काठमाडौं – हातमा कागजपत्रको झोलासहित काठमाडौंको सडकमा भेटिए भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधान । उनको झोला सामाजिक सुरक्षाभत्ता नवीकरण गर्ने फारमसहित वडा कार्यालयका कागजपत्रले भरिएको थियो ।
सरकारी भाषामा भन्दा आफ्ना वडाबासीका लागि उनी काठमाडौंमा सानोतिनो घुम्ती शिविर चलाइरहेका थिए, त्यो पनि एक्लै ! उनले प्रतिनिधित्व गर्ने वडाका २० जना वृद्धवृद्धाको बसोबास काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छ । उनीहरू सबैजना अशक्ता र वृद्ध अवस्थाका छन् । सामाजिक सुरक्षाभत्ताको कागजपत्र नवीकरण गर्न भोजपुर जान सक्दैनन् ।
त्यसैले प्रधान आफैँ ‘झोलामा वडा कार्यालय बोकेर’ काठमाडौं आउँछन् । सकेसम्म ती सबै वृद्धवृद्धाको घर पुग्छन्, नसके सडकमै जहाँ भेटिन्छन् – त्यहीँ सामाजिक सुरक्षाभत्ता नवीकरण गराउँछन् ।
‘काम गर्नलाई जहाँ गएपनि समस्या छैन । यसपटक म वृद्धभत्ता नवीकरण गराउनकै लागि आएको हुँ । काठमाडौं आउने अरू काम थिएन । मेरो वडाका २० जनाको वृद्धभत्ताको कागजपत्र नवीकरण गराएँ’, उनले भने, ‘कसैलाई सडकमै भेटेँ, कतिपयको घरमा पुगेँ । कसैलाई अस्पतालसम्म पुगेर वृद्धभत्ता नवीकरण गराएँ ।’
भोजपुर नगरपालिकाका अरू वडाध्यक्षले यो काम कार्यालयमै बोलाएर गर्छन् । तर, उनले आफ्नो वडाबाट काठमाडौंमा अस्थायी बसोबास गर्नेलाई यहीँ आएर सेवा दिइरहेका छन् ।
‘मेरो कार्यक्षेत्र त भोजपुर नै हो । तर, काठमाडौं आउँदा फर्मसहितका कागजपत्र ल्याउँछु, आफैँ भरिदिएर सेवाग्राहीको हस्ताक्ष र ल्याप्चे लिन्छु । यति भएपछि वृद्धभत्ता बैंक खातामै आइजान्छ । फर्म्याट र स्ट्याम्प साथमै बोकेर हिँड्छु । भत्ताको कार्ड र कागजपत्रमा दायाँबायाँ ल्याप्चे लाउने काम ठूलो होइन । मैले यति गर्दा वृद्धवृद्धाबाट आशीर्वाद पाउँछु ।’
जनताको काम जहाँबाट गरे पनि फरक नपर्ने उनको बुझाइ छ । ‘कतिको डेरामै पुग्ने हो, कतिलाई सडकमै भेटेर भर्ने हो’, उनले सुनाए, ‘यहाँ फर्म नवीकरण गरेपछि खातामै पैसा आउँछ । अरू वडाका यहाँबाट गाउँ नै जान्छन् । यहाँबाट मेरो वडामा पुग्न २० हजार खर्च लाग्छ। कोही ह्वील चियरमा बस्नेछन्, कोही बिरामी, उनीहरूका लागि मेरो कामले ठूलो राहत दिएको छ ।’
प्रधानले पाँच वर्षसम्म नवीकरण गर्न नसकेर बसेका एकजना सेवाग्राहीको वृद्धभत्ता ललितपुरको गोदावरीमै गएर नवीकरण गरिदिए । ‘मैले नवीकरण गरिदिएपछि एक वर्ष भत्ता खाएर उहाँ बित्नु भयो । राज्यले अशक्त भएरै दिएको सुविधा हाम्रो सानो पहलले मिल्छ भने किन नगर्ने’, उनले भने, ‘काठमाडौं आएर सेवा गरेवापत सन्तुष्टि पाइन्छ, भत्ता पाइँदैन । भत्ता मिलेन भनेर सेवा नगर्ने कुरो हुँदैन ।’
यसरी काम गरिदिँदा मिल्ने आशीर्वादले आफूलाई सन्तुष्टि मिल्ने उनले सुनाए । ‘मेरो सानो प्रयासले वडाबासी अशक्त नागरिक खुसी हुन्छन् । अध्यक्ष तपाईं नै भइरहनू भन्छन् । गाडी र जहाजमा पनि जान नसक्नेलाई सानो प्रयासले राहत भएको छ’, प्रधानले सुनाए ।
उनले भोटको लोभमा यस्तो काम गरेको आरोप पनि आउने गरेकोे बताए । ‘तर मैले पछि भोट आउँछ भनेर सेवा गरेको होइन । राजनीति गर्ने मान्छेलाई त्यो सामान्य हो, उनीहरूले मलाई भोट दिन्छन् भनेर लोभ गरेको होइन । मेरो सेवाबाट प्रभावित छन् । एकजना सेवाग्राही खुसीले रोएका छन्’, प्रधानले भने ।
एउटा वडाध्यक्षसँग जनताका आकाङ्क्षा कस्ता हुन्छन् त ? उनको बुझाइमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषितर्फ जनताले धेरै अपेक्षा गरेका छन् ।
‘जनताका आकांक्षा धेरै छैन । विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार्नुछ । स्वास्थ्य सेवाको कुरा पनि छ । ठूला विकास योजनाका कुरा गर्न सकिँदैन । बजेट पनि त्यहीअनुसारको चाहिन्छ । त्यसमा पहल चाहिँ गर्न सकिन्छ’, उनले भने, ‘राज्यले दिने सेवा गर्न सकिन्छ । शैक्षिक सुधार गर्न सकिन्छ । स्थानीय सरकार जनताको घर दैलोको भएकाले सेवामा कञ्जुस्याइँ गर्नु हुँदैन ।’
प्रधानको बुझाइमा वडाध्यक्षको काँधमा अथाह जिम्मेवारी छ । ‘कहिलेकाहीँ उज्यालो हुन्जेलसम्म काम हुन्छ । राति पनि आपद्विपद् पर्छ । झगडा मिलाउन जानुपर्छ । आगलगी हुँदा पनि दौडिनुपर्छ, नसके व्यवस्थापन गर्नुपर्छ । काम गर्नेलाई अथाह जिम्मेवारी र अवसर छ’, उनले भने, ‘समय व्यवस्थापन गर्न सकिन्छ । मोटरसाइकल छ कुद्न सकिन्छ । साधनबिना काम गर्न सकिँदैन ।’
सेवाभावले काम गर्दा ५ वर्षमा एउटा वडाको स्वरुप फेर्न सकिने उनले ठानेका छन् । ‘जतालाई दिने सेवा कहिल्यै पूरा हुँदैन । अझै अपुग हुन्छ । आफैं वडाध्यक्ष थिइनँ भने मैले आफूलाई पनि शतप्रतिशत नम्बर दिन सक्दिनँँ ।’
जनअपेक्षा
जनतामा सबैभन्दा धेरै भौतिक पूर्वाधार विकासको अपेक्षा हुने उनले सुनाए । वडामा पनि व्यापक परिवर्तन ल्याउन मेयर वा अध्यक्षको भूमिका राम्रो चाहिने उनको बुझाइ छ ।
‘भौतिक निर्माणको आशा जनतामा धेरै हुन्छ । शिक्षामा सुधार र कृषिमा पनि आशा हुन्छ । मेरो वडा कृषिप्रधान भएकाले अनुदान मिलाइदिने अपेक्षा हुन्छ’, उनले सुनाए ।
‘नगरपालिकाबाट मलाई वडामा आउने बजे ५० लाख हो । त्यो बजेट अपुग हुन्छ । सडक, खानेपानीको समस्या छ । वडामा माध्यमिकसहित ७ वटा विद्यालय छन्, मर्मत सम्भारमा खर्च हुन्छ’, उनले भने, ‘अझ बोखिम त भोजपुर सदरमुकामको करेसाबारी पनि हो । यहाँ जनतामा ठूलो अपेक्षा छ । विपन्न दलितहरू पनि छन् । ५० लाखले गाउँमा केही पनि हुँदैन ।’
वडाले अरू स्रोत जुटाउने कोशिश गरे पनि मेयरको सहयोग नभए त्यो सम्भव नहुने उनले ठानेका छन् । ‘सही ठाउँमा लगानी गर्ने र काम गर्ने हो भने एउटा मान्छेले पालिकाको स्वरुप फेर्न सक्छ । पालिका अध्यक्ष र मेयर राम्रो हुनुपर्छ । दृढ इच्छाशक्ति भएको व्यक्ति पालिकामा हुने हो भने गाउँ पाँच वर्षमा पूरै बदलिन्छ । तर मेयरमा इच्छाशक्ति नभए वडाध्यक्षले काम गर्न सक्दैनन्’, वडाध्यक्ष प्रधानले आफ्नो मूल्याङ्कन सुनाए ।
कृषिले गाउँ फेर्दै
बोखिमलाई भोजपुर सदरमुकामको करेसाबारी मानिने भएकाले त्यहीअनुसार उनले आफूलाई सक्रिय पारेका छन् । जनप्रतिनिधि भए पनि उनी आफैं कृषक हुन् । गाउँमै उनले कृषिकर्मलाई निरन्तरता दिएका छन् भने सदरमुकाममा अर्को व्यवसाय पनि छ ।
‘कृषिमा परिवर्तन गर्न बल गरिरहेको छु । मेरो वडाको दक्षिणतर्फको गाउँ पिप्लेमा सिचाइँको समस्या छ । भर्खरै सेरा खोलाबाट सिचाइँ आयोजनाको डीपीआर भएको छ । प्रदेशले पनि नयाँ योजनालाई १० लाख हालिदिएको छ । यसले धान खेतीका कृषकमा उत्साह ल्याएको छ’, प्रधानले भने, ‘कृषिलाई आधुनिकिकरण गर्ने मेरो जोडबल छ । मैले आफैं पनि खेती गरिरहेको छु । तलब दिएर एकजना र दैनिक ज्यालादारीमा सातजनालाई रोजगारी दिएको छु ।’
उनले बोखिममा अकबरे खोर्सानी खेती गरेका छन् । कुरिलो २० रोपनीमा रोपेका छन् । सुन्तला १५ सय बिरुवा रोपेका छन् । एभोकार्डो खेती पनि छ । कालो अङ्गुरको खेती पनि हुँदैछ ।
‘स्याउ पनि खेती गर्दैछु । अरू कृषकलाई पनि उत्प्रेरित गरिरहेको छु नेपालका कृषि वैज्ञानिकले प्रमाणित गरेको स्याउ रोप्दैछु । राष्ट्रिय कृषि फलफूल विकास केन्द्रको सिफारिसमा धापखर्क सहितमा बिरुवा रोप्ने काम भएको छ’, उनले भने ।
अहिले भोजपुरको अकबरे खोर्सानीले देशका ठूला उद्योगमा बजार पाएको छ । ‘भोजपुरका अकबरे खोर्सानी धेरै पिरो छ । भोजपुरे खोर्सानीको स्वाद कडा आएको छ । बासनादार छ । कतिपय खोर्सानी बोखिमबाटै लैजान्छन्’, उनले भने, ‘यहाँको खोर्सानीको माग ठूला चाउचाउ उद्योगबाट आएको छ । यदि बिकेन भने आफैं पनि उठाइदिन्छु ।’
कृषि फस्टाउँदै गएपछि शीत भण्डारको योजना पनि बनाएको उनले बताए । ‘मेरै दबाबले नगरपालिकामा ६ वटा कोल्ड च्याम्बर बनेको छ’, ‘बोखिम कृषिमै बलियो छ, कृषिबाट यहाँका बासिन्दाको आम्दानी लोभलाग्दो छ । कृषिलाई अझै उन्नत र प्रविधियुक्त बनाउन बाँकी नै छ ।’
कति वाचा पूरा भए ?
प्रधानले २०७९ को चुनावताका नेपाली कांग्रेसका उम्मेदवार उनले विभिन्न वाचा मतदातामाझ गरेका थिए । ती पूरा हुने क्रममा रहेकाले उनले अब वडाध्यक्षमा नदोहोरिने योजना बनाएका छन् ।
‘एउटै मान्छे एकै कुर्सीमा बसिरहने कुरा हुँदैन । वडाध्यक्षले गर्ने काम मैले गरिसकेँ । कोल्ड च्याम्बर बनाइसकेँ । जेनेरेटर लगाएर अब त्यसलाई चलाउँछु । बोखिमको तल्लो भागमा सेराको कुलो आएर सिचाइँ हुँदा अब धान खेती फस्टाउँछ । पौरख हुनेले मिहिनेत गरेर धान फलाउँछन्’, उनले भने, ‘पानी नभएकाले धान रोप्न नपाउने समस्या हट्छ । शिक्षा क्षेत्रमा सबै विद्यालयमा अंग्रेजी माध्यममबाट पढाउने नियम बसाएको छु । उता कृषितर्फ ६ लाख रुपैयाँ टनेलाका लागि छुट्याएको छु । ५० प्रतिशत अनुदानमा कृषकलाई दिँदैछौँ ।’
प्रधानले करिब ३ वर्ष वडाध्यक्षमा बिताउँदा गाउँमा कृषि सडक पनि बनेका छन् । केही कृषि सडकमा ग्राभेल गरिएको छ। ‘अब म दोहोरिएर गर्न काम पनि चाहियो । नागरिकता सिफारिसमा हस्ताक्षर मात्रै गर्न दोहोरिने काम छैन’, उनले भने, ‘अहिलेसम्म एकजना जनतालाई आक्रोशित हुन दिएको छैन । मैले काम गर्छु, बिगार्दिनँ भन्ने थाहा छ ।’
उनले गाउँमा शिक्षाका लागि धेरै काम भएको सुनाए । अब विद्यालयका लागि दुईवटा बस हाल्ने योजना बनाएका छन् । त्यसका लागि आवश्यक पहल पनि भइरहेको उनले सनाए ।
फाइदा के त ?
प्रधानको बुझाइमा जनप्रतिनिधि जनताका इमान्दार सेवक हुनुपर्छ । ‘आर्थिक फाइदातिर लाग्ने हो भने सबै कुरा बिग्रिन्छ । हामीले ५० हजारको योजनामा ८० हजारको पनि गरेका छौँ । विद्यालय भवनका लािग ३६ लाखको योजना आएको थियो तर ८४ लाख चाहिने अवस्था थियो । त्यसमा पनि थोरै बजेटले अधिकतम् काम गरेका छौँ’, उनले भने ।
उनले कयौँ जनप्रतिनिधि घुस लिँदालिँदै समातिएको सुनेका र देखेका छन् । ‘कतिपय जनप्रतिनिधिलाई अख्तियारले घुस लिँदालिँदै पक्रिन्छ । जनसेवकहरू त्यसरी समातिएको सुन्दा मन दुख्छ । हरेक कुरामा कतै न कतै धर्म जोडिने रहेछ, मनमा धर्म भए बदमासी हुँदैन । देशैभरका जनप्रतिनिधि कमाउधन्दामा लागे भन्छन् । त्यस्तो कुराले मन अमिलो हुने रहेछ ।’
भोजपुरमा हुँदैदेखि असल शासनले पनि हो । आफूले त बदमासी गर्नै भएन अरूलाई पनि गर्न दिनुभएन । स्थानीय तहहरूमा स्वच्छ छवि भएको जनप्रतिनिधि चाहिएको छ । त्यस्ता मान्छे जितायो भने काम हुन्छ । नेता शुद्ध हुनुपर्छ । सदाचार नेतामा चाहिन्छ । पारदर्शिता पनि आवश्यक छ । लोभ नगर्ने नेता चहिन्छ । म आफैंले पनि लोभ गर्न जानेको छैन। मैले कृषि व्यवसाय र पसल पनि गरेको छु । खान र बाँच्न पुगे हुन्छ, नाङ्गै बस्नु नपरोस् भन्ने मात्रै हो ।
वडाध्यक्षका रूपमा उनले कर्मचारीसँग काम लिन साह्रै गाह्रो हुने अनुभव सुनाए । ‘कर्मचारीसँग काम लिन धेरै गाह्रो छ । वडाध्यक्षको हातमा केही पनि हुँदैन’, उनले भने, ‘कर्मचारीलाई काम लगाउन थर्काउने र फकाउने दुवै गर्नुपर्छ । कर्मचारीमा तलब पाकिजान्छ, किन काम गर्ने भन्ने चिन्तन छ ।’
लामो समय असल शासन क्लबसहित सामाजिक काममा सक्रिय भएकाले जनप्रतिनिधि हुन्जेल इमान नछाड्ने वाचा उनले गरेका छन् । ‘मैले मेरा वाचा करिब पूरा गरिसकेँ । अब दोहोरिने योजना छैन’, उनले भने, ‘अब बरु पूरै कृषिकर्ममा लाग्ने हो । व्यवसाय गर्ने हो ।’
प्रतिक्रिया