हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला | Khabarhub Khabarhub

हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

कार्यालय नै नआएका कामु उपकुलपतिले गरे ११ जनालाई पँजनी



सुनसरी– धरानस्थित वीपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला ठोकिदिएका छन् ।

वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किए ।

साम्पाङले ताला लगाउँदै भने, ‘वीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैं आएर खोल्छु ।’

मेयर साम्पाङले वीपी प्रतिष्ठानलाई धरासायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरुले बताए ।

मेयर साम्पाङ आफैँ वीपी प्रतिष्ठानका पदेन सदस्य हुन् ।

यसैबीच ओपिडीहरुसहित चिकित्साशास्त्रको पठानपाठन र परीक्षासमेत ठप्प भएका बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले रजिष्ट्रार प्रा.डा. सूर्य संग्रौलाको सम्पूर्ण अधिकार फिर्ता लिएका छन् ।

प्राडा संग्रौलालाई पुस २९ गतेदेखि लागुहुने गरी कामु उपकुलपति कार्कीले वीपी प्रतिष्ठानको नाम मात्रको रजिष्ट्रार पदमा सीमित गरेका छन् ।

कामु उपकुलपतिले प्राडा संग्रौलालाई जिम्मेवारी मुक्त गरेको पत्र

गयल उपकुलपतिले गरे ११ जनालाई पँजनी

कामु उपकुलपति कार्कीले प्रतिष्ठानका ११ विभागीय प्रमुखहरुलाई समेत जिम्मेवारीबाट हटाएका छन् । चिकित्सक, शिक्षक र कर्मचारीको पदोन्नतिको प्रक्रियाको विषयमा आन्दोलन हुँदा अस्तव्यस्त प्रतिष्ठानमा काम उपकुलपति कार्कीले पुस २९ गतेको मिति राखेर रजिष्ट्रार प्राडा संग्रौला र विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाउँदै विषयान्तर गरेको चिकित्सकहरुको आरोप छ ।

वीपी प्रतिष्ठान ऐन २०४९ ले उपकुलपतिलाई अधिकारसम्पन्न र सर्वेसर्वा बनाएको छ । प्रतिष्ठानका विद्यमान समस्याको समाधान गर्न पहल नगरेर प्राडा रजिष्ट्रार र विभागीय प्रमुखहरुलाई जिम्मेवारीबाट हटाउनु अर्को षडयन्त्र भएको आक्रोषित चिकित्सकहरुले बताए ।

कामु उपकुलपति कार्कीले आफू अनुकुल कार्यकारिणी समिति (कास) का सदस्य नियुक्त गर्न पनि प्रयास गरेका छन् ।

रजिष्ट्रार संग्रौलासँग तालमेल नमिलेपछि कार्कीले रजिष्ट्रार प्राडा संग्रौलालाई अख्तियारी फिर्ता गरिएको विषय उल्लेख गर्दै पत्रमा भनेका छन्, ‘तपाईलाई कामु उपकुलपतिबाट मिति ०८० असार १७ गते मेरो कामु उपकुलपतिको नियुक्ति पश्चात प्रतिष्ठानको ऐन र नियमावलीअनुसार मैले दिएको अख्तियारी आजैको मितिदेखि फिर्ता गरिएको जानकारी गराउँछु ।’

पत्रमा अगाडि भनिएको छ, ‘आजका मितिदेखि तपाईले सुचारु गर्ने सम्पूर्ण आर्थिक एवं प्रशासनिक क्रियाकलापहरु (आन्तरिक, बाह्य पत्राचार र मुद्धा मामिला सम्बन्धी कार्यहरु समेत) कामु उपकुलपतिबाट स्वीकृत गराएर मात्र सम्पन्न गर्नहुन अनुरोध छ ।’

रजिष्ट्रारलाई अधिकारविहीन बनाएको पत्रको बोधार्थ प्रतिष्ठान भित्र सर्कुलरसमेत गरिएको छ ।

आफूलाई अधिकारविहीन र नाममात्रको रजिष्ट्रार बनाएको विषयमा रजिष्ट्रार प्राडा संग्रौलाले भने, ‘उहाँ अफिसमा पनि आउनुभएको छैन । कहाँ बसेर यी पत्रहरु लेखिरहनुभएको छ, केही थाहा छैन । प्रतिष्ठानमा शिक्षक चिकित्सक, कर्मचारीको आन्दोलन चर्किरहेको छ । बैठक बसेरसमाधानको उपाय निकाल्नु पर्ने हो । तर एक्कासी मलाई पो पत्र लेखे । केही बुझ्न सकेको छैन ।’

वीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की

कामु उपकुपति कार्कीले प्रतिष्ठानका शिक्षक कर्मचारीको बढुवाको सम्बन्धमा सरोकारवालासँग बसेर निर्णय गर्न भनेर कासको बैठक बोलाए उपस्थित नभएपछि अर्को बखेडा उत्पन्न भएको संग्रौलाले बताए ।

बैठक बस्ने दिनमा शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई निमित्त उपकुपतिको जिम्मेवारी दिएर विदामा गएको पत्र कार्कीले प्राडा शर्माको टेवलमा छाडेका थिए ।

संग्रौलाले भने, ‘कासको बैठकमा उहाँ नआएपछि मैले पटक–पटक फोन गरें । म्यासेज पनि गरें । तर उहाँले कुनै जवाफ दिनुभएन । उहाँनै न आएपछि कासको बैठक पनि बसेन ।’

उनले थपे, ‘उपकुपति नै सर्वेसर्वा भएकाले निमित्त उपकुलपति र अन्य तीन पदाधिकारीसहितको कासका सदस्यले बढुवा सम्बन्धी निर्णय गर्न नसक्ने भएकाले बैठक बसेन ।’

प्रतिष्ठानको उपकुलपतिको सबैभन्दा नजिकको सल्लाहकार रजिष्ट्रार नै हुने भए पनि कामु उपकुलपति कार्कीले कसको सल्लाहमा रजिष्ट्रार, विभागीय प्रमुख र कास सदस्य सिफारिसको प्रक्रियाका लागि पत्र लेखिरहेका छन्, कसैलाई थाहा नभएको रजिष्ट्रार संग्रौलाले बताए ।

पुस २७ गते कामु उपकुपतिको हैसियतमा प्राडा कार्कीले जारी गरेको विज्ञप्तिले उनी विदा सकेर फर्केको देखिन्छ । उनको विज्ञप्ति अनुसार शिक्षक कर्मचारीको बढुवा प्रक्रियाका लागि लोकसेवा आयोगको स्वीकृति अनिवार्य चाहिन्छ ।

वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य संग्रौला

अहिलेको प्रक्रिया कानूनसम्मत छैन भन्ने आशय बुझिन्छ । तर उनले आफु विदामा बसेको र निमित्त उपकुपति प्राडा शर्मालाई दिँदै कास बैठक छलेको देखिएको छ ।

एकातिर बढुवा प्रक्रिया कानुनसम्मत नरहेको पनि भन्ने र अर्को तर्फ निमित्त उपकुलपतिसहित बसेको कासले शिक्षक चिकित्सक कर्मचारीको बढुवाको निर्णय पनि गर्नु भनेर विज्ञप्ति जारी गर्नुले झन अन्यौल थपेको छ ।

रजिष्ट्रार संग्रौलाले भने, ‘यतिबेला चार पदाधिकारी, कासका सदस्यहरु र विभागीय प्रमुखहरु एक भएर प्रतिष्ठानका समस्या समाधान गर्नुपर्नेमा उहाँ कुनै न कुनै वहानामा शिक्षक चिकित्सक कर्मचारीको समस्या समाधान नगर्ने पक्षमा उभिनुभएको देखियो ।’

संग्रौला अगाडि भन्छन्, ‘जबकि चिकित्सक कर्मचारीको आन्दोलन रोकिने छाटकाँट छैन । अन्योलको अवस्था छ ।’

प्रतिष्ठानमा करिव सात बर्षदेखि चिकित्सक शिक्षकको र १५ बर्षदेखि कर्मचारीको रोकिएको पदोन्नति प्रक्रिया सुरु गर्न गत बर्षको पुस १९ गते चिकित्सक र कर्मचारीको पदोन्नतिका लागि विज्ञापन खुलेपछि प्रक्रिया चलिरहेको थियो । पदोन्नति हुनुपर्नेमध्ये आधा चिकित्सक, शिक्षक र कर्मचारीको अन्तवार्ता सकिएको थियो ।

तर, प्राडा कार्की कामु उपकुलपति भएर आएपछि सबै प्रक्रिया बीचैमा रोकिएपछि सिनियर रेजिडेण्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिश्नल प्रोफेसर चिकित्सक शिक्षक र कर्मचारीहरु आन्दोलित भएका छन् ।

वीपी प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक

शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले कामु उपकुलपति कार्कीले आफू अनुकुलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको बताए ।

उनका अनुसार प्याथोलोजी, गाइनोकोलोजी, फोरेन्सिक मेडिसिन, मेडिकल सर्जिकल नर्सिङ्, कन्जरभेटिव डेण्टिष्ट्री एण्ड ईण्डोडोन्टिक्स, अर्थोडोन्टिक्स, पेडियाट्रिक नर्सिङ, स्कुल अफ पब्लिक हेल्थ, बायोकेमेष्ट्री, जनरल प्राक्टिस तथा ईमरजेन्सी मेडिसिन र एनेस्थेसिया एण्ड क्रिटिकल केयरका विभागीय प्रमुखहरुलाई कार्कीले जिम्मेवारीबाट हटाएका छन् ।

कार्यकाल नै नसकी विभागीय प्रमुख फेरबदल भएकाहरुमा प्याथोलोजी विभागका प्राडा स्मृति कार्कीको स्थानमा प्राडा परिचा उपाध्याय छिन् । त्यसैगरी गाइनोकोलोजी विभागका एडिसनल प्रोफेसर डा पप्पु रिजालको स्थानमा डा अचला ठाकुर र फरेन्सिक मेडिसिन विभागका प्राडा बीएन यादवको स्थानमा प्राडा शिवेन्द्र झा छन् । त्यस्तै, मेडिकल सर्जिकल नर्सिङ विभागका प्रा गयानन्द मण्डलको स्थानमा प्राडा पुस्पा पराजुली र कन्जरभेटिभ डेण्टिष्ट्रि एण्ड ईण्डोडोन्टिक्स विभागका डा मन्नु विक्रमको स्थानमा डा नविन अग्रवाललाई नयाँ विभागीय प्रमुख बन्न पत्र पठाइएको छ ।

यसैगरी अर्थोडोन्टिक्स विभागका डा राजेश ज्ञवालीको स्थानमा डा प्रभात रञ्जन पोखरेल, पेडियाट्रिक नर्सिङ विभागका प्राडा रमानन्द चौधरीको स्थानमा बसन्त कुमार कर्ण, स्कुल अफ पब्लिक हेल्थका प्राडा पारस पोखरेलको स्थानमा प्रा डा निलाम्बर झा, बायोकेमेष्ट्रि विभागका प्राडा निर्मल बरालको स्थानमा प्राडा माधव लम्साल, जनरल प्राक्टिस तथा ईमेरजेन्सी मेडिसिन विभागका प्राडा ज्ञानेन्द्र मल्लको स्थानमा प्राडा रविन भण्डारी र एनेस्थेसिया एण्ड क्रिटिकल केयर विभागका प्राडा एसएन सिंहको स्थानमा प्राडा कृष्णा पोखरेललाई नयाँ विभागीय प्रमुखको रूपमा पत्र पठाइएको छ ।

विभागीय प्रमुख बन्न पत्र पाए पनि अधिकांश चिकित्सक शिक्षकहरुले प्रक्रिया पूरा नगरी अन्य पदाधिकारीलाई जानकारी नै नदिएको र रितपूर्वक टिप्पणी प्रक्रिया नबढाएकाले पद बहाली लिन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।

वीपी प्रतिष्ठानका उपकुलपतिविरुद्ध आन्दोलनरत चिकित्सक

कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालले पूर्व सहमति अनुसार पदोन्नतिको प्रक्रिया अगाडि बढाउनुको सट्टा कामु उपकुलपति कार्कीले धोका दिएर पन्छिन खोजेको बताइन् ।

यसैबीच, विद्यार्थीहरुले नियमित पठन पाठन र परीक्षा ठप्प भएकोमा सोमबार विहान उपकुलपति परिसरमा तत्काल समस्या समाधान गर्न माग गर्दै धर्ना बसे ।

विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्तिले भने ‘पहिले पनि तीन महिनासम्म पठन पाठन र परीक्षा ठप्प भएको थियो । अहिले फेरि ठप्प भएको छ । यो तालले कसरी दक्ष चिकित्सक बन्न सकिन्छ ?’

प्रतिष्ठानमा कार्यकारिणी सदस्य हुनका लागि विभागीय प्रमुख हुनुपर्छ । हाल प्याथोलोजीका प्राडा स्मृति कार्की र इमर्जेन्सी विभागका प्राडा ज्ञानेन्द्र मल्ल र मन्त्रालयका एक सदस्यसहित चार पदाधिकारी गरी सात सदस्यीय कार्यकारिणी समिति रहेको छ । अन्योलका वीचमा कामु उपकुलपतिले आफु अनुकुलको कास सदस्य नियुक्त गर्न विभागी प्रमुख परिवर्तन गरेको आन्दोलनरत चिकित्सकहरुले बताएका छन् ।

मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. रविन मास्केले भने, ‘प्रतिष्ठानको नियमावलीअनुसार विभागीय प्रमुखहरु मध्येबाट, उपकुलपतिको सिफारिसमा सहकुलपति (स्वास्थ्यमन्त्री) ले कास सदस्यको नियुक्ति गर्ने गर्छ । कासको सदस्यको कार्यकाल ३ बर्षको हुनेछ भनेर नियमावलीमा लेखिएको छ । विद्यमान कार्यकारी सदस्यहरुको कार्यकाल करीब १ बर्ष बाँकी रहँदै नयाँ कास सदस्यको सिफारिस कामु उपकुलपतिले गर्नु नियमसंगत देखिँदैन ।’

मास्केका अनुसार विद्यमान कास सदस्यहरूको विभागीय प्रमुखको जिम्मेवारी पदावधि समाप्त भइसकेको पत्र आए पनि कार्यकारी समितिले निर्णय गर्नुअगावै उहाँहरूको कार्यकाल समाप्त भएको देखिँदैन । यसरी हठात रूपमा रित नपुर्‍याई नयाँ कास सदस्यहरूको सिफारिस गर्नुपर्ने औचित्य सरासर नियमावली उलङ्घन गर्नु रहेको मास्केको तर्क छ ।

यो पनि…

खोटो वीपी प्रतिष्ठान : छैन सुध्रने छाँट

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ०७ बजे

लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

काठमाडौं- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

हेटौँडा– उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा सञ्चारमन्त्रीले लगाए पर्यटमन्त्रीलाई दोष

पोखरा- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय

कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो

सियोल– दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२०

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

भारत– भारतको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक