नेपालमा पटक पटक ठूला महत्त्वपूर्ण लोकतान्त्रिक आन्दोलनहरू भए । ०७ साल, ०३६ साल, ०४६ साल हुँदै ०६२/६३ को आन्दोलनहरूमा हामीले लोकतन्त्रको माग , नागरिक सर्वोच्चताको माग गर्यौँ । त्यसमा हाम्रा अनेकौँ जीवनसँग, संमृद्धिसँग जोडिएका सपनाहरू थिए । र आज यसो फर्केर हेर्दाखेरि हामीले नेताहरूले जे जे भने त्यो गर्यौँ । आन्दोलनमा आऊ भने आन्दोलन गर्यौँ । नारा लगाऊ भने नारा पनि लगायौँ । सारा मान्छे सडकमा निस्क भने सडकमा पनि निस्कियौँ । त्यो सबै त हाम्रो सपनाहरू पूरा होला भनेर गर्यौँ । तर आजको मितिमा केही पूरा भएनन् । न गरिबीबाट मुक्त हुने सपना पूरा भयो । त देश समृद्ध हुने सपना पूरा भयो । साना साना सपनाहरू पनि पूरा भएनन् । त्यसैले नागरिक रिसाएका छन् ।
०४६ सालको राजनीतिक परिवर्तन ०४८ सालको आवधिक चुनाव पछाडिको घटनाक्रमहरू हेर्ने हो भने कांग्रेस अहिले पनि सत्तामै छ । ऊ आफै ढुक्क छैन– अहिलेको संविधान र परिवर्तनका सन्दर्भमा । एमालेको प्रवृत्ति पनि त्यही हो । माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी कम्तीमा अहिलेको यो ०६२– ६३ पछाडिको परिवर्तनमा कहीँ मिसिएर आएका केही न केही फरक दल भनेर भनिएको छ । तिनीहरू सत्ताको वरिपरि छन् , सत्ता निकट छन् । कम्तीमा एउटा शक्तिले त ढाडस दिनुपर्थ्यो ।
दलहरू सशङ्कित छन् । त्यसको आफ्नै कारण छ । मेरो सत्ता शक्ति र समृद्धि कसैले खोस्ला भन्ने डर र त्रासको कारणले दलहरू सशङ्कित भएका हुन् । तर नागरिक आक्रोशित छन् । त्यसको कारण भनेको हामीले धोका पायौँ, हाम्रो विकास र समृद्धिको आशामाथि कुठाराघात भयो भन्ने हो ।
हाम्रा दलहरूले सत्ताभन्दा परको कुरा नै देख्न सकेनन् । नागरिक र दलको शङ्का चासो सपना एउटै भएको भए यो सबै कुरा परिवर्तन हुन्थ्यो । यो फरक भइदियो । दल र नागरिकको बीचमा यति ठूलो फरक भयो कि सपना, डर, आक्रोश पृथक् भएर देखियो । यही नै आजको संकट भयो ।
यो सङ्कटलाई ढाडस दिने कोही त हुनुपर्थ्यो । या त पुरानो दलबाट एउटा नयाँ पुस्ता आउनुपर्थ्यो । त्यसले जे जे भयो सकियो अब राम्रो गर्छौँ भनेर भन्नुपर्थ्यो । कि त नयाँ एउटा यस्तो राजनीतिक दल बन्नुपर्थ्यो, पुरानालाई धन्यवाद दिएर नयाँ रूपमा नागरिकको सपना पूरा गर्न लाग्छौँ भनेर संकल्प गर्नुपर्थ्यो । त्यसैले अहिलेको सङ्कट पुरानोमा पुनर्गठनको ऊर्जा नदेखिनु र नयाँ बन्ने प्रक्रिया पनि कहीँ न कहीँ अवरुद्ध हुनु या अराजकतातिर जानु हो ।
नयाँ भन्ने बित्तिकै नयाँ पार्टी हैन । एउटा विचारसहितको, एजेन्डासहितको पुरानालाई जहाँ आलोचना गर्छौँ । त्यो आलोचनालाई सम्बोधन गर्न सक्ने त्यो दल पनि देखिँदैन । यी कारण नागरिकले ढाडस पाएनन् । आजको सत्य के हो भने मान्छे खुसी छैन । सपनाहरू पूरा भएनन्, भाँडिएको छ । लोकतन्त्रको आत्मा हराएको छ । यसका तीन कारण छन् । एउटा मान्छे निराश छ । फलस्वरूप ऊ पलायनतिर जान्छ ।
अर्को, यिनलाई छोड्दिन भनेर अराजक भएको छ । जसले नारा लगाउँछ, यसलाई छोड्दिन भन्दै अराजकतातिर लागेको छ । अर्को आन्दोलिततिर जानुपर्ने हो तर त्यो सफल भएको देखिएन । पात्र र प्रवृत्तिमाथि नै प्रश्न छ ।
आजको सङ्कट एक जना मान्छेलाई किन समातिस् ? भन्नेबाट समाधान हुँदैन । आजको सङ्कट नेपालका बैङ्कहरूको ब्याज चर्को भयो, त्यसैले गर्दा भन्ने कुराले समाधान हुँदैन । आजको मुलुकको सङ्कट अहिले देखिएका मान्छेलाई भड्काउने, केही अलिकति उग्र नाराले पनि समाधान गर्दैन ।
मुलुकको पहिलो सङ्कट भनेको हाम्रो राजनीति, राजनीति जस्तो भएन, दल दल जस्तो रहेनन् भन्ने नै हो । अब यसको सङ्कट हामीले रविमा वा कुनै मान्छेमा केन्द्रित गरेर ल त अब हामी आयौँ भनेर हुँदैन । कस्तो दल कस्तो राजनीति कस्ता पार्टी र कस्तो नेतृत्व हामी चाहन्छौँ त्यहाँबाट खोज्नुपर्यो । त्यतातिर अहिले सडकमा त्यति कुरा भएको म देख्दिन । आन्दोलन त्यतातिर जानुपर्छ ।
अर्थतन्त्र धराशायी छ । यही कारणले बैङ्कका ब्याजहरू त्यहाँ केन्द्रित गर्न सक्दैनौँ । हाम्रो आर्थिक आधारहरू के हुन सक्छन् ? राज्यले ठीक हिसाबले ध्यान दिन सकेको छैन ? ०४६ सालपछि वा त्यो भन्दा अगाडिका भ्रष्टाचारका आधारहरू के के हुन् ? त्यसलाई समाप्त गर्न हाम्रो नीतिगत र संरचनागत प्रयास कस्तो हुनुपर्छ र कसरी हामी साँच्चै नै यो मुलुकमा भ्रष्ट्राचारको अन्त्य हुन्छ भन्ने विषयलाई प्रस्ट गर्न सक्छौँ । त्यसको लागि कानुन र संरचना कस्तो चाहिन्छ भन्ने कुरालाई धान्न सक्नुपर्छ, त्यो देखिँदैन ।
हाम्रो भूराजनीति असाध्यै गिजोलिएर बसेको छ । हामी हाम्रो राष्ट्रिय स्वाभिमान, राष्ट्रिय गौरवलाई कसरी स्थापित गर्न सक्छौँ ? त्यसको लागि हामीले राज्यमा, राजनीतिमा नेतृत्वमा ल्याउन चाहेको बदलाव के हो ? नीतिगत बदलाव के हो ? त्यसमा गम्भीर विमर्श देखिएको छैन । त्यसमा गम्भीर रूपमा के हुनुपर्छ भनेर सडकबाट बौद्धिक समूहले वा त्यसमा चासो दिने मान्छेहरूले बोल्नुपर्छ ।
गरिबी विकास हाम्रो सङ्कट हो । यी सङ्कटहरू समाधान गर्न अथवा समावेशीकरणको कुरा कतिपय जातीय विभेदको अन्त्य गर्ने कुरा पर्छन् । अलिकति राज्यको चरित्रलाई बदल्ने कुरा छन् । हामीले संरचना त फेर्यौँ । राजाका ठाउँमा हामीले राष्ट्रपति त ल्यायौँ । हामीले एकात्मकलाई प्रादेशिक संघीयमा लग्यौँ । तर अब यसको चरित्रलाई बदल्ने कुराले गम्भीर नारा माग्छ, गम्भीर नागरिक हस्तक्षेप माग्छ । यसमा हामी त्यति धेरै प्रबल भएर अगाडि बढेका छैनौँ । त्यसकारण अहिले सडकमा जुन खालको आन्दोलन छ, त्यसले हाम्रा समस्या समाधान गर्दैन । अलिकति सु–विचारित आन्दोलन आवश्यक छ ।
जब राज्यले नागरिकका सपनाहरू पूरा नगरेपछि पलायन स्वाभाविक हुन्छ । जब युवाले यहीँ भविष्य देख्छ । अर्थतन्त्रको अवस्थामा सुधार हुन्छ, चलायमान हुन्छ । त्यसो भए त कसलाई रहर हुन्छ, आफ्नो परिवार छोडेर जानको लागि । तर जब अगाडि सम्पूर्ण चिज अन्धकार हुन्छ, अवसरका ढोका बन्द हुन्छ । आफ्ना जिम्मेवार ३ करोड नागरिकलाई उज्यालो भविष्य दिन नसक्ने, रोक्न नसक्ने यो राजनीतिको के काम भनेर प्रश्न गर्नुपर्छ । त्यसैले राजनीतिलाई बदल्नु पर्छ ।
अहिले हाम्रोमा कोही कसैप्रति विश्वस्त छैन । कसैले ठीक हिसाबले परिणाम दिन सकेको छैन । जब सङ्कट ठूलो आउँछ, त्यसमा साधारण विकल्प खोजेर समाधान हुँदैन । यसको लागि दुई वैकल्पिक हिसाबले आउन सक्छ । पहिलो अहिले राजनीतिक दलमा पुरानो पुस्ताको नेतालाई बिदा गर्ने र नयाँ सम्भावना सहितको नयाँ सम्भावना भनेको एउटा व्यक्ति पुरानो नेताको बदलामा अर्को आओस् भन्ने हैन । त्यसले नयाँ राजनीतिक बदलाव भएको, नेतृत्वको कुरा, विचारको कुरा, एजेन्डाको कुरा संस्कार संस्कृतिको कुरामा बदलाव ल्याउने गरी नेपाली कांग्रेस, एमालेभित्र अथवा अन्य पार्टीभित्र दोस्रो पुस्ताले हस्तक्षेप गरेर अब यो नयाँ एमाले, कांग्रेस, माओवादी हो भन्ने परिचय स्थापित गर्न जरुरी छ । यसका एजेन्डा नयाँ हुन् भन्ने हिसाबबाट पार्टी भित्रका पुस्ताहरूले हस्तक्षेप गर्नुपर्यो ।
दोस्रो अब पुरानो पार्टीहरूबाट हुँदैन, उहाँहरूलाई धन्यवाद दिँदै नयाँ पार्टी बनाउने । अब नयाँ विचार, एजेन्डा र नेतृत्वको विश्वासले नयाँ पार्टी बनाउनु पर्यो । नामको मात्रै पार्टी त हाम्रा धेरै छन् । यो दुवै तरिकालाई अगाडि बढाउन नागरिकले, आन्दोलनले, बहसले अगाडि लानुपर्थ्यो तर यो अलिकति सुस्त भएको छ । अराजकता बढेर गएको देखिएको छ ।
लोकतन्त्रले पार्टी खोल्ने अधिकार दिएको छ । कुनै पार्टी खुले, त्यसले नयाँ ज्ञान दियो, त्यसका कमजोरीहरू के रहे भन्ने अर्को पुस्ताले देख्यो । के कारणले असफल भयो अर्को पुस्ताले सिक्न पायो । त्यसैले पार्टीहरू खुल्ने क्रम निरन्तर नै चलिरहने कुरा हो । अहिलेसम्मका अनुभव, ज्ञान र विचारलाई एकचोटी मनन गरेर हाम्रा विगतका कमी कमजोरी के भए, नयाँ पार्टी निर्माणका प्रक्रिया के भए ? नेपाली समाज रूपान्तरणका लागि कस्तो पार्टी चाहिन्छ ? भन्ने कुराको सही सम्प्रेषण गरेर एउटा धक्का हान्नु आवश्यक देखिन्छ ।
हामीले भन्न त नयाँ पुस्ता भनेर भन्छौँ । तर नयाँमा पुरानाको दौराको फेर समातेर पछिपछि हिँड्ने बाहेक फरक प्रवृत्ति देखिँदैन । कांग्रेसमा गगन थापाहरूले प्रयत्न गरेको देखिन्छ । अलिकति उहाँहरू शेरबहादुर देउवालाई पनि अथवा पार्टी भित्र पनि कस्तो पार्टी, कस्तो लोकतन्त्र, कस्तो कांग्रेस भन्ने कुरामा अलिकति बहस गरेको त देखिन्छ । तर त्यो कतिसम्म हस्तक्षेपकारी हुनसक्छ थाहा छैन । तर अरु पार्टीहरू भित्र हेर्यो भने त त्यो ऊर्जा नै देखिँदैन ।
एउटा वैकल्पिक पार्टी आएर पुग्दैन । र कांग्रेस कम्युनिस्टहरू निमिट्यान्न भएको पनि हैन । त्यहाँनिर पनि नयाँ पुस्ताले हस्तक्षेपको प्रयत्न गरेको छ र बाहिर भएको वर्ग पनि चुप लागेर बस्नु भएन । सरकार परिवर्तन र राजनीतिक परिवर्तन चाहिँ फरक कुरा भयो । सरकार त परिवर्तन भइरहेकै छ । कहिले प्रचण्ड आउनु हुन्छ कहिले कांग्रेस र एमाले एक हुन्छन् । यो चलिरहेकै छ । पटक पटक नेपालमा जुनखाले प्रयोग र परीक्षण भए त्यसले जलन भन्दा बाहेक अरु केही दिन नै सकेन । हामीलाई अहिले राजनीतिक परिवर्तन चाहिएको छ ।
हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिवर्तन चाहिएन । किनकि त्यो चिज हामीले ल्यायौँ नै । संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा ठूलो चिज केही नै छैन राजनीतिक प्रणालीको हिसाबले हेर्दा । हामीसँग लोकतन्त्र, सङ्घीयता छ ।
परिवर्तन चाहिने भनेको त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई उत्साहित गर्न हामीसँग भनेजस्तो पार्टी नेतृत्व र राज्य संरचना भएन । राजनीतिक रूपमा हामीले एउटा उन्नत व्यवस्था त ल्यायौँ तर त्यो व्यवस्थाले आफै काम गर्दैन । व्यवस्थाले काम गर्न त्यो व्यवस्था सञ्चालन गर्ने नेतृत्व र राजनीतिक संरचनासँगै राजकीय संरचना हामीलाई आवश्यक पर्छ ।
जसरी घरमा बाबा आमाले छोराछोरीलाई हामीले यहाँसम्म ल्यायौँ, अब तिमीहरूले अगाडि बढाउनु पर्छ भनेर भन्छन् त्यसै गरी हाम्रा नेताले चाहिँ समातेर बस्नुपर्छ भन्ने छैन । नयाँ पुस्ताले अब उहाँहरूलाई धन्यवाद दिनु पर्छ । र अब उहाँहरूले हामीले जति सक्यौँ गर्यौँ अबको नयाँ पुस्ताले गर भनेर भन्नुपर्यो । नभने अब यसलाई बदल्नुपर्छ ।
शेरबहादुर देउवाले बुझेको लोकतन्त्रभन्दा गगन थापाले बुझेको लोकतन्त्र उन्नत लोकतन्त्र हो । किनकि उहाँले आजको पुस्तासँग आजको पुस्ताले चाहेको लोकतन्त्र के भन्ने थाहा छ । त्यस्तै अरु पार्टीमा पनि पुरानोले योगदान गर्नुभयो तर नयाँ पुस्ताले अबको इतिहास म बनाउँछु भनेर लाग्ने अवसर दिनु पर्छ । राजनीति भनेको सत्तामै पुग्नु मात्रै हैन । संसारमा धेरै राम्रा महान् नेता छन् जो सत्तामा कहिल्यै पुगेनन् ।
हाम्रोमा त जोगी हुन राजनीति गरेको हो र भन्ने पनि छौँ । यो भाष्यमा बदलाव ल्याउन आवश्यक छ । राज्यले चाह्यो भने भन्ने हैन नागरिकले चाह्यो भने भन्नु पर्यो । नागरिकले बनाएको हो राज्य । (विश्लेषक केशव दाहालले राखेको धारणाको सम्पादित अंश:)
प्रतिक्रिया