गरेको आरोप छ । तर, समितिको बयानमा उनले भने, ‘म बेचेर तिर्न खोज्दै थिएँ, जेल परें ।’

पूर्वसांसदलाई जेलबाट सिंहदरबार

पूर्व सांसद इच्छाराज तामाङ

साउन २८ गते समितिले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष एवं पूर्व सांसद इच्छाराज तामाङलाई सिंहदरबारमा झिकायो । तामाङ डिल्लीबजार कारागार रहँदै आएका छन् ।

नेकपा एमालेका पूर्वसांसद रहेका तामाङले बयानका क्रममा आफू सहकारीको जालोमा परेको बताएका थिए ।

सहकारीमा बचतकर्ताको रकम अपचलनको आरोपमा जेल सजायँ काटिरहेका तामाङले आफ्नो भएको सम्पत्ति बेचेर सहकारीको ऋण तिर्ने र आफूमाथि लागेको दाग मेटाउने बयान दिएका छन् । उनले पनि सहकारी डुब्नुमा कोरोनालाई दोष दिएका छन् ।

पूर्वसांसद तामाङको कनेक्सन जीबी राईसँग पनि जोडिएको हुन सक्ने समितिको आशंका छ ।

डिल्लीबजार खोरबाट डंका !

साउन २८ गते समितिले आइडिया यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी) सँग बयान लियो । उनलाई डिल्लीबजार कारागारबाट सिंहदरबारमा लगेर सोधपुछ गरिएको हो ।

बयानका क्रममा उप्रेतीले ठूलो स्वरमा डंका पिट्दै आफ्नै कुरालाई माथि पार्न खोजेको र कुनै गल्ती महसुस नगरेको समितिका एक सदस्यले खबरहबसँग बताए । समितिमा उप्रेतीले भने, ‘जेलबाट निकाल्नु न, म ऋण तिरिहाल्छु नि । जेलमा राख्ने, अनि ऋण तिर् भन्ने ?’

उप्रेतीले उल्टै सरकारमाथि दोष दिँदै भने, ‘सरकारले सहकारीमा लगानीमैत्री वातावरण तयार गरेको थियो र ? मैले रकम तिर्दिनँ भनेको छैन त ।’

बयानका क्रममा उप्रेती ठूलो स्वरमा झर्किएर बोलेका थिए । उनले पनि कोरोनाकै कारण सहकारी धरापमा परेको तर्क गरे । उनलाई सभापति सूर्य थापाले ले नरम भएर कुरा राख्न भनेका थिए ।

उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । अध्यक्ष हुँदा पनि उनले योग्यता नै नपुग्ने फर्जी कागज पेस गरेर उम्मेदवारी दिएको राष्ट्र बैंकसमेतको अनुगमनबाट खुलेको थियो ।

कृष्णबहादुर उप्रेती (केबी)

‘जीबी राईले फसाए, ठूलालाई समातियोस्’

संसदीय छानविन समितिले सहकारी अपचलनमा जेल परेका पोखराका विभिन्न व्यक्तिहरुसँग पनि सिंहदरबारमै बयान लिएको छ ।

साउन २९ मा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेललाई कास्की कारागारबाट सिंहदरबारमा ल्याएर बयान लिइएको हो ।

बयानका क्रममा रम्तेलले आफू सूर्यदर्शन सहकारीको सचिव भएकाले मुद्दामा मुछिएको बताएका थिए । आफू दोषी देखिए रकम तिर्न तयार भएको तर अध्यक्ष (जीबी राई) लगायतले आफूलाई फसाएको उनले दाबी गरे ।

गोरखा मिडिया नेटवर्क प्रालिमा काम गर्दा जीबी राईले भनेबमोजिम इमान्दार भएर काम गरेको रम्तेलले बयान दिएका छन् । आफू सञ्चालक समितिमा भएको कुरा पनि पछि मात्र थाहा पाएको उनको तर्क छ । कतिपय अवस्थामा बैठकबारे पनि आफूलाई थाहा नहुने उनको बयान छ ।

कुमार रम्तेल

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका सचिव हुँदा आफूले कुनै पनि रकम तलमाथि नगरेको उनले दाबी गरेका छन् ।

छानविन समितिले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक शिवकुमार गुरूङ (महेन्द्र भोटे) सँग पनि सोधपुछ गरेको छ । उनीहरुलाई पनि कास्की कारागारबाट सिंहदरबारमा ल्याएर सोधपुछ गरिएको हो ।

बयानका क्रममा शिवकुमार गुरूङले आफू पूर्वसञ्चालक भएकाले आफ्नो कुनै दोष नभएको दाबी गरे । उनले समितिसँग भने, ‘जीबी राईले देशभरि नै नेटवर्क बनाएर हामीलाई फसाएको रहेछ । हामीलाई यो कुरा थाहा थिएन । जब थाहा पाइयो, ढिलो भएछ ।’

उनले बयानमा भने, ‘मेरो भागमा पर्ने दोष म लिन तयार छु । तर जीवी राई पनि खोजियोस् । अन्य दोषी मान्छे पनि कानुनको कठघरामा आउन् । ठूला मान्छे पनि पक्रनुपर्छ । हामीलाई समाजमा सम्मानपूर्वक बाँच्न दिनुपर्छ ।’

समितिले २९ मा नै सूर्यदर्शनकै पूर्वसञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्यालसँग पनि बयान लिएको थियो । कास्की कारागारबाट समितिको बैठकमा ल्याई उनलाई सोधपुछ गरिएको सभापति थापाको भनाइ छ ।

भविश्वर अर्याल

बयानका क्रममा अर्यालले आफू कुनै पनि हालतमा सहकारीको रकम हिनामिनामा संलग्न नभएको तर्क गरेका थिए । उनले आफ्नो किर्ते सही प्रयोग भएको समेत बताएका छन् ।

उनले बयानमा भनेका छन्, ‘मैले त सफ्टवेयर डेभलपरको मात्र काम गरेको हो । मेरो कुनै गल्ती छैन । मैले एक रुपैयाँ कसैको पनि खाएको छैन । मलाई यो विषयमा कुनै पनि जानकारी छैन । भागेका मान्छेलाई पक्रिएर हामीलाई जेलबाट स–सम्मान घर फर्काउनुपर्छ । मेरो दोष भए म त्यसको परिणाम भोग्न तयार छु । एउटा मिटिङ बसेको मलाई थाहा छैन । म त कर्मचारी हो ।’

अर्यालले जीवी राई र रास्वपाका सभापति रवि लामिछाने लगायत मिलेर सूर्यदर्शन बचत तथा ऋण सहकारीको पैसा हिनामिना भएको हुनसक्ने बयान दिएको स्रोतको भनाइ छ । अर्यालले जीबीको आइटीको सबै काम गर्ने गरेको खुलेको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीका बयानकर्ताले रवि लामिछाने, जीवी राई र सिर्जना चोपको नाम पटक–पटक लिएको स्रोतको भनाइ छ ।

छानविन समितिका एक सदस्यले खबरहबसँग भने, ‘जीबी राईको नाम लगभग ५–७ वटा सहकारीमा जोडिएको छ । उनले धेरै ठाउँ हात हालेका रहेछन् । सुप्रिम, सानो पाइला, सारा, सूर्यदर्शन स्वर्णलक्ष्मी लगायत सहकारी यिनको नेटवर्कमा चलेको देखिन्छ । एउटै मान्छेले जालो पारेको रहेछ । मनलाग्दी छ ।’

ती सदस्यले भने, ‘सहकारी विभागका मान्छेहरूले पनि एउटै व्यक्तिको यति नेटवर्क हुँदा राज्य के हेरेर बसेको थियो भन्ने पनि प्रश्न छ ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : १६ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन