रामगोपालपुरमा चुनावी सरगर्मी « Khabarhub

रामगोपालपुरमा चुनावी सरगर्मी


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ । जिल्लाको रामगोपालपुर नगरपालिका–२ को वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक गतिविधि निकै बढेसँगै माहोल तात्दै गएको हो ।

जिल्लामा एउटा वडाध्यक्ष पदका लागि मात्र मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । विभिन्न राजनीतिक दलले त्यही एउटा पदको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सबै शक्ति खन्याइरहेका छन् । उम्मेदवारको विधिवत् मनोनयन दर्ता आउने आइतबार हुने भए पनि दलहरूका गतिविधि भने रामगोपालपुर–२ मा एक साता पहिलेदेखि नै सघन देखिँदो छ । 

सो वडामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले दुई-दुई पटक चुनावी प्रचार र्‍याली सम्पन्न गरिसकेका छन् । दुवै दलका कार्यक्रममा उच्च तहका नेताहरूको सहभागिताले उपनिर्वाचनको माहोल झनै तातेको छ ।

माओवादी केन्द्रको कार्यक्रममा सो दलका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलसहितका नेता सहभागी भएका छन् । त्यसैगरी नेकपा (एमाले) ले पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्लाका पदाधिकारीसहितको सहभागितामा पहिलोचरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

सो वडामा यसअघि माओवादी केन्द्रका मुकेशकुमार यादव निर्वाचित भएका थिए। यादवको दुई महिना पहिले निधन भएपछि अहिले यहाँ उपनिर्वाचन हुन लागेको हो । यस उपनिर्वाचनमा माओवादी केन्द्रले स्व यादवकी पत्नी आइती यादवलाई उम्मेदवार घोषणा गरेको छ । 

यसैगरी नेकपा (एमाले)ले सकिवुल खानलाई उम्मेदवार घोषणा गरेको छ । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट उम्मेदवार रहेका खान यस पटक एमालेबाट उम्मेदवार घोषणा भएका हुन् ।

यसैगरी नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँ र जसपाले नजामुद्दिन खानलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् । जनिफ यसअघिको निर्वाचनमा पनि नेकाकै उम्मेदवार थिए र निकटतम प्रतिस्पर्धी बनेका थिए । जसपाका पहिलेका उम्मेदवार सकिवुल भने एमाले प्रवेश गरेपछि सो दलले नजामुद्दिनलाई उम्मेदवार घोषणा गरेको छ ।

यसअघिको निर्वाचनमा विजयी हुने मुकेशकुमार यादवले ४३३, निकटतम प्रतिस्पर्धी नेकाका जनिफ खाँले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए। सो वडामा दुई हजार २०० मतदाता छन् ।

वडामा यसअघि निर्वाचन जितेको माओवादी केन्द्र आफ्नो ठाउँ गुम्न नदिन भरपुर प्रयत्नमा देखिन्छ । यसैगरी सो वडाकै मतदाता रहेका एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभामा एमाले संसदीय दलका नेता र मधेश सरकारमा दोस्रो वरियताका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । 

यसैगरी नेका र जसपाले आफ्नो जनाधार बढेको बताउँदै चुनाव जित्ने दाबी गरिरहेका छन् । जिल्लाको एक वडामा मात्र उपनिर्वाचन हुन लागेको हुँदा सबै दलका नेता अहिले चुनावी तयारीमा रामगोपालपुर–२ का घरघर पुग्दैछन् ।

 यो उपनिर्वाचनले राजनीतिक माहोल निकै तताएको सो वडाकै बासिन्दा विगतमा जिविसका उपसभापति भइसकेका गणेशप्रसाद यादव बताउँछन् ।

उपनिर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्बद्ध सबै पक्षसँग अपिल गरेको छ । उपनिर्वाचनका लागि जनशक्ति व्यवस्थापनदेखि अन्य सबै तयारी ठिकठिक समयमा पूरा गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  २ : ०६ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार