अन्तर्वार्ता

म नि:शुल्क बनेको उपकुलपति हुँ : डा‍‍. ज्ञानेन्द्र गिरी

By खबरहब

September 15, 2024

सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा ठूलो ‘नन प्राक्टिसिङ डिम्ड मेडिकल युनिभर्सिटी’ हो । नेपालमा सबैभन्दा धेरै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र वार्षिकरूपमा ४ सय बढी वैज्ञानिक शोध अनुसन्धान पत्र प्रकाशित गर्ने र विदेशी जर्नलमा स्वास्थ्य सम्बन्धी शोभपत्र प्रकाशित गर्नेहरू पनि बीपी प्रतिष्ठानबाटै उत्पादित हुँदै आएका छन् । 

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को मोडलमा तीन दशक अघि भारतीय सरकार र नेपाल सरकारको मैत्री सम्बन्धको रुपमा स्थापना भएको बीपी प्रतिष्ठान विगत डेढ दशकदेखि भने अनेक विवाद, भ्रष्टाचार, कमिसन, आर्थिक अनियमितता, मेडिकल माफियाको सञ्जालमा गाँजिएको छ । पछिल्ला डेढ दशकयता नियुक्त भएका पदाधिकारीहरू विवादरहित भएर पदमुक्त हुन सकेका छैनन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै विषेश अदालतको बेन्च र इजलासमा मुद्दाका चाङहरू पुगेका छन् । यसै सन्दर्भमा बीपी प्रतिष्ठानका उपकुलपति डा‍‍. ज्ञानेन्द्र गिरी जसले ०७६ साल चैत २६ गते नियुक्त पाएका थिए, उनको अव करिव ७ महिना समय बाँकी छ उपकुलपतिबाट अवकाश लिन । सन १९५४ मा जन्मेका डा. गिरी मुटुरोग विशेषज्ञ हुन् । उनले एम्सबाटै मुटुरोगबारे विशेषज्ञता हासिल गरेका हुन् । उनीसँग चार दशको अनुभव छ । बीपी प्रतिष्ठानको पछिल्लो गतिविधि बारे खबरहबले गरेको कुराकानीको अंश ।

 उपकुलपति ज्यू हाल के गर्दै हुनुहुन्छ ?

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै नियमित काम कारवाहीमा व्यस्त छु । बजेट अभाव छ । शिक्षक, चिकित्सक, कर्मचारीलाई तलब खुवाउन हम्मे हम्मे भएको छ । बीपी प्रतिष्ठानका कुनै पनि शिक्षक, चिकित्सक, कर्मचारीलाई सरकारले तलब भत्ता सुविधा नदिने नीति भएकाले कसरी आन्तरिक श्रोत जुटाउने बेलैमा तलब दिन सकिन्छ भनेर आन्तरिक आयश्रोत जुटाउन उपाय खोजी रहेको छु । 

अरु उपकुलपति भएर आउँदा पनि बीपी प्रतिष्ठानमा विवादरहित रहेनन् । तपाई उपकुलपति भएर आएयता पनि विवादै विवादका वीच तपाईले पनि प्रतिष्ठानको प्रगतिका लागि केही गर्न सक्नु भएन नि होइन र ? 

कसले भन्यो म भीसी भएर आएपछि बीपी प्रतिष्ठानमा परिवर्तन भएन भनेर ? यो सबै कामचोरहरुको आरोप मात्र हो । लु सुन्नुस् अनि लेखिदिनुस् कि मैले के के सम्म गरेँ भनेर । हावामा मलाई आरोप लगाएर हुन्छ ? म उपकुलपति भएर नियुक्त हुँदा कोरोना महामारी सुरु हुँदै थियो । कोरोना संक्रमितका लागि सुरुमा रिहाव सेन्टरलाई कोभिड अस्पतालमा रूपान्तरण गरेर १५ बेड आइसीयु, ४० बेड एचडियु, ४५ बेड जेनेरल र कोभिड प्यासेन्टका लागि डेडिकेटेड ओटी र डाइलाइसिस, ल्याब सेवा, रेडियोलोजी सेवा सञ्चालनमा ल्याएँ । 

त्यसपछि रेडियोलोजी विभागमा नेपालमै दोश्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २५६ स्लाईसको सिटी स्क्यान मेसिन जडान गरेर सेवा सञ्चालनमा ल्याएँ । सोही विभागमा पुराना अल्ट्रासाउण्ड एक्सरे मेसिन उपकरणको मर्मत सुधार र अत्याधुनिक प्रविधिमा आधारित २ थान अल्ट्रासाउण्ड, एक थान डीआर एक्सरे मेसिन, थप एउटा डिजिटल अल्ट्रासाउण्ड मेसिन खरिद आदेश भइसकेको छ ।

महिलामा हुने स्तन क्यान्सरको पहिचानका र उपचारका लागि थ्रिडी मेमोग्राम जडान हुने क्रममा छ । भने रेडियोलोजी इन्टरभेन्सनकालागि सिआर्म जडान हुने क्रममा छ । थप तीन थान अल्ट्रासाउण्ड मेसिन, २ थान डीआर एक्सरे, २ थान पोर्टेबल एक्सरे र हाइइन्ड १.५ टेस्लाको एमआरआई खरिद प्रकृया गएको छ । त्यति मात्र नभएर लामो समयदेखि रोकिएको चिकित्सक र कर्मचारीको प्रमोसन प्रकृया सुरु गरेर टुंगो नै लगाइदिएको छु ।

जनरलमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म एक्सरे चलिरहने व्यवस्था भएको । बिरामीको सहजताका लगि रेडियोलोजीमै बिल काउन्टर स्थापना गरिएको छ । पहिले थिएन । रेडियोलोजी सेवा लिनेहरूको सङ्ख्यामा वृद्धि भएको छ । छिटो छरितो बनाएका छौं । ल्याब तर्फ हाइण्ड फुल्ली अटोमेटेड बायोकेमेस्टी एनालाइजर एउटा एमर्जेन्सीमा र एउटा सेन्ट्रल ल्यावमा जडान गर्न सफल भइएको छ । प्रतिघण्टा एउटाको आठ सय र अर्को ४ सय क्षमता छ । दुइ थान हाइ क्यापसिटीको बायोकेमेस्ट्री र इम्युनएसए उपकरण सञ्चालनमा आउने तयारीमा छ । जवकी म आउनु भन्दा अगाडि यी कुनै मेसिन उपकरण थिएनन् विपी प्रतिष्ठानमा । 

अझै सुन्ने हो ? विभिन्न रोगका कारण मुटु र फोक्सोले काम गर्न छाड्दा त्यसको लागि उपचार गर्न मेसिन आइसकेकाले इक्मो मेसिन जडान हुँदैछ । ब्लडको स्याम्पल बिहानैदेखि संकलन गरेको मेसिनमा लगाएको ३ घण्टामा दिने लक्ष्य रहेको छ । ६ जना ब्लड तान्ने ल्याब टेक्निसियन एक्सपोर्ट थपिएको छ ।

 इमर्जेन्सीमा एकदेखि २ घण्टा भित्र रिपोर्ट दिने व्यवस्था भएको छ । वार्डका बेड खाली नहुँदा इमर्जेन्सीमा भिड भएको हो । वेबसाइट बाट पनि आफ्नो आइडीबाट आफ्नो रिपोर्ट हेर्नु सक्ने बनाइएको छ ।

बीपीको आइसीयुमा म आउँदा ३२ बेड थिए । त्यसमा ८ वटा भेन्टिलेटर सञ्चालनमा थिएनन् । त्यो केही बनाइयो र थप ८ वटा थपियो । हालसम्म क्रमश सुरुमा  ८, त्यसपछि १० त्यसपछि ३० थान, कोभिडको समयमा मन्त्रालयबाट प्राप्त १२ थान, एमसिएच भवनका लागि खरिद गरिएका २० गरी ८० थान आइसीयु भेन्टिलेटर सञ्चालनमा छन् अहिले । बीपी प्रतिष्ठानमा बिरामीको चाप अत्यधिक हुने भएकाले चाहिने आइसीयु भेन्टिलेटर बेड त दुई सय बढी हो । 

ओटी (अप्रेशन थिएटर) तर्फ कोभिडसहित १४ ओटि कक्ष छन् ।  थप सिटिभिएस (मुटु र फोक्सोको अप्रेसन कक्ष) सञ्चालनमा आउने तयारीमा छ । चारवटा एनेस्थेसिया मेसिन वर्क स्टेसन थपिएको छ भने दुई थान सरकारबाट प्राप्त भएको छ । विस्तारित स्वास्थ्य सेवा बन्द रहेकोमा सञ्चालनमा ल्याएको छु । इमर्जेन्सीमा ४० वटा अव्जर्बेसन बेड थपी गरेर सञ्चालित छ । 

आठ वटा इलेक्ट्रिकल बेड विथ मनिटर पनि जडान गरेर सञ्चालनमा छ । इमर्जेन्सी कक्षमा पहिले मेनुअली कागजी प्रक्रियामा चिकित्सक र नर्सबाट काम हन्थ्यो भने अहिले कम्प्युटराइज भएको छ । इमर्जेन्सी कक्षमा २ घण्टा भित्र ल्याब रिपोर्ट आउने व्यवस्थासहित ल्याब कक्षलाई विस्तार गरिएको छ । ल्याब मेसिन पनि थपिएको छ । एकथान डिजिटल एक्सरे थप गरिएको छ । गरिब बिरामीका लागि निशुल्क उपचारको व्यवस्था गरिएको छ । फार्मेसी सञ्चालनमा छ । बीचमा बन्द भयो । अव पूर्णरुपमा फार्मेसी सञ्चालनमा आइ बिमाका बिरामीलेसमेत औषधी पाउने व्यवस्था यथाशीघ्र सञ्चालनमा आउने तयारी हुँदैछ । 

 

विभिन्न कारणले जलेर आएका बिरामीको शल्यक्रिया सहितको उपचारका लागि छुट्टै वार्ड सञ्चालनमा आउँदैछ । राजधानी बाहिर बीपीमा पहिलो हो यो उपचार सेवा । रिहाव भवनलाई फेरि सही प्रयोजनका लागि द्धन्द पिडीतका लागि सञ्चालन गर्ने तयारी हुँदैछ । ४ सय शैयाको एमसिचएच भवन कात्तिक २६ गते उद्‌घाटन गर्ने तयारी हुँदैछ । अस्पतालको न्यूनतम सेवा सुधारको सुचकमा  उल्लेखनीय सुधार भएको छ । यो भन्दा अरु मैले के गर्नु पर्ने ? गर्न त अरु पनि धेरै गर्न सकिन्थ्यो नि । 

 बीपी प्रतिष्ठानको ऐनले उपकुलपतिलाई नै मात्र सर्वेसर्वा अधिकार दिएको छ । तपाईँलाई के ले रोक्यो त अरु पनि काम गर्न ?

चिकित्सा शिक्षा आयोगको नीतिले गर्दा यो स्वायत्त स्वास्थ्य शैक्षिक संस्था बीपी प्रतिष्ठानमा जति प्रगति गर्नुपर्ने त्यो अगाडि बढ्न सकेको छैन । आयोगकै नीतिका कारण अहिले बीपी प्रतिष्ठानको वार्षिक करिव ९० करोड रुपैयाँ जतिको आन्तरिक आम्दानी बन्द भएको छ । स्वदेशी र विदेशी विद्यार्थीबाट करिव ९० करोड रुपैयाँ वार्षिक आम्दानी हुने गरेको थियो त्यो त बन्द भयो । त्यसले हाम्रो स्वायत्तता प्राप्त संस्थामा हस्तक्षेप भएको छ । जबकी बीपीको आफ्नै ऐन छ । यो डिम्ड युनिभर्सिटी हो । अर्को कुरा नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डको  नीतिले पनि बीपी प्रतिष्ठानलाई आर्थिक सङ्कलनमा असर पुर्याएको छ ।

बिमाबोर्डसँग हामीले गरेको सम्झौता अनुसार बिरामीको उपचार सेवा गरेबापत समयमै पैसा दिनु पर्ने होइन ? तपाई पत्याउनु हुन्छ ? अहिले पनि यो प्रतिष्ठानलाई बिमा बोर्डले करिव  ५५ करोड रुपैयाँ भुक्तानी अड्काएको छ । बिपीको आम्दानीको श्रोत यति धेरै रकम महिनौँदेखि अड्काएपछि कसरी उपचार सेवा प्रभावकारी हुन्छ ? कसरी यहाँका चिकित्सक शिक्षक नर्स कर्मचारीहरूले समयमै तलब भत्ता सुविधा पाउन सक्छन् ? त्यसमाथि बिमा बोर्डको समय सापेक्ष दर रेट परिमार्जन नुहुनु, समयमा भुक्तानी नहुनु , उपचार गरेको रकम समेत रिजेक्ट गरिदिनु जस्ता कारणले बीपी प्रतिष्ठानको प्रगति धिमा भएको हो । 

सरकार भन्छ, ‘बीपी प्रतिष्ठान अविच्छिन्न स्वायत्त संस्था हो । त्यसैले आफै कमाउ आफै खाउ, आफै सञ्चालन गर ।’ तर अनेक कोणबाट प्रगति रोक्ने काम हुन्छ । सरकारले सञ्चालन खर्च नदिने र कमाएको राजश्व पनि बिमाको नाममा होल्ड गरेर राखिदिने गरेपछि कसैको केही लाग्यो ? त्यतिमात्र होइन, बिमा बोर्डले मात्र होइन बीपी प्रतिष्ठानले विद्यार्थी पढाएबापतको शुल्क चिकित्सक शिक्षा आयोग मार्फत नियमित रुपमा समयमै आउनु पर्ने त्यो पनि रोकेर राखेका छन् बिनाकारण । यता हामी उसले भने जस्तै विद्यार्थी पढाएर दीक्षित गरेर पठाउछौँ आयोग पैसा रोक्छ । आयोगबाट बीपी प्रतिष्ठानले पाउनु पर्ने रकम गतवर्षकै करिव ५ करोड रुपैयाँ छ । यो वर्षको त कुरै छैन । अनि कसरी हुन्छ त बिपीको विकास ?  

 बीपी प्रतिष्ठानका अरु समस्याहरू पनि छन् तपाईँलाई ती समस्या के के हुन् जस्तो लाग्छ ? 

यो संस्था दैनिक ३५ सय देखि ४ हजार बिरामीको उपचार गर्ने व्यस्त स्वास्थ्य शैक्षिक संस्था हो । दई हजार बढी शिक्षक, चिकित्सक, नर्स र कर्मचारीहरू कार्यरत छन् । यो नेपालमै एकमात्र नन प्राक्टिसिङ इन्स्टिच्युट पनि हो । यहा भित्र कार्यरत कुनै पनि चिकित्सकले कुनै पनि निजी वा अन्य अस्पताल, क्लिनिक, नर्सिङ होममा पार्टटाइम प्राक्टिस गर्न पाउदैनन् । जे गर्नुपर्छ बीपी भित्रै गर्नुपर्छ । यहा स्नातक तहका एमवीवीएस, वीडीएस, वीपएस्सी नर्सिङ, वीएस्सी मिडवाइफेरि, विएएस्सी एमआइटी, वीएस्सी एमएलटी, बीएस्सी प्रफ्युजन टेक्नोलोजीदेखि स्नातकोत्तर तहका एमडी-एमएस, एमडीएचए, एमडीएस, एमएस्सी, एमएस्सी नर्सिङ, र एपीएच अध्ययन हुन्छ । 

यो भन्दा माथिल्लो तहको सुपर स्पेशियालिट सेवाका लागि विद्यावारिधि, डीएम-एमसीएच कार्यक्रम पनि चलिरहेको छ । ९ सय १३ शैया छन् । सबै भरिन्छ । आएका बिरामीले बेड अभावले भर्ना हुन पाइरहेका छैनन् । जति सङ्ख्यामा आइसीयु भेन्टिलेटर जडान गरेपनि पर्याप्त भएको छैन । यस्तो ठूलो सञ्जाल रहेको संस्थामा कार्यरत शिक्षकदेखि कर्मचारी संस्थाप्रति बफादार इमानदार हुनुपर्छ तर केही केही यस्ता प्रवृत्तिका छन यो संस्थालाई दुहेर खानेखालका देखिएका छन् । र यो संस्थाको ४० प्रतिशत आम्दानी बाहिर गइरहेको छ । यो चुहावट रोक्नलाई म प्रयास गरिरहेको छु । बीपी प्रतिष्ठानलाई राज्यले दिनु पर्ने ध्यान दिन सकेको छैन । सौतेला व्यवहार गरेको छ समस्या त यिनै हुन् । 

 सरकारको स्वास्थ्य बिमा बोर्ड र बीपी प्रतिष्ठानबीच तालमेल नमिलेको देखियो नि ।

तालमेल मिलेको भनौँ भने ऊसँग गरेको सम्झौताअनुसार बीपी प्रतिष्ठानले बिरामी उपचार गरेबापतको रकम बिमा बोर्डले ५५ करोड रुपैयाँ अझै बाँकी नै छ । बोर्डले एकमुस्ट रुपमा यो रकम बिपीलाई उपलब्ध गराउने हो र प्रत्येक महिनामा नै फछर्यौट गर्ने हो भने यहा हामीलाई बीपी प्रतिष्ठान सञ्चालन गर्न, बिरामीको गुणस्तरीय उपचार सेवा गर्न सहज हुन्थ्यो । तर यो कुरा कसले बुझिदिने ?

प्रतिष्ठानको विभागैपिच्छे समस्याका चाङमात्र भएको सुनिन्छ । कतै जनशक्ति अभाव छ, कतै मेडिकल उपकरण छैन भन्छ, कतै कामै नगरी तलब खाने कर्मचारी पनि छन्, कतै प्राध्यापकहरू पेइङमा मात्र बस्छन् जनरलमा बस्दैनन् भन्ने गुनासोहरू छन् नि ।

यो ३० वर्षको दौरानमा सुरुवातमा पर्याप्त मेडिकल उपकरण थिए । सोहीअनुसार काम हुँदै थियो । प्रतिष्ठान राम्रो चलेको पनि थियो । तर जव १५ वर्षदेखि कर्मचारीको र ७ वर्षदेखि शिक्षक चिकित्सकको वृत्तिविकास र बढुवा प्रकृया रोकियो तव यँहा काम गरिरहेका कर्मचारी  र चिकित्सक शिक्षकमा निराशा पलायो । कतिपय योग्य दक्षलाई रोकेर राख्न सकिएन । छाडेर गए । मैले अघि नै पनि भनिसकेँ म आएपछि स्थायी र करार गरी १९५ जना चिकित्सक शिक्षकको बढुवा भएको छ । कर्मचारी तर्फ ४०९ जनाको एक तह बढुवा र ३०९ जनाको वृत्तिविकास गरिएको छ । पर्याप्त नभएपनि आवश्यक मेडिकल उपकरणहरू जडान भइरहेका छन् । पछिल्लो समयमा सुधार भएको छ । उपकरण नभएर पनि शिक्षक र कर्मचारीले काम गर्न सकेका थिएनन् । मेसिन थप्ने काम हुँदैछ । विशिष्टीकृत सेवा विस्तारका लागि काम हुँदैछ । 

 डेन्टल तर्फका मेडिकल उपकरण पनि कामै नलाग्ने देखिएका छन् नयाँ डेन्टल चियर ल्याउनै नसकिएको हो ?   

विभिन्न कारणले बीपी प्रतिष्ठानको डेन्टल तर्फ सुधार गर्न सकिएको थिएन । सरकारले बजेट नदिएर पनि ढिलाई भएको हो । पहिले डेन्टलमा हाइड्रोलिक डेन्टल चियर जडान गरिएका थिए । ती निकै पुराना र काम नलाग्ने भएपछि हालै मात्र पहिलो चरणमा ६० वटा हाइड्रोलिक डेण्टल चियरलाई विस्थापित गर्न पहिलो चरणमा ३० वटा इलेक्ट्रिकल डेन्टल चियर जडान भइ सञ्चालनमा ल्याइएको छ । यस्तै दाँतको एक्सरे गर्ने ओपीजी र सेफालोग्राम मेसिन थप गरिएको छ ।

३० वर्ष पुग्यो बीपी प्रतिष्ठान स्थापना भएको । यो अवधिमा त धेरै उचाइ लिइसक्नु पर्ने होइन र ?

त्यो त हो नि । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को मोडलमा बीपी प्रतिष्ठान २०५० साल साउन १ गतेदेखि सञ्चालनमा आएको हो । यो बीपी प्रतिष्ठान स्थापनाकालमा १५०  बेडमात्र थियो । अहिले ९ सय १३ बेड पुग्यो । हुनु पर्नेचाहिँ यतिन्जेलमा कम्तिमा ३-४ हजार बेडको भइसक्नु पर्ने थियो । सबै क्षेत्रको सुपर स्पेशियालिटि सेवा दिनु सक्ने हुनु पथ्र्यो। तर जुन रुपमा विकास हुनुपथ्र्यो भएन । यद्यपि, विस्तारै भएपनि बामे सर्दैछ । 

 बीपी प्रतिष्ठानमा उपचार सेवामा नयाँ योजनाहरू थपिँदै  छन कि ? यस्तै चलिरहने हो ? 

मातृ शिशु उपचार केन्द्र एमसिएच भवनमा विशेषज्ञ सेवा प्रदान गर्न ४ सय शैयाको भवन करिव निर्माण सम्पन्न हुनै लागेको छ । ०८१ मङ्सिरसम्ममा हस्तान्तरण गर्ने समय सिमा छ । उक्त भवनमा मातृ शिशु उपचार केन्द्र सर्ने छ । र खाली भएको ठाउँमा बेडहरू विस्तार हुने छन् । साथै अङ्कोलोजी (क्यान्सर) र कार्डियोलोजी (मुटु) उपचार केन्द्रको भवन निर्माण नभएसम्मका लागि सोही एमसीएच भवनमा क्यान्सर र मुटुको विशेषज्ञ सेवाका लागि न्यूनतम शैया सञ्चालनमा ल्याउने योजना रहेको छ । 

क्यान्सर उपचारका लागि  २ सय शैयाको अङ्कोलोजी सेन्टर र मुटु रोगको उपचारका लागि २ सय शैयाको कार्डियोलोजी सेन्टर निर्माणका लागि सञ्चालक परिषद (सिनेट)को ४५ औं सभाले निर्णय गरेअनुरूप समिति गठन गरी प्रतिवेदन तयार पारी आगामी संचालक परिषद बैठकबाट प्रकृया सुरु गरेर बजेट सुनिश्चतताका लागि सरकारसँग पहल सुरु गरिएको छ । साथै, अन्तराष्ट्रिय स्तरको ‘सेन्टर अफ एक्सलेन्सी’को रुपमा विस्तार गर्ने परिकल्पनाअनुसार बेल्जियमको इन्स्टीच्युट अफ ट्रपिकल मेडिसिन, एन्टेर्वापसंग कालाजार रोग नियन्त्रण र निवारणका लागि पाच वर्षे सम्झौता नवीकरण भएको छ । 

बीपी प्रतिष्ठानको वार्षिक कुल बजेट ३ अर्ब ४७ करोड रुपैयाँ हो  । यो वर्ष सरकारले १४ करोड मात्र दिएको छ । बिपीको आफ्नै  बजेटले दुई हजार बढी चिकित्सक, कर्मचारी नर्स, ज्यालादारी श्रमिकहरूलाई तलब भत्ता सुविधा दिनु पर्छ । यसै बजेट आन्तरिक भौतिक निर्माण र विस्तार गर्नुपर्छ । तलबमै सबैभन्दा बढी खर्च हुन्छ   

यस्तै वैज्ञानिक अनुसन्धानात्मक गतिविधि र स्वास्थ्य शैक्षिक उन्नयनका लागि नेदरल्याण्डस्को मास्ट्रीक्ट युनिभर्सिटीसँग पनि सम्झौता नविकरणका लागि प्रकृया अगाडि बढाइएको छ भने हालै मात्र बेलायतको लण्डनस्थित बोल्टन युनिभर्सिटीसँग पनि स्वास्थ्य अनुसन्धानका लागि सम्झौता एमओयु गर्ने सहमति भएको छ ।   

बिपीको आफ्नो कुल बजेट चाहीँ कति हो ? बीपी प्रतिष्ठानको वार्षिक कुल बजेट ३ अर्ब ४७ करोड रुपैयाँ हो  । यो वर्ष सरकारले १४ करोड मात्र दिएको छ । बिपीको आफ्नै  बजेटले दुई हजार बढी चिकित्सक, कर्मचारी नर्स, ज्यालादारी श्रमिकहरूलाई तलब भत्ता सुविधा दिनु पर्छ । यसै बजेट आन्तरिक भौतिक निर्माण र विस्तार गर्नुपर्छ । तलबमै सबैभन्दा बढी खर्च हुन्छ ।

यसपटक देखि बीपी प्रतिष्ठानले उपचार सेवामा दोब्बर शुल्क वृद्धि गरेको सुन्नामा आयो नि । महँगी बड्यो । कर्मचारीहरूलाई स्यालरी खुवाउने पैसा भएन । सरकारले पनि बीपी प्रतिष्ठानका कर्मचारी शिक्षक चिकित्सकलाई तलवका लागि आर्थिक बजेट नदिने भएकाले उपचार सेवा शुल्कमा २० प्रतिशतसम्ममात्र वृद्धि गरिएको हो । दुखी गरिब, उपचार सेवाबाट बन्चीत नहोऊन् भनेर बेग्लै समिति नै बनाएका छौं । त्यस्ताका लागि निशुल्क उपचार दिने व्यवस्था गरिदिएका छौं । तर पैसा हुनेले त तिर्नु प¥यो नि । प्राइभेट अस्पतालमा चाहीँ जति भएपनि तिर्ने अनि बीपी प्रतिष्ठानमा गुणस्तरीय उपचार सेवा दिँदा चाहीँ महँगो भयो भन्नु भएन । 

एमसिएच (आमा तथा शिशु उपचार केन्द्र) को भवन निर्माण सम्पन्न नभई आइसीयु बेड खरिद गर्न भएको हो ? यसमा कमिसनका लागि अगाडि खरिद गरेको आरोप छ । 

यसबारे निकै भ्रम छरिएको पाइयो । बीपी प्रतिष्ठानकै एक जना कार्यकारिणी समितिका सदस्यले भनेको आधारमा यो भ्रम छरियो । उनलाई पनि ४ सय शैयाको एमसीएच भवन निर्माण र आइसीयु खरिद गर्ने बारे जानकारी नभएको जस्तो लाग्यो । कुरो के हो भने अन्तराष्ट्रिय र राष्ट्रिय मान्यता र मापदण्ड अनुसार अस्पतालमा रहेका कुल बेडको १० देखि १५ प्रतिशत बेड आइसीयु भेन्टिलेटर हुनुपर्छ । तर बीपीमा हालको मितिसम्ममा ९१३ बेड विस्तार भएको अवस्थामा हामीसँग कम्तिमा ११० देखि १३६ आइसीयु भेन्टिलेटर बेड हुनुपर्ने । तर हामीसँग ८० वटामात्र छन् । यो एमसीएच भवनको शतप्रतिशत लगानी सरकारको हो । मेडिकल उपकरण खरिद पनि शतप्रतिशत सरकारले नै गर्ने हो । अव कुरो रह्यो निर्माण सम्पन्न अगाडि खरिद गर्‍यो भन्ने कुरा । तोकिएको निर्धारित समयमा एमसीएच भवन निर्माण सम्पन्न भएन । 

२०७९ चैत मसान्त सम्ममा निर्माण सम्पन्न होला भन्ने भएकाले सोही अनुसार सम्पूर्ण खरिद प्रकृया पुरा गरेर एमसीएच भवनका लागि मिति २०७९ भदौ ३१ गते भेन्टिलेटर आइपुग्यो । एमसीएच भवन निर्माण सम्पन्न म्याद २०८१ मङ्सिरसम्म सरकारले थप गरिदिएको छ । आएका उपकरण स्पेशिफिकेशन अनुसार नै रहेको जाँच कमिटीले जानकारी दिएको छ । तर सरकारी लगानीको भवन निर्माण सम्पन्न हुन भने विभिन्न कारणले ढिलाई भयो । बीपी प्रतिष्ठानमा आइसीयु भेन्टिलेटर अभाव भइरहेको बेला खरिद गरिएको भेन्टिलेटर उपकरण महिनौँसम्म त्यतिकै थन्काएर राख्नु भन्दा पुरानो बिग्रेको भेण्टिलेटरको ठाउँमा जडान गरेर बिरामी उपचार गर्न थालिएको हो । भवन निर्माण सम्पन्न भएपछि ती भेण्टीलेटरहरु त्यही लगेर जडान गरिने छन् ।

स्वायत्त संस्था बीपी प्रतिष्ठानमा उपकुलपति नियुक्ति सरकारले नियुक्ति गर्छ । यसरी नियुक्ति दिँदा कम्तिमा १० करोड रुपैयाँ सम्म बिचौलियामार्फत नियुक्त दिने प्रधानमन्त्री (कुलपति) र स्वास्थ्यमन्त्री (सहकुलपति)लाई दक्षिणा चढाउनु पर्छ र त्यही बुझाएको दक्षिणाबाट फाइदा निकाल्न पदाधिकारीहरूले भ्रष्टाचार गर्दै आएका छन् भन्ने आम बुझाइ छ नी । 

यो प्रश्न मलाई हो भने मेरो जवाफ सरल छ । म घमण्डका साथ भन्छु, म नै होला यो प्रतिष्ठानमा उपकुलपतिको रुपमा नि:शुल्क नियुक्त भएको । मेरो कुनै विचौलिया पनि छैन । मैले कसैलाई घुस दिन पनि परेन । आजको मितिसम्म म कुनै मेडिकल उपकरण माफियाहरुबाट घेरिएको पनि छैन । मलाई बीपी प्रतिष्ठानको हितसंगमात्र सरोकार छ अरुसँग छैन ।

तपाई उपकुलपतिको कुर्सीमा बस्ने समय करिव ७ महिनामात्र बाँकी छ, फेरि दोहोरिने इच्छा छकी छैन ? 

हो, म मेरो कार्यकालको अन्तिम चरणमा छु , तर मलाई फेरि उपकुलपति हुने रहर कत्तिपनि छैन । मैले सपनामा पनि फेरि उपकुलपति हुने सोचेको छुइन । यो बीपी प्रतिष्ठानबाटै काबु भइसकेको छु । मेरो कार्यकाल सकिएपछि बरु म भन्दा राम्रो गरी सञ्चालन गर्न सक्ने अझ दक्ष, योग्य, दूर दृष्टिकोण भएको उपकुलपति आएको हेर्न इच्छा छ ।

त्यसो भए तपाई राजनीति गर्न तिर लाग्ने हो त ?

यो प्रश्न पनि मलाई जँचेन । म चिकित्सक हुँ। मुटुरोग सम्बन्धी मेडिकल स्पेसलिस्ट हुँ । म आफ्नै पेशामा समर्पित हुने छु । मुटुरोगका बिरामीको उपचारमा आफूलाई समर्पित गर्ने छु । नो पोलिटिक्स, नो भिसि रिपिटेसन ।