गृहमन्त्रीतिर सोझियो प्रश्न : सुनको प्रतिवेदन किन लुकाएको ? « Khabarhub

गृहमन्त्रीतिर सोझियो प्रश्न : सुनको प्रतिवेदन किन लुकाएको ?


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको अबैध पैठारी(तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन विहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो । लामिछानेले उक्त प्रतिवेदन एक रात पढेर शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए । दाहालले प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीलाई निर्देशन दिए ।

आयोगको प्रतिवेदनमा के छ ? क–कसलाई दोषी देखाइएको छ ? क–कसलाई कारवाही गर्न सिफारिस गरिएको छ ? यसबारे सरकारले केही बताएको छैन । प्रतिवेदन गृहमन्त्री र प्रधानमन्त्री कार्यालयमा घुमिरहेको छ, तर सार्वजनिक नगरी गुपचुपमै राखिएको छ ।

यसअघि विभिन्न समयमा भएका सुन तस्करीका सम्बन्धमा राजस्व अनुसन्धान विभाग र सीआईबीले गरेको अनुसन्धानमा सरकारको प्रभाव देखिएको भन्दै तत्कालीन विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय जाँचबुझ आयोग बनाउन माग गरेको थियो ।

एमालेको सोही मागअनुसार सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा सुनको अबैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सोही आयोगले विहीबार गृहमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

गत असोज १४ गते बसेको मन्त्रिपरिषद बैठकले आचार्यको संयोजकत्वमा गठन गरेको आयोगका सदस्यहरुमा पूर्वएआईजी सहकुल थापा तथा पूर्वसहसचिवहरु किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य थिए ।

मन्त्रिपरिषदले मंसिरको पहिलो साता आयोगको माग अनुसार चार जना जनशक्ति थप गर्ने निर्णय गरेको थियो । आयोगको कार्यालय सिंहदरबारस्थित पुरानो गृहमन्त्रालयको भवनमा राखिएको थियो ।

आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा अनुमानका आधारमा विभिन्न समाचारहरु आइरहेका छन् । फलानालाई कारवाहीको सिफारिस गरिएको भन्ने प्रकारका सूचना आउँदा प्रतिवेदन सार्वजनिक नभएसम्म रहस्य र भ्रमको राजनीति फस्टाउने देखिएको छ ।

अहिलेसम्म प्रतिवेदनको हवाला दिँदै चुहिएका सूचनाहरुमा माओवादी नेता कृष्णबहादुर महरामाथि कारवाही गर्न सिफारिस भएको भनिएको छ ।

त्यतिमात्र होइन, सुनसम्बन्धी अनुसन्धानकै नेतृत्व गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई समेत आयोगले कारवाहीको सिफारिस गरेको भन्नेजस्ता समाचारहरु बाहिर आएका छन् ।

त्यसैगरी राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई पनि कारवाही गर्न आयोगले सिफारिस गरेको भन्ने समाचार बाहिर आएको छ ।

आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा प्रधानमन्त्री दाहालले गृहमन्त्री रवि लामिछानेलाई दिएका छन् । गृहमन्त्री लामिछानेले पनि प्रतिवेदन कार्यान्वयन आफ्नो जिम्मेवारी भएको प्रतिक्रिया दिएका छन् ।

उसोभए गृहमन्त्री लामिछानेले सबैभन्दा पहिले आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने देखिन्छ । गृहले अब इमान्दारितापूर्वक प्रतिवेदन कार्यान्वयन गर्ला त ? यो प्रश्न रवि लामिछानेतिर सोझिएको छ ।

आयोगको प्रतिवेदन आम जनसमक्ष सार्वजनिक गर्ने ढीलो भइसकेको छ । जब आयोगको प्रतिवेदन सार्वजनिक हुनेछ, त्यसपछि यसबारे उत्पन्न भ्रमहरु स्वतः मेटिने छन् । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन पढ्न पाउनु आम नागरिकको सूचनाको हक हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ०० बजे

अहिलेसम्म कांग्रेसमा क–कस्ले पाए टिकट ? (सूचीसहित)

काठमाडौं – विशेष महाधिवेशन र महाधिवेशन विरोधी पक्षको तनावबीच नेपाली

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका