मन्त्रिपरिषद्को सन्तुलन : ओली र देउवाका गृह प्रदेशको वर्चस्व « Khabarhub

मन्त्रिपरिषद्को सन्तुलन : ओली र देउवाका गृह प्रदेशको वर्चस्व

साना दल समेट्दा मधेशलाई ६, ‘हेपिएको’ कर्णालीलाई मात्रै १ मन्त्री


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको नयाँ सरकारको मन्त्रिपरिषद्मा दुवै दलका शीर्ष नेताका गृहप्रदेशबाट समान चार–चार जना मन्त्री बनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश कोशीबाट नवगठित मन्त्रिपरिषद्मा चार–चारजना परेका छन् ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका अध्यक्ष ओलीसहित कोशी प्रदेशबाट एमालेबाट ३ र कांग्रेसबाट १ जना मन्त्रिपरिषद्मा समेटिएका छन् ।

कोशी प्रदेशबाट एमालेबाट प्रधानमन्त्री ओलीसँगै भौतिकमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई तथा कांग्रेसबाट ऊर्जामन्त्री दीपक खड्का मन्त्रिपरिषद्मा समेटिएका छन् ।

कांग्रेस सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट कांग्रेसका ३ र एमालेका १ जना मन्त्रिपरिषद्मा समेटिएका छन् । कांग्रेसले समानुपातिक सांसद डा. आरजु राणा देउवासँगै कञ्चनपुरका रमेश लेखक र बाजुराका बद्री पाण्डे तथा एमलेले बैतडीका दामोदर भण्डारीलाई मन्त्री बनाएको छ ।

कांग्रेसले देउवापत्नी डा. राणालाई परराष्ट्र, कञ्चनपुर–३ बाट विजयी लेखकलाई गृह र बाजुराबाट विजयी पाण्डेलाई पर्यटनमन्त्री तथा एमालेले बैतडीबाट विजयी भण्डारीलाई उद्योगमन्त्री बनाएको छ ।

कांग्रेसका राणा र पाण्डेका लागि मन्त्रिपरिषद् नयाँ अनुभव हो । लेखकले यसअघि मन्त्रालय सम्हालिसकेका छन् । यस्तै एमालेका भण्डारी पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री थिए ।

अन्य दललाई सरकारमा सहभागी गराउँदा मधेश प्रदेशले ६ जना मन्त्री पाएको छ । मधेशले कांग्रेसबाट २, एमालेबाट १, सत्ता साझेदार जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ सहित ६ जना मन्त्री पाएको छ ।

कांग्रेसले ओली नेतृत्वको मन्त्रिपरिषद्मा मधेश प्रदेशबाट पर्सा–२ का अजयकुमार चौरसिया र सप्तरी–४ का तेजुलाल चौधरीलाई पठाउँदा एमालेले पर्सा–३ का राजकुमार गुप्तालाई सहभागी गराएको छ ।

यस्तै अशोक राई नेतृत्वको जसपाले प्रदीप यादव र नवलकिशोर साह सुडी तथा लोसपाले शरतसिंह भण्डारीलाई मधेसबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गराएका छन् ।

ओली नेतृत्वको सरकारमा मधेश प्रदेशको पर्सा एक्लैले ३ जना मन्त्री पाएको छ । पर्साबाट जसपाका सांसद प्रदीप यादव, कांग्रेस सांसद अजयकुमार चौरसिया र एमाले सांसद राजकुमार गुप्ता मन्त्री बनेका छन् ।

यादव पर्सा–१, चौरसिया पर्सा–२ र गुप्ता पर्सा–३ बाट निर्वाचित सांसद हुन् । पर्सा–४ बाट निर्वाचित कांग्रेस सांसद रमेश रिजाल प्रचण्ड नेतृत्वको सरकारमा (२०८० फागुन २१ सम्म) उद्योगमन्त्री थिए ।

ओली नेतृत्वको सरकारमा बागमतीबाट ३, गण्डकी र लुम्बिनीबाट २–२ जना मन्त्री बन्दा कर्णालीले भने १ जनामात्रै मन्त्री पाएको छ । कर्णालीबाट कांग्रेसका ऐनबहादुर शाही वनमन्त्री बनाइएका छन् । उनी २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुगुबाट विजयी भएका थिए ।

कांग्रेस–एमाले गठबन्धनको सरकारमा बागमतीबाट प्रकाशमान सिंह उपप्रधान तथा शहरीविकास, प्रदीप पौडेल स्वास्थ्य र रामनाथ अधिकारी कृषिमन्त्री छन् ।

उनीहरु तीनैजना कांग्रेस नेता हुन् । २०७९ को निर्वाचनमा सिंह काठमाडौं–१, पौडेल काठमाडौं–५ र अधिकारी धादिङ–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

गण्डकी प्रदेशबाट एमालेले २ जना र लुम्बिनी प्रदेशबाट २ जना मनित्रपरिषद्मा पठाएको छ । एमालेले गण्डकीबाट पृथ्वी सुब्बा गुरुङ र विद्या भट्टराई तथा लम्बिनीबाट विष्णुप्रसाद पौडेल र बलराम अधिकारीलाई ओली नेतृत्वको सरकारमा मन्त्रीका रुपमा पठाएको हो ।

गण्डकीबाट गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ भने भट्टराईलाई शिक्षा मन्त्री बनाइएको छ ।

यस्तै लुम्बिनीबाट पौडेललाई उपप्रधान तथा अर्थ मन्त्री बनाएर सरकारमा पठाइएको हो भने अधिकारी भूमिसुधारमन्त्री छन् । उनी पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ३९ बजे

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२