संविधान संशोधन छलफल चलाउने संयन्त्र के गर्दैछ ? | Khabarhub Khabarhub

संविधान संशोधन छलफल चलाउने संयन्त्र के गर्दैछ ?

नेता भन्छन् – भित्री काम भइरहेको छ



काठमाडौं –  सरकारका हरेक कामलाई सघाउने गरी सत्तारुढ एमाले र कांग्रेसले गत कात्तिक २१ गते राजनीतिक संयन्त्र बनाएका थिए । सरकारको काम प्रभावकारी बनाउन संयन्त्र गठन गरिएको गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले बताएका थिए ।

संयन्त्रले संविधान संशोधन गर्ने एजेण्डामा पनि छलफल गर्ने भनेको थियो । तर, त्यो संयन्त्रले अहिलेसम्म देखिने गरी कुनै काम गर्न सकेको छैन ।

हुन त गत असारमा बनेको दुई ठूला दलको गठबन्धन सरकारले पनि जनतामा खासै उत्साह भर्न नसकेको एमाले कांग्रेसकै केही नेताहरू स्वीकार गर्छन् । कांग्रेसका एक नेताले खबरहबसँग भने, ‘सरकारले काम राम्रो गरेन भनेर हामीले कार्यसम्पादन समितिमा पटक–पटक कुरा उठाएका छौँ, यो राजनीतिक संयन्त्र त मान्छे अलमल गर्ने मेलोजस्तो भयो ।’

प्रधानमन्त्री आलोपालो चलाउने सहमतिअनुसार प्रधानमन्त्री बनेका ओलीले चाहेजति काम गर्न नसकेको भन्दै मंगलबार बसेको पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए । बैठकमा ओलीले बाहिर निराश हुनुपर्ने नै अवस्था त नभएको तर कांग्रेस–एमाले मिल्दा गठबन्धन सरकारले गर्नुपर्ने दायित्वमा भने केही कमी कमजोरी भएको स्वीकार गरेको स्रोतको भनाइ छ । एमाले बैठकमा यसबारे दुबै दलले समीक्षा गर्नुपर्ने छलफल चलेको थियो ।

सरकारलाई सफल बनाउन बनेको आठ सदस्यीय संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा रहेका छन् । एमाले–कांग्रेसका पढेलेखेका र सिनियर नेताहरू रहेको यो संयन्त्रले खासै काम गर्न सकेको छैन ।

सरकार गठनको सातबुँदे सहमतिअनुसार आगामी ०८३ साल असार ३० गतेसम्म ओली प्रधानमन्त्री रहन्छन् । त्यसपछि ०८४ मंसिरमा हुने आम निर्वाचनसम्म सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

कांग्रेस-एमाले सातबुँदे सहमति ।

सातबुँदे सहमतिको २ नम्बर बुँदामा ‘राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न गर्ने र संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा रहेका र देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भनिएको थियो । तर, पाँच महिना बित्न लाग्दा पनि यसबारे खासै छलफल भएको देखिँदैन ।

हालसम्म संयन्त्रका सात–आठवटा बैठक बसेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल बताउँछन् । उनी भन्छन्, ‘अहिले संयन्त्रले आफ्नो ढंगले काम गरिरहेको छ । प्रदेश र जिल्ला–जिल्लामा पनि हामीले संयन्त्रको छलफल गरिरहेका छौँ । यता केन्द्रको संयन्त्रले पनि सरकारको काम कारबाहीमा सहयोग गर्ने र सल्लाह दिने काम गरिरहेको छ । संयन्त्र जुन उद्देश्यका लागि बनेको थियो, त्यो उद्देश्यमा पुगेरै छाड्छ ।’

पुसभरिमा सबै जिल्लामा संयन्त्र बन्ने र परामर्श र छलफलहरू सुरु हुने पोखरेल दाबी गर्छन् ।

यो पनि –

संविधान संशोधन : टाउको दुखेको दबाई नाइटोमा !

दुई तिहाईको भुलभुलैया : प्रदेश खारेज असम्भव

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि राजनीतिक संयन्त्रले अहिले सातबुँदे सहमतिअनुसार काम गरिरहेको दाबी गर्छन् । उनी सहमति अक्षरशः कार्यान्यन हुने तर्क गर्छन् ।

कांग्रेस उपसभापति खड्काले खबरहबसँग भने, ‘हामी सातबुँदे अनुरूप जान धेरैवटा बैठक बसेर अध्ययन गरिरहेका छौँ । त्यहीअनुसार काम अगाडि बढिरहेका छन् । सरकार पनि स्मार्ट रूपमा चलिरहेको छ । त्यो सहमति तलमाथि नहुने गरी काम हुन्छ । संयन्त्रहरू पनि जिल्ला–जिल्लामा परिचालन भएपछि सरकारको उद्देश्यअनुरूप काम भएर नै छाड्छ । भित्री काम भइरहेको छ ।’

प्रदेश र जिल्लासम्म भागबण्डा

कांग्रेस एमालेले सरकारलाई सहयोग गर्ने भन्दै विभिन्न प्रदेश र जिल्लामा समेत राजनीतिक संयन्त्र बनाएका छन् ।

तर, जिल्लाका ती संयन्त्रहरु संविधान संशोधनको मुद्दामा बहस गर्ने भन्दा पनि पत्रकार महासंघको चुनावमा हस्तक्षेपकारी विज्ञप्ति निकाल्नतिर केन्द्रित छन् । संयन्त्रको ध्यान संविधानमा नभएर राजनीतिक भागबण्डामै सीमित देखिएको छ ।

अहिलेसम्म कोशी प्रदेश र बागमती प्रदेशमा संयन्त्र गठन भएको छ । कोशीमा कात्तिक २८ गते संयन्त्र बनाइएको छ । यो संयन्त्रमा ३/३ जना कांग्रेस–एमालेका नेताहरू छन् । कोशीको संयन्त्रमा एमालेका तर्फबाट एमाले कोशी प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा छन् । कांग्रेसबाट कोशी प्रदेश सभापति एवम् पूर्वमुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई र महामन्त्री उमेश थापा छन् ।

बागमती प्रदेशमा कात्तिक २५ गते राजनीतिक संयन्त्र बनेको थियो । बागमती प्रदेशको संयन्त्रमा कांग्रेसबाट प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बहादुर सिंह तामाङ, पार्टी प्रदेश कार्यसमिति उपसभापति चन्द्र महर्जन छन्। एमालेबाट पार्टी प्रदेश इन्चार्ज राजन भट्टराई र बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल संयन्त्रमा छन् ।

बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माणको प्रकृया सुरु भएको नेताहरुको भनाइ छ । पुस अन्तिमसम्म सबै प्रदेश र जिल्लामा राजनीतिक संयन्त्र गठन भइसक्ने तर्क गर्छन् ।

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

संयन्त्रबारे ओलीको सैद्धान्तिक असहमति

कांग्रेस र एमालेले जिल्ला तहसम्म राजनीतिक संयन्त्र बनाए पनि यसअघि भने स्वयं केपी शर्मा ओली राजनीतिक संयन्त्रको आलोचक थिए । यस्तो संयन्त्रलाई संविधानले नचिन्ने र सरकारको अधिकारमाथि हस्तक्षेप हुने ओलीको तर्क थियो ।

०७६ चैत ११ बाट कोरोनाका कारण लकडाउन ब्यहोर्नुपरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सघाउनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्ताव गरेका थिए । त्योबेला सत्ताको नेतृत्व नै गरिरहेका एमाले अध्यक्ष ओलीले त्यसको विरोध गरेका थिए ।

तर, अहिले ओलीकै प्रधानमन्त्रित्वकालमा जिल्ला तहसम्म संयन्त्रहरु बनिरहेका छन् । के यस्तो संयन्त्र प्रधानमन्त्री ओलीको इच्छा विपरीत बनेको हो ?

यो प्रश्नमा संयन्त्रकै सदस्य रहेका कांग्रेसका एक नेता नेताले खबरहबसँग भने, ‘संयन्त्र प्रधानमन्त्रीसँग सल्लाहमै गठन भएको हो र यसले काम पनि सल्लाहमै गरिरहेको छ ।’

संविधान संशोधनबारे किन भएन छलफल ?

संविधान संशोधनको एजेण्डामा मसिनो गरी छलफल गर्ने सबै दलको सहमति आवश्यक ठानेर नै यो संयन्त्र बनाइएको नेताहरुको दाबी छ । एमाले वरिष्ठ उपाध्यक्ष पोख्रेल भन्छन्, ‘संविधान कति कार्यान्यन भयो, कति भएन, विज्ञहरू, सबै दलहरू र सरोकारवाला निकायसँग पनि छलफल हुन्छ । त्यसको गृहकार्य हुँदै छ । कामहरू हल्ला गरेर गर्ने विषय भएन । दलहरूमा पनि सहमति जुटाउने विषय गम्भीर छ । छलफल हुने पाटो थुप्रै बाँकी छन् ।’

यता कांग्रेस उपसभापति खड्का पनि पोख्रेलको भनाइमा सहमति जनाउँछन् । उनी संयन्त्रले संविधान संशोधन के–के कुरामा गर्ने स्पष्ट रूपमा सबै सरोकार निकायसँग छलफल गर्ने दाबी गर्छन् । ‘यो हतार गरेर गर्ने विषय भएन । केही ढिलो भयो होला तर संयन्त्रले अनौपचारिक बैठक बसेर कामहरू गरिरहेकै छ’ खड्काले भने, ‘अहिले बाहिर आउने गर्ने गरी काम भएको छैन । आन्तरिक तयारी व्यापक रूपमा भइरहेको छ । पुसपछि केही विषयमा छलफल हुन्छ ।’

यता, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ दलहरूले संविधान संशोधनबारे मसिनो गरी छलफल गर्ने भए कार्यान्यनको अवस्था पनि केलाउन आग्रह गर्छन् । उनी केही एजेण्डामा संशोधन आवश्यक भएको बताउँदै यसका लागि सबै दलको सहमति जुट्न आवश्यक भएको बताउँछन् ।

कहिले होला त संविधान संशोधन ?

कांग्रेस–एमाले सरकार गठनको महत्वपूर्ण एजेण्डा हो संविधान संशोधन ! मुलतः निर्वाचन प्रणालीमा संशोधन गरेर कुनै एक दलको बहुमत आउने प्रणाली स्थापना गर्ने दुई दलबीच सहमति भएको छ ।

यसका लागि सर्वप्रथम संविधानमा के–कस्तो संशोधन गर्नु उपयुक्त हुन्छ भन्नेबारे अध्ययन गर्नु जरुरी देखिन्छ । यसमा राजनीतिक दलको संयन्त्रले मात्रै अध्ययन गरेर पुग्छ या विज्ञहरुको आयोग नै बनाउनुपर्छ ? यसबारे कांग्रेस–एमालेमा स्पष्टता देखिँदैन ।

दोस्रो कुरा– संविधान संशोधन कहिलेसम्म गर्ने ? यसको टाइमलाइन के हो ? जबकि केपी ओलीले सरकारको नेतृत्व गर्ने अवधि अबको एक वर्ष ७ महिना मात्र बाँकी छ । संविधान संशोधनका लागि समय लाग्न सक्छ । मानिलिऔं– अध्ययन गर्न दुई महिना लाग्ला । संशोधनको ठोस प्रस्ताव तयार पार्न केही महिना लाग्न सक्छ । त्यसपछि दुई तिहाईका लागि दलहरुसँग सहमति जुटाउने प्रयास गर्नुपर्ने हुन्छ र त्यसका लागि पनि केही महिना खर्च हुन्छ ।

यसो गर्दा केपी ओली नेतृत्वको सरकारले अबको १७/१८ महिनामै संविधान संशोधनको प्रस्ताव तयार पारेर त्यसलाई मूर्त रुप दिन भ्याउँछ कि भ्याउँदैन ? यो प्रश्नमा सत्तारुढ दलका नेताहरुमा खासै गम्भीरता देखिएको छैन ।

यो पनि –

संविधान संशोधन : बतासिएको एजेण्डा

स्मरणीय के छ भने संविधानको धारा २७४ को प्रक्रिया हेर्दाखेरि संविधान संशोधनको प्रस्ताव तयार भएर संसदमा दर्ता गरिसकेपछि पनि यसले केही महिना समय लिन सक्छ ।

प्रस्ताव पेश भएको एक महिनाभित्र सार्वजनिक जानकारीका लागि प्रकाशित गर्नुपर्ने, संसदमा प्रस्तुत भएको ३० दिनभित्र सातै प्रदेशमा पठाउनुपर्ने र प्रदेशसभाले त्यसलाई तीन महिनासम्म आफैंसँग राख्न पाउने संवैधानिक प्रावधान हेर्दा संघीय संसदमा प्रस्ताव पेश भएपछि पनि संविधान संशोधनको प्रक्रिया टुंगो लाग्न ५/६ महिना लाग्न सक्छ ।

यसमा अर्को पनि ध्यान दिनुपर्ने पक्ष छ । संविधान संशोधन भएर मात्रै पुग्दैन, संविधान फेरिएपछि ०८४ को चुनावअघि नै निर्वाचन कानून पनि तदनुरुप बनाउनुपर्ने हुन्छ । यसका लागि थप केही महिना समय लाग्न सक्छ ।

तर, ओली सरकारको पारा हेर्दा ओलीकै नेतृत्वमा संविधान फेरिएर त्यसअनुसारको नयाँ कानून बन्ला भन्ने देखिँदैन ।

केपी ओलीकै पालामा संविधान संशोधन भएन भने देउवा प्रधानमन्त्री भएपछि संविधान र निर्वाचन कानून संशोधन गर्न भ्याइन्न । किनभने, देउवा ०८३ साल असारपछि प्रधानमन्त्री बन्नेछन् ।

उनीसँग जम्मा १५ महिना समय हुनेछ, त्यसमध्ये ०८४ मंसिरमा चुनाव गर्न ०८४ भदौदेखि सरकारको भूमिका कामचलाऊ भइसक्छ, नीतिगत निर्णय गर्न मिल्दैन । निर्वाचन आयोगलाई कम्तिमा ६ महिना पहिले नै कानून दिइसक्नुपर्ने हुन्छ, त्यसका लागि ०८४ सालको सुरुआती दिनमै नयाँ कानून बनाइसक्नुपर्छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  २ : ५० बजे

गगन थापा भन्छन्- अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु 

काठमाडौं– नेपाली कांग्रेसका थापाले महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत

नवजात शिशुको श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि

सर्वोच्चको फैसलाले १९ हजार मेगावाट आयोजना प्रभावित हुन्छ : इप्पान 

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सर्वोच्च अदालतले

सरकारी वेबसाइट, डाटा र नेट्वर्क सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’

काठमाडौं– सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय