'नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ' | Khabarhub Khabarhub

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’



हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी राजनीतिक स्थिरताका कुरा पनि गरिराखेका छौं । सबै हिसाबबाट सतहमा हेर्दाखेरि सबै ठिकठाक छ । तर नागरिकको हिसाबबाट हेर्दा एकदमै चरम निराशा छ । एकदमै शून्यता छ, कुनै पनि हिसाबबाट भरोसायोग्य भएन, मेरो भाग्य पनि भएन, मेरो भविष्य पनि भएन भन्ने मात्रै भाष्य स्थापित भएको छ । यसमा मेरो तीन वटा किसिमका उत्तर छन् ।

एउटा संविधान संरचनाको कुरा छ  । त्यसमा पनि यो सर्वसम्मत आएको होइन । हेर्नुस् यो एउटा सम्झौता, त्यति बेला संविधानसभा पूर्ण बहुमतबाट पास भए पनि कतिपय जस्तो संघीयतालगायतका विवादास्पद मुद्दाहरू जनमत विपरीत एउटा छ । आम जनताबाट सुझाव एउटा आएको छ । त्यस विपरीत थोपरिएको र त्यसको वकालत गर्ने पार्टीहरूले हाम्रो उपलब्धि नै त्यही हो भन्न थालेका छन् । जबकि जनताले त्यसलाई उपलब्धि मान्दैनन् , बरु विवादको चुरो ठान्छन् ।

अर्को, संविधान संरचनाले दुई-दुईचोटि संविधानसभा बनायो, त्यो ठिक छ । एउटा परिवर्तन ल्याउनु थियो मुलुकमा । अहिलेलाई लोकतन्त्र सुरक्षित छ भन्ने भयो । अर्को, संरचनाले मात्रै पनि हुँदैन, के संरचना चलाउने ? ड्राइभर कस्तो हुन्छ ? गाडी त एकदम राम्रो हामीले ल्याउँला तर त्यो चलाउने मान्छे कस्तो छ ?  त्यसमा भर पर्छ ।

राजनीतिक सीटमा बसेकाहरू कोही गतिला भएनन् । र हरेक सङ्गठनमा लिडरसीप क्राइसिस भयो । त्यसको फाइदा उठाउन केही मान्छेहरू विकल्प हामी हौँ भनेर आए । हुँदाहुँदै अहिले राजनीतिमा नलागे पनि भोलि राजनीतिमा आशिका तामाङ जस्तो सडकबाटै हरेक कुराको समाधान चाहन्छन् । लोकप्रियतावादमा विश्वास गर्छन् ।

कानून नियमसँग मतलब छैन । मानिसको निराशा र दुखलाई भजाएर यस्ता किसिमका मान्छेहरू आएका छन् । यसले गर्दा अब राजनीतिमा ठूलो सुधारको आवश्यकता देखिराखेको छ । प्रणालीमा पनि देखिएको सुधार गर्नुपर्छ । अहिले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा पनि आएको छ । दुई प्रमुख दलहरूले सरकार बनाउँदा पनि संविधान संशोधन गर्नुपर्छ भनेका छन् । यो खाली एउटा देखावटी भन्नको लागि मात्र हैन । गठबन्धनको औचित्य साबित गर्न मात्र हैन । वास्तवमै त्यो गर्नुपर्ने भएको छ । तर  उहाँहरू त्यसमा कत्तिको इमानदार हुनुहुन्छ ?

हामी भन्छौँ– यो प्रदेश, संघीयता चाहिँदैन तर उहाँहरूले थ्रेसहोल्डमा जोड दिनु भएको छ । थ्रेसहोल्ड पनि समस्या हो । थोरै थ्रेसहोल्ड राखेर गर्दा हुन्छ । त्यसैले संविधानभित्रैबाट संशोधन गरेर बिस्तारै यी कुराहरू गर्दै जानुपर्छ । र नेतृत्वले देशलाई सुशासन गराउन सक्ने समृद्धि दिन सक्ने त्यो अहिले देखिँदैन ।

अब पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी शर्मा ओली यतिका वर्ष प्रधानमन्त्री भइसक्नु भयो । अब के हुन्छ त उहाँहरूबाट । ‘अब म प्रधानमन्त्री हुँ, मेरो स्वास्थ्यले साथ दिउन्जेलसम्म म र मेरा वरपरका आसेपासेहरूलाई सुरक्षित स्थान दिऊँ, बनाइदिऊँ । भोलि चुनाव जित्न  शक्ति, स्रोत र पैसा सङ्कलन गरौँ । चुनाव जितेर आऊँ’ भन्ने उहाँहरूले अब गर्न सक्ने केही छैन । त्यसैले पुस्तान्तरण गरेर अहिलेको चुनाव हारे पनि १० वर्षपछि भए पनि फर्केर आएर राजनीति गर्न सक्छु, देश बनाउँछु भन्ने पुस्ता चाहियो ।

अहिले आएका गगन थापा, विश्वप्रकाशहरू छन् तर भोलि उनीहरू नबिग्रेलान् त भन्न सकिँदैन । नत्र के मा आस गर्ने त ? यहि पारामा जितेर आउँछन् , आफ्नो स्वार्थको लागि सत्तामा पुग्छन् । गठबन्धन गरिरहन्छन् । यसै छोड्ने हो कि सामना गरेर अगाडि बढ्ने हो त ?

अब सिस्टमबाहिरबाट त नेतृत्व कोही आउँछ । राजा आउँछ भन्दा राजाले गरेको पनि हामीले देखेका छौँ । राजाले सुशासन दिने भ्रष्टााचार रोक्ने भएको भए त यस्तो हुँदै हुँदैनथ्यो ।

स्थानीय तहदेखि माथिसम्म नीतिगत भ्रष्टाचार गर्ने, मन्त्रिपरिषद्बाट नीतिगत निर्णय भन्दै करोडौं, अरबौँका ठेक्काहरू हात पारेर आफ्नो मान्छेलाई पार्ने चुनावका लागि पैसा जम्मा गर्ने काम भएको छ । अब त्यसमा सुधार गरेर जानुप¥यो र नेतृत्व फरक खोज्नु पर्‍यो ।

कांग्रेसका उपसभापति धनराज गुरुङले निराश पार्नुभयो । भोलि कांग्रेस पार्टीको नेतृत्वमा पुग्न सक्ने भनेको मान्छे कस्तो एक्टिभ, जता पनि कोही कांग्रेस पार्टी कार्यकर्ताको घरमा आमा बितेको ठाउँमा पुग्ने मान्छे अहिले आर्थिक अपचलनमा पर्नुभयो । अब त्यसबाट चोखिन सक्नुहुन्छ कि हुन्न ?

सहमहामन्त्री बद्री पाण्डे व्यक्तिगत रूपमा राम्रो भन्ने रिपोर्टहरू आएका छन् । तर शासकीय कुशलता भएन त्यो सिक्नु पर्‍यो उहाँले । खाली आदर्श भएर मिठो बोली बोलेर मात्र भएन । प्रदीप पौडेलमा केही गरौँ भन्ने हुटहुटी छ ।  उहाँ पहिलो पटक मन्त्री हुनु भएकोले यसअघिको अनुभव छैन । त्यसमा कुन चिज कस्तो भन्ने थाहा छैन ।
गगन थापा पहिलोचोटि स्वास्थ्यमन्त्री हुँदा विज्ञहरूको टोली बनाए । बजेट छ कि छैन यो कुरा गर्नुपर्ने रहेछ भन्ने सुनेर आफूले निर्णय गरे । उनीसंग निर्णय क्षमता छ । देशमा ०४६ सालभन्दा अगाडि कति बाटाघाटा थिए ? कति स्कुल थिए ? कति हस्पिटल थिए ? नेपाली औषधि उपचार गर्न दिल्ली जानुपथ्र्यो । गाउँ गाउँमा बाटो पुगेका छन् । यी तथ्यांकले भन्छ– हुँदै नभएको पनि होइन ।

वैदेशिक ऋणले मात्रै त्यो भएको हैन । कोही कांग्रेसका मन्त्रीहरू पैसा कमाउनतिर लागे । गिरिजाबाबुले कहिले पनि सुशासनका कुरा पढ्नु नै भएन । त्यो पार्टी विधिको शासनमा अलिकति चुकेकै हो । त्यो बेला उहाँले बौद्धिक नेतृत्व लिनु भएको भए अहिले यो अवस्था आउने थिएन होला । तर त्यति बेला लिएको उदार नीतिले नै यो देशमा एयरलायन्सहरु आएका हुन् । नेपालीले पासपोर्ट पाएर विदेश जान पाएका हुन् । बाहिर जानु नै नराम्रो भन्ने हैन । अमेरिकातिरका मानिसहरू पनि बाहिर जान्छन् । चिनियाँहरू पनि आफ्नै देशमा विकास हुँदा पनि कमाउन बाहिर गएका छन् ।

अहिलेको पुस्ताको नेतृत्वका ओलीको अलिकति बौद्धिकता त छ तर गुट बनाउने र प्याच्च बोल्ने बानी छ । प्रचण्डको जसरी पनि सत्तामा जाने । पुरानाप्रति मान्छे विरक्त भएर निराश भएर नै त्यसैको भोट राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका स्वतन्त्र पार्टीले पाएका हुन् । तर अहिले बालेनको आफ्नै छुट्टै भिजन छ । दल खोल्लान् नखोल्लान् तर जुनसुकै हिरो भए पनि राष्ट्रपति भन्दा बाहेक अहिले हाम्रो दलीय व्यवस्थामा उहाँले भोलि के गर्नुहुन्छ थाहा छैन । हर्क साम्पाङको बौद्धिक प्रदर्शनमा खडेरी छ । रास्वपाको कुरा गर्दा यसले जति निराश कुनै पार्टीले बनाएन ।

कांग्रेस एमाले बिग्रिन ३५ वर्ष लाग्यो । उनीहरू त्यो भन्दा अगाडि त क्रान्ति गरेर आन्दोलन गरेर पञ्चायत विरुद्ध लडेर जेलनेल खाएर, दुख पाएर, जागिर खान नपाएर, सर्वस्वहरण भएर लोकतन्त्रका लागि भएका आएका हुन् । उनीहरू त आज आएर यस्तो भए भने यी रास्वपा त फौजदारी एकपछि अर्को मुद्दा लागेको,  ठगीको मुद्दा लागेको र कानूनी प्रक्रियामा जाँदा पनि खाली स्टन्टबाजी गर्ने, अर्कालाई कराउने, हरेक कुरामा विवाद छ । भोलि आफ्नो कुरामा सफाइ दिने, नम्र भएर प्रस्तुत हुनु त कहाँ हो कहाँ आफैँ अगाडि बढेर पहिलेकाले यसो गरेका थिए, हामीलाई यस्तो भन्ने भनेका छन् ।

गाउँ गाउँमा यी नै ठूला पार्टीका कार्यकर्ता मतदाता छन् । नेपालमा बंगलादेशको तुलना गर्नु हुँदैन । सेख हसिनाको अत्याचार धेरै थियो । नेपालमा त कांग्रेस एमालेले घर घरमा पुगेर अत्याचार त गरेका छैनन् । काम गरेनन् भन्नेमा निराशा बढेको हो । शुद्धीकरण अब दल भित्रैबाट आउनु पर्छ । अहिले नभए अर्को पुस्ताबाट आउँछ । नागरिक समाजले खबरदारी गर्दै जानु पर्छ ।  (पूर्वप्रशासक तथा विश्लेषक जैनेन्द्र जीवनले राखेको धारणाको सम्पादित अंश ) 

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : १० बजे

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका